७ वैशाख २०८१ शुक्रबार
कला

कथा सकिएपछि...!

कथा

मन गहिरे

 

भर्खरै प्लस टु सकेकी नातिनीको विदेश जाने मोह देख्दा हजुरआमा चिन्तित भइन्। आफ्ना चारै जना नातिनातिनालाई एक ठाउँमा बोलाइन् र भनिन् ।

“आज तिमीहरूलाई एउटा कथा सुनाउँछु । त्यो पनि सत्यकथा । सुन्छौ ?” सबै नातिनातिनाले “सुन्छौं भन्नुस् हजुरआमा” एकैस्वरमा भने ।

हजार आमा गम्भिर हुँदै कथा शुरू गरिन्–

रोजी ब्युटी सेन्टरमा युवतीहरूको सधैँझैँ भीड नै लाग्थ्यो । रिद्धिमा ब्युटीसियन भएपछि खोलेको उनको त्यो पसल राम्रो आम्दानीको स्रोत थियो । फत्तेमान काजीका छोराहरू बरालिएर हिँडे पनि छोरीले गरेको पेशाले, उनकै आम्दानीले घर चलेको थियो । मेहनती, सुन्दर र सुशील रिद्धिमा सबैकी प्यारी थिइन् । अब्बल नम्बर ल्याएर स्नातकोत्तर गरेकी रिद्धिमा पढाइदेखि लिएर आफ्नो काममा पनि सिपालु थिइन् । एकदिन उनको मोबाइलमा म्यासेज आयो । दुबईका लागि भिसा लाग्यो । उनी हर्षविभोर भइन् । अब विदेशमा गएर धेरै पैसा कमाउने इच्छा बढ्न थाल्यो । बाहिर जानकै लागि भनेर पासपोर्ट बनाएर बसेकी थिइन् । रिद्धिमा आफ्नो सपना साकार भएकोमा प्रशन्न थिइन् । यसै विषयलाई लिएर आफ्नो बाबुआमासँग कुरा गरिन् । 

“बुवा म दुबई जान पाउने भए । भिसा लाग्यो अब म जानुपर्छ ।”

बुबाले नियाँस्रो मान्दै भने, “छोरी तिमी गएपछि हामीलाई कसले हेर्छ । छोरा भनाउँदाहरू बरालिएर हिँडेका छन् ।”

“बुबा के म सधैँको लागि जाने हो र ? दुईतीन वर्ष काम गर्छु, पैसा टन्न कमाउँछु, अनि फर्कन्छु ।” रिद्धिमाले यसो भन्दै आफ्ना बुबालाई सम्झाइन् । रिद्धिमा दुबई जान तयार भइन् । ओभरसिजको मालिक प्रविण सिंहलाई आफ्नो कमाइबाट बचत गरेको चार लाख रुपियाँ पनि बुझाइन् । दिल्ली हुँदै दुबई जान एयरपोर्ट पुगिन । दुईतीन दिन दिल्लीमा राखी रिद्धिमालाई अनि मात्र दुबई लाने रहेछ । दिल्ली पुगेको पहिलो रातमै दिल्ली पु¥याउने दलालले रिद्धिमाको अस्मिता लुट्यो । भएको कमाइ सम्पूर्ण लगानी गरेर त्यहाँसम्म पुगेकी रिद्धिमा दोधारमा परिन् । रातभर रोएर बिताइन् । घर फर्कु वा दुबई जाउँ? यही प्रश्नले उनलाई बारम्बार तड्पाइरह्यो । त्यो भन्दा पनि पहिलोपटक पशुतुल्य लोग्ने मान्छेको हातबाट आफ्नो कुमारीत्व लुटिँदा पनि चूपचाप बस्नुपरेकोमा उनको आत्माले उनलाई धिक्कारिरहेको थियो । आत्मसम्मान गिरेको थियो । 

दोधारमा हुँदा हुँदै उनी दुबई जाने निर्णयमा पुग्छिन् । भोलिपल्ट दुबई एअरवेजबाट दुबई पुगेकी रिद्धिमालाई एयरपोर्टमै चार जना दलालीले नाम दिए अनुसारको मान्छे गाडी लिएर आउँछन् । गाडीमा छ घण्टाको यात्रापछि एउटा घरमा पु¥याउँछन् । छत्तीस वटा एटेज कोठा भएको त्यस घरको कामको लिस्ट अंग्रेजीमा लेखिएको थियो । त्यहाँ पुगेको दुई घण्टामै रिद्धिमालाई बाथरुममा लगि उनको कालो लामो कपाल काटिदिएर मुडुली बनाइदिए । रिद्धिमाले जति रोइकराइ गरेपछि केही काम लागेन । लगाएको कुर्थासुरवाल फुकालेर भेष्ट र जांगे लगाउन दिएँ । अर्को दिन बिहानै चार बजे उठ्ने र लगातार अबेरसम्म काम गरिरहदाँ सुत्नेबेलामा रातको एक बज्थ्यो । छत्तीस वटा कोठाका अगाडि थुप्रिएको लुगा धुने, बिहान ब्रेक फास्ट र खाना तयारी गरी अठार जनालाई प्रत्येक कोठा कोठामा पु¥याउनुपर्ने, रातमा सबैको कोठाकोठामा उनीहरुको सेवामा खटिनुपर्ने उनको दिनचर्या थियो । रिद्धिमा के सोचेर आएकी थिइन् के भयो ! कस्तो सपना बुनेर आएकी थिइन् । सपनाको पहाड गर्लम्मै ढल्यो । आँखा अगाडि शून्य अनि अन्धकार देखिन थाल्यो । रातदिन रुनुबाहेक अरू केही उपाय थिएन् । उनीसँग भएको पैसा, पासपोर्ट, कपडा सबै उनीहरूले नै राखेका थिए । मान्छेलाई कुकुर जस्तो बनाएर काम लगाउने, मानवताहीन ती टाउकामा फेटा भिरेका ती मान्छे देख्दा रिद्धिमाको मुटु काम्थ्यो । उनलाई भागेर हिड्न मन लाग्थ्यो तर त्यस घरको झ्यालदेखि बाहिर हेर्न समेत बन्देज थियो । तल्लो तलाको मूलगेटमा ठूलो ताल्चा लगाइएको हुन्थ्यो ।

दिनहरू बित्दै गए । रिद्धिमाका हातगोडा शिथिल हुँदै गए । काम गर्न नसक्ने भएपछि त्यस घरका मान्छेले उनलाई इन्जेक्शन लगाएर भए पनि काममा लगाउन थाले। रिद्धिमाले झ्यालको सिसा पुछ्ने क्रममा बाहिर बाटोमा कतिपय नेपालीहरू पनि हिडेको देख्थिन् । एकदिन त्यो नर्कबाट बाहिर निक्लिने उपाय खोजिन् । एउटा कागजमा म नेपाली हुँ, म यो घरमा बन्धकजस्तै भएर बस्नुपरेको छ, मेरो उद्दार गरिदिनु, “प्लिज हेल्प मी” लेखिन् अनि गमलामा राखिएकोे गिट्टीमा बेरेर झ्यालबाट बाहिर बाटोमा फाल्ने साहस गरिन् । संयोग बस् बाटो हिँड्ने मान्छेले त्यो देखे र हेरे । भोलिपल्ट त्यँहाका नेपालीहरूको सहयोगमा प्रहरी ल्याएर रिद्धिमालाई त्यस घरबाट बाहिर निकालियो । छ महिनापछि घर बाहिर निस्कँदा उनका आँखा तिररिमिराएका थिए । हातगोडा कमजोर भएर थरथरी काँपिरहेका थिए । त्यहाँ एउटा संस्थाले नेपाल फर्कने व्यवस्था मिलाइदियो ।

शिथिल भएर घरसम्म पुग्छु या पुग्दिन भन्ने अवस्थामा एउटा भेष्ट र जाँगेको भेषमा प्लेनबाट रिद्धिमा नेपाल आइपुगिन् । सुन्दर, पुष्ट शरीर कंकाल बनेको थियो । न रूप थियो न रङ्ग नै धन दौलत केही थिएन । निर्जीव मूर्तिसरह विवश हाड र छालाको शरीर लिएर, हातमा मात्रा एउटा पासपोर्ट लिएर आएकी उनी प्लेनबाट झर्ने क्रममै बेहोश भएर ढलिन् । सुरक्षाकर्मीले अस्पताल पु¥याए । दुई दिनपछि मात्र होसमा आएकी रिद्धिमाका बुढा बाबुआमालाई प्रहरीले खबर गरे । ती बाबुआमाले शुरूमा तँ आफ्नै छोरीलाई चिन्न सकेनन् । आफ्नो भोगाइ बताएपछि आफ्नी छोरीको त्यस्तो अवस्था देखेर उनीहरू भक्कानिँदै रोए । धनको सट्टा रोग र शोक बोकेर आएकी रिद्धिमा महिना दिनसम्म अस्पतालमै बसिन् । बिस्तारै ठीक हुँदै गएपछि उनी घर फर्किइन् । आफ्नो पुरानो व्यवसाय गर्ने सोंच बनाइन । ब्युटीपार्लरको शुरूवात गर्ने दिन घर अगाडि आगो बालिन्। आगो दन्किदै थियो । भित्रबाट त्यही पासपोर्ट लिएर आइन् । पासपोटलाई धुजाधुजा पारिन् र त्यही दन्किएको आगोमा फालिन् । “अबदेखि यो देश छाडेर कहीँ जाने छैन, विदेशको सपना देख्ने छैन” भन्दै कसम खाइन् ।

अनि नयाँ जीवनको शुरूवात गरिन् । बिहे गरी घरजम भयो, पछि नातीनातिना पनि भए । त्यसैले तिमीहरुले सोचेजस्तो सहज छैन विदेश । विदेश गएर कतिले कमाएका पनि छन् तर कतिले ज्यान गुमाएका पनि छन् । सीप भए आफ्नै धर्तीमा पौरख गरे त्योभन्दा ठूलो गौरव अरू केही हुँदैन ।

कथा सकिएपछि त सबै नातीनातिनाका आँखामा आँसु टल्पलाएको थियो । सबै मौन देखिए । मौनता भङ्ग गर्दै हजुरआमाले एउटा रहस्य खोलिन् । त्यो कथाकी पात्र रिद्धिमा तिमीहरूको हजुरआमा (आफू) भएको बताइन् । सबै नातीनातिनाले जिब्रो काढेर आश्चर्य प्रकट गरे सँगसँगै तिनीहरूले विदेशको मोह त्याग्ने हजुरआमासँग बाचा गरे ।

प्रकाशित: १४ आश्विन २०७७ ११:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App