coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

धारणा

लघुकथा

लता केसी

 

‘लगनपछि पोतेको के काम ! बेलामा तातो दिए पो खानुको अर्थ रहन्थ्यो । बूढी भएपछि त सबैले हेप्ने रैछन् । पालो त तिम्रा नि आउलान् नै । देख्न पो पाउने कि नपाउने हो  भनेर आमा फत्फताइरहेको सुनेर ऊ करायो , ‘होइन, के भयो ?  किन यसरी रडाको मच्याउँदै घरको सुखशान्ति स्वाहा  पार्नुभएको आमा ?’

बुहारीलाई नै सोध्न गएर , म बूढी त्यसलाई अर्घेलो बनेँ । न तातो बेलामा पाउनु छ  न भनेजस्तो केही भाको छ। म बढी भएको भए  मिल्क्याइदेओ न , सबैलाई सुख, सबैलाई शान्ति हुने थियो ।’

आमा छोराको कुरो सुनेर उनी रुँदै बक्न थालिन् , ‘मान्छे बूढो भएसी निहुँ खोज्छ भनेको ठीकै रहेछ । म एक्ली कताकता भ्याऊँ त ? बाहिरभित्र सबै मेरै थाप्लोमा । आफू सक्ने नि होइन , भनेको सुन्ने नि होइन । खालि बुहारी डक्न मात्रै जान्ने ! नाति केटो रुँदै हजुरआमाको छेउमा आयो र तोतेबोलीमा भन्यो , ‘आमा , आमा, हजुल मलाई छोलेर ततै नजानू , हस् । म तोसंग थेल्ने त । तोसंग बोल्ने त ।

टाउको मुसार्दै उनले भनिन् , ‘बाबू त स्कुल जाने , धेरै पढने , साथीहरूसँग खेल्ने , बुवाआमाले भनेको मान्ने है ।’

केही दिन पछिको कुरो हो । आमाले छोरालाई एक्लै पारेर भनिन् , ‘ हेर बाबू , समाजले के सोच्ला भन्ने कुरा बिर्सिदे । तिमीहरू काममा जाँदा म घरमा एक्लै दिक्क भएँ । न काम गर्न सक्ने भएँ न त आफ्नो स्याहार !  बाँदरको पुच्छर लौरो न हतियार भएर बस्नुभन्दा निको त ब वृद्धाश्रम जानु लाग्यो । त्यहाँ गएपछि दौतरी र सत्सग त पाउँछु । बेलाबेलामा भेटन आओ । खर्चपानीको व्यवस्था गरिदेओ । मलाई त घरमा बस्न निको लागेन है ।’

झोक्राएर उसले भन्यो , ‘आमाको इच्छा त्यही हो भने , म के भनुँ ! घरमा रुवाबासी चल्यो  तर बूढीआमाले मनमनै निधो गरिन् , ‘ मेरो उमेर अब पारिवारिक मायामोहमा भुल्नु होइन , आफ्नो मुक्तिको बाटो खोज्नु हो ।’

प्रकाशित: ११ आश्विन २०७७ ०९:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App