रञ्जुश्री पराजुली
उनको नाम राधा हो । कान्छी छोरी भएकोले घरमा सबै जना माया गरेर “कान्छी“ भनेर बोलाउंनुहुन्छ । राधाको एकजना दाइ पनि हुनुहुन्छ । उहाँको नाम रामेश हो । तर घरमा ठूले भनेर बोलाउनुहुन्छ ।
राधिका छ वर्षकी भइन् । उनको दाइ रमेश सात वर्ष भए । उनीहरूको स्कुल धेरै टाढा थिएन तर स्कुल पुग्न तीन ठाउँमा जेब्रा क्रसिङ पार गर्नुपर्दथ्यो । उनीहरू वल्लापल्ला घरका मिलेर सँगै जान्थे । बाटो काट्ने ठाँउमा हिडिरहेका ठूला बटुवाले सही तरीकाले बाटो काट्न सिकाइ दिन्थे ।
राधिकालाई कुकुर असाध्य मन पर्दथ्यो । उसलाई घरमा पाल्तु कुकुर पाल्न मन लागेको थियो । उसको मामाको घरमा सानो जातको सेतो झ्यापुल्ले कुकुर पालेको थियो । त्यसलाई उनीहरू “सेते“ भनेर बोलाउँथे । सेते सबै कुरा बुझ्थ्यो । राधिकालाई मामाधर गएको बेला सेतेसँग खेल्दा रमाइलो लाग्दथ्यो ।
राधिकाकी आमाले तिमी आफैं कुकुरको हेरचाह गर्न सक्छौ भने म पाल्न अनुमति दिन्छु भन्नुभएको थियो ।
एकदिन स्कुलबाट फर्कँदा पेटीको कुनामा एउटा कालो रङको सानो छाउरो जाडो र भोकले कराइरहेको उनले देखिन् । उनलाई त्यसको माया लाग्यो । साथीहरूले ‘हिँड्, त्यस्लाई त्यसै छोडी देऊ’ भन्दा पनि उनले त्यसो गर्न सकिनन् । उनी टक्क रोकिएर “विचरा यो छाउरो छलिएको जस्तो छ । जाडो र भोगले रोइरहेको छ । यसलाई म पाल्न लान्छु । कसैले मेरो भनेर लिन आए भने बरु दिन्छु । मैले त यसको नाम पनि राखि सकेंं । “फुच्चे’’ हो यस्को नाम । म यस्को स्याहार गर्न सक्छु । आमाले पनि पाल्न हुन्न भन्नु हुन्न । आजदेखि यो मेरो नयाँ साथी बन्यो’’ भन्दै त्यो छाउरोलाई बोकिन् ।
प्रकाशित: १६ आश्विन २०७७ ०९:५६ शुक्रबार