४ वैशाख २०८१ मंगलबार
कला

बालापन, बलौटोको रनाहा र सिमलको सिँयाल

संस्मरण

खेमराज पोखरेल

 

२०७६ सालमा अमेरिकाबाट नेपाल फिरेको थिएँ । सप्तरीको कञ्चनरूप नगरपालिकाको वडा नं. १२ बस्तीपुरमा मेरो घर पर्छ । कञ्चनपुरमा ओर्लेर आफूले पढेको हाइस्कुललाई चक्षु–नमन गर्दै घरतिर लागेको थिएँ । गर्मी याम भएकाले खलखल पसीना आइरहेको थियो । बन्द्राहाको डिलमा उही सिमलको रुख थियो । त्यो उस्तै थियो र म त्यो सिँयालमा उसैगरी सुस्ताएको थिएँ ।  

त्यो सिमलको रुखको छायामा उत्तानो पल्टिएको थिएँ । यसरी सिँयाल तापेका बखत मेरा दिमागभरि मेरो बालापन र स्कुले जीवनको चित्र–छायाँ आइरहे । मैले भावपरक मुडमा त्यो सिमलको एमानको फेदलाई सुम्सुम्याएको थिएँ । मान्छेले खोपिल्टा पारेर काटेका कापका घाउहरू बोकेर त्यो सिमल ठिङ्ग उभिएको थियो । पुराना घाउहरू पुरिँदै थिए, मान्छेले आला घाउहरू लाउँदै थिए । यो नियति वर्षौदेखि त्यो सिमलको रुखले भोगिरहेको थियो । यो क्रियामा मान्छेको कृत्यलाई म हेरिरहेको थिएँ र गमिरहेको थिएँ मान्छेलाई । खोई अर्काका जीवनमा कापका घाउ लगाएर किन मान्छे रमाउँछ कुन्नि ! 

यो सिमलको बुटाको मलाई असाध्य माया लाग्छ । उहिले मेरो स्कुले बालापनको सिँयाल भएर आएको थियो त्यो सिमल । जीवनको त्राण बनेर बसेको थियो त्यो सिमल । किनकिन मेरो प्राथमिक स्कुलदेखि हाइस्कुलसम्मको जीवन सिनेमाका पर्दामा झैं त्यो सिमलको सिँयालमा आइरहेथे । त्यसो त मैले पढेको प्राथमिक स्कुल गाउँकै राष्ट्रिय प्राथमिक विद्यालय घरबाट ५ मिनेटको पैदल दूरीमा थियो । यो प्राथमिक स्कुल र मेरो घरको बिचमा यो सिमल गाछी पर्दैनथ्यो । तर बजार जाँदाआउँदा भने यो सिमलको रुख सिँयाल ताप्न संजीवनी नै हुन्थ्यो । लाग्दथ्यो त्यो सिमल जुनीजुनी तगिरहनुपर्छ ।

मैले  प्राथमिक विद्यालयमा बच्चादेखि दुई कक्षासम्म पढेको हुँ । त्यो स्कुलमा तीन कक्षासम्म पढाइ हुन्थ्यो । एउटा घटना, म दुई कक्षामा फेल भएँछु । मेरा पिताजीलाई लागेछ कि मास्टरले जालसाजी गरेर फेल बनाएका हुन् । मेरा पिताजी मास्टरलाई भन्न जानु भएन । उल्टै ‘मेरो छोरोलाई फेल पारिदिने’ भन्दै मलाई लिएर ३ कक्षामा भर्ना गर्न ५ मिनेटको प्राथमिक स्कुल छोडेर डेढ घण्टा परको कञ्चनपुरको हाइस्कुलमा पुरयाउनुभयो । अहिले सम्झन्छु कठै मास्टरको जागिर ! मास्टरको जीवन !! मास्टरको नियति !!! त्यो प्राथमिक स्कुलमा मेरा श्रद्धेय गुरु नवराज अधिकारी हुनुहुन्थ्यो । साह्रै असल । उहाँका घरमा आँगनभरि विद्यार्थी खैराँते ट्युसन पढ्न जान्थे । म जान्थेँ । यो संस्मरण लेख्दाका बखत उहाँ यो धर्तीमा हुनुहुन्न । हार्दिक श्रद्धान्जली नवराज सर !!

प्राथमिक स्कुले जीवनका केही उरन्ठ्यौला दिनहरू सम्झिन्छु । कुरा गाउँकै प्राविमा पढ्दाको हो । म दुई कक्षामा पढ्दो रहेछु । मेरो घरबाट स्कुल पुग्न हिँडेर करीब ५ मिनेटको दूरी थियो । घर छोडेपछि एकैपल्ट नुनिया खोलापारि स्कुल आउँथ्यो । म र मेरी कान्छी फुपूका माहिला छोरा गोपाल घर र स्कुलको बिचमा भएका खेतका अग्लाअग्ला आली कान्लामा छलिएर स्कुल गएनौं । गाउँकै एकजना महिलाले त्यो देखेकी थिइन् । बुवालाई गएर भनिदिइछन् । हामी लघारियौँ । भाग्यौँ । अलि पर पुगेपछि पक्राउ खायौँ र स्कुल पुरयाइयौँ । स्कुलमा एकघन्टासम्म ‘मुर्गा’ बनाएर चौरमा लडाइयौँ । स्कुलमा नवराज सरले एक सिर्कना हिर्काउनबाहेक अरू थप कुटाइ भने खाएनौँ । यति थोरै कुटाइ खाएकाले आफूलाई भाग्यमानी सम्झेको थिएँ त्यो बेला । अहिले सम्झन्छु हेरहेर आफ्नै बुद्धि ! त्यसैले वर्तमान बालमनोविज्ञानअनुसारको शिक्षा हामीले कहाँ पाउनु ! अहिले घरिघरि लाग्छ, बुवाको त्यो कडा नेतृत्वदायी भूमिका नभएको भए, यहाँसम्म आइपुग्न के पिताम र ! जीवनका खोँचे बल्छीहरूमा अड्किएर उम्कन सकिने अवस्था के हुन्थ्यो होला र !

हाइस्कुल पढ्न जानुभन्दा पहिले मेरो नाम कृष्ण थियो । कृष्णप्रसाद पोखरेल । कृष्ण अष्टमीका दिन मेरो न्वारान भएकाले एकजना सन्यासी मधुरी यादवले मेरो बोलाउने नाम कृष्ण राखिदिएकाले म कृष्ण नामले बोलाइन्थेँ । हाइस्कुलमा निमित्त हेडसर नारायण यादव हुनुहुन्थ्यो । उहाँले मेरो इन्ट्रान्स परीक्षा लिनुभएको थियो । म पास भएको थिएँ । अनि २ कक्षाको ट्रान्सफर सर्टिफिकेट नभएकाले हेडसरले नाम फेरेर म कृष्णबाट खेमराज बनाइदिनुभयो । त्यसैले कृष्ण, मधुरी यादवले र खेमराज, नारायण यादवले जुराइदिएको नाम हो । संयोग होला, दुवै नामसँग यादब जोडिएर आएका छन् । आठ कक्षामा पढ्दा नाम दर्ता गर्नुपर्ने थियो । सरहरूले नाम फेर्ने भए यो बेला अन्तिम हो भनिएको थियो । मलाई पनि यो खेमराज भन्ने बूढो खालको नाम मन परेको थिएन । म आफ्नो नाम अलि जमानाअनुसारको कौशल राख्न चाहन्थेँ । नाम फेर्नक घरमा बुवा हजुरबालाई सुनाएको थिएँ । हजुरबाले भन्नुभएथ्यो – नाथु, नाम भनेको त न्वारानको नै हो । भगवानले दिएको नामलाई पो ठूलो बनाउनुपर्छ । प्रचलित बनाउनुपर्छ । आफैँले राखेको नाम पनि कहीँ नाम हुन्छ !

र यसरी म खेमराज नाममै अल्झिएँ । मन परेको नाम राख्न पाइनँ । यदि म कक्षा २ मा फेल नभएको भए अहिले मेरो नाम कृष्ण हुन्थ्यो । कक्षा ८ मा फेर्न पाएको भए कौशल हुन्थ्यो । एउटा घटनाले जीवनमा कत्रो फरक पार्छ भन्ने यो एउटा उदाहरण हो ।

अहिले हाइस्कुले जीवन सम्झिँदा कस्तो मजा आउँछ । त्यो बेलाको चेतलाई सम्झिँदा अचम्म लाग्छ । न कुनै उच्छवास थियो न कुनै योजना नै । न चिन्ता न आवश्यकता । न भोक थियो न भकारी । मीठोनमीठोको पत्तै थिएन । न नाङ्गै थियो, न खातैखात लुगा  तर रोमाञ्चक थियो । यस्तो उच्छवासपूर्ण अग्र्यानिक रोमाञ्चकता जीवनभरि फेरि आएन । यसरी जीवन अघि बढेको हो । सायद आमा मान्छेको जीवन पनि यसैगरी अघि बढेको नै होला भनिठान्छु म । 

तिनताक कक्षा ३ देखि नै अङ्ग्रेजी पढाइ हुन्थ्यो । मलाई कञ्चनपुरमा पढाउने भारतीय नागरिक थिए सायद । उनी अङ्ग्रेजी पढाउँथे । उनले ‘वाल’ माने ‘पर्खाल’ भनेर पढाएका थिए । तर गाउँको प्रावि स्कुलमा ‘वाल’ माने ‘भित्ता’ भनेर पढाइएको रहेछ । गाउँकै स्कुलमा पढ्ने एकजना मेरो साथी र मेरो बिचमा यही कुरालाई लिएर निकै तँतँ भयो । तेरो मास्टर जान्ने कि मेरो मास्टर जान्ने भन्ने विषयमा झन्डै हात हालाहाल भयो । शालिन नवराज अधिकारी सरकोमा गएर सोधेको त भरे कुरो एकै पो रहेछ । 

गाउँबाट जाने एकहुल विद्यार्थीमा म सबभन्दा फुच्चे थिएँ । मेरो बालापन फुच्चे भाइ भएरै बित्यो । किनकि अरू सबै साथी मभन्दा माथिका कक्षामा पढ्थे । मसँग पढ्ने पनि २ वर्ष त जेठा थिए थिए । उनीहरू बिँडी खाँदा रहेछन् । मैले खान्न भनेको थिएँ । तर सबैभन्दा ठूला नाइकेले नै नखाए त स्कुलमा कुटाइ खाइन्छ भनेकाले ३ कक्षामा पढ्दा करीब ६ महिनाजति मैले पनि बिँडी खाएँ होला । एउटै बिँडी धेरैले बाँडेर खानुपर्ने भएकाले धेरै सानो थुकैथुक लागेको ठूटो मेरो भागमा पथ्र्यो । पछि लक्ष्मण मास्टरले ४ कक्षाको एउटा विद्यार्थीलाई बिँडी खाएको थाहा पाएर रामधुलाइ गरेको देखेपछि मैले बिँडी खान छोडेँ  र जीवनपर्यन्त खाएको छुइनँ ।

स्कुले जीवनको यो क्षणमा लक्ष्मण मास्टरलाई सम्झिरहेको छु । लक्ष्मण मास्टर प्राय खैराँते हुनुहुन्थ्यो । उहाँको सानो फुसको घरको ओसारी, आँगन र बाटोमासमेत खैराँते विद्यार्थीले बिहानभरि भरिभराउ हुन्थ्यो । उहाँ कक्षा दससम्मका सबै विषय कुशलतापूर्वक पढाउनुहुन्थ्यो । उहाँले पढाएबापत कहिलेकाहीँ केही डोको घोगा मकै दिएको मात्र सम्झना आउँछ मलाई । मेरो अहिलेको जे प्राज्ञिक जीवन छ, उहाँले बनाइदिएको आधारशीलामा अडिएको छ भन्दा म गौरव महसुस गर्दछु । सुखानुभूति हुन्छ मलाई । पछि थाहा पाएँ उहाँले त एसएलसी नै सक्नुभएको रहेन छ । अहिले यो संस्मरण लेखिरहँदा उहाँको स्वर्गवास भइसकेको छ । मसँग अहिले उहाँलाई दिन हार्दिक श्रद्धासुमनभन्दा अरू केही छैन ।

स्कुले जीवन सायद सबैका यस्तै ‘इनोसेन्ट’ हुन्छन् होला । एउटा स्कुल जाँदा चोरेको घटना सुनाउँछु । झोलाका पुस्तकका बिचमा घोगा मकै लुकाएर चोरेको थिएँ । बिँडी खान थालेपछि पैसाको आवश्यक पथ्र्यो । कहिलेकाहीँ ‘जलखइ’ याने कि खाजा खान ५ पैसा दिनुहुन्थ्यो । त्यसले बिँडी खान पुग्दैनथ्यो । विचरा आमाबुवा, पैसा भए पो दिनु ! पैसाको मोल थियो त्यो जमानामा ।

स्कुलमा म पढाइमा सरदरको विद्यार्थी थिएँ । एकदम अब्बल होइन । एकदम होनहार होइन । सजिलै पास हुन्थेँ । ठेलुवा पास होइन । नेपाली खूब मन पथ्र्यो । नेपाली पढाउने शम्भु घिमिरे सरले ‘तिम्रो त साहित्य निकै राम्रो छ’ भनिदिँदा म हिमाल चढेको अुनभूत गर्थेँ  र तुरुन्त भानुभक्तीय रामायणलाई लय हाल्न थाल्थेँ । त्यसपछि जोमेट्री खूब मन पथ्र्यो । अलजेब्रा निकै अप्ठ्यारो लाग्थ्यो । अङ्ग्रेजी त अङ्ग्रेजी नै हुने भइहाल्यो । उफ ! गाईखाने विद्या । अङ्क गणितमा भने म अब्बल थिएँ । किनकि बुवाले अङ्क गणितका प्रोब्लेम दिनुहुन्थ्यो । सिकाइ दिनुहुन्थ्यो तर जोमेट्री र अल्जेब्रा त बुवालाई आउने कुरो भएन । एकदिनको बिहान म ओसारीको एउटा कुनामा खोस्टाको पिरा ओछ्याएर बसेको थिएँ र जोमेट्रीको साध्य घोक्दै थिएँ  ‘समद्वीबाहु त्रिभुजका आधारका कोणहरू बराबर हुन्छन् ।’ घोकेर कण्ठ सुनाउनुपर्ने थियो नत्र छडी भेटिने पक्का थियो । मैले घोकेको बुवाले ध्यान दिएर सुन्नु भएछ । अनि मनजिक आएर सोध्नुभएथ्यो  ‘कृष्ण, के घोकेको त्यस्तो ?’ । मैले उत्तर दिएथेँ  ‘हिसाब’  अनि फेरि बुवाले सोध्नुभएथ्यो – ‘के काम लाग्छ यो पढेर ?’ । मसँग कुनै जवाफ थिएन । मलाई नै किन यो पढेको भन्ने ज्ञान थिएन । अङ्क गणितको काम हुन्थ्यो, थाहा थियो, जोडघटाउ । लेनदेन । अहिले सम्झन्छु बुवाले पनि मेसो नपाएर जान्न खोज्नुभएको थियो । यसपछि भने मेरो म्याथप्रति वितृष्णा बढ्न थाल्यो । यसो भएकाले मैले कक्षा ८ मा नै ओपिटी म्याथ छोडेर गार्हस्थ्य अंकगणित लिन पुगेँ । यसो हुनमा त्यसबेलाका हेडसर शिवनाथ सिंहको निर्णय थियो । उहाँको क्लासमा म साना क्लासमा पढाउन पठाइन्थेँ । मलाई अलग्गै यसो बताइदिनुहुन्थ्यो । भाग्यमा मास्टर हुन लेखेको रहेछ, हेडसरको यो कदम मलाई मास्टरी जीवनमा निकै सहयोगी भयो । स्कुलका शिक्षकहरू सर्वविषयका ज्ञानी भएझैं लाग्थ्यो । जुन विषयको कक्षामा हालिदिए पनि उस्तै धुरन्धर ।ती  मध्ये विज्ञानका शिक्षक तीर्थराज पोखरेल सर एक हुनुहुन्थ्यो ।

घरबाट डेढ घन्टाको दुरीको स्कूल सधैँ आहोरदोहोर गर्नुपर्ने थियो । मधेसमा खास गरेर चैतदेखि असोजसम्म नै प्रचण्ड गर्मी हुन्थ्यो । बलौटे बाटाहरू आरनमा राखेको फलामजस्तै तातेका हुन्थे । यो तताइमा रन्किएको बन्द्राहा खोला र नुनियाँ खोला ज्यान लिने खालका थिए । मकै राखे भुटिने तापमान हुन्थ्यो त्यो । त्यसमाथि खुट्टामा चप्पल जुत्ता लाउने चलन थिएन तिनताका । चप्पल लगाउनु विलासिताको अर्थ लाग्ने युग थियो त्यो । पैसोको माहामारीको जमाना थियो । पैसाको महामारीभन्दा पनि चेत थिएन जस्तो लाग्छ । स्कुलबाट घर आउँदा खुट्टाका पैतालालाई तातो बालुवाले पोलेको रन्कोले राँकिएको रनाहा अहिले पनि दिमागले चाल पाउँछ । जीवनका यस्ता कहरहरू पनि त्यो बेला अलमस्त तालमा सलल बगेका थिए । स्कूल जाने बाटोमा पर्ने बन्द्राहा खोला नजिकै रहेको त्यही सिमलको एमानको रुख थियो । त्यहाँ एकआध घण्टा नओथाई हिँड्न मुस्किल थियो । त्यो सिमलको छहारीले बचाएथ्यो । हो त्यही सिमलको छहारीले बचाएथ्यो ।

अहिले पनि त्यो सिमलको रुख छ ।  रुख निकै पुरानो छ । तर उस्तै छ । उत्रै छ । सरकारको सिमल रुख काट्न नपाइने नियमले गर्दा बाँचेको छ । नत्र त काठ–तस्करले कहाँ राख्दा हुन् र अहिलेसम्म ! बूढो छ र अझै मान्छेलाई शीतलता दिइरहेको छ । मान्छे अझै त्यहीँ सिँयाल तापेर सुस्ताउँछन् । हो त्यही सिमलको रुखका सिँयाल तापेर बसिरहेको थिएँ म। मेरा दिमागका पत्रभरि त्यो सिमलले दिएका सिँयालहरू शीतलता प्रदान गर्दै कुदिरहेथे । मेरा हजुरबाले विसं १९७५ ताका जङ्गल फाँडेर जग्गा जोर्दा पनि त्यो सिमलको रुख त्यत्रै थियो भन्नुहुन्थ्यो । बाटाको आडमा बसेको हुनाले त्यो बेला त्यो सिमलको रुखलाई काट्न परेन, नत्र त के बाँकी रहन्थ्यो होला र ! जुगौँजुग खाएको त्यो सिमलको रुखका हाँगाहरू बुढिएका देखिएका थिए । सुकेका हाँगाहरू झर्दै थिए । फेरि पनि ऊ बाँचिरहेको थियो । अनवरत बाँचिरहेको थियो । बाँचेर लोककल्याण गरि नै रहेको थियो । 

मेरा हात एकाएक आफ्नै टाउकोमा पुगेका थिएँ । कञ्चटबाट तप्पतप्प पसिना चुहुने क्रम रोकिएको थिएन । मैलै आफ्नै खुइलिँदै गरेका कपाललाई गौर गरेर सुम्सुम्याएँ छु । काँसझैँ फुलेको छ मेरो कपाल । थाप्लाको तालुमा पानीले दह बनाएर खुइलिएको झाडीको भुइँजस्तै भएको छ मेरो थाप्लोको तालु । तातो बलौटोको रन्कोलाई बेवास्ता गर्दै हिँड्ने मेरा खाली गोडा अहिले मुलायम जुत्ताका भित्री चेपबाट पनि गर्मी भयो भन्दैछन् । हो यो नियतिको ठूलो अन्तरमा बाँचेको छु म । र स्वाभाविक छ, मेरो बैँस आयो र त्यही सन्तान जन्माउने कार्यमा नाथेको गोरुझैँ घुमिरह्यो । उही सन्तान, उही हातमुख, उही विषयभोग र उही सीमित घेरामा बाँचेको अभिनय गरिरहेँ अरूलेझैँ । अभिनयका क्रममा कतिपल्ट डुक्रेँ र फेरि सुस्ताएर थचक्क बसेँ । हो त्यही अभिनयमा पनि बाँच्न त कहाँ बाँचियो र ! हजारपल्ट मरियो, उठियो, र फेरि सास फेरियो फगत आफ्नै लागि । म परतिर पनि कुनै संसार छ, कुनै चैतन्य छ भन्ने हेक्का भएन छ । समाज, राष्ट्र, अन्तर्राष्ट्र, ब्रह्माण्ड, भौतिक वा पराभौतिक वस्तु पनि छन् संसारमा भन्ने मेसो नै आएन छ । आम मान्छेझैँ म पनि हुलमुलमा हिँडेँछु । जीवनको पलायनवादी सार पनि बुझिन छु । जीवनको यथास्थितिवादी धार पनि बुझिनँ छु । जीवनको अग्रगामी सोच पनि आएन कि क्या हो खोई ! आउन त आयो जस्तो लाग्छ, तर निजी जीवनका बाँझो फाँड्दाफाँड्दै आफ्नो चेतको हलो खिइए छ सायद । त्यस्तै लाग्छ अहिले । यसैबेला सिमलका रुखमा चराचुरुङ्गी पनि सिँयाल तापेर चिरबिरचिरबिर गर्दै थिए । खेताला, गोठाला तथा बटुक पनि त्यही सिमलको रुखमा सिँयाल ताप्दै थिए । अहा यो मेरो सिमलगाछी ।

हो यही बेहोसी र पश्चातापको रन्कोमा त्यही सिमलको रुखमुनि बसेर आफूलाई त्यही सिमलको रुखसँग तुलना गर्दै थिएँ । सिमलको रुखबाट निस्किएको रुवाले÷भुवाले त्यो परिवेश सेताम्य थियो । तर मबाट मान्छेलाई काम लाग्ने कुनै रुवा अहिलेसम्म निस्किएको थाहा छैन । भुवा निस्किएको छैन । मेरो कपाल फोसामा फुलिरहेछ । उडिरहेछ । मेरो फुलेको कपालले खासै कसैको हित गरेको मलाई सम्झना छैन ।मेरो तालु जीवनसँग हार मानेर बिनाबित्थामा खुइलिएको छ । आम मान्छेहरू आफ्ना निजी जिजिविषालाई स्याहारसुसार गर्दै जीवन त्याग्छन् । आम मान्छेलेझैँ मैले पनि मेरो मृत्युमा साँच्चिकै रुने एकजना मान्छे पनि कमाएको थाहा छैन मलाई । मलाई हृदयदेखि नै सम्झिने एकजना हितैषी बनाएको छैन मैले । जेजति गरेको छु, आफ्नै लागि । फगत आफ्नै लागि । फगत एकधरो लाउन र एकगाँस खानका लागि । फगत क्षणभङ्गुर सास धान्नका लागि । उफ! म किन यो सिमलको रुख जस्तो हुन सकिनँ । किन किन त्यसैत्यसै वैराग चलेर आएको छ यतिबेला । 

मान्छे मलाई मेरो सेताम्य टाउको देखेर बूढो भएछ भन्छन् । हो मलाई पनि घरिघरि त लाग्छ म बिनाबित्थामा बूढो भएँ । असामयिक बूढो भएँ । बूढो हुनुको अर्थ कपासझैँ कपाल फुल्नु पनि होइन, तालु खुइलिनु पनि होइन । उमेरको दिनगन्ती गणना पनि होइन । अनुहारमा देखिने धर्सा रेखाहरू पनि होइनन् । मृत्युको भय पनि होइन । तर म विचारले नै बूढो भएँ कि जस्तो लाग्छ । तर फेरि सम्झन्छु, होइन म बूढो भएको छुइनँ । राम्रो काम गर्न सेताम्य टाउकाले छेक्दैन । मर्नु त एउटा अपरिहार्य सत्य हो, त्यो नआउञ्जेल जिन्दगीका दलानमा लम्पसार पर्नुको पनि के अर्थ र ! खुट्टा ठड्याएर हद बोल्नुको पनि के अर्थ र ! 

फेरि उही सिमलको रुखलाई सम्झन्छु । उफ ! मैले किन त्यो सिमलको रुखलेझैँ कसैलाई शीतलता प्रदान गर्न सकिनँ ! मैले न समाजलाई केही दिन सकेँ । न राष्ट्रलाई । न वरत्र सपारेँ न परत्र । यो जुनी त्यसै बर्बाद भयो है । फेरि त्यो सिमलको रुखलाई गौर गरेर हेरिरहेको छु । अहिले पनि उही सेवामुखी भाव बोकेर सिँयाल दिइरहेछ र तगिरहेछ। उसलाई जीवनसँग कुनै गुनासो छैन । कुनै पश्चाताप छैन । छ त अर्कालाई शीतलता सित्तैमा दान दिने शक्ति । 

म हेरिरहेको छु । छेउमा रहेको बन्द्राहा खहरे खोलाको बलौटो अझै उसैगरी रन्किरहेको छ । उसैगरी तताइरहेको छ परिवेश । उसैगरी तातोको जीवनबोध गराइरहेछ । ‘तातो पनि जीवन हो है केटा’ भन्दैछ मलाई । ऊ तातो जीवनको आभाष दिलाइरहेछ । एक पाइला परतिर सिमलको रुख शान्ति, शीतलता र शौम्य जीवनको अर्थ बुझाइरहेको छ । तर म सात समुद्रपारि पुगेर पनि न त बन्द्राहा खोलालेझैँ तातिएको जीवनबोध गर्न सकेको छु, न त सिमलको रुखलेझैँ चराचर जगतलाई शीतलता दिन सकेको छु । यही दोधारमा म पनि बगिरहेको छु । सास फेरिरहेको छु,तगिरहेको छु । चेतना छउञ्जेल मेरो स्कुले जीवन, बन्द्राहाको बलौटोको रन्को र बन्द्राहाको डिल आडैको सिमलको रुखलाई भने सम्झिरहेको छु । मलाई नबिर्सनू है सिमलगाछी !तगिरहूँ है सिमलगाछी !! बाँचिरहूँ है सिमलगाछी !!! बाँचिरहे भेट होला । पक्का होला ।  

प्रकाशित: ४ आश्विन २०७७ ११:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App