१२ कार्तिक २०७७ बुधबार
कला

कोरोना भाइरस मेरो हवाईयात्रा

अनुभूति

मंजु निरौला 

 

सन् २०२० को प्रारम्भसंगै चीनको हुबेई प्रान्तको राजधानी वुहान शहरबाट कोरोना भाइरसको जन्म भयो।  पहिले वुहानलाई मात्र संक्रमित गरेको यो भाइरस आँखा झिमिक्क नगर्दै विश्वको एकएक कुनामा एक  त्रासदीका रूपमा फैलियो।  अर्धविकसित, विकासोन्मुख वा विकसित सबै राष्ट्रहरू यसको पन्जामा जकडिए।  यस महारोगका किटाणुहरूले कोही अछुत रहन सकेको छैन।  विगतमा यस्तै प्रकारको मानव संहार गर्ने रोगहरू नफैलिएका होइनन्।  सन् १९१८ देखि १९२० सम्म दुई वर्ष रडाको मच्चाएको स्प्यानिश फ्लु नामको महारोगले विश्वभरि गरी करीब १ करोड ७० लाख मानिसको ज्यान लिएको थियो भने त्यसको धेरैपछि, सन् २००९ मा आएको, स्वाइन फ्लु नाम गरेको महामारीले एक वर्षको अवधिमा २ लाख ८४ हजारको मृत्यु भएको थियो।  सुरुमा कोरोना नामले चिनाइएको र पछि कोभिड १९ नामाकरण गरिएको यस प्रलयकारी महारोगले समस्त विश्वलाई इन्तु न चिन्तु हुने गरी गाँजेको त जगजाहेरै छ।

सन् २०२० को जनवरी महिनाको अन्तिम सातातिर म बिरामी आमालाई हेर्न भनेर काठमाडौं पुगेकी थिएँ।  त्यतिखेर त्यहाँ भर्खरै संक्रमण सुरु भएको थियो।  सतर्कता अपनाउने  हेतुले सरकारले मार्च महिनादेखि देशभर लकडाउनको घोषणा गरयो। सबै कार्यालय, व्यवसाय, मनोरन्जनका ठाउँ, बजार, सार्वजनिक यातायात अनि हवाईउडान बन्द भए।  म स्थायी रूपमा अमेरिकामैं बसोबास गर्छु।  मेरो फिर्ती टिकट मे महिनाको अन्तिम सातातिर भएको हुनाले अन्तर्राष्ट्रिय उडानको बन्दाबन्दीले मलाई त्यसबेला त्यत्ति असर गरेन।  तर जसैजसै मे महिना वर सर्दै आयो र लकडाउन झनझन लम्बिंदै गयो मेरो हंसले ठाउँ छोड्न थाल्यो।  अमेरिका नै मेरो बसाइ भएकाले नेपालमाभन्दा अमेरिकामै मेरो ज्यान बढी सुरक्षित हुनेछ भन्ने मेरो ठम्याइ थियो तर दिन प्रतिदिन अमेरिकामा पनि कोरोनाको कारण मानिसहरू हताहत हुने संख्या बढ्दै गई एक लाख पुगिसकेको समाचार सुन्दा म आत्तिन थालें।  मेरो परिवार सबै अमेरिकामैं, म मात्र एक्लै नेपालमा।  सम्पूर्ण घरमा म एक्ली थिएँ।   केही भइहाल्यो भने मलाई कसले अस्पताल लैजाला भन्ने त्रास र आशंकाले बेस्मारी घेरिरह्यो।  मैले सोचें अब धेरै नेपाल बस्नु हितकर छैन।  आफ्नै टोलमा पनि दिनहुँ संक्रमित बढ्न थालिसकेको थियो।  त्यसैले मैले जसरी भए पनि अमेरिका वापस फर्किने अठोट गरें।

मे महिना पनि आयो र गयो।  जुन महिनामा अमेरिकाका लागि केही चार्टर उडान गरिने भए।  तिनमध्ये कुनै एकमा जाउँ कि जस्तो लाग्यो।  तर तीमध्ये कुनै पनि म बस्ने शहर वाशिंगटनमा अवतरण गर्ने थिएनन।  त्यसबेला अमेरिकी सरकारले अन्तर्राष्ट्रिय उद्धार उडानका लागि  शिकागो र टेक्सास दुई एयरपोर्टलाई मात्र अनुमति दिएको थियो।  अधिकांश आन्तरिक उडानहरू बन्द थिए।  काठमाडौंबाट ती दुई मध्ये कुनै एकमा अवतरण गर्न त सकिन्थ्यो तर त्यसपछि वाशिंगटन आउन के गर्ने ?  त्यही असमन्जसमा परी म विवश भएर बसें। म  मेरो टिकटप्रदायक एयर जोन ट्राभेल्सकी बहिनी कवितासंग निरन्तर सम्पर्कमा रहिरहें।  वाशिंगटनको कुनै उडान भए तुरुन्त खबर गर्नु है भनेर उनलाई भनिराखेको थिएँ। 

जुनसुकै बादलमा पनि चाँदीको घेरा हुन्छ।  नभन्दै जुलाई महिनाको १८ तारीखका दिन टर्कीस एयरलाइन्सको एउटा चार्टर विमान यात्रुहरू बोकी वाशिंगटन उड्दैछ भनेर कविताले फोन गरिन।  मैले तुरुन्त एउटा टिकट बुक गर्न भनें।  टिकट कन्फर्म भएपछि म धमाधम सुटकेसमा सामान राख्न थालें।  शनिबार प्लेन उड्ने दिन तय थियो तर कमिसन नमिलेकोले हो कि उडान अर्को दिन मात्र तोकियो।  जे भए तापनि उड्न त पाएँ भन्ने विचारले खुशी भएँ।  अमेरिकामा मेरो परिवार रहेको अनि मैले नियमित खानुपर्ने औषधिहरू सकिनै लागेकाले मैले जसरी भए पनि अमेरिका पुग्नै पर्ने थियो।  पीसीआरटेस्ट आदिको झन्झट  परेन।  विमान चढ्नुभन्दा पहिले शरीरको तापक्रमचाहिं लिंदा रहेछन।  वाशिंगटनको डलेस एयरपोर्टमा ओर्लिएपछि के गर्ला भन्ने बारे चिन्तायुक्त उत्सुकता भने अवश्य थियो।  

 

 

 मेरो स्वदेशयात्रा वर्षेनी हुने भए पनि कोरोनाको कहरमा भएको यस वर्षको यात्रामा एक अनौठोप्रकारको त्रासको अनुभूति बोकें। विमानभित्रका  सबै मास्क लगाएका यात्रुहरु अनि विमानबाहिरका सबै मास्क लगाएका विमान कर्मचारीहरुका आँखामा एउटा अव्यक्त आशंका अनि भयका छायाहरू मैले देखें।  

सुरक्षा क्षेत्रबाट निस्केर यात्रु प्रतीक्षालयमा बसिसकेपछि त्यहाँ भएका केही व्यक्तिसंग भएको कुराकानीबाट के थाहा हुन आयो भने टरकिश एयरलाइन्सको त्यस उडानमा यात्रुहरूसंग टिकटका लागि भिनाभिन्नै दररेट लिइएको रहेछ।  यो दररेट १५५० रुपियाँदेखि लिएर २००० रुपियाँसम्म रहेछ।  मचाहिं यस  मामलामा भाग्यमानी बन्न पुगेंछ।  मैले मेरो टिकटका लागि रु १५५० मात्र तिर्नुपरेको थियो।

विमानमा ह्याण्ड क्यारी सुटकेस लैजान नदिने नियम रहेछ।  कतिपयले आफूले लगेको ह्याण्डक्यारी सुटकेस त्यहीं फालेर चाइनिज धोक्रा किन्दै त्यसैमा सारा सामान हालेर लगे।  कतिपयले पीसीआर टेस्टका रिपोर्टहरू पनि बोकेर आएका रहेछन।  अत्यन्त छोटो सूचनामा त्यो उडान भएकाले सबै यात्रुलाई एयरलाइन्सले खबर गर्न सकेको थिएन होला।  तर मैले चाहिं हाम्रा मित्र रत्नकुमार शर्माबाट पहिले नै उडानमा चिसो खाना मात्र दिन्छ है भन्ने जानकारी पाएको हुनाले आफूलाई चाहिने बिस्कुट, ड्राई फ्रूट एवं अन्य खानेकुरा मेरो कपडाको झोलामा राख्न पाएकी थिएँ जुन पछि अत्यन्तै काम लागे। 

त्रिभुवन विमानस्थलबाट कोरोनाको त्रासमा यात्रा गर्नु मेरो लागि एक चुनौती नै थियो।  दुई दिनको लामो यात्रा हुने त्यस विमानमा पस्नेबित्तिकै आङ ढक्क फुल्यो।  सबै विमान परिचारिकाहरू सेता सुरक्षात्मक गाउन, पन्जा, मास्क अनि अनुहार जोगाउने फेस शील्डमा भूतजस्तै देखिन्थे।  उनीहरू बोल्दैनथे, हात एवं आँखाको इशाराले निर्देशन दिन्थे।  पूरा जहाज यात्रुहरूले खचाखच भरिएको थियो।  एक इन्च पनि खाली ठाउँ थिएन ।  सबै जना अड्किएका रहेछन् भन्ने सोचें।  फ्लोरिडा, क्यानाडा अनि टेक्सास जाने पनि रहेछन्।  म २६ नम्बरको आइल सिटमा बसेकी थिएँ।  सामाजिक दूरी कायम गर्नु भन्ने निर्देशन पालना गर्नसक्ने कुनै गुञ्जाइस त्यहाँ थिएन।  दुई दिनको त्रासदीपूर्ण यात्रा मानसिक रूपले बडो कष्टकर रह्यो। 

सम्पूर्ण उडानभरि तातो चिया वा कफी अनि खाना दिइएन।  यत्ति लामो दूरीको उडानको लागि स्वाभाविक दररेटभन्दा दोब्बर पैसा लिएर केवल चिसो स्यान्डविच, चिसो जुस अनि चिसो पानीबाहेक अरू केही दिइएन।  पहिलेको जस्तो खाना ट्रेमा नदिएर ब्राउन ब्यागमा हाली सिटसिटमा फुत्त प्याल्दै दिइयो।  यात्रुहरूसँग अन्य विकल्प थिएन।  अधिकांशले के गरे कुन्नि मैले चाहिं आफले ल्याएको गतिलो खाजा निकालेर मज्जाले खाएँ।  आफूसंगै झन्नै टाँसिएर बसेको सहयात्रुसंग कुराकानी गर्न पनि डरमर्दो थियो।  के थाहा संक्रमित पो हो कि ?

विमानभित्र अत्यन्तै चिसो थियो सायद एयर कंडिसन पूरै खोलेको थियो क्यारे।  चिसोमा किटाणु फैलन पाउँदैन भन्ने विश्वासको कारण त्यस्तो चिसो राखेको हो कि ?  विमानको ढोकैमा दिइएका स्यानिटाइजर, मास्क र पन्जाको उपयोग मज्जाले गरियो।  शौचालय जाँदा भने त्रास दुई गुणा बढ्ने १ स्यानो कुचुक्क परेको कक्ष त्यसमाथि पनि कुनैकुनै यात्रुहरूले जानेर र नजानेर फोहोर गर्ने हुनाले किटाणुको सम्भावना प्रबल थियो  तर परिचारिकाहरूले समयसमयमा शौचालयभित्र र ढोकाका ह्यान्डलहरू स्यानिटाइज गरिदिने गरेको देखेर भने केही ढाढस  मिल्थ्यो। म आइल सिटमा थिएँ, मेरो छेउमा अर्का एक यात्रु थिए जो संक्रमण होला भन्ने डरले अत्यन्तै चिन्तित देखिन्थे।  इस्तानबुलसम्मको यात्रामा उनले मेरो सिटका ह्यान्डल, मेरो फुड ट्रे, उनको आफ्नै सिटका ह्यान्डल, उनको फुड ट्रे कम्तीमा पनि सयौ पटक स्यानिटाइज गरेर उदेकमा पारे।

इस्तानबुलमा अवतरण गरी टर्मिनलभित्र पस्दा त्यहाँ एकदमै सुनसान देखें।  थोरै यात्रुहरु मात्र देखिन्थे।  सबै प्रकारका ड्युटी फ्री पसल अनि  रेस्टुरेन्टहरु बन्द थिए।  यात्रुहरुको भीड अनि ड्युटी फ्री पसलहरुको चकाचौंधको अभावमा त इस्तानबुलजस्तो विशाल एयरपोर्ट टर्मिनल पनि उदाङ्ग देखिँदोरहेछ। धन्न हाम्रो प्रतिक्षास्थल क्षेत्रमा एउटा स्यानो कफी स्टल खुलेको रहेछ।  काठमाडौंदेखि इस्तानबुलसम्मको उडानमा तातो खान नपाएको पेट त्यो कफी स्टल देखेर चौपट्टै खुशी भयो।  हतार हतार त्यस स्टलबाट तात्तातो कफी र स्यान्डविच किनेर खाएपछि परम आनन्दको अनुभूति भयो। 

करीब आठ घन्टाको इस्तानबुल ट्रान्जिटपछि म पुनस् टर्कीश विमानसेवाकै इस्तानबुल वाशिंगटन उडान गर्ने विमानमा चढें।  त्यो जहाज पनि यात्रुहरूले खचाखच भरिएको थियो।  दस घण्टे लामो उडानपछि करीब साढे छ बजे जहाज वाशिंगटनको डलेस एयरपोर्टमा अवतरण गरयो।  सधैंको झैं  डलेस एयरपोर्ट टर्मिनल भरिभराउ थिएन।  दुइटा मात्र अन्तर्राष्ट्रिय उडान अवतरण गरेको हुनाले अध्यागमन चेकिङ क्षेत्रमा कुनै लाम थिएन। मैले सोचेजस्तो तापक्रम लिने, कड़ाइकासाथ क्वारेन्टिनमा पठाउने आदि गर्ला भन्ने केही भएन।  फटाफट चेकिङ सिध्याएर बाहिर निस्कँदा श्रीमान पर्खेर बसिरहेका रहेछन।  हामी दुवैका आँखामा खुशीयाली छायो।  धन्न भेटियो भन्ने लाग्यो।  यस्तो महामारीमा कसरी पो आइपुगें भन्ने सोचें।  विमानस्थलबाट सोझै घर गइएन।  श्रीमानले म्यारिएट होटेलमा कोठा बुक गरिदिएका रहेछन। दस दिन जति त्यही होटेलमा क्वारेन्टिनमा बसें।  सुटकेश, झोला आदि सबै स्यानिटाइजरले  पुछें।  लगाएका लुगाहरू सबै तातो पानीले धोएँ।  आफूले पनि मज्जाले नुहाएँ।  यस्तो अनुभव गरें मानौं काठमाडौंदेखि अमेरिकासम्मको हवाईयात्राको दौरान जिउमा टाँसिएका कोरोनाका किटाणुहरु सबै धोइए, पखालिए।  अमेरिका पुगेपछि तातो खाना खान पाएँ। श्रीमानले आफैंले बनाएर  ल्याएको तात्तातो नेपाली खाना खाँदा  बहुतै आनन्द भयो।  

होटेल क्वारेन्टिनपछि घर आइयो । अमेरिकी सरकारले ठाउँठाउँमा कोरोना भाइरस परीक्षण  केन्द्रहरू राखिदिएको रहेछ। तिनैमध्ये एउटामा परीक्षण गराएँ । नेगेटिभ नतीजा आएपछि बल्ल जीवन प्रक्रियाहरू सामान्य रूपमा चल्न थाले । यो लेख लेख्दासम्म अमेरिकामा कोरोना भाइरसका कारण मर्ने एक लाख पचासी हजार नाघिसकेको छ । सुरक्षा त संसारको कुनै पनि भागमा छैन अहिले । कोरोना खत्तम गर्ने खोप नआउन्जेल हामीले अत्यंत सतर्कता अपनाई यससंग लड्नु छ,  जुध्नु छ  अनि आफ्नो सुरक्षा आफैं गर्नु छ । यही अठोट गरी यस पातालनगरीमा बाँचिरहेकी छु ।

प्रकाशित: ३ आश्विन २०७७ १२:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App