coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

सत्ताइस लाख बूढाबूढीका कुरा !

सन्दर्भ – अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस

चेतनाथ कणेल ‘हरित’

 अक्टोबर १ तारिख (असोज १५ गते) । संसारभरि अक्टोबर १ तारिखको दिनलाई ‘अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’को रूपमा मनाउने चलन छ । संयुक्त राष्ट्रसंघको आह्वानमा विशेष नारासहित मनाइने यस दिनले हाम्रा सोच, भावना, कर्म र सेवाहरू अझ बढी ज्येष्ठ नागरिकमैत्री बन्दै जाऊन् भन्ने चाहना राख्दछ । हरेक देशले यसतर्फ थप प्रतिबद्धता पनि जनाउँदै जाऊन् भन्ने पनि विश्वव्यापी अभिप्सा हो ।

खासगरी विश्वभर नै बूढाबूढीको संख्या पछिल्ला समयमा ह्वात्तै बढ्न थालेबाट बुढ्यौली जीवन कति स्वस्थ, कति सुरक्षित र कति सम्मानित भन्ने कुरामा हरेक नागरिकको चासो र चिन्ता बढ्नुपर्ने अवस्था आएको छ । बूढो हुन पाउँदैमा कोही पनि भाग्यमानी हुँदैन । किनकि बुढ्यौली जीवनमा प्रवेश पाएको हरेक व्यक्तिले आफ्नो परिवारबाट माया; छिमेक, टोल समाज र राज्यबाट सम्मान र अलिकति पनि विमार लाग्नासाथ स्वास्थ्य उपचार र भरपर्दो हेरचाह पाउने वातावरणको प्रत्याभूति चाहन्छ । धन्न नेपालमा मनमोहन अधिकारी प्रधानमन्त्री हुँदाको समय (२०५१) देखि बुढ्यौली भत्ता दिने चलन बस्यो, जुन अहिले पनि निरन्तर छ । र, भविष्यमा पनि निरन्तर रहने सबैको अपेक्षा छ । जुनसुकै सरकार आए पनि यो भत्ता कम गर्न वा काट्न चाहँदैनन्, बरु बढाउनै चाहन्छन् भन्ने कुरा पनि छर्लंगै छ । स्रोत नै नभए पनि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सरकारको अन्तिम दिनगन्ती भइरहेको बेला बूढाबूढीलाई मासिक ५ हजार भत्ता दिनुपर्ने खालको रातारातको निर्णय गरेका थिए । तर उनको नेतृत्वको सरकारको अवधि समाप्त भएकोले त्यस्तो हतास र विना योजना र स्रोत प्रत्याभूतिविनाको निर्णय पनि जनताले चाहेनन् । नयाँ सरकार आयो । मासिक २ हजारको भत्ता बढेर अहिले ३ हजार भएको छ । आजकाल बूढाबूढी निकै खुसी देखिएका छन् । पछि विस्तारै ५ वा १० हजार पनि हुन सक्ला भन्ने कुरामा पनि ढुक्क छन् । तर प्रबुद्ध ज्येष्ठ नागरिकले आफूले मात्र भत्ता धेरै पाउनुपर्छ भन्ने मान्यता राख्दैनन् । भत्ताका आफ्नै अन्तर्कथा पनि छन् । तर समग्रमा ज्येष्ठ नागरिकप्रति सरकारले देखाउने सम्मानको एउटा उदाहरण यो पनि हो भन्ने कुरामा भने सबैजसो सहमत छन् ।

यो वर्षको ज्येष्ठ नागरिक दिवसको नारामा ‘स्वस्थ बुढ्यौली (हेल्दी एजिङ)’ लाई जोड दिइएको छ । हुन पनि हो खराब स्वास्थ्य र रोगसहितको बुढ्यौली कसैको पनि चाहना हुँदैन । रोगले ग्रस्त भएर उपचार नपाई मर्नुभन्दा बरु चाँडै ने मर्नु जाती भन्ने कुरा हाम्रो समाजमा पचिसकेको कुरा हो । गाउँघरमा बस्दा र डुल्दा बेलाबेलामा यो कानमा कुरा ठोक्किन आउँछन् ः  यो बूढीको काल पनि नआउने !, थला च्यापेर बसेको बूढोलार्ई यी भगवानले पनि किन बचाइराखेका होलान ?, काम छैन काज छैन खाने बेलामा लाज छैन !, काम न धाम, खाने बेलामा मिठो माम !, आदि आदि ।

नेपाली समाजमा यी ज्यादै प्रचलित बोली हुन् । कुनै बोली दिक्क लागेका बेला बूढाबूढी आफैं पनि बोल्छन्, कुनै बोली छोरा वा बुहारी वा पाल्नुपर्ने वा हेरचाह गर्नुपर्ने मान्छेका मुखबाट अनायासै निस्कन्छन् । अनायासै निस्कने त्यस्ता बोलीहरूले भने हाम्रो घरपरिवार र समाजका लागि धेरै सन्देश दिएका हुन्छन् । बूढाबूढीको जीवनलाई बोझ मान्ने संस्कार बढ्दै जाँदा यस्ता बोली अझ बढी निस्कन्छन् । नेपालीको आयु पनि बढ्दै जाने, बूढाबूढीसँग बस्नुपर्ने अवस्थालाई बोझ पनि मान्दै जाने हो भने बूढो हुन कसलाई मन होला ?  

प्रसिद्ध कलाकार हरिवंश आचार्यले गाएको लोकप्रिय ‘बूढो हुने मन छैन’ भन्ने युट्युब गीत सुन्दा त्यो गीतको भावले सधैँ तन्नेरी बनी रहिरहूँ, बूढो नबनूँ, चल्तापूर्जा जीवन बाँच्न पाइरहूँ, बुढेसकालमा पाइने दुःख भोग्न नपरोस् भन्ने चाहना मुखरित भएको सुनिन्छ । यो स्वाभाविक पनि हो । प्रत्येक मानवमा पलाउने यथार्थ भाव पनि हो । सधैँ जवान, तन्नेरी, फुर्तिलो बन्न कसलाई मन हुँदैन ?

तर सम्भव छैन । हरेक व्यक्ति जन्मेपछि बच्चाबाट किशोरावस्था, युवावस्था, अधबैंसे अवस्था पार गर्दै बुढ्यौलीको ढोका घच्घच्याउन पुग्छ । हरेक जीवित वस्तुको यो ‘चक्र’ (चक्कर) एउटा ध्रुवसत्य हो । अझ हाम्रा धार्मिक ग्रन्थले त चार आश्रमको कुरा गर्छन् । मानव जीवनचक्रमा ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ र सन्न्यास आश्रम पूरा गर्नुपर्छ र मानव जीवन सफल भएको मानिन्छ भनेर हाम्रो पूर्वीय दर्शनले व्याख्या गर्ने गरेको छ । अन्तिम आश्रम भनेको ‘सन्न्यास आश्रम’ हो । यसको अर्थ विगतमा अर्थात् प्राचीनकालमा बुढ्यौली लागेपछि सारा श्रीसम्पत्ति र घर छोडेर विन्दास भई हिँड्ने, एक छाक खाने, भौतिकताबाट टाढा रहने, आफ्नो जीवनमार्गलाई पूर्णरुपेण परमानन्द भगवानप्राप्तिको आद्यात्मिक मार्गमा डो¥याउने र घरपरिवारको जञ्जाल अर्थात् श्रीमान वा श्रीमती, छोरा–छोरी, बुहारी, ज्वाइँ, नाति–नातिना, अरु आफन्त र नालनाता भन्दै सांसारिक माया–जाल र बन्धनमा नफसेर स्वतन्त्र जीवन जिउने परिकल्पना गर्छ । तर आधुनिक समयमा हरेक ज्येष्ठ नागरिक सन्न्यासी बनेर घर त्याग गर्नुपर्छ भन्ने मान्यताले काम नगर्ला । भौतिक र आध्यात्मिक मार्ग भनेर अलग गर्न पनि नमिल्ला । अहिलेको युगले त बाल्यावस्थादेखि नै आद्यात्मिकताको बीउ रोपिनुपर्छ भनिरहेको छ ।  

युग फेरिएको छ । समय बदलिएको छ । संसार सानो गाउँ बनेको छ । कुन देशमा ज्येष्ठ नागरिकको अवस्था कस्तो छ भनेर संयुक्त राष्ट्रसंघले हेरिरहेको छ । राज्यले गरेका राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिबद्धता कति कार्यान्वयन भए भनेर पनि अन्तर्राष्ट्रिय जगतले हेरिरहेको छ । हेल्पएजजस्ता बुढ्यौली सवाल हेर्ने विश्वस्तरीय संस्थाले विश्वका करिब सात दर्जन देशमा आफ्ना आँखा पु¥याएको हुन्छ । संयुक्त राष्ट्रसंघले त्यहाँभन्दा बढी देशमा निगरानी राख्छ । यस्ता संस्थाको संख्या हरेक वर्ष बढोत्तरी भइरहेको छ ।

अबका बूढाबूढी, अबका केटाकेटी वा युवायुवती घरपरिवार वा एउटा समाज, वा पालिका, वा जिल्ला, वा प्रदेश, वा देशका मात्र रहेनन् । हरेक नागरिक आजभोलि राष्ट्रिय र अन्तर्राष्ट्रिय भएका छन् । त्यसले गर्दा पनि विगतको तुलनामा ज्येष्ठ नागरिकका सवालहरू बढी महत्वपूर्ण बन्दै गएका हुन् । सुरक्षित र सम्मानित बुढ्यौली विश्वको चाहना हो । स्वस्थ र सक्रिय बुढ्यौली विश्वको कामना हो । हरेक ज्येष्ठ नागरिकले आफूलाई नै राम्रोसँग सम्मान गर्ने (सेलेब्रेट गर्ने), घरपरिवारले सम्मान गर्ने र टोलछिमेकले पनि सम्मान गर्न सकेमात्रै विश्वभरका बूढाबूढी स्वस्थ, खुसी र सन्तुष्ट बन्न सक्ने हुन् । खुसी र सन्तुष्टिविनाको बुढ्यौली जीवन आफैंलाई, परिवारलाई र समाजलाई नै भार र बोझिलोमात्र बन्ने हुँदा अहिलेको समयले त्यस्तो जीवन कसैलाई भोग्न नपरोस् भन्नेतर्फ सचेत बन्नुपर्नेतर्फ औंल्याएको छ ।

विश्वभर बूढाबूढीको संख्या बढ्दै छ । ६० वर्षभन्दा माथिका नागरिकलाई नेपाललगायत धेरै देशमा ‘ज्येष्ठ नागरिक’ मान्ने चलन छ । कतिपय देशले ६५ वर्षलाई बुढ्यौली भन्ने गरेका छन् । एक तथ्यांकअनुसार सन् २०२० मा विश्वभर ६५ वर्षभन्दा माथिका करिब ७० करोड ३० लाख ज्येष्ठ नागरिक छन् । नेपालमा यतिबेला ६० वर्षभन्दा माथिका करिब २७ लाख ज्येष्ठ नागरिक छन् । यो संख्या दिनानुदिन तीब्ररुपले बढिरहेको छ । हाम्रो औसत आयु नै ७१ वर्षभन्दा माथि पुगेपछि बुढ्यौली दर बढ्नु स्वाभाविक हो । संयुक्त राष्ट्रसंघले भनिसकेको छ, ‘आउँदो ३० वर्षमा अर्थात् सन् २०५० सम्ममा विश्वमा ज्येष्ठ नागरिकको संख्या १ अर्ब ५० करोड पुग्नेछ ।’ त्यो बेलासम्ममा नेपालमा पनि करिब ६० देखि ८० लाख ज्येष्ठ नागरिक हुनेछन् । अहिले ३०, ३२ वर्षमा हिँडिरहेका हाम्रा छोरा–बुहारी, छोरी– ज्वाइँ, नाति–नातिना सबै सन् २०५० सम्ममा ‘बुढेसकाल’मा प्रवेश गर्नेछन् । आखिर हरेक नागरिकलाई ज्येष्ठ नागरिक अर्थात् ‘बूढो’ वा ‘बूढी’ बन्ने अवसर एक दिन आइहाल्छ । त्यही भएर नै हरेक व्यक्ति अहिलेदेखि नै चनाखो बन्नुपर्छ भनेर भनिएको हो ।

निष्कर्ष

यी सबै आकलन, प्रक्षेपण र यथार्थ अवस्थाले बुढ्यौली जीवनप्रति सबै सचेत बनौं भन्ने कडा संकेत दिन्छन् । रोगी बूढो वा रोगी बूढी भनेर कसैलाई भनिने चाहना हुँदैन । अथवा अल्छी बूढो वा अल्छी बूढी भनेर पनि कसैले नभनोस् भन्ने हरेक बूढाबूढीको चाहना हुन्छ । अल्छी नगर्नेले केही न केही गर्छ । केही न केही गर्दा नै आफ्नो क्रियाशीलता र आय बढ्ने हो, यशकीर्ति थपिने हो, आफ्नै ज्यान राम्रो बन्ने हो । स्वस्थ रहने चाहना पनि मूलतः आफैंमा भर पर्ने कुरा हो । नियमित र सुपाच्य खाना, ठिक मात्राको सुताइ, उचित व्यायाम, यथोचित काम, अपेक्षित अनुशासन, भौतिक, आद्यात्मिक तथा सामाजिक काममा सन्तुलन, सकारात्मक सोच भाव र विचार, औषधि खान पर्नेले नियमित औषधि सेवन आदि कुराहरू बुढ्यौलीलाई स्वस्थ र फुर्तिलो बनाउने महान सूत्र रहेछन् । बुढ्यौली पर धकेल्ने ‘टोनिक’ रहेछन् । १०१ वर्षको यात्रा पार गर्नुभएका हाम्रा आदरणीय सत्यमोहन जोशी र अब करिब १०० वर्षको नजिक पुग्नुभएका डा. गौरीशंकर लालदास तथा भैरव रिसाल (दाइ) बुढ्यौली जीवनलाई कसरी स्वस्थ, खुसिलो, फुर्तिलो र सम्मानित बनाउने भन्ने कुराका असल ‘विश्वविद्यालय’ हुनुहुन्छ । मैले निकै नजिकबाट उहाँहरूलाई हेरिरहेको छु । तपाईंले पनि कसैलाई नजिकबाट हेरेर प्रेरित हुनुभएको हुनसक्छ । त्यस्ता कथा बटुलौँ, प्रचार–प्रसार गरौँ, केही सिकौं, केही सिकाऔँ । आजको दिनले यस्तै भनिरहेछ । ७५३ पालिकाबाट यस्ता सक्रिय, स्वस्थ र सम्मानित बुढ्याली यात्रामा व्यस्त ७५३ नमुना व्यक्ति छानौं त ! हाललाई कतै दर्ता गर्नु नपर्ने खुला ‘बुढ्यौली विश्वविद्यालय’ अझ विस्तार हुनेछ । अस्तु !

(लेखक दुई दशकदेखि ज्येष्ठ नागरिक सवालका सहभागीमूलक अध्येता तथा अभियानकर्ता हुनुहुन्छ ।)

प्रकाशित: १४ आश्विन २०७७ ११:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App