शेखरकुमार श्रेष्ठ
पूर्णिमाको रात थियो । खाना खाइसकेपछि आकाशको सुन्दर जून हेरेर आनन्द लुट्न म कौसीमा गएँ । म आकाशतिर हेरी चन्द्रमाको बारेमा सोचेर बस्दै थिएँ । उनी मेरो छेउमा आइन् र भनिन्, “के हेरिरहनुभएको पृथ्वीजी ?”
जुनेली रातको पूर्णतामा मैले पनि कसेर भनेँ, “शून्य आकाश, ती उज्यालो दिन प्रयासरत तारा, पृथ्वीलाई उज्यालो दिने त्यो चन्द्रमा र त्यसको ज्योति हेरेको नि जुनू ।”
“म त कहाँ जानुभएछ रातको यस समयमा भनी खोज्दै आएकी । आकाशमा उदाउने चन्द्रमाले पृथ्वीको साथ खोजेर उज्यालो लिएझैँ म मेरै बत्ती लिन आएकी ।” उनले वातावरण रोमान्टिक बनाउँदै भनिन् ।
“जुनू, मसँग के जीवन पाउँछौँ ? मसँग प्रकाश छैन । दिनमा सूर्यको प्रकाश राति चन्द्रमाको प्रकाश हुन्छ तर मसँग केही छैन ।”, मैले आफूलाई संयमित बनाउँदै अलि टाढा रहँदै कुरा अर्कोतिर मोड्दै भनेँ ।
“त्यही त सूर्यको प्रकाश पृथ्वीमा ठोकेपछि नै त चन्द्रमा प्रतिबिम्बित हुने हो ।”, उनी अझ नजिकिएर भन्न थालिन् ।
“तापनि कति राम्रो छ चन्द्रमाको प्रकाश हेर त ?”, मैले उनको चन्द्रमा प्रतिबिम्बित नजर हेर्दै भनेँ ।
“पृथ्वीले लिएर होइन, दिएर आनन्द मान्दछ । त्यही प्रकाश तपाईले मलाई दिनुभएको छ ।” यत्ति भन्दै उनी मेरो समीपमा ठोक्किन आइपुगिन् । मलाई कताकता काउकुती लाग्यो । मैले आफैलाई सम्हाली भनेँ, “जुनू, यो सबै तिम्रो प्रशंसा मात्र हो । त्यो पनि व्यक्तिगत ।”
“चन्द्रमा पृथ्वीको प्राणाधीनमा छ । नत्र कुनचाहिँ सन्तानले चिन्छन् र ?” उनी हात अगाडि बढाउँदै अङ्कमाल गर्न आइपुगिन् ।
चन्द्रमाले पूरै धर्तीलाई उज्यालो बनायो । म सदाझैं निरुत्तर भएँ । म उज्यालो छल्न कोठामा गएँ । जिउ असिनपसिन भयो । मैले नजिकको चन्द्रमा भने मुस्कुराइरहेको देखेँ ।
प्रकाशित: ५ आश्विन २०७७ ०९:२२ सोमबार