पुष्प अधिकारी अञ्जलि
थुनेर मनभरि
आस्थाको जूनहरू ,
घरआँगन र चोकहरूमा
ऊज्यालो खोजिरहेछु ।।
मन्दिर मस्जिद ,
चैत्य र बिहारहरूमा ।
साँझ– बिहान
ईश्वरको प्रार्थना गरिरहेछु ,
बर्षौँदेखिको अनिदो आँखा ,
अँध्यारोका विरुद्ध
उज्यालोका बिम्ब खोज्दै
एकतमास हेरिरहेका छन् ।
एक अँगालो
सपना बोकेर
बिहानको घामले डाँडा काटिसकेछ ,
ओछ्यानमा पोखिएको
राता पहेँला टिकाहरू
अहिले खत मात्र बाँकी छ ,
अस्तित्वविहीन जिजीविषाहरू
शकुनिको खालमा इज्जत बेचिरहेछ ,
चुनौती दिएर अँध्यारोलाई ,
कुनै समय
म भन्थेँ
मेरो भविष्य छ
मेरो वर्तमान छ ,
तर खोई कहाँ छ ?
मेरो भविष्य मेरो वर्तमान
धृतराष्टले कालो पट्टी बाँधेर
आँखाहरूमा दृष्टि लुकाएजस्तै
गान्धारीलाई विश्वासको समाधिमा
समतुल्य बनाएर
निस्फिक्री समय जितेको
सायद
म मेरो भविष्य फिँजाइरहेछु
आस्थाको र्घुमैलो क्षितिज ओछ्याएर
आँगनसम्म घाम ओराल्न ।
प्रकाशित: ५ आश्विन २०७७ ०८:४० सोमबार