६ चैत्र २०८० मंगलबार
कला

उसलाई नजन्माउने आमा

कथा

  जितेन्द्र बस्नेत

 

असारको हिलोमा हिँड्न नमान्दा माले गोरु पिटेर भाँचिएको लौरोले बाले उसलाई पिट्दा एक हप्तासम्म ढाड र तिघ्रामा सुम्ला बस्यो । थिरले अनौ समातेर गोरु जोत्न नजान्दा मेलोबाट गोरु भागे अनि बाले हानेका थिए । मन डाँको छोडेर रोयो उसको तर आवाज निकालेन । आँसुका ढिक्का खसे ती दबदबे हिलामा, कसैले देखेनन् । उसले गुनासो पनि गरेन । ठान्यो, सायद मेरै ढङ्ग नपुगेर होला । आमा हुँदी हुन् त बालाई दुई शब्द फर्काउँथिन्; छेक्थिन्; पिटेको ठाउँमा सुम्सुम्याउँथिन्; अनि भन्थिन्, “तिनका हातमा मारोग सल्केको, गोरुको रिस मेरो बालाखा छोरालाई,बिस्तारै बिस्तारै सिकिहाल्थ्यो नि !” तर कहाँ त्यस्तो सौभाग्य ? उसले आफै सुम्सुम्यायो । बरु उल्टै उसकी सानीमा माथि आलीमा बसेर बरबराउँदै थिइन्, उसले खासै बुझेन।

गाउँकै विद्यालयमा मदनले जसोेतसो कक्षा सातसम्म पढ्यो । रातदिन घाँस सोत्तर गर्ने, गोरु जोत्ने, गोठालो जाने जस्ता कामले त्यसपछि उसको पढ्ने क्रम रोकियो । उमेरले भर्खर १३ वर्ष, आफ्ना कैशोर रहरहरू, उमङ्ग र चञ्चलता सबै बिस्तारैबिस्तारै बेखबर हुँदै गए । हृदयका सपना, ओठको हाँसो, असीमित आशाहरू सबै मनको कुनामा बलियो गाँठो पारेर लुकाइरह्यो । सायद एकदिन फुकाउँछु भन्ने थियो उसको मनमा, समयको कुनै अन्तरालमा । तर उल्टै समयले कुठाराघात ग¥योे उसलाई जब उसकी आमा बितेको एक वर्ष नबित्दै उसका बाले अर्की ल्याए । कुनै अकल्पनीय घटना त थिएन त्यो, समाजको सामान्य रीत नै थियो । केही दिन गाउँलेले चियाए; कुरा काटे; मुख खोले । अनि त फेरि उही याम उही घाम, सबै सामान्य र नियमित भयो । मदनलाई पनि एउटा आकाङ्क्षाको अङ्कुरण भएको थियो हठात्,जे होस् यिनी आमा हुन् । मेरो मनको भाषा बुझ्छिन्, मलाई माया गर्छिन् । तर निभ्न आँटेको बत्तीझैँ  क्षणिक भए ती उज्यालाहरू । उसका वेदनाहरू फेरि हृदयमै खुम्चिए ।  

समयक्रम बित्दै गयो । घरमा मदनकी सानिमाको हैकम र मनोमानी बढ्दै गयो । सुरुवातमा त मदन उत्साहित थियो। सानिमाले भनेको काम मान्ने, बोलाउँदा अह्राउँदा खुशी हुने, प्राय नजिक हुन खोज्ने ग¥योे। सायद ऊ आफ्नी आमाको प्रतिच्छाया खोज्दै थियो सानिमाभित्र । घर,गोठ सबैको काम सम्हाल्थ्यो ऊ । उसका बा घरको त्यति वास्ता गर्दैनथे । परेको बेला खेतीपाती हेर्थे, गाउँघर डुल्थे । बिहानबेलुका दुई छाक खान पाए पुग्थ्यो उनलाई । सबै व्यवहार सानिमा चलाउँथिन् । श्रीमतीका अगाडि खासै बोल्दैनथे । एकातिर भर्खर भित्र्याएको श्रीमती अर्कातिर आफ्नो ढाल्किँदो उमेर, त्यसैले पनि उनी मौन हुन्थे । मदन टुसुक्क बसेको देख्यो कि केही न केही अह्राइहाल्थिन् सानिमा । कुनै जिज्ञासाले आमा भन्यो भने “कति आमा आमा भनेको आमा भन्न पाको छैनस् ?” भन्दै कराउँथिन् । थाल चाटेर उठ्न लाग्दा मात्र भात थप्दिऊँ भन्दै झर्किन्थिन् । ऊ अघाएँ भन्दै बाहिर निकिन्थ्यो । रात दिनको काम, गाली, पिटाइ, टोकसो, विनाप्रेम र फोस्रो आडमा ऊ भागिरह्यो । भड्कििरह्यो ।

पाँच वर्ष बिते मदनका बाले सानिमा भित्र्याए भित्र्याएको तर उनका बच्चा भएनन् । भएको छोरालाई माया गरेर आफ्नो बनाउन उनको आडम्बर र अहम्ले उनलाई दिएन । मदनले पनि आफ्नो प्रेम र मातृत्व  देखाउन र पाउन सकेन । आफ्ना उमेरका दौँतरहरू कोही राम्रै पढे; कोही शहर पसे; कोही विदेश जाने सुरमा थिए तर मदनसँग न कुनै बाटो, न गन्तव्य,न निर्णय नै केही थिएन । जलनमा, घातमा, आशमा, अभावमा, अन्याय र आफ्नी आमाको सम्झनामा प्राय रात ऊ निदाउन सकेन । बा पनि उल्झनले झन्झन् निराश बन्दै गए। सन्तान र सोखका लागि रातदिन श्रीमतीले गनगन मात्रै गर्न थालिन् । उनी जवाफविहीन देखिन्थे । मदनप्रति पनि कुनै प्रतिक्रिया र चासो बाहिर प्रकट गरेनन् । आखिर मदनलाई न आमाको आशीर्वाद न बाबुको भरथेग केही थिएन । यो सारा संसारको कथाजस्तै  उसको जीवनको कथा, कसरी फरक हुन सक्थ्यो र । हुन त सानिमा ‘आमा’ भएर पनि त भात पस्किन सक्थिन्; काम अह्राउन सक्थिन्; गाली गर्न र पिट्न सक्थिन् । तर उनलाई लाग्यो, अर्काको रगत स्याहारेर के काम ?

एक दिन बिहानै गाउँमा खैलाबैला भयो । बिहान सबेरै उठेर गोठमा सबै काम गर्ने मदन त्यसदिन सानिमाले गाली गरेर बोलाउँदा पनि नआएपछि ओछ्यानमा हेर्न जाँदा  मदन थिएन । मदनका बा पनि खोक्दै उठेर यताउति खोजे, बोलाए । टोलछिमेकतिर खबर गरे तर पत्तो भएन । बिस्तारै थाहा भो पल्लो गाउँको बखते पनि घरबाट हराएछ । यी दुई मेलापात, घाँसदाउरा र गोठालो जाँदाका साथी । अब दुवै सहर जाने कुरो थियो भनेर गाउँका कसैकसैले साउती मारे । सुरुमा मदनका बाले छोरो खोज्न यसो चासो देखाए, सोधपुछ गरे । तर सानिमाले बीचैमा भाँजो हालिन्, “उमेर पुगेर खुट्टा लागेको मान्छेलाई खोजेर के साध्य ? घरको भात नपचेको, एकदुई दिन भौँतारिन्छ; बाउको बिहे देखेपछि कुकुरले पुच्छर हल्लाएझैँ लुरुक्क परेर आइहाल्छ नि ! धेरै चियोचर्चो गर्नुपर्दैन ।” मदनका बा चूप लागे तर उनको मनमा नमीठो सन्ताप प¥यो ।“बुढेसकालको एउटा छोरो ।” भित्रभित्रै पिरोलिए । सानिमालाई भने कुनै विलाप थिएन ।  

समयले बिस्तारै शिशिर डाक्दै थियो। चाडबाडमा कतैबाट आइहाल्छ कि भन्ने आशा मदनका बाले पालेका थिए तर शरद सकियो ऊ फर्केन । मदनका बा निराश भए । घरमा कामको बोझ सानिमाको काँधमा आयो । घर, गोठ, खेतीपाती सबैको चाँजो मिलाउन उनलाई धौधौ प¥यो । रात दिन मदनलाई सराप्थिन् । बुढालाई गनगन गर्थिन् । एकातिर जेठीको मृत्यु, अर्कोतिर छोराको बियोग अनि कान्छीको टोकसो बुढालाई सबै कुरा बोझिलो लाग्यो । उनी विक्षिप्तझैँ बने । उडेको चंगा धागोसँगै लट्टाइमा बेरिएर आएजस्तै आइहाल्छ कि भनेर पिँढीमा बसेर छोराको बाटो हेर्थे । कसैसँग बोल्दैनथे । कमाइ गरी खान गाह्रो  भएपछि भएका गोरु, खसीबाख्रा मदनकी सानिमाले बोचिन् र पैसा आफैँ राखिन् । जग्गा पनि अधियाँ दिइन् । उनी गाउँ चाहार्दै आफ्नै बूढा र मदनको कुरा काट्दै हिँड्थिन् । मदनको गाउँमा कुनै खबर आएन ।

यता मदनले गाउँ छाडेर शहर पसेको ३ वर्ष बित्यो । एकातिर त्यो अनजान काठमाडौँ शहर। कतै लाग्छ, अनेकौँ अपराधले क्षमा मागिरहेछ, एउटा ठूलो अग्निशालाबाट उम्किन चिच्याइरहेछ र छटपटाइरहेछ । अर्कोतिर लाग्छ, सभ्यता र आधुनिकताका घोतकहरूको ठाँटबाँट र रवाफ अनेकौँ रङ्गरोगनसहित मग्न छ विलासमा । कति विषम छ जीवन, समान धरातलमा ? कति अपत्यारिलो र अनौठो विविधता ? को कहाँ छ ? कहाँ रमाउँछ र हराउँछ केको लेखाजोखा ? मदनले पनि सहर पसेर मनको गाँठो कति फुकायो, कति सुस्तायो र मुस्कुरायो ? उसैलाई थाहा होला । महाबौद्धदेखिको भीडभाड हुँदै इन्द्रचोक, असन, रत्नपार्क कालिमाटी सबैतिर पैताला चिरा पार्दै उही नाम्लो र उही थाप्लोसँगै  फरक भारीमा जीवन बेचिरहेको छ ऊ । आफ्नो पसीना पुछ्दै गिन्ती गर्दै छ वजनको मूल्य हरेक दिन, औँला कमाउँदै । सुखका दिन खोज्दै हिँडेका पाइलाले बाटो र गन्तव्य  नपाउँदा उस्तै दुख्दै थियो उसको जीवन ।

साँझ झमक्क पर्न लाग्दा सधैंझैं ऊ आफ्नो कोठामा फर्किँदै थियो । भोटाहिटीको कोलाहल र छटपटीबाट छलिँदै छलिँदै थकित मुद्रामा फाटेको गन्जी, कलेटी परेको ओठ र हातमा नाम्लो बोकेर ऊ रत्नपार्कको आकाशे पुल उक्लियो। चारैतिर आँखा घुमायो न सुरु न अन्त्य त्यो कोलाहाल खासै मतलब गरेन । नजिकैको रानीपोखरी अनि घण्टाघर हेरेर पाइला सार्दै थियो; अचानक ऊ अल्झिएर आधा लडेजस्तो भयो । हातको नाम्लो भुईँमा खस्यो । उठ्न खोज्दा एक महिला झर्किँदै कराइन्, “आँखा छैन कहाँ हेर्दै हिँडेको ?” उनी आफ्नो नाङ्लोबाट झरेका सामान टिप्दै थिइन् । मदनले फर्किएर छरपष्ट सामान र ती महिलातिर हे¥यो दुवैको आँखा जुधे । दुवै हेरेको हेरै भए । लाग्यो त्यो कोलाहल तत्क्षण टक्क अडियो । मदनका हातखुट्टा दुवै काँपे । ती महिला थचक्क बसिन्  ओहोरदोहोर बिस्तारै घट्दै थियो । उनी असह्य वेदनामा परेझैँ मुख थुनेर रुन थालिन्, आँखाहरू बग्न थाले। अरूले सुन्लान् र देख्लान् भन्दै पछ्यौराको फेरले मुख छोप्दै रोइन् । मदन पनि छाँगाबाट खसेझैँ भयो ।

 ऊ तीन वर्ष अगाडिको आफ्नो गाउँमा पुग्यो । गाउँघर, बा, खेतीपाती, सानिमा सबै दृश्य एकैचोटि सम्झियो । उसका आँखा भरिए, ‘आमा !’ लामो श्वासमा ऊ बोल्यो । विगतका व्यवहार, कुकृत्य, पछुतो, लाज, घृणा र क्षमा सबै एकैपटक आँसु बनाई बगाउँदै गरेकी उसकी सानिमा बोल्न सकिनन् । बिस्तारै  स्थिति केही सामान्य भएपछि भावपूर्ण संवाद चल्यो ।

 विगतका सबै यातना र याचनाहरू बिर्सेर ‘आमा’ भनेपछि उनी भावविह्वल भइन्; क्षमा मागिन्; पछुतो दर्शाइन् । यता मदनमा हर्षाँशुसँगै एक्कासि उत्साह जाग्यो। सायद उसले खोजेको जीवन, बाटो र गन्तव्य एकै साथ पाएजस्तो लाग्यो उसलाई आमा भेटेर । हुन पनि उसले विगतका सबै अवस्थाप्रति विशेष सानिमाप्रति कुनै दुखेसो र दुर्भावना राखेको थिएन । त्यसैले पनि होला उसमा तिरस्कार र ईख शून्य थिए। उसलाई लाग्यो मैले आमा पाएँ, अब ती आँसुसँगै उनले सबै कलुषता बगाइन् । यो नै मेरो जीवनको अमूल्य वरदान हो भगवानको ।

हर्षले रोयो ऊ । उसकी सानिमा अवाक् भइन् । छोरो बनाउन जन्माउनु नै पर्छ भन्ने रहेनछ । उनलाई लाग्यो मदन उनले नजन्माएको छोरो रहेछ । मदनलाई पनि लाग्यो स्वर्गमा भएकी आफ्नी आमाले सम्पूर्ण ममत्व बोकेर सानिमाको रूपमा आफैं आइन् । दुखसुख जेहोस् जीवनमा उसले आमा भन्न पायो । ‘आमा’ पायो। अब उदाउने उषाप्रति ऊ प्रबल उत्साहित बन्यो । निशा प्रगाढ हुँदै गर्दा शून्यता बढ्दै गयो। उनीहरू त्यहाँबाट बिस्तारै निशामा  अदृश्य भए ।

प्रकाशित: १३ आश्विन २०७७ ०८:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App