लक्ष्मीप्रसाद पौडेल
हाम्रो उमेर सँगसँगै बढेको थियो । ऊ दुई कक्षामा पुग्दा पनि कखरा नजानेर मैले नै उसलाई दाहिने हातले समात्ने देब्रे हातले चिमोट्ने गरेर कक्षा उकालेको थिएँ। गरेको कुरा भन्न केको धक । एकपटक उसको बाबुले मार भकुर्दा परालको कुन्यूमा लगेर लुकाएको पनि हुँ ।
उसकी आमा ठूलो बिरामी परिन् ।
आमा सारो बिमारी भइन , लौ न सहयोग गर् । मेरो बा, दाइ पछिको तँ त होस्, आफ्नो भन्ने मान्छे । एउटो भएको दाइ शहर भासिएर आमा नचिन्ने भयो भन्दै आँखाभरिका आँसुले गुहार्दा मैले एक महिनाको तलब थपक्क उसका हातमा राखिदेको थिएँ । उसले त्यो फिर्ता गर्यो गरेन मैले सम्झिने कोसिस पनि गरिन । आमालाई दबाइमुलो गरेको पैसो न हो ।
ढल निकासको नालीमा मान्छे पल्टिएको थियो । रमिता हेर्ने र युटयुव ताक्नेको रमिता थियो । त्यहीँ साल आमाले धर्ती छोडिन् । उसले चित्त बुझायो तर अभावमा स्वास्नीले घर छोड्दा नराम्ररी गल्यो । पीर लुकाउन रक्सी खाँदाखाँदै उसलाई रक्सीले खान थालिसकेथ्यो ।
‘को हो चिन्नुहुन्छ ? ’ भीडले मेरो उपस्थितिलाई सोध्यो ।
मैले भनें, ‘अहँ, चिन्दिन।’तर मैले मेरो अधिकृतको कोट फुकालेर उसलाई लगाईदिएँ । ऊ जाडोले कामिरहेको थियो । प्रहरीको सहयोगमा अस्पताल पुरयाए ।
ऊ आजकल नालीमा पल्टेको भेटिदैंन । ऊ मदिरापसलमा पनि देखिदैंन । मसँग पैसा माग्न पनि आउँदैन। उसले मलाई चिन्न छोडिसक्यो । म पनि उसलाई चिन्दिनँ । मान्छे देखिन छोडेपछि बिस्तारै हराउँदो रहेछ ।
प्रकाशित: १३ आश्विन २०७७ ११:१० मंगलबार