घोडा प्रजातिभित्र पर्ने गधा अथवा डंकी एउटा सानो तर मानिसले उपयोग गर्दै आएको जनावर हो। यो जनावर सुधो र एकोहोरो पाराको भएकाले नै मान्छेले यसलाई आफ्नो पकडमा ल्याएर उपयोग गर्न सकेका हुन्। आफू चढ्न पनि हुने र भारी बोकाउन पनि हुने यस्ता जनावर संसारमा कति पो होलान् ? घरेलु पाल्तुको रूपमा रहने यस प्राणीका साथी घोडा, खच्चर हुन् भने जंगली बन्धु जेब्रा हो।
पहिलेपहिले नेपालका पहाडी भेगमा घोडा पाल्ने चलन थियो। घरको मूली वा लोग्नेमान्छे यसमा चढ्थे। यो केवल व्यक्तिको आफ्नो सवार–सोखका लागि हो, सामान ओसार–पसारका लागि होइन, श्रम साझेदारका लागि होइन। महिलाका लागि सहयोग हुने प्रयोजनमा त घोडा कहिल्यै आएन।
नेपालको हिमाली भेगतिर खच्चर, गधालाई भारी बोकाउने चलन अद्यापि छ। तर, पहाड र तराईमा यस्तो छैन। मध्यपहाडी ग्रामीण भेगमा सकी–नसकी पचास–साठी केजीसम्मको भारी व्यक्ति आफैँ बोकेर ओसार–पसार गर्छन्। धान, मकै, गहुँ कुटाएर, तोरी पेलेर नजिकको बजारबाट ओसार्न गधाले निकै सहयोग पु-याउँछ।
म कुनै बेला अफगानिस्तानमा संयुक्त राष्ट्रसंघीय मिसन अन्तर्गत काम गर्न जाँदा त्यहाँ मैले एउटा गजबको चलन देखेँ। ग्रामीण भेगका पाखा, भित्तातिर घर बनाउने चलन छ। आजभोलि सहरीकरण हुँदा भात खाने खेत मासेर कंक्रिट ठड्याउने प्रचलन बढेको पनि छ। अफगानिस्तानका डाँडा–पाखामा पानीको सुविधा छैन। यतिबेला गधाको ठूलो काम देखिन्छ। गधाको ढाडमा दुईतिर झुन्डिने गरी दुई–दुई वटा प्लास्टिकका ग्यालेन झुन्ड्याइन्छ। आठ–दश वटा यस्ता गधालाई लिएर गाउँको एकजना व्यक्ति तल खोला वा जलाशयमा जान्छ। उसले पानी भर्दै गधाको डँडाल्नोमा राखिदिन्छ। गधा जुन घरको हो, खुरुखुरु पानी लिएर त्यही घरमा पुग्छ। नेपालको ग्रामीण भेगमा पनि चर्नलाई छाडिएका वस्तुहरू साँझ परेपछि आआफ्ना गोठमा पुग्छन् नै। अफगानिस्तानको गाउँमा भएको यस्तो चलनले एउटै व्यक्तिद्वारा पालैपालो दश–आठ घरको काम एकैचोटि हुँदा श्रमको उचित उपयोग पनि हुन सक्यो।
व्यावहारिक जीवन अपनाउन र मानव सभ्यता निर्माण गर्न पशुपन्छीले दिएको योगदानलाई बिर्सेर गधालाई एउटा अछुत जनावरको रूपमा हेर्ने नेपाली समुदायको चलन बिल्कुलै चित्तबुझ्दो लाग्दैन।
हात्ती, कुकुर, उँट, गाईगोरु, भैँसी, मैना, सुगा आदि मानवका सधैँ सहयोगी बनेका छन्। सर्प, बाँदर, भालु, डल्फिन आदि नचाएर जीविकोपार्जन गर्ने व्यक्ति, समूह अद्यापि संसारमा छन्। कुकुरलाई त अपराध छानबिन गर्न प्रयोग गरिन्छ। १९औँ शताब्दीको मध्यसम्म लडाइँमा प्रयोग हुने हातहतियार, रसदपानी, प्रबन्धकीय सामान ढुवानी गर्न घोडा–खच्चरको प्रयोग भएकै हो। भारतमा विशेष गरी धोबीले गधालाई कपडा बोकाएर ओसारपसार गर्ने गरेको पनि देखिन्छ।
पञ्चतन्त्र, हितोपदेश जस्ता ग्रन्थमा स्याल, सिंह, मुसो, खरायो, मृग, कछुवा आदि जनावरका जीवन–क्रिया र मैत्रीपूर्ण सम्बन्धलाई लिएर मानवका लागि उपयुक्त, प्रेरणादायी शिक्षा दिइएको छ। भनिएको छ, ‘काकचेष्टा बकोध्यानं श्वाननिद्रा तथैव च। अल्पाहारी गृहत्यागी विद्यार्थी पञ्च लक्षणम्।’ अर्थात् कागको जस्तो चेष्टा (चलाखीपन) राख्नु, बकुल्लाले जस्तो ध्यान गर्नु, कुकुरको जस्तो निद्रा हुनु, कम खानु र घर छाड्नु– यी पाँच गुण विद्यार्थी हुनुका लक्षण हुन्।
यहाँ प्रसंग छ, गधाको। हाम्रा पुराना कुनै चाटुकार लेखकले घटिया उदाहरणको रूपमा गधालाई निम्नानुसार प्रस्तुत गर्दै यस्तोसम्म पनि लेख्न भ्याए, ‘घटं भिन्द्यात् पटं छिन्द्यात् कुर्यात् रासभरोहणम्। येनकेन प्रकारेण प्रसिद्ध पुरुषो भवेत्।’ अर्थात् बरु घैँटो फुटाइयोस्, लुगा च्यातियोस्, गधामाथि चढियोस्, जे गरेर भए पनि नामचाहिँ कमाउनुपर्छ।
गधा सोझो जनावर हो। यो आफ्नो बुद्धिले काम गर्दैन। केही वर्षअघि मथुरा वृन्दावनबाट निस्कने अखण्डज्योति पत्रिकामा गधा घोडाबारे मैले एउटा सानो कथा पढेको थिएँ, जुन यस प्रकार छ:
एउटा व्यापारीले घोडामा नुन र गधामा कपडा लादेर लग्दै थियो। खोला तर्दै गर्दा अघिअघि हिँडेको घोडाले डुबुल्की मा¥यो। यो देखेर गधाले जिज्ञासा राख्यो। घोडाले जवाफ दियो, ‘म भारी हल्का गरिरहेछु।’ बस्, गधाले पनि त्यही ग¥यो। घोडाले पो नुन बोकेको थियो र पानीमा पग्लेर गयो, गधाको भारी भने झन् उचाली नसक्नुभयो। नसोची अर्काको अनुकरण वा अनुसरण गर्दा यस्तै हुन्छ।
मानव र पशुबीचको अन्योन्याश्रित सम्बन्धले जैविक अन्तर्सम्बन्ध सन्तुलन कायम गर्न ठूलो सहयोग पु-याएको छ। प्रकृति, मानव र पशुपन्छीबीचको यो नाताले अन्त्यमा मानवकै विकास, समृद्धिका लागि सहयोग गरेकै हुन्छ। आफ्ना सन्तान साथ नहुने बूढाबूढीका लागि त कुकुर, बिराला वरदान नै हुन्। कतिपय जनावरहरू व्यक्तिका सुखदुःख, मानवीय संवेदना, मनोभाव बुझेर त्यही किसिमको दैहिक प्रतिक्रिया देखाउँछन्। खसी, बोका, कुखुरा, माछा आदिले मानव क्षुधा समन गरेकै छन्।
म कुनै बेला अध्ययनार्थ युरोपमा रहँदा गाडी नचलाउने बूढाबूढीले सामान बोकाउनका लागि गधा डो¥याएर हाटबजार गरेको यदाकदा देखेको हुँ। मान्छेका निम्ति यति ठूलो त्याग गर्ने प्राणीमध्येको एक उत्तम सहयोगी गधालाई पहाड र तराईको ग्रामीण क्षेत्रमा भरपर्दो कार्गोभ्यानका रूपमा प्रयोग किन नगर्ने ?
व्यावहारिक जीवन अपनाउन र मानव सभ्यता निर्माण गर्न पशुपन्छीले दिएको योगदानलाई बिर्सेर गधालाई एउटा अछुत जनावरको रूपमा हेर्ने नेपाली समुदायको चलन बिल्कुलै चित्तबुझ्दो लाग्दैन। अझ गधालाई छोइयो भने नुहाउनुपर्छ भन्ने तुच्छ सोचाइ राख्ने मान्छे पनि छन्। गधालाई प्रयोग नगर्नु गधाले सुख पाउनु त हो नै। तर मान्छेका लागि संसारको अति सहयोगी, इमानदार, सोझो र अहिंस्रक एक प्राणी गधालाई हेय दृष्टिले हेर्नु भनेको ‘गुनको बैरी’ बन्नु हो।
प्रकाशित: १७ आश्विन २०७७ ०४:१८ शनिबार