coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

आइ लभ यु चुल्ठो

संस्मरण

खेमराज पोखरेल 

 

आज म अत्यन्त निजी कुरा लेखिरहेको छु । मेरो चुल्ठो मेरो पौरखको कुरा होइन । गौरवको कुरा पनि होइन । सायदआम मान्छेको भोगाइ होइन । तर पनि लोग्नेमान्छेले कपाल पाल्ने र स्वास्नीमान्छेले कपाल काट्ने गरेका देखिन्छन् । यसो गर्नु भनेको जिन्दगीको फरक सोच हो । किनभने मानिसका जीवनमा फ्रस्टेसन आइ नै हाल्दोरहेछ । दिग्दारी भावले सिँगौरी खेलिहाल्दो रहेछ । त्यसैले मान्छेकाझैँ मेरा जीवनमा  पनि आरोह, अबरोह, असन्तोष, असफलता, अभाव, रुवाइ, हँसाइ, पिराइ, फ्रस्टेसन, दिग्दारीआदि आदि क्षण आएका छन् । 

ती मेरा समिपमा झुत्ती खेल्दै आएका छन् । मैले चाहेर पनि आएका छन् । नचाहेर पनि आएका छन् । ती कति त ज्ञानको अभावले आएका छन् । कति उमेरजन्य कारणले आएका छन् । कति जीवन नबुझेका कारणले आएका छन् । जन्मदेखि मृत्यु बिचका खेला नबुझ्नाले यो दिग्दारीको समरमा जाकिएको होला । किनकि मान्छे मर्दा पनि यो पौरख बोकेर लैजाउँलाझैँ गर्छ । तर जे कारणले आएका भए पनि यस्तो दिग्दारीका बेलामा मान्छेले केही विशेष क्रियाकलाप गर्न थाल्छ, अनौठो क्रियाकलाप गर्न थाल्छ भन्छ मनोविज्ञान । 

किनभने मान्छे समाजमा आफूलाई सबैले चिनून भन्ने चाहन्छ र केही फरक क्रियाकलाप गर्न थाल्छ । त्यो फरक क्रियाकलापले समाजको ध्यान आकृष्ट गर्न चाहन्छ । हाम्रा पहिरन, शृङ्गार आदि भौतिक आवश्यकता मात्र होइन, हामीभित्रको समाजमा फरक र सुन्दर देखिने चाहनाको फल पनि हो भन्छ त्यही मनोविज्ञान । यस्तो मनोविज्ञानले मान्छेमा आएको फ्रस्टेसनलाई समन गर्न मद्दत पुग्छ । यही सिद्धान्तका आधारमा लेखिरहेको छु कि, मेरा जीवनमा मेरै कपालको चुल्ठोले मलाईधेरै शान्ति दिएको छ ।

मेरो चुल्ठोको पहिलो कुरा २०३० सालको हो । त्यो बेलाम दुईपल्ट एसएलसी फेल भइसकेको थिएँ । जाहिर छ, चरम फ्रस्टेसनमा थिएँ । फेल हुनुमा म आफू त दोषी हुने भइ नै हालेँ । परिवेश पनि दोषी थियो । खासमा त्यो उमेरलाई नै ‘एज अफ फ्रस्टेसन’ भनिन्छ । चाहनाका चाङमा हराएको चङ्गा जस्तै पातलो र बतासिने हुँदो रहेछ यो उमेर । यो फ्रस्टेसनको उमेर र परिवेशमा म बोके दारी पाल्थेँ । कपाल लामो पारेर पछाडिपट्टि रिबनले बाँध्थे । पक्का पनि त्यसको स्याहार थिएन । बिनामलजलवनझार जस्तै सुम्लिएर आएको थियो । त्यो मेरो चुल्ठो थियो ।मेरो खास साथी थियो ।मेरो कुरा बुझ्थ्यो । फ्रस्टेसन साम्य पारिदिन्थ्यो । तर तपाईँ जीवनमा कहिल्यै असफल हुनुभएको छैन भने यो बोध तपाईँलाई नहुन पनि सक्छ है । एउटा कुरा तपाईँलाई भनिहालूँ कि यो मेरो चुल्ठो–गन्थन हर्ष न विस्मत हुन सक्छ यहाँलाई ।

मेरो चुल्ठोको कथा पहिलोपल्ट एस.एल.सी. २०२९ सालमा दिएपछि सुरु हुन्छ ।सप्तरी जिल्लाको कञ्चनपुरको सर्वोदय हाइस्कुलमा पढ्थेँम ।तिनताकत्यहाँ एस.एल.सी.को सेन्टर थिएन । सप्तरी जिल्लाको सदरमुकाम राजविराजमा सेन्टर थियो । बाबाले ज्योतिषीबाट साइत हेराएर ल्याउनु भयो । साइत करिव ३ महिना पहिले निस्क्यो । राजविराजमा मेरी शुभद्रा फुपूदिदीको घर थियो ।म उहाँकै घरमा बस्न पुगेँ । उहाँहरूको घर एकदम सामान्य थियो । मलाई बस्न कुनै ठाउँ नै थिएन । शुभद्रा दिदीले मलाई उहाँको आमाजूको घरमा बस्न राखिदिनु भयो । घर करेसा जोडिएकै जस्तो थियो । खान दिदीको घरमा आउने, सुत्न उहाँको आमाजूको घरमा जाने गरी एस.एल.सी.सम्म बसेँ । त्यो बेला म ‘इनोसेन्ट’ थिएँ, अहिले सम्झँदा आफैँलाई हाँस उठेर आउँछ । 

प्रवेशपत्र लिन सेन्टर पुगेको थिएँ । मेरो प्रवेशपत्र थिएन । त्यहाँका कारिन्दा मान्छेले मलाई बताएका थिए कि मैले एस.एल.सी. दिन पाउँदिनँ । किनभने मेरो उमेर नै सोह्र वर्ष भएको थिएन छ । तिनताक सोह्र वर्ष नभई एस.एल.सी. दिन पाइन्थेन । म फुच्चे पसिनै पसिना भएको थिएँ । किनकि मेरा अभिभावक कोही थिएनन् । त्यत्तिकैमा मेरो हाइस्कुलका किरानी (कर्मचारी) देखा परे । उनले मलाई भनेका थिए – ‘निर्धक्क से तयारी करुँ । हम मिला देबे ।’

म फर्केँ । भोलिपल्ट परीक्षा दिन जाँदा मेरो प्रवेशपत्र आइसकेको थियो । कुरा के भएको रहेछ भने मेरो जन्म मिति मलाई एडमिसन गराउने नारायण यादव सरले लेखिदिँदा २०१४ साल माघ २८ गते राख्नु भएको रहेछ । त्यो मितिले म १५ वर्ष मात्र हुने रहँेछु । फेरि किरानीले रातारात मेरो जन्ममिति फेरेर २०१३ साल माघ २८ गते पारिदिए छन् । धन्य हो मैले परीक्षा दिन पाएँ । त्यसो त म जन्मिएको २०१३ साल भदौ ३ गते हो । 

परीक्षा केन्द्र राजविराजको पवि हाइस्कुलमा थियो । त्यो स्कुल त पक्की रहेछ । ठूलाठूला र अग्ला कोठाथिए । एकातिर बोल्यो अर्कोतिर सुनिने ह्वाँह्वाँ हुने रहेछ । खासमा त्यो ‘इको’ भएको रहेछ । म योभन्दा पहिले यस्तो खाले पक्का घरभित्र पसेको रहेनछु । जङ्गल जाँदा खोलामा कराउँदा पारी डाँडा थर्केझैँ पो गर्दो रहेछ । मेरो एउटा सातो त त्यसैले लिएको थियो । राजविराजको चहलपहल पनि कहाँ गाउँको जस्तो हुनु र ! मान्छे उफ कति बाठा लागे मलाई त्यो बेला ।

परीक्षाको दिन गजबको दृश्य थियो । परीक्षा भवनको बाहिर चौरमा चिट चोराउन हजारौँको सङ्ख्यामा मान्छेहरू आएका थिए । अभिभावकहरू आएका थिए । पुलिसले गोलबन्दी पहरा दिएको थियो । सेन्टरलाई पुरै घेरेको थियो । विषयगत मास्टरहरू नजिकैका घरमा कोठा लिएर कार्वन पेपर राखेर चिट बनाउँथे र बेच्थे । प्रश्नपत्र आउट भइहाल्थ्यो । सायद सेटिङ मिलाइएको हुन्थ्यो होला । एउटा विद्यार्थीका तीन चार जना मान्छे सहयोगी बाहिर हुन्थे । मान्छे यति हुन्थे कि मानौँ कुनै हाटबजार लागेको छ । चनाचटपटी, आइसक्रिम र पानका घुम्ती गुडुवा र हिँडुवा दोकानहरू बग्रेल्ती खोलिएका हुन्थे ।

मास्टरले बनाएको चिट किनेर एउटा मान्छे पुलिसको घेरानजिक जान्थ्यो । पुलिसका हातमा खुसुक्क एक दुई रुपियाँ हालिदिन्थ्यो र ऊ पुलिसलाई छल्दै घेराभित्र पस्थ्यो । पुलिस पछिपछि दगुथ्र्यो । तर पुलिसले उसलाई भेट्दैनथ्यो । र झ्यालमा पुगेर उसले आफ्नो विद्यार्थीलाई चिट दिन्थ्यो । र दगुरेर फर्कन्थ्यो । पछिपछि पुलिस कुदिरहन्थ्यो । चिट दिने मान्छे सकुसल भिडमा मिसिन्थ्यो । यस्तो रमिता सयौँपल्ट हुन्थ्यो । 

यो कुरा मेरा पिताजीलाई पनि भनिएको थियो । तर पिताजीले भन्नु भएथ्यो : ‘आफ्नो पौरखले गर्नु पर्छ केटा जे काम पनि ।’

मेरा कोही थिएनन् । म अलिकति लेख्थेँ । धेरै रमिता हेर्थेँ । मुटु ढुकढुक गथ्र्यो । पल्लो बेन्चको साथी डेस्कमाथि राखेरै चिट साथ्र्यो । उसलाई गार्ड केही गर्दैनथे । देखे नदेखेझैँ गर्थे । यता मजस्ता निरीहले मुन्टो फर्कायो भने जोडले कराउँथे : ‘डोन्ट मरमर, क्या है जी, सिधे हो के लिखो ।’

परिणाम प्राय अरू साथी पास भए । म फेल भएँ । म खासमा एकदम पढाकु होनहार थिइनँ, कि मैले फेल नहुनु पथ्र्यो । भुस्कोल रद्दी पनि थिइनँ, कि म फेलै भइहाल्नु पथ्र्यो । सरदर थिएँ । तर म फेल भएँ । त्यसपछि मेरो नियति गाई हेर्ने, गोबर सोहोर्ने, डिँगा चराउने, दूध दुहुने, घाँस काट्ने, मल फ्याँक्ने यस्तैयस्तै हुन्थ्यो । तिनताकयो कुरा सामान्य थियो हाम्रो परिवारमा । किनभने हाम्रो परिवार विशुद्ध कृषक थियो । परिवारका सबै सदस्यले काम गर्नु पथ्र्यो । त्यो मलाई हेला गरिएको भने होइन । एसएलसी पास भएर घर बसे पनि त्यो काम गर्नै पथ्र्यो । फेल भए पनि गर्नै पथ्र्यो । 

चिया खाने चलन थिएन । समाजमा चिया–चलन भित्रिएको थिएन । एकबिटो घाँस काट्यो ।भात खायो । गाई फुकाएर नजिकैको चुरे जङ्गलमा लग्यो । दिनभरि जङ्गलमै रल्लियो । वनपाखामा गएर नेपाली लोकगीत घन्कायो । बेलुका आँउदा सिजनअनुसारको जङ्गली कन्दमुल थाकल, खज्यौरी, आँप, खन्यु, भोर्लाको पाट, साल तथा भोर्लाका पात ल्यायो । जीवनमा यही रन्का थियो । 

हो यही रन्कामा मैले तिनताक लामो कपाल पालेको थिएँ । पालेको पनि के भन्नु । फालेको थिइनँ । स्याहार थिएन । रिबनले बाँधेर हिँड्थेँ । त्यसो गर्दा अरूले मलाई सोघ्थे कि किन कपाल पालेको ?, किन रिबन लगाएको ?, किन दाह्री नकाटेको ? मान्छेले यस्तो भन्दा मतिर मान्छेको ध्यान भएको महसुस गर्थेँ । आम र सरदर मान्छेलाई कसले पो हेर्छ र यो संसारमा !तर यसले मेरो फ्रस्टेसन अलि मत्थर हुन्थ्यो । घर तथा आफन्तबाट सम्झाउने, सिकाउने, कराउने, गाली गर्ने र थर्काउने सिमा मैले पचाइसकेको थिएँ । आफन्त हारिसकेका थिए । यो मेरो टिनेजर र असफलताको काल थियो । 

तर पनि यो असफलता भनिएको जीवन जस्तो रमाइलो जीवन जिन्दगीमा फेरि आएन । अहिले बुझ्दै छु कि सफलता÷असफलता पनि फिलिङ् रहेछ । मानव निर्मित फिलिङ । र पनि त्यो असफलतामा अग्र्यानिक रमाइलो थियो ।साथीभाइ थिए । जङ्गल थियो । गाउँबाटतन्देरी÷तरुनीहरू गोठाला पनि गएकै हुन्थे । कुर्कुरे बैँस आएकै थियो । अहा कति रमाइलो थियो जीवन । एउटा नभोगेको उच्छवास थियो । संस्कारले बाँधेको घेरा थियो । कल्पना मात्रले पनि मन मगनमस्तीले दौडिन्थ्यो वायु पङ्खी जस्तो । पूर्ण स्वतन्त्र भएर रौसिएर उफ्रन्थ्यो । एउटा घटना सम्झन्छु, एउटी केटी साथीको घाँसको भारिमा ठूलो ढुङ्गो हालिदिएर बिचरीलाई भारि बोकाएको । पछि थाहा पाएर पनि उनी नरिसाएको । कस्तो माया ! कति मस्ती ! अहिले सम्झन्छु थुइक्क मेरो बुद्धि !

यो रौनकका क्रममा फेरि एस.एल.सी. आइहाल्यो । फेरि बुवाले अचुक साइत हेरेर २ महिना पहिले नै राजविराज फुपूको घर पठाउनु भयो । जिन्दगी फेरि एकपल्ट पढाइमा एकत्रित भयो । र पनि पहिलो सालजस्तै नै वातावरण रह्यो । उही सेन्टर, उही चोरी, उही समय, उही व्यवस्था । परिणाम म फेरि फेल भएँ । फेल भएपछि पनि उही जङ्गल र उही कृत्य छँदै थियो । मजाको कुरा के भने खान लाउनको दुख थिएन । बेलुका घर पुग्दा आमाको मायामिश्रित चोखो मायायुक्त तातो वाफिलो भात खान पाइन्थ्यो । खातै खात नभए पनि एक धरोको समस्या थिएन । 

दोस्रो पल्ट एसएलसी फेल भएपछि भने मेरा मनमा ज्वारभाटा उत्पन्न हुन थालेको थियो । फ्रस्टेसनको मात्रा झन् बढेको थियो । चुल्ठो झन् लामो भएको थियो । सँगै पढेका साथीहरू सहर गएर पढ्न थालेका थिए । अलि सुकिला मुकिला पनि देखिन थालेका थिए । चिल्ला पनि देखिन थालेका थिए । कुरा पनि सहरकै गर्थे । बाठा भएझैँ लाग्थ्यो । आफूले पसिनाको गन्ध चाल पाएको, तर उनीहरू कलेजका केटीले लाउने परफ्युम बास्नाका कुरा गर्थे । आफ्ना खुट्टाका कुर्कुच्चाहरू पटपटी फुटेका थिए । आफूले भने हिलोले खाएका हातका र खुट्टाका औँलाका कापमा कहिले तेलबेसार कहिले भलायोको चोप लगाएर पनि फेरि हिलोमै जानु पर्ने हुन्थ्यो ।  

यो दृश्य मेरी ठूलीआमाका छोरा डिल्लु दाइले सायद बोध गर्नु भयो कि क्यार ! दाइ राजविराजमा कृषिविकास बैङ्कमा जागिरे हुनुहुन्थे छ । उहाँले मलाई राजविराजमा लगेर सहकारी संस्थामा भनसुन गरेर जागिर लाइदिनु भएको थियो । मेरो तलव रु १५० प्रति महिना थियो । तर त्यो जागिर दुई महिनापछि सकियो । याने कि जागिर गयो । म फेरि फर्केर घर पुगेँ । र फेरि उही नियति ।

चलानी चप्पलको चलन गाउँमा पसेकै थिएन । जित बहादुरले बनाइ दिएको काठको खराउ पनि लगाएको सम्झना छ । कोही कोही बाहिर काम गर्ने लाहुरे गाउँलेहरू चप्पल÷जुत्ता लगाएर हिँड्थे । सरदर मान्छेले चप्पल लगायो भने सुकुलगुण्डाको उपमा पाइन्थ्यो । यता मेरो कपाल झन् लामो भएको थियो । मन विह्वल हुन थालेको थियो । सहरबाट सुकिला मुकिला आफन्तहरू हाम्रा घर आउनुहुन्थ्यो । जङ्गल जान मन पराउनु हुन्थ्यो  । म लिएर जान्थेँ । खोलामा खोपिल्टा पारी आएको चिसो पानी सालका पातको खोँची बनाएर खुवाउँथेँ । ढेडुहरू देखेर उहाँहरू यस्तो रमाइलो मान्नु हुन्थ्यो कि मानौँ सारा बम्बैको खेला छ यो जङ्गलमा । म भने आश्चर्यमा पर्थेँ । सायद म चरम फ्रस्टेसनको उमेर पार गर्दै थिएँ । चरम फ्रस्टेसन गुजार्दै थिएँ । मनमनमा भगवान भाक्थेँ कि हे प्रभु यो खेतीकिसानी काम मैले गर्न नपरोस् । त्यो बेलाको समाजले सिकाएको नै त्यही थियो । त्यो बेलाको शिक्षाले सिकाएको कुरो नै थियो खेतीलाई हियाउने । त्यसैले ममा सायद एकप्रकारको निराशाको जन्म भएको थियो कि झैँ लागेको छ अहिले । सहरबाट आफ्ना मान्छे नआऊन् जस्तो लाग्थ्यो । कसैसँग बोल्न नपरोस् जस्तो हुन्थ्यो । 

एस.एल.सी. पास हुन नसकेका अरू साथी पनि थिए । तिनीहरूले एस.एल.सी. समकक्षी गोपाल पाँडे भन्ने प्रवेशिकाको प्रमाणपत्र किन्न थालेका थिए । गोपाल पाँडे परीक्षामा नाम मात्रको नाटक हुन्थ्यो रे । पैसा दिने सबै पास हुन्छन् रे भन्ने कुरा साथीहरूले सुनाए । मैले मेरा पिताजीलाई सो गोपाल पाँडे किन्ने कुरा गरेको थिएँ । बुवाले भन्नु भएथ्यो – ‘फेरि एस.एल.सी. दिनु नपर्ने हो भने किन् । तर यो पनि किन्ने अनि एस.एल.सी. पनि दिने फेरि पैसा खर्च गर्ने दुवै कुरा हुन्न ।’ सायद भाग्य थियो, मैले खोई किन हो एस.एल.सी. नै रोजेँ । कति साथीहरूले गोपाल पाँडे किने । पछि ती साथीले माथिल्लो प्रमाणपत्र पढेरै लिए । जागिर पनि खाए । तर प्रमाणपत्र छानविनमा परेर गोपाल पाँडे रद्ध भएकाले जागिर मात्र गएन बरु अब उनीहरू त टेस्ट पास मात्र पो हुन पुगे । 

मेरी कान्छी फुपूका जेठा छोरा कपिल दाइ तिनताक विराटनगरमा जागिर खाँदै कलेज पढ्नु हुन्थ्यो । उहाँले मेरो निराशालाई सायद बुझ्नु भयो होला । मेरा जगल्टे कपालले देखाएको फ्रस्टेसन सायद उहाँले अवगत गर्नु भयो होला ।अनि तेस्रोपल्टको एस.एल.सी. परीक्षाका लागि सेन्टर चेन्ज गरेर विराटनगर लैजानु भयो । उहाँको काका शम्भु आचार्य र राम आचार्यको कोसी प्रोजेक्टमा जागिर थियो र उहाँहरूको क्वार्टरमा नै हामी करिव एक महिना पहिलेदेखि नै बस्यौँ । घरबाट निस्कने बेलामा बुवाले फेरि ज्योतिषको चक्कर सुरु गर्नु भयो । घडामा पानी राख्ने काम गर्न खोज्नु भयो । मैले विद्रोह गरेँ यो पल्ट । त्यो सब केही हुन दिइनँ । म बुङ्गो तालले विराटनगरतिर हिँडेको थिएँ । त्यसपछि मैले यात्राका बेला साइत हेर्ने, औँसी पूर्णिमा बार्ने जस्ता काम गर्न छोडेँ । म बहस त गर्दिनँ, किनकि मसँग पर्याप्त ज्ञानको अभाव छ, तर अहिलेसम्म म त्यसलाई अन्धविश्वास मान्दै आएको छु । यो बेला आएर म शम्भु आचार्य भिनाजु र दिदीलाई ज्यादै धेरै सम्झँदैछु । उहाँहरूको उदात्तता देख्ता म भावविह्वल हुन पुग्छु । किनकित्यो बेला कोठा र सुबिधा पर्याप्त थिएन । तर अटाएर राख्नु भयो । अहिले म बाँचेको मेरो सभ्यतामा यसरी अर्को मान्छेलाई महिनौँ बिनाउद्धेश्य बस्न खान दिने सहृदय छैन । काठमाडौँको मेरो ४ तले घरले कसैको उद्धार गरेन । यो कुरा मेरो चुल्ठोले राम्रोसँग बुझेको छ । 

यसरी २०३१ सालको एस.एल.सी. परीक्षामा भाइ गोपालसहित म पनि पास भएँ थर्ड डिभिजनमा । आज कपिल दाइको स्वर्गारोहण भइसकेको छ, तर म बाचुन्जेल उहाँको यो गुण बिर्सन सक्दिनँ । मेरो चुल्ठोले भन्छ – कसैले कसैलाई कुनै खास अवसरमा मात्र गुण लाउन सक्छ । सधेँ त सक्दैन नि । यो बेला मैले बुझेँ कि आखिर मान्छेको जीवनले फेर खाने समय एक सिन्का जति पनि हुँदो रहेनछ । म फेरि फेल हुँदाको पलको कल्पना गर्छु । जीवन कसरी बित्थ्यो होला ! यो एसएलसी फेलका तीन वर्ष मेरालागि मान्छेको जीवन चिन्हाउने वर्ष भएका छन् । मान्छेलाई मान्छे ठान्ने ज्ञान त्यही बेला नै पाएको हुँ । 

त्यो बेला कपालको चुल्ठोझन् लामो भएको थियो । खोई के आकर्षण थियो कुन्नि त्यो चुल्ठोमा ।म मेरो चुल्ठोलाई असाध्य माया गर्थेँ । अहिले पनि अलि विह्वलको अवस्था आयो भने दिग्दारीको भावना आयो भने दारी पाल्ने र कपाल पालूँ पालूँ भन्ने लाग्दै हुन्छ । अनिम तपाईँहरूलाई अनुमान पनि गरिहाल्न अनुरोध गर्दछु कि मैले एउटा लामो फर्लाङ समय कपाल ठुट्याएर कटाएँ, तर अचेल फेरि चुल्ठो पाल्न थालेको छु ।कपाल पाल्न हुँदैन भन्ने मेरो आफन्त परिवेश हार्दैछ । म ढिट भएको छु । 

किनभने जीवनको उकाली ओह्राली भोग्दै अचेल म अमेरिकामा बसेको छु । बसेको छु माने बुढारी बिताउँदै छु । बुढारी बिताउँदै छु को मतलब बुझ्नु भयो होला । म सन्तानको छहारी खोज्दै अमेरिका आइपुगेको छु । यदि सन्तानको छहारी चाहिन्छ भने सन्तान चिनमा भए चिन र जापानमा भए जापान जानु जरुरी नै हुन्छ । अमेरिकामा बसेको छु, यसको मतलब जाहिर छ, भौतिक सुख आगर छ । तर मसँग बल, बैँस, उल्लास, उमङ्ग र आँटहरू पातलिएका छन् । व्यवहारले, उर्जाले, परिवेशले र चिन्तनले बुढ्यौलीको सङ्केत गरिरहेको छ । मन कुदिरहेको छ । उडिरहेछ । तर तन बिसौनी मन पराउन थालेको छ । चौतारी मन पराउन थालेका छन् । आँखा, नाक, कान, फोक्सो, मुटु, छाला, हाड आदिले आफ्नो धर्म निर्वाह गर्न अल्छि गर्दैछन् । परसम्म पुग्न आतेस मान्दै छन् । यिनीहरूको आतेसमा म भने दिग्दार हुन्छु । यो त मेरो भौतिक आतेस मात्र हो । उमेरजन्य आतेस हो । स्वाभाविकपनि हो । 

तर किनकिन मेरा दिमागका पत्रलेघन–घनत्व अनुभूत गर्दैछ । त्यसैले म दिमागभित्र सल्बलाएर केही अझै खोज्दैछु । खासमा म के खोज्दैछु, मैलाई थाहा छैन । म जन्म र मृत्युका सत्यहरू र त्यसका बिचमा गरिएका कृया÷प्रतिकृया, कर्म÷अकर्म, आफन्त÷अआफन्तका कुराका परिधिहरू नापिरहेको छु । यसका गहिराइहरू मापनमा छु । र विडम्वना, यो बेला पनि फेरि म असफल भइरहेको छु । धरोधर्म असफल भइरहेको छु । गन्तव्यविहीन भइरहेको छु । नियति के हो ? सुख के हो ? सुन्दरता के हो ?परिवेश के हो ? पराया को हुन् ? आफन्त को हुन् ? स्वर्ग के हो ? नर्क के हो ?भन्ने प्रश्नको पेटारो मेरा समिपमा चाङ लागिरहेछन् । र म निरुत्तर छु । तर तपाईँ कुनै एउटा पुरानो दर्शनका पानाबाट कुरा झिकेर भनिदिन पनि सक्नु हुन्छ । तर तपाईँको भनाइ भोगाइ होइन, कक्षा कोठामा बबुरो मावि शिक्षकले पाठ्य–पुस्तक घोकेर अन्तरीक्ष पढाएजस्तै हो । 

मलाई ‘खाइस्, ठिक्क पर्यो । के खोज्दै गएको थिइस् त !’ भनिदिनु हुन्छ भने पनि भन्नुहोस् । तपाईँले भन्ने कुरामा मेरो पहुँच छैन । फेरि तपाईँले जति जे बुझ्नु भएको छ त्यही भन्ने त हो । भन्नुस् केही छैन ।र पनि बुझ्नुस् कि अहिले मसँग मेरो देश छैन । मेरो समाज छैन । मेरो भाषा छैन । मातृत्वभाव छैन । पितृत्व गर्व छैन । साँच्चै हृदय स्पन्दन गर्ने प्रियजन छैनन् । मचम्केको श्वेत हिमाल छैन । म रमेको पहाड छैन । म जन्मेको तराइ छैन । खासमा मेरो भन्ने कुनै कुरै छैन मसँग । अर्काको कुरामा मामाको घोडी मेरो हिहि गरिरहेको छु । यो कुरा देश, भाषा, मातृत्व, पितृत्व, नगुमाउनेलाई थाहा हुने कुरा पनि होइन । यति खेर आफैँसँग कुरा गर्दैछु कि मसँग अरूको इसारामा चल्ने एउटा जीवन छ । त्यो चलिरहेको छ भन्छन् । होला । तपाईँ मलाई अभागी भने पनि भन्नुस्, भाग्यमानी भने पनि भन्नुस् र अमेरिकाको गफी दम्भ भने पनि भन्नुस् । जे ठान्नु हुन्छ भन्नुस् ।तर पनि पत्याउनुस् कि मलाई यति खेर निकै दिग्दार लागेर आएको छ । 

यसरी दिग्दार भएका बखत मलाई जुनेली रातको समयमा आफ्नोपनको छतमा बसेर बाँसुरीको तिरिरी धून निकाल्ने विद्या जानेको भए हुने नि ! भन्ने लाग्छ । संसार बिर्सिएर हारमोनियमा सारेगामापधनि सुर मिलाउन जानेको भए पनि हुन्थ्यो नि ! भन्ने बोध हुन्छ । तर उफ, कहाँ पाउनु त्यो सिप ! जीवन त कर्ममाण्डी पढाइमा बित्यो । किताबमा लेखिएका सूत्र अर्थबिना घोक्दै बित्यो ।पृथ्वीनारायण शाहको बाबुको नाम नरभूपाल शाह थियो भनेर हजारौँपल्ट घोकियो होला जिन्दगी भरि । नाथिएको,  महला लगाइएको र मेलोमा दुवालीले दनक दिएर जोतिएको जोताइएको गोरुजस्तै एउटा लयमा खुरुखुरु हिँडियो । र ती सूत्रहरू समयसालमा बिस्र्यो । आखिर जीवन यसोगरे पनि चिप्लियो, उसो गरे पनि चिप्लियो । यसो गरे पनि दिग्दार, उसो गरे पनि दिग्दार हुने रहेछ । र तयो दिग्दारीका बखतमा अहिले फेरि चुल्ठो पाल्दैछु । पालिरहेको छु । सबभन्दा प्यारो र सहृदयी यही चुल्ठो भएको छ । हुँदैछ । किनभने यसले मेरा कुनै कुरामा विरोध गर्दैन । मेरो हृदय बुझ्छ यसले । त्यसैले त ए चुल्ठो म तिमीलाई मुसारेर आनन्दित भएको हुन्छु । सुमरेर व्यतिरेक भएको छु । तिमीलाई थाहा छ के मेरो चुल्ठो, आइ लभ यु !

प्रकाशित: १५ आश्विन २०७७ ०७:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App