१५ चैत्र २०८० बिहीबार
कला

प्रवृत्ति (कोसेली बोकेर आउनेले कोरोना सार्दैन हो आमा ?)

लघुकथा

लता केसी  

 

नक ...नक ... घरमा को हुनुहुन्छ ?  मध्यान्हको समयमा को आयो ?   सीता झस्किइन् , यो कोरोनाको बेला , माथिबाटै कराइन् , ‘ को हो ? ए छोरी ढोकामा हेर त !’ 

 ‘खोई आमा , मैले त चिनिन् ’ भन्दै ढोका खोलिन् ।  

सीता आत्तिएर कराइन्  , ‘उसो भए ढोका नखोल’ भन्दै छोरीको हात समाउन आइइपुगिन् ।  

‘के हो भाइ , किन ?’ अपरिचित एउटा युवक देखेर सोधखोज गरिन् ।

 उसले भन्यो , ‘ डराउनु पर्दैन , आमा,  म सेल्सम्यान हुँ । धेरै दिनपछि लकडाउन खुकुलो भयो । पापी पेट पाल्न यी सामानहरू बेच्न घरघरै हिडेको हुँ ।’  

खाउँलाझैँ गरेर उनले भनिन् , ‘भो , भो तिमी गइहाल , केही चाहिया छैन हाम्रा घरमा !  लल खुरुक्क बाटो तताऊ ।’ 

ऊ अनुनयविनय गर्दै थियो । छोरीलाई भित्र जाऊ भनिन् र ड्याम्म ढोका लगाइन् । 

आमाको गतिविधि देखेर छोरी छक्क परिन् । उनलाई नमजा लाग्यो   र भनिन्  , ‘आमा ,  त्यसको पनि बाध्यता थियो होला । ऊ पनि मान्छे हो। कुरा सुनेर राम्रो मुखले पठाएको भए हुन्थ्यो नि बरु ।’  

‘ नकरा ,  जिरे खुर्सानी ! खुकुरीभन्दा कर्द लाग्ने  ?’ ममी च्याँठिइन्  । 

केही समयपछि फेरि ढोकामा नकनक भयो ।  यसपाला आमाले ढोका खोल्दै भनिन् , ‘ओहो  बैनी ,कति दिनपछि मुहार देखाउनुभयो त ? के हो त्यो झोलामा  सकीनसकी  बोक्नुभयो । किनमेल गरेर आउनुभयो कि ?’ 

‘ होइन दिदी , तपाईँले कोठा छाडेर हिँडेपछि हाम्रो भेट नै भएन । समय नि उस्तै पर्यो । बारीभरि तपाईँलाई मनपर्ने तरकारी फलेको थियो  लिएर आएँ , चुस्स अनुहार हेर्न नि   मन थियो ।’

झोला बाहिर राखेर फर्किन आँटेको देखेर उनले भनिन् ,  भित्रै आउनु न।’

सशंकित हुँदै भनिन् ,  ‘होइन , भित्र नपसूँ के रे  !’

‘ ह्या ...के भनेको यो बैनीले ’ भन्दै हात समाएर तान्दै बैठकमा बसाइन् । 

छोरीलाई चिसो पेय ल्याउन  अह्राइन् ।  अलि परैबाट गिलास राखेर छोरी अलमल्ल परेको देखेर आमाले सोधिन्, ‘ आन्टीलाई चिनिनस् ?’ 

–  चिनेँ  नि, किन नचिन्नु  तर ...!

– के तर ?    

 ‘ कोसेली बोकेर आउनेले कोरोना सार्दैन हो  आमा ?   अझ त्यो सेल्सम्यान दाइले त मास्क लगाको थियो अनि आन्टी त विनामास्क नै भित्र  आउनुभयो  त ?’

प्रकाशित: ४ आश्विन २०७७ ०५:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App