लोचन ज्योति
मृत्युमा कसरी रमाउनु
खुसीमा खुसी व्यक्त गर्नु जति सजिलो
दुखमा संमवेदना व्यक्त गर्न अफ्ट्यारो
सबै सजिलो पनि
केही अफ्ठ्यारो लाग्ने
शाश्वत मृत्युलाई सम्बोधन गर्नै अप्ठ्यारो
शोकाकुलमा संमवेदना प्रकट गर्नै अप्ठ्यारो
के मृत्यु अस्वीकार्य हो !
दिपकेम्पा आपाले
मुन्धुम रिसिया गाउँदै गर्दा
केन्छेरिपा हिँड्दै गर्दा
साकेला सिली नाच्दै गर्दा
जुहारी गाउँदै गर्दा
डबकामा दिन साट्दै गर्दा
किरात सभ्यता बोल्दै गर्दा
समाजको यावत् कथा भन्दै गर्दा
यो सबै सुन्दै गर्दा
एक पासुङको रूपमा चिनेको हुॅ
कान ठाडो पारीपारी
मेरो गज्रक्क जिन्दगीलाई
किम्वदन्तीमा उभ्याइएको पात्र बनी
आँखाभरि इन्द्रेनी टिप्थें
मनमनै तयामाखियामा बन्थेॅ
मानौ यो भूगोल सिँगार्ने सुम्निमा म नै हुँ
तर
मुन्धुमवेत्ताको अवशानपछि
स्तब्ध छ परिवार र रैछाकुलेको देशभित्रको सुम्निमा
तैपनि परिवारमा गहिरो संवेदना
स्वर्गीय पुर्खामा हार्दिक श्रद्धाञ्जली ।
दिपकेम्पा आपाले मुन्धुम मात्र गाएनन् होला
परिवार धान्न
जिन्दगीलाई जर्जर बनाए होलान्
पसीनाका दाना टिपे होलान्
ढाकर र तोक्मा बोके होलान्
घाँसदाउरा खोलानाला जंघार तरे होलान्
हिमाल, पहाड तराई धाए होलान्
परम्परागत ज्ञान सीप खिपे होलान्
जिन्दगी टुङ्ग्याउनअघि गर्नुपर्ने सारा कष्ट गरे होलान्
नदेखिएको मात्र हुन सक्छ
दिपकेम्पा आपा प्रतिनिधि पात्र हुन्
चोमोलुङमाको काखमा जिउनेहरू सबैले दुख गर्नै पर्छ
अनि उदाएसॅगै अस्ताउनुपर्छ ।
हो म स्तब्ध छु
तर
मृत्यु सत्य छ र स्वीकार्नु पर्छ
मृत्यु दुखद होस् या सुखद
मृत्यु त मृत्यु हो
फेरि पनि
गहिरो संवेदना परिवारजनमा
हार्दिक श्रद्धाञ्जली मुन्धुमवेत्तालाई ।
प्रकाशित: १५ आश्विन २०७७ ०८:१६ बिहीबार