१६ चैत्र २०८० शुक्रबार
कला

एसएलसीको खड्को

संस्मरण

विनोद नेपाल

 

कुरा २०३६ सालको हो । त्यतिखेर पाल्पा जिल्लामा १६ वटा माद्यमिक विद्यालय थिए । तीमध्ये छ वटा त सदरमुकाम तानसेनमै मात्र । जिल्लाभरको एसएलसी परीक्षाकेन्द्र तानसेनमै रहन्थ्यो र परीक्षा हुन्थ्यो माघ महिनामा। यसैले गाउँका विद्यालयबाट ‘टेस्ट’ परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरू परीक्षा नजिकिएसँगै तानसेन बस्न बाध्य हुन्थे । मंसीरदेखि माघसम्मको जाडोका झन्डै तीन महिना तानसेनमा बस्ने, ट्युसन पढ्ने र परीक्षा सकिएपछि गाउँ फर्कने चलन थियो ।

यसैले एसएलसी नजिकिएपछि तानसेनको रौनक नै बेग्लै हुन्थ्यो । जिल्लाभरका  परीक्षार्थी जुट्दा कोठाहरू त भाडामा लाग्थे नै नाम मात्रका ‘कोठा’ र सुँगुरको खोर जस्ता ठाउँ, कुनाकाप्चा पनि भाडामा लाग्थे त्यतिखेर । पानीको दुःख भएको तानसेनमा निकैबेर ढुंगेधाराहरूबाट पानी बोक्नुपथ्र्याे ।

परीक्षा नजिकिएसँगै तानसेन गएर बस्नुको मुख्य उद्देश्य हुन्थ्यो ट्युसन। अंग्रेजी र गणित विषयको ट्युसन पढ्ने चलन थियो । शुल्कचाहिँ ५० देखि ७५ रुपियाँसम्म, यस्तै थियो क्यारे । सदरमुकामका विद्यालयमा ती विषय पढाउने शिक्षकहरूले मनग्गे आम्दानी गर्थे । अझ  भनौं कपितय त ‘मालामाल’नै हुन्थे । शिक्षण पेसामा नभएका तर सिकाइ क्षमता भएकाहरूले पनि यो मौकाको लाभ लिन्थे र आफ्नो खर्च जुटाउँथे ।  

ट्युसन साँझबिहान चल्थ्यो । शिक्षकहरू थरीथरी । कसैले थोरै र सीमित संख्यामा विद्यार्थी लिने, बैठक कोठा अर्थात् ‘दलान’ मा दरी वा काम्लोमाथि पलेटी मारेर बस्ने, वरिपरि विद्यार्थी राख्ने र कापीमा कोर्दै, लेख्दै बुझाएर पढाउने गर्थे भने कोही जतिसुकै विद्यार्थी आए पनि लिने, अनि ठूलो कोठामा कोचाकोच गरी राखेर विद्यालयको कक्षामा जस्तै पढाउने । कसैकसैले त ‘ब्ल्याकबोर्ड’ मै लेखेर पढाउँथें भन्ने पनि सुनिन्थ्यो ।  

अलि नजिकका र टाठाबाठा विद्यार्थीले बिहान सबेरैको समूहमा पढ्थे, शिक्षकले राम्ररी पढाउँछन् भनेर बिहानकै सामूह खोज्थे । टाढाबाट पुगेकाहरूले चाहिँ त्यस्तो मौका पनि पाउँदैनथे । जुन समूह भयो त्यसैमा पढ्न बाध्य हुन्थे ।

दुर्गम गाउँका अधिकांश विद्यार्थी एसएलसीकै लागि पहिलोपटक तानसेन पुगेका हुन्थे । ट्युसनबाहेकको दिनभरको समय फुर्सदिलो हुन्थ्यो । गाउँगाउँबाट बल्लतल्ल तानसेन पुग्न पाएका विद्यार्थीहरूलाई शायद तानसेन विदेशै लाग्दो हो । किनकि त्यतिखेरको गाउँको परिवेश, समाज आदि वर्तमान पुस्ताले कल्पना गर्नै नसक्ने खालको थियो र सदरमुकाम रहेको ऐतिहासिक शहर तानसेन पक्कै पनि ‘भव्य’ थियो । यसैले टाढा र दुर्गम गाउँबाट शहर पुगेकाहरू त्यहाँको झिलिमिलीमा रमाउँथे र तिनको घुमफिर गजबकै हुन्थ्यो । कहिले श्रीनगर, कहिले बतासेडाँडा, कहिले गैरागाउँ–भुसालडाँडा, कहिले होलङ्दी, कहिले वसन्तपुर, बनदेवी, कैलाशनगरदेखि बसपार्कसम्म आउजाउ गर्ने । टँुडिखेलमा घाम ताप्दै बदाम खानुको भिन्नै आकर्षण थियो ।  

शनिबार ट्युसन हुँदैनथ्यो । टाढाका विद्यार्थी धेरै ओहोरदोहोर नगर्ने र अलि धेरै नै सामग्री एकैपटक ल्याएर मौज्दात राख्ने गरे पनि तानसेन नजिकका गाउँका विद्यार्थीले चाहिँ हप्ता–दुई हप्तामा गाउँ जाने र उतैबाट चामल, दाल, मस्यौरा, गुन्द्रुक तथा बारीमा फलेका तरकारी आदि लिएर फर्कने चलन थियो । मसलामा पनि जीराबाहेकका अन्य अदुवा, वेसार, धनियाँ, मेथी आदि गाउँबाटै लैजाने गरिन्थ्यो ।घिउ त हुने नै भयो, तोरी, सस्र्यूं उत्पादन हुने हुँदा त्यसताका खाने तेल पनि धेरथोर गाउँमै हुन्थ्यो र गाउँबाटै लगिन्थ्यो । मट्टितेल, चिनी र नुनभने गाउँमा पनि किनेर ल्याउनुपर्ने भएकाले उतै किनिन्थ्यो ।

अपत्यारिलो लाग्न सक्छ तर यथार्थ हो, स्टोभमा खाना पकाउनु त्यतिखेर सम्पन्नताकै प्रतीक थियो । आर्थिक अवस्था हेरी, मट्टितेल किनेर स्टोभ चलाउन सक्नेले स्टोभमा खाना बनाउने गर्थे भने नसक्नेले चुलोमै भात पकाएर खाने गर्थे । यसैले कतिले त गाउँबाटै दाउरा समेत लिएर जान्थे ।  

न अहिलेको जस्तो सस्तो पैसा न त अहिलेका जस्ता ‘जंकफुड’, खाजा भनेको उही घरबाट भुटेर लगेको मकै थियो । चिया पिउने चलन पनि उतिसारो थिएन । यदाकदा होटलमा पसेर चिया पिए पनि खाजाचाहिँ बिरलै खाइन्थ्यो । कहिलेकाहीँ ‘बसस्टप’ मा मधेसी मूलका व्यापारीले वस यात्रुलाई लक्षित गरेर राखेका बसको झ्यालसामु उभिएर बेच्ने समोसा र आलु खानेबाहेक होटलमा पसेर खाइँदैनथ्यो  ।    परीक्षा सकिएको छ महिना पछि मात्र नतीजा निस्कन्थ्यो । नतीजा गोरखापत्रमा छापिने । सदरमुकाममै गोरखापत्र पुग्न, पाउन गाह्रो,गाउँमा कहिले कहाँबाट पुग्नु ? अहिलेजस्तो फोन कहाँ? इन्टरनेट कहाँ ?नतीजा प्रकाशित हुनेबित्तिकै एसएमएस कहाँ ?नतीजा थाहा पाउने अर्को माध्यम थिएन । सदरमुकामभन्दा बाहिर र टाढाका गाउँसम्म परिणाम पुग्न त कति समय लाग्ने कति?

नारायणगढ मुग्लिङ सडक निर्माणको शायद कल्पना पनि गरिएको थिएन, काठमाडौ पस्ने बाटो पूर्वबाट त्रिभुवन राजपथ हुँदै र पश्चिमबाट पोखरा हुँदै मात्र । त्यसताका भैरहवाबाट पाल्पा, पोखरा हुँदै काठमाडौ दैनिक दुईवटा बस चल्थे । तिनैले गोरखापत्र बोक्थे शायद ।

त्यस वर्षको नियमिततर्फको नतीजा २०३७ सालमा असार महिनाको अन्त्यतिर प्रकाशित भएको थियो शायद  । नतीजा खोज्दै तानसेन पुगेका साथी जनार्दन मुडभरीले कताकताबाट नतीजा थाहा पाएछन् । त्यसै दिन साँझ खबर ल्याए, हामीदुबै उत्तीर्ण भएछौं । केही दिनपछि पत्रिका पनि किनियो ।  

साँच्चिकैको फलामे ढोका त्यस समय एसएलसी उत्तीर्ण हुनु भनेको अहिले स्नातक उत्तीर्ण गर्नुजस्तै थियो । के चाहियो, हामीले ठूलै खड्को काटेको महसुस गर्दै रमायौं, उफ्रियौं । हामी उत्तीर्ण हुन्छौं भन्नेमा ढुक्क त थियो, हाम्रा विद्यालयका शिक्षकहरूले पनि उत्तीर्ण हुने यिनै यिनै हुन् भनेर नाम लिनुहुन्थ्यो । तर, एसएलसी हो के हुन्छ, के हुन्छ भन्न सकिंदैनथ्यो । नतीजा थाहा पाएपछि परिवारका सदस्यमा पनि खुसीयाली छायो । कहाँकहाँबाट कोको उत्तीर्ण भए भनेर गाउँभर चर्चा हुन्थ्यो । हामी र हामीसँगै उत्तीर्ण भएका साथीहरूको नाम लामै समय चर्चामा रह्यो ।

आश्चर्य, त्यतिखेर एसएलसी अनुत्तीर्ण हुनुलाई सामान्य रूपमा लिइन्थ्यो किनकि परीक्षा दिनेमध्ये एक तिहाईभन्दा कम मात्र उत्तीर्ण हुन्थे  । कक्षाका प्रथम, द्वितीय, तृतीय हुने र ती निकटका केहीबाहेक अरू उत्तीर्ण हुने अनुमान अभिभावक मात्र होइन शिक्षकले पनि गर्दैनथे । उनीहरू मानसिक रुपमा धेरै हदसम्म अनुत्तीर्णकै लागि तयार रहेजस्तो लाग्थ्यो ।

शायद झन्डै एक तिहाई परीक्षार्थी उत्तीर्ण भएका थिए त्यस वर्षको एसएलसीमा । त्यसअघि त्यतिधेरै उत्तीर्ण हुँदैनथे । त्यस वर्ष उत्तीर्ण प्रतिशत वृद्धि हुनुको कारण थियो परीक्षा‘कडा’ नहुनु । परीक्षा कडा नहुनुको कारण थियो आन्दोलन । स्मरणीय छ, सोही वर्ष अर्थात् २०३६ सालको प्रारम्भदेखि नै मुलुकमा विद्यार्थी आन्दोलन चलेको थियो जुन आन्दोलनले निरंकुश शासकहरूमाथि २०३७ सालमा जनमत संग्रह गराउने दबाब सिर्जना मात्र गरेन राजनीतिक चेतना अभिवृद्धिमा समेत ठूलो भूमिका खेलेको थियो ।  

अब आन्दोलनको पृष्ठभूमितर्फ जाउँ । त्यसताका पाकिस्तानमा सैनिक शासन थियो । प्रजातन्त्रवादी नेता एवं जननिर्वाचित प्रधानमन्त्री जुल्फिकार अलीभुट्टोलाई अपदस्थ गरी सत्ता कब्जा गरेको सैनिक सरकारले सन १९७९ को अप्रिल अर्थात् २०३६ सालको वैशाख महिनामा उनलाई मृत्युदण्ड दिएपछि सोको विरोध जनाउँदै काठमाडौंस्थित पाकिस्तानी राजदूतवासमा पत्र बुझाउन गएका विद्यार्थीमाथि प्रहरीले अबरोध उत्पन्न ग¥यो । त्यसपछि काठमाडौमा नारा जुलुस हुन थालेको र त्यसको प्रभाव बिस्तारै मुलुकभर फैलिंदै थियो । यसैबीच एसएलसी परीक्षा भएको र आन्दोलनमा समर्थन जनाउँदै शिक्षकहरूले पनि पेशागत माग समेत राखी आन्दोलन थालेका थिए । परीक्षाका अन्तिम दुई दिन जस्तो लाग्छ शिक्षकहरूले पाखुरामा कालोपट्टी बाँधेका थिए । त्यस समय त्यस्तो दृश्य नै नौलो थियो त्यसमा पनि गार्डको रूपमा परीक्षामा खटेका शिक्षकहरूको नै त्यसो गर्नु दुर्लभ नै थियो । कहिलेकाहीँ त शिक्षकहरू अधिकांश समय हलबाहिरै बस्थे । यसैले परीक्षा विगतमा सुनिए जस्तो कडा थिएन । नक्कल गर्नेहरूले गरे, यसको फाइदा लिए । यसैकारण धेरैले सो वर्षको परीक्षालाई वास्तविक परीक्षा र नतीजालाई सही नतीजा मानेनन् ।  

रमाइलो के छ भने कसैले ‘कहिलेको एसएलसी हो’ भन्यो  भने ‘३६ सालको’ भन्दा कतिपयले अहिले पनि ‘ए, ३६ सालको पो हो’ भन्छन् । आफू थिइयो मेहेनती विद्यार्थी, विद्यालयबाट उत्तीर्ण हुनेको नाम लिंदा आफ्नो नाम छुट्दैनथ्यो । मेहनत गरेरै परीक्षा दिइएको थियो तर आफ्नो परिणामलाई पनि एकै घानमा हालिदिंदा र ‘२०३६ सालको पो’ भन्दै नाक खुम्च्याउँदाचाहिँ नमज्जा लागेर आउँछ ।

समय न हो, त्यतिखेर जतिसक्दो अनुत्तीर्ण गर्नुपर्छ भन्ने मान्यता थियो अचेल जसरी होस् उत्तीर्ण गर्नुपर्छ भन्ने मान्यता छ । त्यतिखेरको र अहिलेको शिक्षा अनि मूल्यांकन प्रणालीबीच आकाशजमीनको अन्तर छ । यो सबै देख्दा समयले साँच्चै कोल्टो फेरेको महसुस हुन्छ ।

प्रकाशित: १० आश्विन २०७७ ११:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App