८ वैशाख २०८१ शनिबार
कला

सञ्जीव उप्रेतीको ‘हंस’लाई पद्मश्री

२०७६ को पद्मश्री साहित्य पुरस्कार समालोचक तथा उपन्यासकार सञ्जीव उप्रेतीको उपन्यास ‘हंस’ ले पाएको छ । शनिबार खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत २०७६ सालको पद्मश्री साहित्य पुरस्कार सो उपन्यासलाई दिने निर्णय गरेको जनाएका हुन् ।

उपन्यासमा मानिसद्वारा निर्मित देश, कानुन तथा संस्कारले प्रेम र सम्बन्धमा बनाएको जटिलता अनि त्यसले मानिसलाई कसरी थिचिरहेछ, बोझ बनाइरहेछ भन्ने कुरा प्रकृति तथा हाँसको कथासँग जोडेर स्वैरकाल्पनिक शैलीमा प्रस्तुत गरिएकाले पुरस्कार प्रदान गर्ने निर्णय भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले यस वर्षको पद्मश्री साधना सम्मान विगत ६ दशकदेखि नेपाली काव्य, निबन्ध, नाटक, आख्यान, समालोचना तथा संस्कृति लेखनका माध्यमबाट समाज रूपान्तरण तथा राष्ट्रिय एकतामा योगदान पु-याएका साहित्यकार मोदनाथ प्रश्रितलाई प्रदान गर्ने निर्णय गरेको थियो । यौन हिंसाका आरोपित प्रश्रितलाई सो सम्मान प्रदान गर्ने प्रतिष्ठानको निर्णयप्रति सामाजिक सञ्जालमा चर्को अलोचना भइरहेको छ । उपन्यासकार उप्रेतीले समेत यौनहिंसाका आरोपितसँग अभिएर पुरस्कार लिन नसक्ने प्रतिक्रिया दिइसकेका छन् ।

पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मानको राशि ३ लाख रूपैयाँको छ । २०६३ सालदेखि खेमलाल–हरिकला लामिछाने प्रतिष्ठान, चितवनले नेपाली साहित्यमा वर्षभर प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठहर गरेका पुस्तकलाई प्रत्येक वर्ष पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आएको छ । त्यस्तै प्रतिष्ठानले २०६७ सालदेखि साहित्य, कला, संगीत, अभिनयसहितका क्षेत्रमा दीर्घ साधना गर्ने वरिष्ठ साधकलाई पद्मश्री साधना सम्मानसमेत प्रदान गर्दै आएको छ । दुवै सम्मान तथा पुरस्कार हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन प्रदान गरिँदै आएकोमा यसपटक अनुकूल समयमा प्रदान गरिने प्रतिष्ठानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: १२ आश्विन २०७७ ०३:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App