डा.पुष्करराज भट्ट
भर्खरभर्खर कोरोना रोग शुरू भएको थियो । अचानक मलाई ज्वरो आयो र जीउ काम्न थाल्यो । छोराहरूले निजी अस्पतालमा लगे । अस्पतालको गेट बन्द थियो ।
मैले कान्छालाई भनेँ, “यो अस्पताल त बन्द छ । के भएको हो, सोध् ।”
“अहिले कोरोनाका कारण अस्पताल बन्द छ । हामी कुनै पनि उपचार गर्दैनौं ।” गेटमा भएको पालेले हामीलाई त्यहीँबाट फर्कायो ।
बल्लबल्ल सरकारी अस्पताल पुगेर चेकजाँच गरियो । केही दिन आराम गरेपछि रोग ठिक भयो । लामो समय घरमा बसेको, आज त यसो तरकारी बजारसम्म त पुगेर आउँ भनेर निस्केको थिएँ, पुराना साथी भेटिए ।
“हेर्नुस न, श्रीमती बिरामी भएको । आजभोलि त चेकजाँच गराउन पनि पालो पर्खनुपर्ने । निजी अस्पतालमा लगें । छिट्टै चेकजाँच भयो । चेकजाँच गरेको बत्तीस सय लियो । हाम्रै टोलका अरू त महँगोमा परेछन् । कतै पैंतिस सय, कतै चार हजार ।”उनी भन्दै गए ।
मैले सोधें, “अब कस्तो छ त भाउजूलाई ?”
उनले बताए, “अहिले ठिकै छ । अलिअलि कमजोरी छ ।”
“पहिला त चेकजाँच नै गरेन निजी अस्पतालले ? मलाई निकै गाह्रो भएको थियो । कुनै वास्ता नगरेपछि सरकारीमा गएँ ।” मैले आफ्नो कथा बताएँ । त्यसमा कथा कम व्यथा बढी थियो ।
“तपाईले हिन्दीको एक भनाइ सुन्नुभएको छ, ‘बाप बडा न भैया, सबसे बडा रुपिया ।’
मैले थप कुरा राखें, “हो यही हो । पैसा मात्र सबै कुरा हो ? के उनीहरूको सामाजिक दायित्व छैन ? हिजो निशुल्क गर्नुपर्ने भनेर भाग्नेहरू अहिले आफूखुशी रकम लिइरहेका छन् । हामी नागरिक कमजोर भएर पनि हो।”
साथी चूपचाप सुनिरहे ।
प्रकाशित: १५ आश्विन २०७७ १०:३२ बिहीबार