८ वैशाख २०८१ शनिबार
कला

नम्रताको शक्ति

 

कमल रिजाल

 

एकपटक समुद्रले नदीहरूसित सोधेछ– ‘बहिनी ! तिमीहरू टाढाटाढा रहेका ठूलठूला रुखहरूलाई त सजिलै तानेर ल्याउने गर्छौ तर नजिकै रहेका ससाना वेतहरूलाई भने किन ल्याउँदैनौ ?’ उत्तरमा नदीहरूले भनेछन्– ‘दाजु, रुखहरू कडा छन्, निहुरिन जान्दैनन् त्यसैले हामी उनीहरूलाई जति नै ठूलो भए पनि ढुनमुन्याएर ल्याउने गर्छौंं तर वेतहरू नम्र छन्, निहुरिन जानेका छन्, त्यसैले उनीहरूलार्ई भने जति नै प्रयास गर्दा पनि ल्याउन सकिरहेका छैनौं ।’ धेरै पहिलेदेखि गुरुहरूबाट सुन्दै आएको यस कथाभित्र के कति सत्यता छ त्यो त उनीहरू नै जानून् तर नम्रताले जीवनमा आइपर्ने समस्याहरूलाई परास्त मात्र गर्दैन दीर्घ जीवनको आधार समेत तयार पार्छ भन्ने कुरालाई भने व्यावहारिक यथार्थले नै प्रष्ट पार्दै आएको छ । हेरौं केही उदाहरणका ।  

 

सङ्कटबाट उन्मुक्ति  

 

हामी मानौंनमानौं नम्रतामा विशेष किसिमको शक्ति हुन्छ । यसले मानिसलाई सजिलै अरूसित घुलमिल गराउने काम मात्र गर्दैैन त्यस्ता व्यक्तिलाई सबैले मन पराउने वातावरण समेत तयार पार्ने गर्छ । जुन मानिसमा नम्रताको गुण छ उनीहरूले सितिमिति अप्रिय काम वा कुरा गरेर अरूको चित्त दुःखाउने काम त यसै पनि गर्दैनन् नै कदाचित कहीं कतै त्यस्तो भएछ भने पनि सोही नम्रताको गुणले ढाकिदिने गर्छ र अरूको ध्यान त्यतातिर पुगिरहेको हुँदैन । फलतः उनीहरूले जस्तोसुकै सङ्कटबाट पनि उन्मुक्ति पाइरहेका हुन्छन् र यस्ता व्यक्तिको जीवन जहाँ गए पनि सजिलै बितिरहेको हुन्छ । 

 

प्रभावकारी भूमिका  

 

नम्रतामा अरूलाई प्रभाव पार्ने शक्ति पनि त्यति नै बढी हुन्छ । उदाहरणका लागि कुकुरलाई नै लिन सकिन्छ । हामीले कुकुरलाई देखेका मात्र छैनौं उनीहरूको बानीव्यहोरासित परिचित पनि छौं । सम्भवतः हामीमध्ये धेरैले घरमै पालेका पनि छौं होला ।  अझ कतिले यसकै लागि भनेर छुट्ट्रै जनशक्ति र स्रोतको व्यवस्था गर्र्दै आएका पनि हुन सक्छन् । हामीले कतिपय कुकुरहरू आलिसानन बङ्गलामा सुतेर मासुभात डकारिरहेका पनि देखेका छौं र लाखौं मानिस सडकमा बसेर भिखारी जीवन बिताइरहेका छन् बुझेका छौं । आखिर मानिस र कुकुरमा यति ठूलो विषमता किन थाहा छ ? किनकि कुकुरमा जुन किसिमको मानिससँग घुलमिल हुनसक्ने गुण हुन्छ त्यो मानिसमा हुँदैन । त्यसैले जुन मानिसलाई मानिसको बोली र व्यवहारलाई पचाउन गाह्रो परिरहेको छ त्यही मानिस कुकुरको भने फोहरसमेत हाँसीहाँसी सफा गरिरहेका हुन्छन् ।

यसमा हामी भ्रममा नपरौं कि मानिसले गरेको कुकुरको माया विशुद्ध उसकै निम्ति हो । यसमा कुकुर निमित्त मात्र हो । वास्तविक माया त कुकुरको नभई उसको मानिसप्रतिको समर्पणभावकै हो । स्वभावैले जसको पनि स्वरूपगत माया त सजातीयमै हुन्छ । भेडाभेडा सँगै भन्ने त उखानै छ । त्यति मात्र होइन मानिसले आफ्ना लागि बनाएका ऐन, कानून छुट्टै छ । पशुपक्षीका लागि बनाएका ऐनकानून छुट्टै छ  । जति बढी सजाय मानिसले मानिस मार्दा भोग्नुपर्छ त्यति बढी सजाय अपवादमा कही कतै केही भए छुट्टै कुरो होइन भने पशुपक्षी मार्दा भोग्नुपर्दैन । त्यस्तै मानिस मर्दा मानिसहरू जति संवेदनशील देखिन्छन् पशुपक्षी मर्दा त्यस्तो देखिंदैन । तथापि मानिसले कुकुरबाट जुन नम्रता वा समर्पणभाव पाउँछ त्यो मानिसबाट पाउँदैन र ऊ मानिसलाई भन्दा कुकुरलाई बढी माया गर्न पुगिरहेको जस्तो देखिने गर्छ ।

यहाँनेर हामी अर्को कुन कुराको पनि भ्रममा नपरौं भने मानिसले मानिसबाटै कुकुरबाट जति पनि नम्रता वा समर्पणभाव पाउन नसक्नुको कारण भने कुनै अर्को मानिस नभई आफै हो । प्रायः मानव स्वभाव के देखिन्छ भने सबै आफैप्रति नै समर्पित होउन् वा सबैले आफैलाई नै दिउन् । जब मानिसका यी आकांक्षा आपसमा जुध्न पुग्छन् तब मानिस– मानिसबीचको दूरी बढ्दै जान्छ र मायाको तन्तु पनि क्रमशः पातलिंदै जाने गर्छ तर कुकुरले भने लिनभन्दा बढी दिन जानेको हुन्छ । उसले जे जति लिन्छ दिनकै लागि लिन्छ र जे जति लिएको छ त्यसको बढी नै दिरहेको पनि हुन्छ । अन्ततः उसको यही स्वभावले नै मानिसलाई आफूप्रति आकर्षित गराइरहेको हुन्छ ।  

 

दीर्घायुको आधार  

 

नम्रताले सहिष्णुता, सहजता र सामिप्य बढाउने मात्र नभई दीर्घ जीवनमा सघाउने काम पनि गर्छ । उदाहरणका लागि हामी दाँत र जिभ्रोलाई नै लिन सक्छौ । जस्तो हामीलाई थाहा छ दाँत र जिभ्रो सँगसँगै रहेका हुन्छन् तर उनीहरूका गुण र विशेषता भने नितान्त भिन्न छ । दाँतको स्वरूप मात्र कडा छैन स्वभाव पनि कडा छ । त्यसैले ऊ निकैपछि मात्र आउँछ र चाडै नै जाने पनि गर्छ । त्यस्तै जिभ्रोको भने स्वरूप मात्र होइन स्वभाव पनि नरम छ ।  त्यसैले ऊ जन्मदा पनि सँगै आउँछ र मृत्युपर्यन्त साथै रहेको हुन्छ । कडा भएकै कारण दाँतहरू जति झगडापे्रमी देखिएका छन् त्यति नै असहिष्णु पनि हुन पुगिरहेका हुन्छन् । उनीहरू आपसमा खटपट नगरी त यसै पनि बस्न सक्दैनन् नै अगाडि आउनेलाई टोक्न र चिथोर्न पनि पुगिरहेका हुन्छन् तर जिभ्रोको अवस्था हेर्नुस् त कस्तो छ ? उसले आफ्नै वरिपरि रहेको त्यति कडा शक्ति र उसका त्यस्तै कडा गतिविधिलाई सहजापूर्वक झेल्दै आएको मात्र छैन त्यसैभित्र आफूलाई सुरक्षितसमेत राख्दै ल्याएको छ । नम्रता र मानिसको जीवनबीचको सन्तुलन पनि करीबकरीब त्यस्तै हो । 

यसै पनि जिभ्रो जस्तो निर्जीव वस्तुले त त्यति ठूलो सङ्कटमाझ पनि आफूलाई टिकाउँदै ल्याएको छ भने मानिस जस्तो सजीव प्राणीको अवस्था कस्तो होला सोझै अनुमान लगाउन सकिन्छ । जो नम्र छ वा जसले आफूलाई नम्र बनाउन सकेको छ उसले अरूबाट पाउने व्यवहार पनि त्यस्तै हुन्छ । यसबाट मानिसको आफू बाँच्ने वातावरण मात्र शान्त हुँदैन मनसमेत शान्त हुन पुग्छ र अन्ततः यही नै दीर्घ जीवनको आधार बनिरहेको हुन्छ । प्रायः मानिस मृत्युको पछाडि कालको भूमिका देख्छन् तर यसमा काल त निमित्त मात्र हो । मूल कारण भनेको त मन नै हो । जब मन अशान्त हुन्छ तब व्यवहार पनि स्वतः असन्तुलित र असहिष्णु हुन पुग्छ र अन्ततोगत्वा यसैले नै अनेक बहानामा मृत्युलार्ई नजिक ल्याउने काम गरिरहेको हुन्छ । त्यसैले मनलाई अशान्त पारी काललाई चाडै बोलाउने हो भने त भन्नु केही छैन । होइन भने जिभ्रोबाट पनि केही न केही पाठ सिक्नै पर्ने देखिन्छ  ।  

प्रकाशित: ५ आश्विन २०७७ ११:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App