६ वैशाख २०८१ बिहीबार
कला

नाइल र कायरो

कविता

 प्रेम राई परीक्षित

 

बुर्काको पीडाहरू गर्भभित्र लुकाएर  

अवैधानिक खुसीहरू

जन्माइरहन्छे नाइल

दिनभरि कुदाइरहन्छे रङ्गीन फेरिहरू

बुढ्यौली अवयवहरू माथि रगटेर

रातभरि  छिल्लिरहन्छे

क्रुजका स्फटिक गिलासहरूमा

र बिर्सन्छे दिनका उष्ण बाफहरू

कायरो लुटिरहन्छ अस्मिता

चूपचाप सहिरहन्छे ऊ  

कायरो असुलिरहन्छ उनको यौवन

र बुर्का ओडेर बगिरहन्छे ऊ  

दिनचर्या स्विकारिरहन्छे ऊ

कायरो  

न ऊबिना बाँच्न सक्छ

न ऊबिना आफ्नो अस्तित्व बनाउन सक्छ

जो नाइलको रुन्चे सुस्केरासँगै

हरदमहरपल बाँचिरहन्छ  

तर,

कायरो अनुभूत गर्न सक्तैन

नाइलका अनन्त दमित पीडाहरू

जो युगौंदेखि छल्किदै विद्रोह गरिरहेछ ।

(नोट– कायरो इजिप्ट देशको राजधानी हो र संसारकै लामो नदी नाइल कायरोको बिच भएर बग्ने गर्छ।)

प्रकाशित: १० आश्विन २०७७ ०७:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App