६ कार्तिक २०७७ बिहीबार
कला

सपना

लघुकथा

गंगा दाहाल न्यौपाने

 

‘म तिमीलाई अत्यन्तै माया गर्छु र तिमीलाई हदै चाहन्छु प्लिज मेरो मायालाई अस्वीकार नगर । तिमीलाई पाउन म जेसुकै गर्न तयार छु ।’ उसले विनम्र भएर भनिरहेको थियो ।  

उसको धेरै दिन देखिको यस्तो क्रियाकलापले मलाई भने एकदमै दिक्क लागिरहेको थियो ।

म आफ्नो गन्तव्यलाई नै प्राथमिकता दिएर उसको आग्रहलाई पछि नै त्यागेर अघि बढिरहेकी थिएँ ।

फेरि उसले मेरो बाटोलाई एक्कासि रोक्दै भन्यो, ‘तिमीले मेरो सपना र चाहनालाई सिमलको भुवासरि हावामा उडाएर मेरो चोखो मायालाई लत्याएर कसरी जान सकेको ?’

मैले उसलाई सम्झाउँदै भनेँ, ‘हेर, मेरा सपनाहरू धेरै टाढा छन् । मैले तिनलाई कुनै पनि हालतमा प्राप्त गर्नु छ र त्यसका लागि मैले अझै लामो बाटो हिँड्नु छ ।’

मैले थप्दै गएँ, ‘म तिम्रो भावनामा चोट पुरयाउन चाहन्न तथापि तिम्रो भावनाले मेरो बाटोलाई काँडेतार हालेर रोकेको पनि मलाई  सह्य हुने छैन ।’

ऊ भने आफ्नै ढिपीमा अडेको थियो, भन्दै थियो, ‘म तिम्रो बाटो तब छाड्ने छु, जब तिमी मेरो प्रेमलाई स्वीकार गरेर मेरो सपनाको शहरमा घर बसाउँछ्यौ ।’

मलाई भने उसको कुराले अब छुन छोडिसकेको थियो । म पुनः आफ्नै बाटो लागेँ ।

साँझपख म आफ्नो कार्यालयबाट लखतरान हुँदै फर्कदै थिएँ । कसैले मेरो अनुहारमा केही फ्याँकेजस्तो लाग्यो । यसो हातले छाँमे, केही झोलिलो पदार्थ थियो ।

एकैछिनमा मेरो अनुहारमा आगो बलेजस्तो भतभत पोल्न लाग्यो ।

म चिच्याएँ,  ‘उसले मलाई एसिड प्रहार गर्यो । कोही हुनुहुन्छ भने समाउनुस् उसलाई ।’

म झल्याँस्स बिउँझिएँ । सुनासान थियो ।  शरीर र अनुहार पसीनाले निथ्रुक्क भिजेको थियो ।  म डरले काँपिरहेकी थिएँ ।

प्रकाशित: ४ आश्विन २०७७ १४:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App