सूर्यप्रसाद लाकोजू
साथी भनिने हातहरूले
मेरो छाप्रो जलाए
सँगै जलेर खरानी भए
मेरा अनन्त सपनाहरू ।
म बेघर मात्रै भइन
सँगै छरपष्ट भएर छरिए
मैले बुनेका आशाहरू
आफ्नै भनिने कथित वर्गले
कहिल्यै निको नहुने घाउ दिए
उनीहरू अमूल्य
हाम्रो जिन्दगीलाई
कौडीको भाउ दिए ।
हिजो बेघरबारलाई
घरको कुरा थियो
हामी बेसाहारालाई
भरको कुरा थियो
सबै हेपाहालाई
मानको कुरा थियो
खान नपाएकालाई
धानको कुरा थियो
आज
आफैं महलमा बस्न थालेपछि
हामी भुसुना भयौं तिम्रा लागि
तिम्रो सामान्य स्वार्थपूतिर्का लागि
म र मजस्ता कयौंको टाउकोबाट
छत खोसिए
हाम्रो विश्वासमाथि
बलात्कार गर्ने प्रिय मान्छे
भन
तिमीभित्रको मान्छे खै कहाँ छ ?
प्रकाशित: ३१ भाद्र २०७७ ०८:४९ बुधबार