६ वैशाख २०८१ बिहीबार
कला

हिमाल बोक्न मन थियो नि घलेगाउँ !

नियात्रा

खेमराज पोखरेल

 

डुलुवा मन छ मेरो । घुम्न मन लाग्ने रहर छ मेरो । टण्डेली मार्नु जत्तिको रमाइलो के हुन्छ र जिन्दगीमा ! समय, स्रोत, मन, रहर तथा जुराइको संयोग हो यात्रा । घुरयान घुम्न नपाएको मान्छेलाई कहिलेकाहीँ नसोचेको यात्रा जुरिदिन्छ । नेपालमा असंख्य अग्र्यानिक ठाउँहरू छन्, जहाँ कृत्रिमतामा मलम लगाउन पाइन्छ । तर के गर्ने नसिवीय झट्का यस्तो दह्रो हुन्छ कि मान्छे थेच्चारिन्छ । यसै सन्दर्भमा मेरा दिमागमा बसेको तर लामो समय नपुगेको ठाउँ थियो लमजुङको घलेगाउँ । घलेगाउँ पुगेका मान्छे भन्थे– ‘हिमाल अगाडि ठिङ्ग उभिएजस्तो लाग्छ’ । म त्यतिमै रमाउँथेँ । जान खोजेकै पनि हो तर भनेको बेला फुत्त निस्कन कहाँ पाइन्छ  र !

तर अनायासै पद्यकन्या क्याम्पसका मेरा सहकर्मी मित्र डाक्टर बमबहादुर अधिकारीले मलाई भन्नुभएको छ – सर, लमजुङ जाऔँ । घले गाउँ घुमेर आउँला ।’

उहाँको यो प्रस्ताव मलाई ‘कुखुरा खान्छस् गोहोराभन्दा भुत्लैसँग भन्थ्यो रे’ भनेझैँ भएको छ । उहाँको प्रस्ताव र योजना मुताविक २०७३ सालको कात्तिक १० गते घलेगाउँ जाने कार्यक्रम तय भएको छ हाम्रो । डाक्टर बमबहादुर अधिकारीको पुरानो घर पनि उतै बेंसीशहरतिर हो रहेछ । उहाँका दाजु बेंसीशहरमा राजनीतिक, सामाजिक तथा बौद्धिक रूपमा गाँजिएरै बस्नु भएको पनि रहेछ ।  

डा. बमबहादुर अधिकारी लमजुङको पर्यटनको इतिहास पुस्तक लेख्न सामग्री सङ्कलन गर्ने अभियानमा हुनुहुन्छ । म पनि पर्यटनलाई मन पराउने मान्छे भएकाले र उहाँको पुस्तकमा भूमिका लेख्नुपर्ने पनि भएकाले हाम्रो यो सहकार्य भएको छ । त्यसैले यो यात्रा ‘पशुपतिको जात्रा, सिद्राको बेपार’ हो । निर्धारित समयमा बल्खुबाट माइक्रो चढेर बेंसीशहरतिर हान्निएका छौँ हामी । डुम्रेसम्म त ‘कौन पुछे खेसडीका दाल’ भनेजस्तै न हो । हजारौँ पल्ट ओहोरदोहोर गरेको ठाउँ ।  आँखा आनन्दले सुतेका छन् । पापी आँखा । यी आँखालाई पनि नयाँ ठाउँ नै हेर्नुपर्ने । यी आँखालाई नयाँ ठाउँमै रमाउनुपर्ने । डुम्रेसम्म पनि के कमी थियो र प्रकृति ! कलकल बग्ने त्रिशूली पनि छ । हरिया वन पनि छन् । सुरम्य पहाड पनि छन् ।पहाडमा टलक्क टल्कने निला टिनका छाना भएका वस्तीहरू पनि देखिन्छन् । मनकामना जाने कुरिनटार पनि आकर्षक छँदैछ । पहरा कोत्र्याएर बनाइएको बाटो पनि छ । हेर्न खोजे कृष्णभिर पनि छ । सबैथोक छ तर मन किन हो किन बेंशीशहर खोज्दै छ । घलेगाउँ खोज्दैछ ।  

डुम्रे पुगिएको छ ।डुम्रेदेखि बेंसीशहरसम्मको यात्रा मात्र पनि मेरा लागि नौलो हो । डुम्रेबाट भन्सार, तुरतुरे, फाउँदी, कालीमाटी र पाउँदी पनि मेरा लागि आँखा रमाउने ठाउँ छन् । यो पाउँदी खोला लमजुङ र तनहुँको सीमा रहेछ । म डुम्रेहुँदै पोखरा जाँदा डुम्रे पछि नै लमजुङ सुरु हुन्छ भन्ने भ्रममा रहेछु र यसपछि भोटेओडार हुँदै उदिपु र बेंसीशहर । बेंसीशहरमा त्यहाँको नामी वकिल रणबहादुर अधिकारीको घरमा बास परेको छ । उहाँ मसँग जानुभएका मित्र डाक्टर बमबहादुर अधिकारीका दाजु हुनुहँदोरहेछ । उमेरको तकाजा होला म थाकेको छु । यात्रा यद्दपि सहज थियो । सुगम र सुरम्य पनि थियो । तर पनि थाकेको छु । घर फर्कौँफर्कौँ नलागेको होइन तर घलेगाउँबाट देखिने सुरम्य हिमालको चिसो हावा नखाईकन के फर्कनु भन्ने लोभ त छँदैछ । म फ्रेस भएर ओछ्यानमा पर्लक्क पल्टेको छु । मनमा कुराहरू खेलिरहेका छन् । एकातिर मन रमाएको छ भने अर्को तर्फ डुम्रेदेखि बेंसीशहरसम्मका हरिया फाँटहरूमा बाटो कुदाइएकाले बाटाका छेउमा बसेको नव शहरले भने मेरो मन अमिलो भएको छ । उफ यो नेपालको विकास मोडल ! धान फल्न हजारौँ रोपनीे खेतमा बाटो कुदेको छ । बाटाका छेउमा कङ्क्रिट  उमारिएका छन् । पुराना वस्तीहरू पाखाबाट फाँटमा झरेका छन् । झर्दै छन् । खेत पूरै प्लटिङ भएको छ । खेतले धान होइन हातको यति भनेर हिसाब जोडिरहेको छ । डाँडा पूरै खालि खलास भएका छन् । सुनसान र उजाड देखिएका छन् । त्यो बेला म एकछिन कल्पना गरिरहेको छु कि यी फाँटमा बनेका यमानका शहरहरू, डाँडामा बनेर यो मस्र्याङ्दीको फाँटमा धान लहराएको भए कस्तो हुन्थ्यो होला ! उफ यो विकासले चपेटेको बेंसीशहर धानखेतलाई घडेरीमा बेचेर धनी भएका लमजुङेहरू रमाएको देखिरहेको छु । कठैबरा लमजुङ । कठैवरा बेंसीशहर। कठैवरा नेपाल । कठैवरा यो विकास मोडल । जलविद्युतको धनी यो जिल्लाको मध्यमस्र्याङदी जलविद्युत आयोजनाको ड्याम र ताल हेर्दा रमाइलो लाग्यो । अहा यो तालमा डुङ्गा विहार गर्न पाए !

अँ त म रणबहादुर अधिकारीको पाहुना भएको छु ।कहीँ कतै पाहुना लाग्दा मेरो मन बोझिलो बन्छ । सम्झन्छु सायद भन्दा हुन् – यत्तिका होटल लज छन् के पाहुना लागेका होलान् !

म भान्से भाउजू र बुहारीको अनुहार हेरिरहेको छु । पढिरहेको छु । कहीँ झर्कोफर्को छ कि ! कहीँ काठमाडौँको जस्तो औपचरिकता छ कि ! भान्सामा जोडले भाँडाकुँडा बजेका छन् कि ! वा म बोझ पो भएको छु कि ! म नियाल्दै छु । विचार गरिरहेको छु । गमिरहेको छु रणबहादुर अधिकारीलाई । परिवेशलाई । रणबहादुर दाइले आतिथ्य सुरु गर्नुभएको छ। हामी कुरा गर्न थालेका छौँ । डाक्टर बमबहादुर भाइ भएर होला पहिलेझैँ खुलेका छैनन् । एक पेगपछि उनले थप्न मानेनन् । अदबमा बसेका छन् । म र रणबहादुर दाइ दुवै खाँदै गएका छौँ । मातिँदै गएका छौँ । रमरममा हाम्रा कुराहरू खुल्दै गएका छन् । उहाँ आफ्ना कुरा भन्दै हुनुहुन्छ । म शिष्टाचारवस ‘हो’ ‘हजुर’‘हो’ मात्र भन्दै छु । उहाँ कम्प्युटरका भित्तामा कैद गरिएका फोटा र भिडियो देखाउँदै भन्नुहुँदै छ,पेरिसको इफेल टावर यस्तो, कार्ल मार्कस्को घर यस्तो, नेपोलियनको दरवार यस्तो, अमेरिकाको यस्तो, जर्मनीको यस्तो, अक्सफोर्ड यस्तो, आदिआदि । म अचम्म मान्दै छु कि ए गाँठे यतिका देश कसरी यो सामान्य देखिने मान्छे घुमेको होला ? कसरी अनेकौँ ठाउँहरूको वर्णन सररर गरेको होला ? सोच्दै छु, पञ्चायतकालमा सरकारी पैसामा घुमेको होला । वा कोही आफ्नो मन्त्रीले आफू जाँदा घुमाएको होला । म यस्तै यस्तै सोच्दै छु । उहाँ भन्दै हुनुहुन्थ्यो – यसपल्ट जापान र चिन जाने मन छ, दैवले जुरायो भने जाने विचार गरेको छु ।  

मेरो आश्चर्यको सीमा झन् चरम भएको छ । अलि अलि मात लागेकै पनि छ । त्यही लर्कासर्कामा मैले पनि प्याट्ट सोधेँछुः ‘होइन, हजुर कसरी कुन सिलसिलामा यतिका देश घुम्नु भएको हो !’

उहाँले फिस्स हाँस्दै भन्नुभएको छ – घडेरी बेचेर गएको नि सर !

म पानीपानी भएको छु। मैले नसोध्नु पथ्र्यो । मैले उहाँको पर्यटनको शौख देखेर धन्य ठानिरहेको छु । त्यसैत्यसै श्रद्धा पलाएर आएको छ । मलाई लाग्यो अहो जीवनमा यस्तो मान्छेसँग पनि भेट भयो । लाखौँ पर्ने घडेरी बेचेर ट्राभल एजेन्सीलाई खनखनी पैसा बुझाउने पर्यटन चेतलाई सलाम गरेको छु । मलाई तत्क्षण सम्झना आएको छ कि यो देशमा करोडौँको घर घडेरीका मालिक मक्खिचुसहरू चिया दोकानमा पैसा तिर्ने कोही आउँछन् कि भनेर चिया खान पर्खेर बस्छन् ।। पैसा छैन भनेर रुन्छन् अनि फेरि घडेरी किन्छन् । मर्दा छोराहरूलाई ङार्रङुर्र गर्ने मेलो छोडेर मर्छन् । तर अहा, रणबहादुरको पर्यटनको चेत । मैले सलाम गरेको छु त्यो चेतलाई । उहाँ पक्कापक्की धेरै धनी मान्छे त हुँदै होइन । तर यो चेत ! यो उदारता !!

खानेबेला भएको छ । मैले भान्से भाउजू तथा बुहारीको अनुहार अर्थपूर्ण हेरेको छु । खोट लगाउने ठाउँ छैन । स्वाभाविकर उज्यालो छअनुहार । थपीथपी । दुध, दही खाऔँ । थपौँ । थप्दा तरकारीको पुन्यू हल्लिएको छैन । कामेको पनि छैन । मेरो सहरको खुम्चिएको पेट पनि फुकेको छ । मनपनि रमाएको छ ।  

भोलिको दिन बेंसीशहरबजार र गाउँसहरको ऐतिहासिक दरवार हेर्न छुट्याएका छौँ ।

बिहानै ५ बजेको छ । डाक्टर अधिकारी र म उदिपु कालिकाको दर्शन गर्न उदिपुतिर हानिएका छौँ । नजिकै लागेको थियो । तर झन्डै १० किलोमिटर रहेछ । हाम्रो मर्निङवाक रमाइलो भएको छ ।  

दिउँसो प्याकाप्याक गाडी चढेर गाउँसहर लागेका छौँ। बेँसीसहरको ठ्याक्क माथिपट्टि डाँडामा रहेछ गाउँसहर। करिब ३ कि.मी. टाढा डाँडामाथि टक्रक्क बसेको लमजुङ्का राजा यशोव्रह्म शाहको दरवार रहेछ । त्यहाँ पुग्दा त्यसको घेरबारमा लागेका कर्मीहरू देखिए। डाक्टर बमबहादुर भन्दै हुनुहुन्छ, यहाँ यस्तो थियो, उस्तो थियो । वस्ती थियो । राम्रो थियो ।अहिले उजाडिएछ ।  

दरवारभित्रकै कालिकालाई ढोका बाहिरबाटै ढोगी हामी बाहिर निस्केका छौँ । किनकि कालिकाको दर्शन गर्न पाइन्न भन्ने थाहा थियो । डाँडाको टाकुराबाट डाक्टर अधिकारी मलाई देखाउँदै हुनुहुन्छ – हेरि त्यो चेपेघाट । त्यो पुरानकोट । लिगलिग कोट । कास्कीबाट राजा ल्याएर पुरानकोटमा राजसिंहासन कायम गरेका बेला घले राजालाई मारेपछि राजा यशोव्रह्म शाहले सदरमुकाम पुरानकोटबाट गाउँसहर सारेका थिए । मैले बुझेको थिएँ कि यो यशोव्रह्म शाहको दरवार रहेछ । म भो भो भनेजस्तो गर्दैथिएँ । तर उहाँ भनिरहनु भएको थियो – यहाँबाट तार्कुघाट, राइनासकोट, तुर्लुङगढी, गौँडा, घेर्मु, तान्द्राङ आदिमा सेना पठाउने कार्य यसै दरवारबाट हुन्थ्यो । राजा यशोव्रह्म शाहदेखि वीरमर्दन शाहसम्मका लमजुङे राजाहरूले यहीँबाट शासन चलाएका थिए ।  

मलाई आनन्द लागेको छ । उहाँ भनि नै रहनुभएको छ – बि.सं. १८३९ कात्तिक १९ गते लमजुङ्को गृष्मकालीन सदरमुकाम तार्कुघाटमा भएको युद्धमा नेपाली सेनासँग लमजुङ पराजित भयो । अन्तिम राजा वीरमर्दन शाह पूर्वतर्फ शरणार्थी भए ।  

यसैक्रममा उहाँ भन्दै हुनुहुन्छ – यो जिल्ला निकै रसिलो पोसिलो र राम्रो भएकाले जङ्गबहादुर यो जिल्लाको महाराज भएका हुन् नि ।

ऐतिहासिक तथ्यसँग स्वाद लिँदै गर्दा दिमागमा भने तल झर्ने कुरा आइरहेको छ । शिखरमा चढेर मजाले श्वास लिन पाउनुको मजा नै बेग्लै हुन्छ । तरजानु फेरि बेंसीशहरनै छ । उहीमस्र्याङदीको किनारै छ । उही सहर नै छ । अघि आउँदाको गाडी सम्झेर फेरि चढ्न मन लागेन । बरु हिँडेका छौँ । ओरालो । ओरालो ।

भोलिपल्ट याने २०७३ साल कात्तिकको १३ गते बिहानै हाम्रो यात्रा घलेगाउँतिर सोझिएको छ । बेंसीशहरमाबलेरो जीपमा खाँदिएर बसेका छौँ । बलेरो उकालो लागेको छ । बाटो उफ ! बाटो । धन्य रहेछन् यी बलेरो जीपहरू तानेरै पुर्याएका छन् घलेगाउँ । घलेगाउँमा गेटले स्वागत गरेको छ पहिले । भोक लागेको छ । होमस्टे खोज्यौँ । होमस्टेको अफिस रहेछ । उसैले पर्यटकलाई होमस्टे तोक्दो रहेछ । हामीलाई होमस्टेका लागि प्रेम घलेको घर पुर्याइएछ । उनी त्यो होमस्टे कार्यक्रमका अगुवा रहेछन् । उनी चाहिँ बेंसीशहरबस्दारहेछन् । उनकी जेठी श्रीमतीले होमस्टे धान्दी रहिछिन् । हामीले भात खाएका छौँ ।  

होमस्टेका भित्तामा ‘अनावश्यक डिमान्ड नगर्नुस्’ भन्ने आसयको साइनबोर्ड राखिएको छ । तर त्यहाँ के के पाइन्छ भन्ने जानकारी छैन । हामीले आज्ञाकारी बालकले झैँ भात कुपुकुपु खाएका छौँ । नो क्योस्चन । जाँड खान खोज्यौँ । त्यो त्यति मन परेन । हिमाललाई बादलले छोपेको छ । बाक्लो बस्ती रहेछ घलेगाउँ। गुजुमुज्ज परेका घरहरू छन्। खोई मान्छे भने त्यति देखिएका छैनन्् । लोग्नेमान्छेहरू एउटा घरको आँगनमा तास खेलिरहेका छन् । मान्छेहरू झुरुम्म भएर तास हेरिरहेका छन् । हामीलाई खासै रेस्पोन्स गरेजस्तो लागेन घलेगाउँले । हामी बसेको होमस्टेका भित्ताहरूमा काठमाडौँका पोस्टरहरू छन् । गुरुङ सभ्यता र संस्कृतिको नामोनिसान छैनन् । नयाँबन्ने घरहरू कङ्क्रिटबाट बनिदै छन् । याने कङ्क्रिटको यात्रामा हिँडेको छ घलेगाउँ । खाना खान घरभित्र पस्दा मात्र गुरुङ सभ्यता देखिएको छ । संस्कृति देखिएको छ । यसो निहुँरिएर पस्नुपर्ने ढोका । अगेनामाथि ह्वार्लाङे हल्लिरहेको छ । त्यसमा सुकुटी सुकिरहेको छ । राडी ओछ्याएर राखिएको छ ।

खाना खाएर घले गाउँ घुम्न निस्केका छौँ । बाटुले घरमा गुरुङ संस्कृति अब्बल र आकर्षक देखियो । गुरुङ म्युजियम पनि छ भन्थे । हेर्न भने पाइएन । पुरै गाउँ घुम्दा रमाइलो त त्यसै पनि लाग्यो । थुम्कोमा भेडी गोठ रहेछ । क्यामरामा भेडी गोठलाई कैद गर्दै छु । हिमाल भने खुलेको छैन । । राति सुतेपछि मनमा अनेकौँ तर्कना आइरहेको छ । गुरुङ संस्कृति पश्चिमीकरण हुँदै रहेछ । बाटुले घर नासिँदै रहेछ । हुने खाने सहर हानिने नेपाली रोग त्यहाँ पनि रहेछ । अङ्ग्रेजी पढ्न छोराछोरी हैसियतअनुसार बाहिरिएका रहेछन् । उही पुछनपाछन विद्यार्थी घले गाउँमा रहेछन् । एकप्रकारले भन्ने हो भने सुन्य देखियो घले गाउँ । एकदुई हुल नेपालीहरू क्यामरा बोकी घले गाउँ घुमिरहेका छन् म जस्तै ।

हाम्रो भाग्य ।१४ गतेको बिहानै हिमाल छ्याङ्ङ हाँसेको छ । सूर्य उदाउनु पूर्व नै हामी बनाइएको भिउ टावरमा पुगेका छौँ । बिहान पो भिउ टावरमा टनाटन स्वदेशी पर्यटक देखिएका छन् । त्यसो त घले गाउँबाट हिमाल हेर्न भिउ टावर नै चाहिन्न रहेछ। जताबाट हेरे पनि हिमाल अँगालामा देखिँदो रहेछ । सूर्यले हिमालमा चमक दिँदैछ । हामी हेरिरहेका छौँ । सूर्य रातो तामाको गोल पातोजस्तो भुक्लुक्क झुल्किएकोछ, हाम्रो क्यामरामा कैद हुन । एउटा सूर्यलाई सयौँ क्यामरामा खाँदेका छौँ । हामी चौपट्ट रमाएका छौँ । त्यसपछि होमस्टेमा पुगेका छौँ । र फापरको सेल रोटी खाएर भुजुङतर्फ लागेका छौँ । यो घले गाउँ निकै राम्रो रहेछ । निकै सुन्दर रहेछ । चित्ताकर्षक प्रकृति गाँजेर हाँसिरहँदो रहेछ घले गाउँ । फेरि गमेको छु कि यो घलेगाउँ बढी प्रोफेसनल भएको अनुभूत भएको छ मलाई । औपचारिक र औपचारिक । सायद ऊ अरू गुरुङवस्तीभन्दा सभ्य ठान्दो हो आपूmलाई । गुरुङ संस्कृतिलाई देखाएर पहिचान खोज्दो हो र त्यसैबेला कुर्ता, सुरुवाल, सर्ट, प्यान्ट, वा यस्तै यस्तै लगाएर सभ्य भनाउन खोज्दो पनि हो ।  

घले गाउँमा खाजा खाएर हामी भुजुङ्तर्फ एकमुहाँ भएका छौँ। हाम्रा गोडाहरू तिर्पायाँ बाटोमा सुस्तरी रमाएर हिँडेका छन्  । अन्नपूर्णा आरक्षण क्षेत्र हिँडेका विदेशी पर्यटकको ओइरो देखिएको छ । कमिलाका ताँत जस्ता देखिँदा रहेछन् त्यो उकालोमा पर्यटक र साथमा लाम लागेका भरियाहरू । हिमाल, पहाडमा त्यो ताँत देख्दा क्या रमाइलो ! बाटोमा एउटा सुन्दर गाउँ भेटिएको छ – नायुङ् । एकजना स्थानीयवासीले बाटोबाटै गहिरोतिर चोर औँला देखाएर भन्दै छन् – हेरि त्यो टिनले छाएको घर शेष घलेको हो । अहिले कहिलेकाहिँ आमा बस्नुहुन्छ । नत्र रित्तै ।

यो आम धनाढ्य एवं मध्यम वर्गीय नेपालीको समस्या नै हो । त्योबाट शेष घले पो किन जोगिन सक्थे र !

विश्वका धनाढ्य शेष घलेको घर हेरेर उकालो लागेका थियौँ घनपोखरातिर । तिर्पायाँबाट अलिकति १५ मिनेट जति हिँडेपछि पुगिने रहेछ । तर मभने डाक्टर अधिकारीलाई भन्दै छु – भयो न हौ सर, उही घलेगाउँ जस्तै गुरुङ बस्ती त हो नि ।

डाक्टर बमबहादुर अधिकारीले मान्दै मान्नु भएको छैन । उहाँ मलाई भन्दै हुनुहुनुहुन्छ – पाँच मिनेट त हो नि सर उकालो, सुस्तरी हिँड्नु न ।

हिँडेपछि पुगियो घनपोखरा ।लक्ष्मीपूजाको दिन हो आज । घनपोखरापूmलले सिँगारिन थालेको छ । हामीलाई भव्य आत्मीय स्वागत गर्न थालेको छ घनपोखराले । घनपोखराबाट देखिने हिमाल झन् राम्रो छ । झन् सुरम्य छ । झन् मनमोहक छ । अहिले नै टपक्क टिपेर झोलामा राखौँजस्तो । थक्कथक्क लागेको छ । हिजो घनपोखरामा नै आएर बास बस्नु पथ्र्यो । घनपोखराका अगुवाहरूले लोकल रक्सीबाट हाम्रो स्वागत गरेका थिए, खँदुवा मुलाको अचार र आला मुलाका चानाहरूसित । अहा कति सुन्दर रहेछ यो गाउँ !मानौ लागिरहेछ यो हिमाल नै घनपोखराको एउटा पर्खाल हो । मनमनै डाक्टर अधिकारीलाई धन्यवाद दिइरहेको छु । यहाँ नआएको भए त स्वर्ग छुट्ने रहेछ । बाटा बाटामा निस्किएका गुरुङसेनी दिदी बहिनीहरूको मुस्कानले आज यतै बसौँ बसौँ नभएको होइन । तर उफ हाम्रो नियति हामीलाई आजै भुजुङ पुग्नु छ । समय टाइट छ । उफ ! यो पापी समय !!

२०७३ कात्तिक १४ गते बिहानको १२ बजे सम्भवत संसारकै अचम्मको गाउँ भुजुङ पुगेका छौँ । होमस्टेमा बसेका छौँ । गुन्द्रुक भटमासको झोलमा कोदाको ढिँडो चोबेर खाएका छौँ । छेउमा तिलको छोपले आकर्षण थपेको थियो । यसको स्वाद, अहो तृप्त पार्ने स्वाद ।  साहुनीले फेरि पकाउनुपर्ने गरी हामीले धेरै ढिँडो खायौं । कस्तो अचम्मको गाउँ होला यो ! करीब ७ सय घरधुरी गुजुमुज्ज भएको एउटा गाउँ । एउटा सिङ्गो गाविस ।गुरुङ सभ्यताको अनुपम सुन्दरता भएको गाउँ । भुजुङको थाप्लामा बसेर सर्सर्ती प्रकृति हेरेका छौँ । अलिपर मिदिम खोला बगिरहेको छ । सुसाइरहेको छ । सुसेली हालिरहेको छ । भुजुङको सिरानमा यमानको टार रहेछ । त्यो भुजुङ्को खेत रहेछ र त्यो माथि लेक र खर्क रहेछ । त्यो भुजुङ्को भोकको आश रहेछ ।

यसो कोन्द्रामा लुकेको गाउँ भुजुङमा पनि एक थुम्का हिमाल बलिरहेको छ। मुस्कुराइरहेको छ । हाँसिरहेको छ । त्यो हिमाललाई टप्लक्क डोकोमा बोकेर मधेस झरौँ जस्तो नलागेको कहाँ छ र तर कहाँ हुनु र यस्तो । मन त्यसैत्यसै रमाइरहको छ । जङ्गल हाँसिरहेको छ । भुजुङ्गेली गुरुङ गुरुङसेनीहरू फरासिला लागेका छन्। लक्ष्मीपूजाको दिन हो आज । एक हूल देउसी खेल्न आएका छन् पल्लाघरमा । म हेर्न गएको छु । उफ, त्यो देउसीमा त गीत हिन्दी बजेको छ, नेपाली गीत बजेको छ । सर्टप्यान्ट पोसाकमा छन् अधिकांश मान्छे । कसैकसैले गुरुङ पोसाक पनि लगाएका छन् । सायद त्यो स्कुलको देउसी थियो क्यार । नाङ्गलाभरि हजारिया हाँसिरहेका छन् । नो क्रेडिट । दियो बलिरहेको छ । देउसेले पैसा गने । यस्तै ९५ हजार रुपियाँ रहेछ । डायरीमा टिपे । पछि थाहा पाएको छु कि त्यो एउटा वार्डको दान रहेछ । मजा त के भने एउटा घर पर्तिर अर्को वार्ड रहेछ।

होमस्टे घरको आँगनमा बसिरहेको छु । यसैबेला एकजना विवाहित गुरुङसेनी युवती म नजिकै आएकी छिन् । कुरा गर्दै छु । केही कुरा त औपचारिकता पनि हो । जस्तो कि उनको बारेको जानकारी । मैले जान्ने पल्टिएर भनेको छु – तपाई भुजुङबासी भाग्यमानी हुनुहुन्छ । अन्नपूर्णको काखमा हुनुहुन्छ । हिमाल छन् । पाखा छन् । जङ्गल छन् । लेक छन् । बेँसी छन् । फाँटहरू छन् । सभ्य संस्कृति छ । सभ्यता छ । पहिचान छ । हावापानी राम्रो छ । कलकल बग्ने मिदिम खोला छ ।’

कुरा सुनेर ती बहिनी उदास देखिइन् अनि उनले भनिन् – के गर्ने त्यो अन्नपूर्ण  हाम्रा लागि ठिहिरयाउने चिसो न हो । यी पाखा, यी लेकबेँसी, हावापानी र मिदिम खोला त हाम्रो दुःख हो । 

उनले आफ्ना पटपटी फुटेका कुर्कुच्चा देखाउँदै भनिन् – तपाईहरू पो पैसा बोकेर यहाँ आउनुहुन्छ ।  एकदिनको नयाँ ठाउँको रमाइलो त भइहाल्छ । आँखा रमाइहाल्छन् । हाम्रो त कमाउन विदेश नगए खान पाइन्न । यहाँ के गरी कमाउने ! प्राय सबै लाठे पोइहरू विदेश गएका छन् । यहाँ त हामीले उही बस्नु न हो । काल पर्खनु न हो । नपत्याए केही महिना बसेर हेर्नुस्, केही दिन कमाएर हेर्नुस्  र भोगेर हेर्नुस् यो भुजुङको रमाइलो अनि बल्ल थाहा हुन्छ ।

म अवाक भएको छु । हो त नि यहाँको जीवन कति कष्टकर होला ! आम्दानीको स्रोत के होला !  विदेशिएका श्रीमानविनाका उनीहरूको जीवन के होला ? उनीहरू भित्रको उच्छवासको अर्थ के होला ? यो मँहगी खेप्न र बाँच्न कस्तो होला ? के म भुजुङमा बस्न सकूँला ? के म सधैँ कोदाको ढिँडो र गुन्द्रुक खाएर बाँच्न सकूँला ? के म त्यो अजङ्गको जङ्गल र भिरपाखा गर्न सकूँला ? के म मिदिमको सुुसेलीमा सधैँ रमाउन सकूँला त ?

यो बेला मलाई  चिटचिट पसीना पो आएको छ । बेलुकाको स्वादिस्ट मकैको ढिँडो लोकल कुखुराको झोल असाध्य मिठो त लाग्यो तर उही कुरा सम्झेँ – के म भुजुङमा बस्न सकूँला ! के म लेकबेँसी गर्न सकूँला ! पक्कापक्की सक्दिनँ । काठमाडौँबाट सरुवाको कुरा आउँदा त कोकोहोलो हुन्छ जीवनमा । उफ, किन यस्तो भएको छ यो जीवन । धूवाँधूलो भए पनि काठमाडौँलाई धन्य ठान्दै छु यतिबेला । 

म मनभरि  ती बहिनीको रूपलाई सम्झिरहेको छु । उनी जस्ता बैँस बोकेर अभिषप्त बाँच्न बाध्य नेपाली चेलीहरूलाई गमिरहेको छु । उनीहरूको परिवेशीय नियति सोचिरहेको छु । ढाकर बोकेर लेकबेँसी गर्ने पत्रे चट्टानजस्तै कोत्रिएका सङ्घर्षशील पाइतालाहरूलाई बुझिरहेको छु  र पनि रोदीमा रमाएको नेपाली संस्कृतिसँग मक्खिएको छु । एकातिर यो भुजुङको सौन्दर्यसँग पुलकित भएको छु भने अर्कोतिर हतारहतार काठमाडौँ पुग्नु छ । बितेको छ । जागिर बितेको छ । घर बितेको छ । काम बितेको छ । बेंसीशहरमा फेरि रणबहादुरको घरमा पुगेर मात्र म हानिएको छु काठमाडौँ ।

काठमाडौँ जाने माइक्रोमा फेरि बेंसीशहर सम्झँदै छु । उही रमाइलोमा रोमाञ्चक भइरहेको छु ।तिहारको रमझमले बेँसीशहरलाई पनि सजाएको छ । नवदुलहीझैँ देखिएको दृश्य आँखैअघि आइरहेको छ । स्पिकरमा बजिरहेका हिन्दी चलानी गीतहरूले भने दाँतमा ढुङ्गा लगाएका छन् । भाइटीका छ भोलि । काठमाडौँ पुग्नु छ । माइक्रो कुदिरहेको छ । दिमागमा गाउँशहर, बेँसीशहर, घलेगाउँ, घनपोखरा र  भुजुङ आइरहेको छ । रमाउँदै छु । म मनमनै कहिल्यै नबिर्सने बाचा गर्दै छु । साँझमा काठमाडौँ पुगेर लखतरान पल्टेको छु । दिमागमा भने भुजुङकी गुरुङ्सेनी बहिनीले भनेको ‘सबै लाठे पोइहरू विदेश गएका छन् । यहाँ त हामीले उही बस्नु न हो । काल पर्खनु न हो । नपत्याए बसेर हेर्नुस् केही महिना, कमाएर हेर्नुस् केही दिन र भोगेर हेर्नुस् यो भुजुङको रमाइलो’ भन्ने कुराले मेरो कथित ‘इन्टलेक्चुअल’ दिमागमा भने घन हानिरहेको छ ।  

प्रकाशित: १२ आश्विन २०७७ ०७:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App