coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

किचकन्नी लाग्या रैछ नि !

संस्मरण

विनोद नेपाल

 

चार कक्षामा पढ्दै थिएँ, उमेर ७ वर्ष । यसो हुनुको कारण थियो शिशु कक्षामा ‘होल फस्ट’ अर्थात् विद्यालयकै पहिलो हुनु र एक कक्षा नपढी दुई कक्षामा फड्को हान्नु ।

बा र आमा सुत्ने खाट अलगअलग थिए । कान्छा छोरो म आमासँगै सुत्थें । 

एकदिनको कुरा, सुत्नेबेलासम्म त केही भएको थिएन, ठिकै थियो, राति बेस्सरी पेट दुख्यो । पेट थिच्दै ऐयाऐया गर्दै रुन थालेपछि बाआमा बिउँझिनुभो ।

उठेर आमाले बत्ती बाल्नुभयो । अहिले जस्तो बिजुली त्यस बेला कहाँ ? बिजुली हेर्न तानसेन जानुपथ्र्यो । लाइटर, त्यो पनि ग्याँसवाला होइन पत्थरवाला । टाउकोको ढिंकी जस्तो भागलाई बूढीऔंलाले थिची दुईतीन पटक प्याट्प्याट् पारेपछि पर्ने र त्यसैले बालेपछि कालो धूवाँको मुस्लो फाल्ने सलेदो राखेको पानस वा ढिब्रीमा बत्ती बल्थ्यो । बत्ती वरिपरि उज्यालो भए पनि अलि परचाहिँ अनुमानले नै काम गर्नुपर्ने हुन्थ्यो । कोठामा पनि प्रायः बन्द रहने ससाना झ्यालहरू भएकाले केहीबेर बालेपछि मट्टितेलको गन्ध र बत्तीको धूवाँले साना कोठा भरिइहाल्थे । प्रदूषण र त्यसको असरको बारेमा त्यतिखेर कस्लाई के थाहा, के चासो ? सबै यसै पचाइन्थ्यो ।

बत्ती बलेपछि मेरो पेट दुखाइ ठीक पार्न बाआमाले आफूले जानेका सबै उपाय गर्नुभयो । हिङ,बेसार, ज्वानो कुनै चिजले काम गरेन । दुखाइ कत्ति कम भएन । न चाँप्दा हुन्छ, न घोप्टो परेर सुत्दा । मेरो रुवाइ घट्लाभन्दा झन् बढ्न थाल्यो । निद्रा बिथोलियो, दिनभर कामले थाकेका बाआमाले राति पनि आराम गर्न पाउनुभएन ।

यसो गरे होला कि, उसो गरे होला कि भन्दाभन्दै रात बित्न थाल्यो । बिहानको चार बज्न आँटेको हुँदो हो बा हातमा टर्चलाईट लिएर घरबाट निस्कनुभयो ।

उज्यालो भएको थिएन, आधा घण्टा जतिपछि बा आउनुभयो । बाको पछिपछि ‘के भो बाबू, नरोउ, ठीक हुन्छ’ भन्दै कोठामा पस्नुभयो उदयबहादुर ज्ञवाली ।

हामी उहाँलाई ‘सानोबा’ भन्थ्यौं । उहाँको ससुराली र हाम्रो मावलीगाउँ एउटै थियो । यसैले हाम्रीआमा र उहाँकी पत्नीले दिदी–बहिनी नाता लगाउने हुँदा हामीले सानिमा–सानोबा नाता लगाएका थियौं । सानो बा झारफूक तथा लामा धामी गर्नुहुन्थ्यो । यस्ता कार्यमा उहाँ दक्ष मानिनुहुन्थ्यो र उहाँलाई खोज्ने धेरै हुन्थे । वरपरका गाउँबाट पनिउहाँलाई खोज्न मानिसहरू आउँथे ।

उहाँको सान्त्वनापछि मेरो रुवाइ केही कम भयो ।

यसो नाडी छाम्नुभयो । ‘कहाँ दुख्छ ?’ भन्दै पेट मुसार्नुभयो । अनि अलिकति खरानी र पानी माग्नुभयो ।

आमाले तुरुन्तै सालको पातमा खरानी र कचौरामा पानी ल्याइदिनुभयो ।

अनि शुरू भयो सानोबाको खास काम ।

उहाँले दुई औंलाले खरानी समाएर मेरो निधारमा थिची मन्त्र जप्दै फुफु गर्न थाल्नुभयो । तीनपटक त्यसो गरेपछि फेरि दुई औंलाले खरानी च्यापेर मन्त्रजप्न थाल्नुभयो ।

मन्त्र जप्ने तरीका आफ्नै थियो । आँखा चिम्म थिए । शुरूमा आवाज सुनिन्थ्यो, त्यसपछि ओंठ मात्र चलेको देखिन्थ्यो भने कतिकतिखेर नबुझिने फरक खालको आवाज अनि सकिने बेला फेरि चर्कोे आवाज निकाल्नुहुन्थ्यो । मैले यो सबै हेरिरहेंं ।

केहीबेर यसो गरेपछि पानी रहेको कचौरा हातमा लिएर उहाँले आँखा चिम्ली केहीबेर मन्त्र जप्नुभयो । हातमा लिएको फुकेको खरानी अलिकति कचौराको पानीमा मिसाउनुभो र आफ्नै हातबाट मेरो मुखमा पुरयाई भन्नुभयो, ‘ल यो पानी स्वाट्टै खाऊ त एकैछिनमा सञ्चो हुन्छ ।’

मैले कचौराको पानी पिएँ । त्यसपछि बा र उहाँबीच व्यावहारिक कुराकानी हुनथाल्यो । 

यता मेरो पीडा कम हुनथाल्यो ।

म धेरै शान्त भैसकेको थिएँ । केहीबेरमा सानोबाले भन्नुभयो ‘सुत बाबु, अब सञ्चो हुन्छ ।’

उहाँहरू आफ्नै धुनमा हुनुहुन्थ्यो । नभन्दै मचाहिँ झपक्क निदाएँछु ।

व्युँझेपछि आमालाई सोधें ‘सानोबा कतिखेअक्षर  जानुभो नि आमा?’  

आमाले भन्नुभयो, ‘तिमी निदाएपछि जानुभो, हाम्लाई रातभर सुत्न दिएनौ केरे, किचकन्नी लाग्या रैछ नि, सानोबाले भनेको’।

आज भए कति दिन अस्पतालमा बस्नुपथ्र्यो, कतिवटा परीक्षण गर्नुपथ्र्यो, कतिवटा सुई रोप्नुपथ्र्यो, कति औषधि खानुपथ्र्यो, त्यतिबेलाको त्यो समाज, सामाजिक परिवेश अनि मनोवैज्ञानिक र मौलिक उपचार विधि सम्झँदा आज पनि गजब लाग्छ ।

प्रकाशित: २ आश्विन २०७७ ११:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App