८ वैशाख २०८१ शनिबार
कला

कथाका पात्र

बालकथा

हरिप्रसाद भण्डारी

 

केटाकेटीहरू हजुरआमाका वरिपरि जम्मा भए, “हजुरआमा लौ कथा भन्नोस्” गीताले भनी ।

हजुरआमाले सोध्नुभयो, “तिमीहरूले आफ्नो गृहकार्य पूरा गरयौं ?”

“गरयौं हजुरआमा ।” आदित्यले भन्यो ।  

त्यसपछि हजुरआमाले कथा भन्न थाल्नुभयो–

“यो एउटा गाउँको कथा हो । बडो मार्मिक छ ।”

“यो मार्मिक भनेको के हो ?” आदित्यले सोध्यो ।  

“मार्मिक भनेको मन छुने खालको ।” छातीमा हात राख्दै हजुरआमाले भन्नुभयो ।

हजुरआमाले अगाडि भन्नुभयो, “गाउँमा एउटा मानिस थियो । त्यसको नाम काले सार्की थियो । उसका घरमा एउटी पत्नी, एउटा छोरा र एउटी छोरी थिए । उनीहरू निकै गरीब थिए । साँझबिहान खाना खान पनि मुस्किल थियो ।

कालेकी श्रीमती सुन्तली ज्यालामजदूरी गर्थिन् । कालेले मरेका गाईगोरुको छाला निकाल्थ्यो र घरमै जुत्ता सिलाएर बेच्थ्यो ।

कालेले राम्रा र बलिया जुत्ता सिलाउँथ्यो । उसले सिलाएका जुत्ता गाउँलेहरूले मन पराउँथे तर मेहनत अुनसारको पैसा भने दिँदैनथे । गाउँलेहरूसँग धेरै पैसा थिएन । त्यसैले जुत्ताको बदलामा धान, मकै वा कोदो दिन्थे । यस्तै कुराले कालेको परिवार पालिएको थियो ।

गाउँमा प्राइमरी स्कूल थियो । गाउँका केटाकेटीहरू त्यसै स्कूलमा पढ्थे तर कालेका छोराछोरीहरू स्कूल जाँदैनथे ।  

“किन स्कूल जाने ? गरीबका छोराछोरीले पढेर के हुन्छ ? जति पढे पनि अर्काका घरमा हलो नजोती हुँदैन । हलो जोत्न र जुत्ता सिलाउन पढ्नै पर्दैन । न हाम्रा बाउबाजेले पढे न मैले पढें । यसलाई किन पढ्नुप¥यो ?”

काले यस्तै कुरा गथ्र्यो । छोराछोरीलाई स्कूल जान दिँदैनथ्यो ।

कालेका छोराको नाम गोविन्द थियो । उसलाई पढ्ने रहर थियो तर बुबाले पढ्न नदिएकाले ऊ दुःखी बनेको थियो । बुबा घरमा नभएको बेला लुकेर स्कूल जान्थ्यो र साथीहरूसँगै बसेर सरले पढाएको सुन्थ्यो । ऊसँग कापी कलम थिएन । उसको राम्रो बानीले गर्दा उसका साथीहरूले कापीकलम दिएर सहयोग गर्थे ।

केही दिनभित्रै उसले अ आ इ ई, क ख ग घ, ब् द्य ऋ म् भन्न र लेख्न सिक्यो ।  

गोविन्दकी आमा सोझी थिइन् । छोराले पढेको देखेर खुसी हुन्थिन् तर लोग्नेका अघि उनको कुनै सुनुवाइ हुँदैनथ्यो ।  

“पढेको देखे भने तेरा बाले गाली गर्चन् । लुकीलुकी पढ ।” आमाले भन्थिन् । गोविन्द खुसी हुन्थ्यो ।

काले दश वर्ष पुगिसकेको थियो । एकदिन पल्लो गाउँका काजी उनका घरमा आए । आँगनको ढिलमा बस्दै गोविन्दका बासँग कुरा गर्न थाले ।

“तेरो छोरो ठूलै भइसकेछ, मलाई दे । गोठालो बस्छ । खान लाउन दिन्छु । कहिलेकाहीं अलिअलि खर्चपर्च पनि दिउँला ।”

काजीका कुरा सुन्तलीलाई मन परेन । उनले भनिन्, “काँ हुन्च । छोरो सानै छ । ओठ निचर्दा दूध आउने छोरालाई गोठालो हुन दिन्न ।”

“किन नदिने हो ? साँझबिहान पेटभरि खान्छ । दिउँसो गाईबाख्रा हेर्छ । के नै बढी काम छ र !” काजीले भने ।

‘काजीले भनेको मान्ने कि, बूढीले भनेको मान्ने ?’ गोविन्दका बा अलमलमा परे ।  

गोविन्दलाई घर छोडेर पराई घर जाने मन थिएन । उसको अनुहार अँध्यारो भयो । उसले आमासँग भन्यो, “आमा म कहीँ जान्न । घरमै बस्छु है ।”

छोराका कुरा सुनेर आमाका आँखा रसाए ।

लामो छलफल भयो । काजीले अनेकौं कुरा गरे । अन्तिममा उनैको जीत भयो । गोविन्दलाई आफ्नो घरमा लैजाने भए ।

घरबाट हिँड्ने बेला गोविन्द निकै रोयो । ऊसँगै आमा र बहिनी पनि रोए । रुँदारुँदै काजीले गोविन्दलाई घिस्याउँदै लगे ।  

काजीको घरमा गएपछि गोविन्दको पढ्ने काम बन्द भयो । दुःखका दिन सुरु भए ।नयाँ घरमा बिहानै उठ्नुपथ्र्यो । काम गर्नुपथ्र्यो । दिनमा वनमा गएर गाईबाख्रा चराउनुपथ्र्यो । गोविन्दलाई एकैछिन पनि फुर्सद भएन । उसले घरमा पढेको कुरा पनि बिर्सन थाल्यो ।

दुईतीन वर्ष यसै गरी बिते ।

एक दन गाईबाख्रा हेर्न जंगल गएको गोविन्द उतै हरायो । ऊ कहाँ गयो भन्ने कुरा कसैले पनि पत्तो पाएनन् ।  

छोरो हराएको खबर सुनेपछि गोविन्दका बाआमा निकै रोए । खाना पनि खाएनन् । बैनीले पनि निकै बिलौना गरी । लामो समयसम्म पनि गोविन्दको कुनै पत्तो लागेन ।

“यै काजीको करामत हो । गोविन्दलाई यसैले गायव गरायो ।” धेरैले काजीलाई दोष लगाए ।

काजीले आफ्नो कुनै दोष नभएको स्पष्टीकरण दिए । ‘यसमा मेरो कुनै कैफियत रहेछ भने पुक्लुक्कै मरूँ’ भन्दै चारैतिरका देवीदेवता भाके । उनको कुरा कतिले पत्याए, कतिले पत्याएनन् ।

रुँदारुँदै  गोविन्दकी आमा आधा गलिन् । बहिनीले पनि उत्तिकै पीर मानी । बाउ पनि निकै दुःखी भए । धेरै दिन बितिसक्दा पनि गोविन्दको कुनै पत्तो लागेन ।

पछिपछि त्यो कुरा सेलाउँदै गयो ।

गोपी ठूली भइसकेकी थिई । एक साँझ खाना खाईवरी अँगेनाको वरिपरि बसेर आगो ताप्दै गोविन्दका बाआमाले छोरीको विवाहको कुरा गरिरहेका थिए । त्यस्तैमा कसैले ढोका ढक्ढकाएको आवाज आयो ।  

“को हो बाहिर ?” सुन्तलीले भनिन् ।

“म हुँ, ढोका खोल्नुस् ।” बाहिरबाट पुरुष आवाज आयो ।

“को हो ? हामीले त चिनेनौं नि ।” बा बोले ।  

“म गोविन्द ।” बाहिरबाट आवाज आयो ।

“गोविन्द ! मेरो छोरो ! लौ न नि यतिका दिनपछि काँ’ट आयौ नि ।” सुन्तली रुँदै ढोकातिर गइन् ।

गोविन्द भित्र पस्यो । ऊ लक्का जवान भैसकेको थियो ।

टुकी बत्तीको मधुरो प्रकाशमा बाआमाले आँखा नझिम्काई उसलाई हेरे । ऊ मोटोघाटो र राम्रो थियो । उसले लगाएका लुगा पनि सफा र राम्रा थिए ।

उनीहरूलाई यो सबै घटना सपनाजस्तै लाग्यो ।  

“हामीलाई धरधरी रुवाएर तँ काँ गको थिइस् बाबु ?” आमाले सोधिन् । यसो भन्दा उनको गला अवरुद्ध थियो ।

“काजीले निकै दुःख दिए । एकदिन पल्लो गाउँका लाहुरे दाइसँग भेट भयो । गुनासो गरें । रोएँ । उनको मन पग्लियो । उनले आफूसँगै शहर लैजान राजी भए । एकदिन कसैले चाल नपाउने गरी उनीसँगै हिँडें ।”

उसले अगाडि भन्यो, “साह्रै दयालु रहेछन् । शहरमा लगेपछि आफूसँगै राखे । सानातिना काम गर्दै पढाउँदै गरे । मेरो पढ्ने चाहना उनले पूरा गरिदिए । पछि मेरो इच्छाअनुसार छाला र जुत्तासम्बन्धी तालीम पनि गरेँ ।”

बाआमातिर हेरेर मुसुुक्क हाँस्दै उसले भन्यो, “अहिले त म आधुनिक तरीकाले जुत्ता बनाउन जान्ने भएर आएको छु । आवश्यक सामान पनि ल्याएको छु । अब यही गाउँमा बसेर उद्योग खोल्ने र व्यापार गर्ने विचार गरेको छु । आजसम्म बालाई सबैले काले सार्की भनेर हेपे । अब उद्योगको मालिक बनाउँछु ।”

यति भनेपछि हजुरआमा रोकिनु भयो ।

आमा रोकिएको देखेपछि गीताले सोधिन्, “हजुरआमा त्यसपछि के भयो ?”

“त्यसपछि गोविन्दले गाउँमा उद्योग खोल्यो । व्यापार गर्न थाल्यो । उसको व्यापार चम्कियो । सबैले उसलाई साहुजी भन्न थाले । उसले आफ्ना बाआमालाई माया गरेर पाल्न थाल्यो । उनीहरूका दुःखका दिन हराउँदै गए ।”

लामो सास फेर्दै हजुरआमाले अगाडि भन्नुभयो, “उसको पसल पल्लो गाउँमा छ । भोलि तिमीहरूलाई गोविन्दको पसलमा लैजान्छु र ऊसँग परिचय गराउँछु, जान्छौ ?”

“जान्छौं हजुरआमा ।” सबैले एकै स्वरमा भने ।

अर्को दिन शनिवार थियो । हजुरआमाले केटाकेटीहरूलाई लैजानुभयो । केही समयको हिँडाइपछि उनीहरू पल्लो गाउँ पुगे । गाउँको बिचमा एउटा पसल थियो । पसलको बाहिर लेखिएको थियो– ‘गोविन्द छालाजुत्ता उद्योग ।’

त्यसपछि हजुरआमाले एक जना हसिलो अनुहार भएको युवकलाई देखाउँदै भन्नुभयो, “मैले हिजो सुनाएका कथाका पात्र यिनै हुन् ।”

प्रकाशित: २ आश्विन २०७७ ०५:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App