८ वैशाख २०८१ शनिबार
कला

बालबालिका र बालसाहित्य

 सरस्वती श्रेष्ठ सरु

                                           

     बालबालिकाहरू निर्दोष हुन्छन् । निश्छल हुन्छन् । उनीहरू कोमल हुन्छन् । उनीहरूको कोमल, निर्दोषपन सँगसँगै नानीहरूको मनमस्तिष्क पनि खाली भाँडाजस्तै हुन्छ । त्यो खाली भाँडोमा हामी जे राख्न पनि सक्छौं । चाहे मीठा फलहरू राखौं । चाहे नमीठा फलहरू राखौं । त्यो हाम्रै क्षमतामा भर पर्छ । बालबालिको यो निर्दोषपनालाई बुझेर हामीले पक्कै पनि मीठा फलहरू नै राख्नुपर्छ । नमीठा फलको बारेमा जानकारी दिएर त्यसतर्फ विकर्षण गराउन सक्नुपर्छ । बालबालिको मनमस्तिष्क सङ्लो पानीजस्तै हुन्छ । त्यो पानी आफै त रङ्गविहीन हुन्छ । तर, तपाईले जुन रङको बोतलमा राख्नुस् पानी त्यस्तै रङको देखिन्छ ।  

बालबालिकाहरू जिज्ञासु हुन्छन् । जुन विषयवस्तुको बारेमा सुन्छन् । त्यसकै बारेमा जान्न उत्सुक हुन्छन् । तपाई यो वस्तु नछोऊ छुन हुँदैन भन्नुहुन्छ । तर उसलाई यो वस्तु किन छुन नहुने रहेछ  भन्ने जिज्ञासा हुन्छ र जुनसुकै बेला अरूको आँखा छलेर त्यो वस्तुलाई उसले छोएको हुन्छ । छुँदा कस्तो परिणाम आउँछ अनि बल्ल ऊ शान्त हुन्छ । यसकारण छुन नहुने रहेछ भन्ने थाहा पाउँछ । हाम्रा बाल्यकालमा पनि यस्तै हुने गथ्र्यो । हाम्रा अभिभावकले हँसिया नलिऊ है भन्नुहुन्थ्यो । किन नछुने ? त्यसको बारेमा प्रष्टयाइएको हुँदैनथ्यो । हामीमा प्रश्न सोध्ने आँट आउँदैनथ्यो । सोधिहाले पनि किन चाहियो तिमीहरूलाई ? पछि ठूलो भएपछि आफै थाहा पाउँछौ भन्ने जस्ता जवाफले हाम्रो जिज्ञासालाई मारिदिन्थ्यो । अहिले हामीलाई थाहा भयो कि बालबालिकाको जिज्ञासालाई अत्यन्त उत्सुकताकासाथ सम्बोधन गरिदिनुपर्छ । उनीहरूका यस्ता जिज्ञासाप्रति सम्बोधन गराउने एउटा सरल माध्यम भनेको बालसाहित्य हो । बालसाहित्यको माध्यमले नै उनीहरूको बालसुलभपनलाई कोमल ढंगले बुझ्न र बुझाउन सकिन्छ । त्यसकारण म बालसाहित्य लेख्न चाउँछु । बालसाहित्य लेख्दा आफै बालापनमा पुगेर लेखिन्छ । बालबालिकासँग निकट भइन्छ । पेशाले म एउटा शिक्षक हुँ । त्यसैले म बालबालिकासँग निकट छु । म केही हदसम्म उनीहरूको कुरा बुझ्ने, उनीहरूको बालमनोविज्ञान बुझ्ने कोसिस गर्छु । त्यसैले बालसाहित्य लेख्छु । जब बालबालिकासँग नजिक भइन्छ तब मनमा आनन्द आउँछ ।

बालसाहित्य बालबालिकाकै निम्ति लेखिने हुँदा पक्कै पनि उनीहरूले बुझ्ने खालको हुनुपर्छ । उनीहरूले आफ्नै जीवनमा भोगिरहेका जस्तै मात्र नभई कल्पना गर्ने क्षमतामा अभिवृद्धि गर्ने खालको हुनुपर्छ । सरल भाषामा लेखिएको हुनुपर्छ । घरघरमा, परिवारपरिवारमा, बोलीचालीमा प्रयोग गरिने सरल शब्दहरूको प्रयोग गरिएको हुनुपर्छ । उनीहरूकै उमेरलाई मिल्ने खालको हुनुपर्छ । भर्खरै बोली फुटेर तोतेबोली बोल्न जानेका बालबालिकाले पुस्तक हेरेर पढ्न सक्ने कुरै भएन । उनीहरूले चित्र हेरेर मनोरञ्जन लिन सक्छन् । रंगीचंगी खेलौनाका चित्र, चराचुरुंगी लगायत जनावरहरूको चित्र देखाएर, बालबोलीमै बालसाहित्य प्रस्तुत गर्न सकिन्छ । जस्तै – आम्मै नानुको कति नाम्मो नाना ! कति नाम्मो चाचा ! जून देखाएर जुनुमामा भन्न सकिन्छ । कीरा देखाएर गुजी भन्न सकिन्छ । आगो देखाएर फुई भन्न सकिन्छ । त्यसैले उमेरअनुसार पनि बालसाहित्य लेखिएको हुनुपर्छ । साहित्य हो, साहित्यिक भाषामा केही क्लिष्ट शब्द त भइहाल्छ नि भन्ने कसैको मत होला तर म त्यो कुरो मान्दिनँ । बालसाहित्य भनेको बालबालिकाकै निम्ति लेखिएको हो । त्यसैले उनीहरूले बुझ्न सक्ने भाषामा बालसाहित्य लेखिएको हुनुपर्छ । सकरात्मक ज्ञान दिने खालको हुनुपर्छ । उनीहरूलाई मनोरञ्जन प्रदान गर्ने खालको हुनुपर्छ । बालबालिकाको कोमल मनमा कुनै किसिमको नकारात्मक असर पुग्ने खालको हुनु हुँदैन । ताकि उनीहरूको कोमल मनमा नराम्रो छाप बस्न नपाओस् ।  

      बालसाहित्यको अवस्थामा पहिलेभन्दा केही सुधार त अवश्य नै भएको छ । अहिले शिक्षकहरू बालमैत्री शिक्षाप्रति सजग भएजस्तै बालसाहित्यप्रति पनि सजग हुन थालेका छन् । शिक्षण सिकाइमा साहित्य अत्यन्त प्रभावशाली बन्दै आएको छ । त्यसैले पाठ्यपुस्तकमा गीत, कविता, कथा, नाटक, निबन्ध आदि समावेश गरिएको हुन्छ । पढाउँदा सकेसम्म कलात्मकता, लयात्मकतातिर जोड दिने गरिएको छ । बालबालिकाहरूलाई घरमा पनि आफ्ना अभिभावकहरूले लोककथा, दन्त्यकथा सुनाइरहेका हुन्छन् । रेडियोमा बालकार्यक्रम सुन्छन्, टिभिमा हेर्छन् । मोबाइलमा पनि बालसाहित्य हेर्छन् । अझ आजका सानासाना नानीहरूलाई मोबाइलमा त्यस्तै किसिमका गीत, कथा सुनाउँदै देखाउँदै खाना खान पनि प्रेरित गर्छन् । यद्यपि मोबाइल, टिभिको प्रयोग गर्दा हुने बेफाइदाहरू त छँदैछन् । यसको मतलब अभिभावकहरू आफ्ना नानीबाबुलाई नजानिदो पाराले बालसाहित्यको सहारामा नानीबाबुलाई खुवाउनेदेखि लिएर खेलाउने काम गरिरहेका हुन्छन् । पुस्तकका रूपमा प्रकाशित भएका बालसाहित्य विद्यालयमा मात्र प्रयोग हुन्छन् । आफ्ना नानीबाबुलाई बालसाहित्य पढाउनु आवश्यक छ भन्ने कुरा थोरै अभिभावकलाई मात्र थाहा छ । पढ्न जान्ने बालबालिकालाई ल नानीबाबु तिमी यो कथा पढेर सुनाऊ, यो गीत गाएर सुनाऊ, यो कविता वाचन गरेर सुनाऊ भन्ने फुर्सद हाम्रा अभिभावकलाई छैन । किताब किनेर ल्याइदिने त निकै परको कुरा । विद्यालयको कुरा गर्दा सहरका प्रायः विद्यालयहरूमा पुस्तकालय हुन्छन् । त्यहाँका विद्यार्थीले शिक्षकले पढ भनेपछि किताब पल्टाउलान् । मनपर्दो चित्र रहेछ भने हेर्लान् नत्र रुचि देखाउने छैनन् । विद्यालयमा शिक्षकले पनि बालबालिकालाई साहित्य अध्ययन गर्ने रुचि जगाइदिनुपर्छ  तर गाउँतिरका कतिपय विद्यालयमा भने पुस्तकालयको व्यवस्था हुँदैन । भैहाले पनि बालबालिकाको निम्ति उपयुक्त हुने पुस्तकहरूको अभाव हुन्छ । साहित्यकारले बालसाहित्य प्रशस्त लेखेका छन् । जहाँ पुग्नुपर्ने हो त्यहाँसम्म पुगेको छैन । यसलाई जहाँतहीँ पु¥याउनका निम्ति अभिभावकमा चेतना हुनुप¥यो । शिक्षकहरूमा चेतना हुनु प¥यो । विद्यालयले पनि पहल गरिदिनु प¥यो । समाज र सरकारले पनि बालबालिकाप्रति सकरात्मक हुनु प¥यो । साहित्यले नै मानिसको चेतनास्तर उकास्न मद्दत पु¥याउँछ । त्यसैले बालबालिकाहरुलाई बाल्यकालदेखि नै साहित्यप्रति अभिरुचि जगाउन आवश्यक छ । घर, परिवार, समाज, सरकार, शिक्षक, अभिभावकहरूको सहयोगले नै साहित्यकारहरूको आत्मबल बढाउँछ । पढ्नु पर्नेले नै पढ्दैनन् भने लेखेर मात्र के काम  भन्ने प्रश्न पनि उठ्छ । बालसाहित्यकारले पनि बालबालिकालाई कौतुहल जगाउने, कल्पनाशील बनाउने खालका सरल भाषामा साहित्य सिर्जना गर्नु आवश्यक छ ।

समाजमा किशोर र युवाको जति महत्व छ बालबालिकाको भूमिका पनि त्यति नै आवश्यक छ । किनभने आजका बालबालिका भनेको भोलिका कर्णधार हुन् । भोलि तिनै किशोर हुन्छन् र तिनै युवा । आफ्नो घरपरिवार समाजदेखि देशसम्म उनीहरूको भूमिका रहन्छ । त्यस्तै किसिमले हामीलाई प्रौढ साहित्यको साथै बालसाहित्यको पनि त्यतिकै महत्व छ । हरेक वर्गले आफ्नै हैसियत र क्षमताअनुसारको खाना, नाना, वासस्थान साथै मनोरञ्जनका साधनहरूको उपयोग गर्न पाउनुपर्ने अधिकार छ नि । त्यसैले बालबालिकाको लागि बालसाहित्यको महत्व पनि त्यतिकै छ । बालबालिकाको मनोविज्ञान बुझ्नका लागि पनि सबैले बालसाहित्य पढ्नु आवश्यक छ । बालबालिकाहरूकै लागि त झन् बालसाहित्य निकै आवश्यक छ । बालबालिकाको कलिलो मस्तिष्कमा जस्तो प्रभाव प¥यो त्यस्तै किसिमको छाप बस्ने हुनाले सानैदेखि राम्रो काममा उत्प्रेरित गराउन आवश्यक छ । अहिलेको एक्काइसौं शताब्दीमा प्रविधिले निकै फड्को मारिसकेको छ । बालबालिकाहरू प्रविधिमा आवश्यकभन्दा बढी झुम्मिरहेका छन् । सकरात्मक रूपमा लिँदा यो राम्रो पनि हो । तर यसका थुप्रै नकरात्मक प्रभावहरू पनि छन् । सानै उमेरदेखि प्रविधिको नकरात्मक प्रभाव पर्न गए भविष्यमा परिणाम नराम्रो आउन सक्छ । तसर्थ बालबालिकाको कलिलो मनस्थिति जोगाइ सकारात्मक सोचतर्फ अग्रसर हुन बालसाहित्यको आवश्यक छ । घरमा एक चेतनशील अभिभावकले आफैले यस्ता राम्रा कामको थालनी गर्नुभयो भने अवश्य बालबालिकामा पनि राम्रो प्रभाव पर्छ । अभिभावकले जे सिकायो त्यही त सिक्छन् बालबालिकाले । मोबाइल हेर्नुको सट्टा एउटा किताब हेरेर बस्नुभयो भने बालबालिकाले पनि पढ्ने बानी बसाल्छन् । यसले गर्दा उनीहरूमा ज्ञान बढ्छ । अहिलेको अवस्थामा कतिपय बालबालिकाहरू आफ्नो बालापनलाई कुलतमा फसाइरहेका छन् । यदि उनीहरूमा साहित्यमार्फत चेतना फैलाउन सकियो भने पनि दुर्घटना हुनबाट जोगाउन सकिन्छ । बालसाहित्यमार्फत बालबालिकाको कल्पनाशील क्षमता बढाउन मद्दत गर्छ । सभ्य मानिस बन्न सिकाउँछ । असल मार्गमा लाग्न सिकाउँछ । पठन शिक्षाको विकास गराउँछ । त्यसैले बालबालिकाका लागि बालसाहित्यको ठूलो आवश्यकता छ । बालबालिकाको शारीरिक विकासको लागि खेलकुदको जति आवश्यक छ मानसिक विकासको लागि बालसाहित्य त्यति नैे आवश्यक छ ।

                                                                                                                      प्रस्तुति – श्रीराम राई

प्रकाशित: १८ आश्विन २०७७ ०७:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App