टंकबहादुर आलेमगर
नौमती बाजाको कर्कश आवाज सुनेर मान्छेहरू घरबाहिर निस्किए हन यो कोरोना देसान लाग्या बेलामा कसको बिहे हो हँ बाजागाजासहितको ।
बाहिर ठूलो साउण्ड बक्समा बेहुलाको गोजीको स्मार्ट मोबाइलको ब्लूटुथको माध्यमद्वारा रेकर्डिङ नौमती बाजा घन्किरहेको थियो । बेहुला लगायत पाँच जना जन्तो सामाजिक दूरी कायम गर्दै, सबैले माक्स लगाएर हिँडिरहेका थिए ।
‘हो यो बेला यस्तो बिहे हुनुपर्छ ।’ एकैस्वर थियो गाउँलेको ।
बेहुली घरको आँगनमा
दहीको ठेकी, सुपाडी, गहना, लुगामा सेनिटाइजर छरेर बेहुलीकी ठूली भाउजूले सबै समान राम्ररी हेर्दै भनिन् , ‘खै बेहुलाको पिसिआर रिपोर्ट ?’
बेहुला पक्ष ट्वाल्ल परे ।
अनुनयविनय काम लागेन ।
एक घण्टा नबित्दै विनबेहुली, बाजानगाजाको धुन , बेहुला र जन्ती त्यसरी नै सामाजिक दूरी बनाएर फर्किरहेछन्, घोस्से मुन्टो लाएर ।
‘के भयो ?’ उही गाउँलेको जिज्ञासा ।
‘बेहुलाको पिसिआर रिपोर्ट चाहियो अरे ।’ रुन्चे स्वर बेहुलाको भिनाजुको ।
प्रकाशित: ३१ भाद्र २०७७ ०९:१४ बुधबार