coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

स्रष्टाका नजरमा निजामती सेवा

लक्ष्मी निरौला

हाम्रा शैल, मधेस, पर्वत, बुकी– बोकेर आफ्नै मसी
लेख्दै छन् सुखका कथा कलमले अड्डाहरूमा बसी
निष्ठा, त्याग भिरेर कर्मपथको समृद्धि हिँड्दैछ जो
त्यो नै राष्ट्र बनाउने सपुत हो– वैषम्य चिर्दैछ जो।

निजामती सेवा दिवस– २०७७ को अवसरमा आयोजित राष्ट्रव्यापी खुला कविता प्रतियोगितामा प्रथम भएको सल्यानका कवि नीरज दाहालको उक्त कवितांशले वर्तमानको निजामती सेवाको काम, कर्तव्य, अधिकार र जिम्मेवारीलाई प्रस्ट पार्छ।  

‘राष्ट्रसेवकलाई अक्षरको उपहार’ शीर्षकको कवितामा उनी कर्मचारीलाई हिमाल, पहाड र तराईका जनताबीचको सम्बन्ध सेतुका रूपमा प्रस्तुत गर्छन्। निजामती सेवा ऐन–नियमले व्यवस्था गरेको निजामती कर्मचारीको आचरण पालनाको पक्षलाई समेत उनले कवितामार्फत स्पष्ट पारेका छन्।

काला रात हटाउँदै समयका जाज्वल्य बालौँ अब
हाम्रा कोट परेर प्वाँल सकिए सुध्रेर टालौँ अब
द्यौता हुन् जनता हँसाउन सकौँ, सेवा गरौँ सकभर...।

विश्वव्यापी रूपमा कोभिड–१९ को बढ्दो प्रकोप र संक्रमणका कारण सदाझैँ भव्य समारोह आयोजना गरी कार्यक्रम गर्न नसकिएको यस वर्षको निजामती सेवा दिवसका अवसरमा इमेलमार्फत साहित्यिक रचना माग गरी प्रतियोगिता आयोजना गर्ने मूल समारोह समितिको निर्णय भएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा सोहीअनुसार आयोजना गरिएको खुला कविता प्रतियोगितामा प्राप्त अन्य विभिन्न कविताले समेत निजामती सेवाको वर्तमान अवस्थाबारे उजागर गरेका छन्।

कोभिड–१९ का बीच आयोजना गरिएको खुला कविता प्रतियोगितामा प्राप्त कविताले निजामती सेवाको वर्तमानको यथार्थलाई चित्रण गर्दै यसलाई युगानुकूल सशक्त बनाउन मार्गदर्शन समेत गरेको देखिन्छ।

त्यस्तै, चितवनका कवि कृष्णहरि पौडेल यसरी अभिव्यक्त हुन्छन्, आफ्ना कविताका पंक्तिहरूमा।

परिवर्तनको सुन्दर बगैँचामा
म फलाउन सक्छु सुशासनका फलहरू,
उखेलेर झार संक्रमणको
म लहराभरि सजाउन सक्छु
नयाँ युगका सपनाहरू,
संघीयताको यो नयाँ बिहानीमा
म आफैँ कुर्लन सक्छु
चेतनाको एक पूर्णकालीन कटुवाल बनेर।

आफ्नो कवितामार्फत कवि पौडेलले राज्यको नीति कार्यान्वयनको प्रमुख माध्यम र स्थायी सरकारका रूपमा स्थापित निजामती सेवालाई सार्वजनिक सेवा प्रवाहको निर्विकल्प साधनका रूपमा प्रस्तुत गरेका छन्।  

प्रतियोगितामा दोस्रो स्थान सुरक्षित गर्न सफल काभ्रेपलाञ्चोककी कवि रमा अधिकारी कादम्बरी निजामती सेवामा इमानदारिता र लगनशीलता अपरिहार्य छ भन्दै निडर र निर्भीक भई कर्तव्य पथमा निरन्तर क्रियाशील रहन राष्ट्रसेवकलाई आह्वान गर्छिन्। ‘आमाको आह्वान: राष्ट्र सेवक छोरीसँग’ शीर्षकको कवितामार्फत कवि कादम्बरी यसरी आफ्नो देशभक्तिपूर्ण अपेक्षा प्रस्तुत गर्छिन्।

धेरै चाहना त छैन मेरो
बस्, तिमीसँग यति आस छ छोरी,
नियाल्दा तिम्रो अनुहार
बुद्ध, कृष्ण र क्राइस्ट तिमीभित्रै देख्न पाऊँ
तिमी बाँचेर यो देश बचाएको हेर्न पाऊँ।  

राष्ट्रसेवकहरू प्रतिगौरव र विश्वास गर्दै उनीहरूलाई जागिरे र वेतनभोगीका रूपमा होइन, राष्ट्रिय समृद्धिका संवाहकका रूपमा प्रस्तुत गर्छिन्, कादम्बरी।  

झापा जिल्लाबाट प्रतियोगितामा भाग लिएका कवि वीरेन्द्र नेपाल ‘अपार मातृभूमि’ शीर्षकको आफ्नो कवितामार्फत यसरी अभिव्यक्त हुन्छन्।

रेखा समृद्ध पारी अविचल गतिमा देश चाँडै विकास
बन्ला भन्दै हिँडेका अविरल पदमा राष्ट्रका उच्च आशा
पूरा गर्छन् चुहाई श्रम, तनमनले नित्य ती देशप्रेमी
भुल्दैनन् राष्ट्रसेवा असल वचनले बन्दछन् अग्रगामी।

कवि नेपाल आफ्नो राष्ट्रलाई स्वर्गको सुनौलो टुक्रा हो भन्दै भिन्नभिन्न भाषा र छुट्टाछुट्टै संस्कार भएर पनि अतुलनीय मेलमिलापका साथ एक–अर्कामा सम्मान गर्न हामी विश्वमै उदाहरणका रूपमा स्थापित भइसकेका छौँ भन्छन्। उनी आफ्नो कवितामार्फत राष्ट्रियताको भावना यस प्रकार अगाडि सार्छन्।

झापाकै अर्का प्रतियोगी विष्णु न्यौपानेले निजामती सेवाको अनुशासन र आचरणलाई आफ्नो कविताको मूल विषय बनाएका छन्। वर्तमानमा निजामती सेवा कस्तो छ भन्ने उनले कवितामा यस प्रकार समेटेका छन्।  

निर्माता अझ पृष्ठपोषक यिनै हुन् नीति निर्माणका
लागू गर्न र योजना दिन छिटा तथ्यांक आधारका
सेवामा व्यावसायिकै हृदयमा यो राष्ट्रको प्रेमी छ
छन् निष्पक्ष तटस्थ आचरणमा सद्भाव उत्कृष्ट छ।

यस प्रकार निजामती सेवा स्वतन्त्र, निष्पक्ष, इमानदार र कर्तव्यनिष्ठ भएर सेवारत रहेको कवि न्यौपानेले प्रस्ट पारेका छन्।  

धनकुटाबाट प्रतियोगितामा सरिक भई तृतीय भएकी कवि कल्पना काफ्ले ‘सिँगार्छु आफ्नै धरा’ शीर्षकको कवितामार्फत राष्ट्र र राष्ट्रियताको संरक्षणमा आवाज बुलन्द गर्छिन्। भाषा, धर्म, संस्कृतिका हिसाबले बहुलतायुक्त र प्राकृतिक सौन्दर्यका हिसाबले अतुलनीय हाम्रो देश नेपालको विकासका लागि राष्ट्रसेवकका रूपमा सदासर्वदा लड्ने प्रण कवितामार्फत उनी यसरी गर्छिन्।

आफैँ थाम्नु छ सृष्टि कर्म पथका भाषाकला सुन्दर
आफ्नै देश सिँगार्नुपर्छ जन हो आमा उनै ईश्वर
योद्धा वीर बनेर लड्छु रणमा सीमा सुरक्षाकसी
बाजी प्राण लगाउनेछु यसमै आफ्नै धरामा बसी।

उनले आफ्नो कवितामा निजामती राष्ट्रसेवकहरू देश र जनताको सेवामा निरन्तर लागिरहने हुँदा यिनीहरूको मेहनत, लगन र इमानदारिताबाटै देशको विकास सम्भव भएको छ भन्ने सन्देश प्रवाह गरेकी छिन्।  

अर्का सशक्त युवा कवि रूपक अलंकार निजामती सेवाभित्र सानो संख्यामा मात्रै भए पनि हालसम्म कायमै रहेको व्यक्तिगत स्वार्थ, अहं, विभेदकारी व्यवहार र स्वेच्छारितामाथि प्रहार गर्दै आफ्नो सिंगो जीवन देश र जनताको सेवामा समर्पित गर्ने राष्ट्रसेवकहरू सधैँ सत्कर्मका लागि तत्पर रहेको उल्लेख गर्छन्। आफ्नो कविताका पंक्तिमार्फत उनी यसरी अभिव्यक्त भएका छन्।

मेरो जोवन फूलले झलझली यो देशको माथ होस्
लागेमा अनिकाल दिन्छु पसिना सन्तोष वर्षात् होस्
सुम्पी जीवन अंकमाल म गरुँ होस् भावना सिञ्चित
आफ्नो देश सजाउँदा हृदयमा होऊँ सदा गर्वित।

सोलुखुम्बुबाट प्रतियोगितामा सहभागी भएका कवि गणेशप्रसाद खतिवडा नेपालको वीरतापूर्ण इतिहासप्रति गर्व गर्दै राष्ट्रसेवकहरूमा बलभद्र र भक्ति थापाको झैँ देशभक्तिको भावना हुनुपर्ने भावना व्यक्त गर्छन्। आफ्नो देशको भूगोल र सीमाको सुरक्षा सबैको चासोको विषय हो भन्दै उनी कवितामा यसरी समाहित भएका छन्।

किल्ला हेर अझै खुँडा र खुकुरी तरबारका डाम छन्
देवीका ऋषिका र देवगणका लाखौँ जहाँ धाम छन्
बैरीका बुट बज्रिँदा मुलुकको माटो दुखेको स्थल
फर्किन्छन् बलभद्र, भक्ति जिउँदै सीमा मिचेको पल।

कोभिड–१९ का बीच आयोजना गरिएको खुला कविता प्रतियोगितामा प्राप्त कविताले निजामती सेवाको वर्तमानको यथार्थलाई चित्रण गर्दै यसलाई युगानुकूल सशक्त बनाउन मार्गदर्शन समेत गरेको देखिन्छ। ‘जहाँ रवि पुग्दैन, त्यहाँ कवि पुग्छ’ भन्ने भनाइमा झैँ नेपाली सार्वजनिक प्रशासनको ध्यान पुग्न नसकेका केही पक्षमा समेत यी कविताले झकझक्याएको देखिएकाले यसबाट शिक्षा लिई अगाडि बढ्न सके यस वर्षको निजामती सेवा दिवसको नारा ‘स्वच्छ र सक्षम निजामती प्रशासन: समृद्धि र सुशासन’ वास्तविक अर्थमा चरितार्थ हुने थियो।

प्रकाशित: १० आश्विन २०७७ ०४:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App