७ वैशाख २०८१ शुक्रबार
कला

साथीहरूका नाममा

कविता

हिक्मत सिंह ऐर

 

जीवनमा साथी नै सच्चा निधि हुन,  

तिनको साथ, उमेर बिर्साउने विधि हुन।  

साथीसँग मनका कुरा खुलेर बिसाइन्छ,  

चाहेनचाहेका भाव बेरोकटोक तेर्सान्छ।  

साथीसंगको भोगाइ र सिकाइको अनुभूति,  

दिइरहन्छ जीवन दर्शनका प्रत्याभूति ।  

जीवनयात्रामा साथी भेटिन्छन् अनेक,  

केही स्वार्थमा र केही निस्वार्थमा बन्छन एक।  

बाल्यकालका ती साथी कहिल्यै बिर्सिदैनन्,  

वर्षौं नभेटे के भो, फेरि एकैछिनमा जोडिन्छन्।

अचेलका केही साथी, हात दिँदा खुट्टा पो तान्न थाल्छन्,  

आफू अघि बढनुभन्दा, अरूलाई पो ठेल्न थाल्छन्।  

विभिन्न कालखण्डमा जोडिएका साथी,  

मोतिमालाका दाना हुन, कुनै ठिक, कुनै काना हुन।  

जीवनमा हाम्रा नाता रगतले जोडिन्छन्,  

साथी हाम्रा, इच्छा, बुद्धि र हृदयले चुनिन्छन्।  

साथीको छनौट आफैंमा एक चुनौती हो,  

सच्चा साथी पाउनु नै अमूल्य निधि हो।  

साथीहरूको साथले हटाउँछ जीवनमा खल्लोपन,  

रंगमञ्चीय हाम्रो जीवनलाई बनाउँछ रंगारंग।  

हामी सदैव इच्छा, आकांक्षामा अल्झिरहन्छौं,  

समय सापेक्ष भई नयाँ साथी खोजी रहन्छौं।  

(कवि ऐर नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हुन्।)  

प्रकाशित: ६ आश्विन २०७७ ०५:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App