८ वैशाख २०८१ शनिबार
कला

हजुरबाहजुरआमा

बालएकांकी

गणेश सुवेदी

स्थान – स्कुलको मञ्च

समय – दिउँसो

पात्रहरू – रमा मिस, रोहण, रश्मि, सुमन, रोजित, निशा, कृष्ण, रोशनी र अन्य विद्यार्थीहरू

 

– विद्यार्थीहरू सबै आफ्नै सुरमा खेलिरहेका छन् । तर, रोहण भने एक्लै बसेर टोलाइरहेको छ । ठीक त्यसैबेला रमा मिस आइपुग्नुहुन्छ ।

रमा मिस – गुड...मिलीजुली खेल्नुपर्छ । रमाइलो भै रा’छ तिमीहरूलाई ? (सबैलाई हेर्दै)

सबै विद्यार्थी– छ मिस...(तर रोहण बोल्दैन)  

रमा मिस – तर हल्लाचाहिँ नगरी खेल है । (रमा मिस चूपचाप बसिरहेको रोहणछेउमा पुगी) रोहण तिमीलाई सञ्चो छैन हो ?

रोहण– (जुरुक्क उठ्दै)छ मिस । (सबै विद्यार्थीले दुवै जनालाई हेर्छन)

रमा मिस – किन..खेल्न मन लागेन ?

रोहण – (अन्कनाउँछ मात्रै, बोल्दैन)

रमा मिस – तिमीलाई साथीहरूले केही भने ?

रोहण – छैन मिस ।

रमा मिस – घरमा बाबामामुले गाली गर्नु भो ?

रोहण–हैन मिस ।

रमा मिस–अनि किन त ?

रोहण – मिस मेरो हजुरबाहजुरआमा आज बिहानै गाँऊ जानु भो ।

(सबै जना गलल्ल हाँस्छन्)

रमा मिस–(रिसाउँदै) किन हाँसेको ? (सबै जना चूप लाग्छन) हजुरबाआमा गाउँ जानुभएकोले तिमीलाई नरमाइलो लाग्यो ?

रोहण – हो मिस...मलाई कति धेरै माया गर्नुहुन्थ्यो । प्रत्येक शनिबार म उहाँहरूसँगै घुम्न जान्थे । केके किनिदिनु हुन्थ्यो मलाई ।रमा मिस – अनि सँगै बस्न भनेनौं त ?

रोहण – भन्न त भनेको नि मिस तर खेतीपाती लाउनु छ भनेर जानु भो ।

रमा मिस – किन पिर मान्छौं त ? खेतीपाती लगाएर आइहाल्नुहुन्छ नि ।

रोहण – अब नआउने रे मिस । यसपटकको दशैं पनि गाउँमै मनाउने रे । तर म त बाबामामुसँग यो दशैंमा जसरी भए पनि गाउँ जान्छु ।

रमा मिस–गुड..दशैंको छुट्टीमा सबै जना घर जानुपर्छ । हजुर बाआमासँग बस्नुपर्छ । ल भन (अरू विद्यार्थीहरूलाई सोध्दै) तिमीहरू कसकस्लाई मनपर्छ हजुरबाआमा?

(सुमन र रश्मिले मात्र हात उठाउँछन)

रमा मिस–रश्मि तिमी भन त किन..मन पर्छ हजुर बाआमा?

रश्मि–मिस मेरो हजुर बाआमा गाउँमा बस्नुहुन्छ । मलाई बेलाबेलामा आँप, केरा, भुईकटहर जस्ता फलफूलहरू पठाइदिनुहुन्छ । अनि नि मिस मलाई काली भैंसीको घिउ अनि कुराउनी पनि पठाइदिनुहुन्छ ।

रमा मिस – अनि...?

रश्मि – बेलाबेलामा फोन गर्नुहुन्छ । पढेर ठूलो मान्छे बन्नुपर्छ भन्नुहुन्छ मिस ।

रमा मिस – अनि सुमन, तिमीलाई चै किन..मनपर्छ हजुर बाआमा?

सुमन–मलाई त मेरो हजुरबाले प्लेन चढाउनु भाको छ । म पोहोरको छुट्टीमा उहाँहरूसँगै पोखरा घुम्न भएको थिएँ मिस ।

रमा मिस–अनि..? सुन्यौ सबैले (अरू विद्यार्थीहरूसँग) ? (सबै ध्यान दिएर सुन्छन्) ।

सुमन – मैले पोखरामा फेवाताल देंखे, माछापुच्छ«े हिमाल पनि देखें । मिस, फेवातालत कति ठूलो रहेछ है ? यसपटक त हामी धरान जाने रे घुम्न ।

रमा मिस – अनि..अरू केके गर्नुहुन्छ नि?

सुमन – मलाई त हजुरबाले पढ्न सिकाउनुहुन्छ । स्कुल पु¥याउन जानुहुन्छ । खेल्न पनि सिकाउनुहुन्छ । अनि थाहा छ मिस..हजुर बाले मलाई भलिबल, क्रिकेट बल, ब्याट सबै किनिदिनुभएको छ ।

रमा मिस–उहाँहरू दुवै जना गाउँमा बस्नुहुन्छ ?

सुमन – होइन मिस...हामीसँगै बस्नुहुन्छ । मलाई जहिले हजुरआमाले माया गरेर खुवाउनुहुन्छ । खानासँगै घिउ, मह पनि दिनुहुन्छ । अनि राति सुत्नेबेलामा जहिले पनि राम्रा राम्रा परीका कथा अनि राजा र राजकुमारका कथाहरू पनि सुनाउनुहुन्छ ।

रमा मिस – अरे वाह...सुन्यौं तिमीरूले, सुमन र रश्मिको कुरा ? हजुरबाआमाले कति धेरै माया गर्नुहुन्छ ? भन त रोजित तिमीलाई हजुरबाआमा मन पर्छ कि पर्दैन ?

रोजित–मिस मेरो हजुर बाआमा हुुनुहुन्न । उहाँहरू उहिल्यै बित्नुभएको रे । मेरो पनि हजुर बाआमा भइदिएको भए कति रमाइलो हुन्थ्यो है मिस ?

रमा मिस–हो त नि अनि निशा तिम्रो हजुर बाआमा हुनुहुन्न?

निशा– हुनुहुन्छ मिस ।

रमामिस – तिमीलाई उहाँहरू मन पर्दैन ?(निशा केही बोल्दिन)

रमा मिस–निशा तिमीलाई हजुरबाआमाले माया गर्नुहुन्न?

निशा– (सानो स्वरमा) गर्नुुहुन्छ मिस ।

रमामिस – तर, तिमिलाई मन पर्दैन कि क्या हो ?

निशा – मलाई पनि मन पर्छ नि मिस । उहाँहरूले पनि माया गर्नुुहुन्छ, बोलाउनुहुन्छ तर मेरो मामुले मलाई जानै दिनु हुन्न मिस ।

रमा मिस–उहाँहरू अर्कै घरमा बस्नुहुन्छ र ?

निशा – पहिले हामीहरू सबै जना एउटै घरमा बस्थ्यांै । तर, मेरो बाबामामु पछि अलग्गै बस्न थाल्नुभयो ।

रमा मिस – अलगअलग घरमा बसे पनि बेलाबेलामा उहाँहरूसँग भेट्न जानुपर्छ नि ।

निशा – हो मिस तर उहाँहरूलाई भेट्न जाँदा मामु रिसाउनुहुन्छ ।

रमा मिस – हो र.. ? किन ?

निशाः हजुरबुबा खोकिरहनुहुन्छ । हजुरआमा पनि आँखा धमिलो देख्नुहुन्छ । त्यस्तो फोहोरीलाई भेटन जानु हुन्न । दिएको पनि खानु हुन्न भन्नुहुन्छ मामुले ।

रमा मिस – अनि बाबाले नि ?

निशा – बाबाले बेलाबेला मामलाई पनि सँगै लिएर जानुहुन्छ तर मामुले थाहा नपाउने गरी । त्यसैले मलाई पनि जान मन लाग्छ...बोल्न मन लाग्छ ।

रमा मिस – हेर बाबुनानीहरू, मान्छे जन्मेपछि पहिले बालक हुन्छ । त्यसपछि किशोर हुँदै युवा हुन्छ र पछि बूढो हुन्छं । त्यसैले जन्मेका सबै प्राणीहरू बालक हुँदै वृद्ध हुन्छन् । हाम्रा हजुरबुवाहजुरआमा पनि पहिले तिमीहरूजस्तै सानो हुनुहुन्थ्यो । अनि अहिले बूढो हुनुभयो । भोलि हामी पनि बूढाबूढी हुन्छौं । मान्छे मात्र हैन सबै प्राणीहरू जन्मेपछि युवा हुँदै बूढो हुन्छन्।

रोशनी – चराहरू पनि बूढो हुन्छन् मिस ?

रमा मिस – हुन्छन् नि..चराहरू त झन अण्डाबाट जन्मिन्छन् । अनि बिस्तारै हुर्कदै जान्छन् । त्यसपछि युवा हुँदै बुढो हुन्छन । सबै जनावर, पशुपंक्षी तथा किराहरूले पनि बूढो हुनुपर्छ ।

निशा – अनि बूढो भएपछि फोहोरी भइन्छ र मिस ?

रमा मिस– कसले भन्यो ? (केटाकेटीहरू मिसलाई हेरिरहन्छन्) ल सुन..बूढाबूढी भएपछि शरीर कमजोर हुन्छ र आफ्नो काम आफैले गर्न गाह्रो हुन्छ । त्यसैले यस्तो बेलामा उहाँहरूलाई हामीहरू सबैले सहयोग गर्नुपर्छ । खाना खुवाउन, औषधि खुवाउन र हिँडडुल गराउन समेत हामीहरूले नै सहयोग गर्नुपर्छ । तिमीहरूलाई थाहा छ ? हामीहरू सानो छँदा हजुर बाआमाहरूले नै खाना खुवाउने, नुहाइदिने र कपडा धोइदिने गर्नुहुन्थ्यो । त्यो मात्रै हो र आची समेत धोइदिनुहुन्थ्यो । हो कि होइन?

सबै–हो मिस (एकै स्वरमा) 

रमा मिस–हो..जसरी एउटा सानो बच्चाले आफैले केही गर्न सक्दैन त्यसरी नै बूढाबूढीहरूले पनि आफ्नो काम आफैले गर्न सक्दैनन् । यस्तो बेलामा हामीले उहाँहरूलाई सहयोग गर्नुपर्छ । सफासुग्घर राख्नुपर्छ । माया गर्नुपर्छ । बेलाबेलामा भेट्न पनि जानुपर्छ ।

सुमन – म त हजुर बाआमा दुवैलाई घरमा सघाउँछु नि मिस । हजुरबाको दाह्री फाल्ने मेसिन लगिदिन्छु । ब्रस, टबेल बाथरुमसम्म लगिदिन्छु । हजुरआमाले अ¥हाएको सबै काम पनि गर्छु ।

रमा मिस – हो...हामीले उहाँहरूलाई माया, सहयोग ग¥यौं भने हामीलाई पनि माया गर्नुहुन्छ । बूढाबूढी भैसकेका हजुरबाआमालाई माया गर्नु, सहयोग गर्नु भनेको असल मान्छे बन्नु पनि हो । मान्छे असल भयो भने सबैको माया पाइन्छ अनि सम्मान पनि पाइन्छ ।

निशा – मिस म पनि आजै मेरो हजुरबाआमाकोमा जान्छु । उहाँहरूले भनेको मान्छु र सकेको काम सघाउँछु अनि नि मिस..म यो कुरा मेरो मामुलाई पनि सम्झाउँछु ।

रमा मिस– गुड...स्कुलबाट घर गएपछि पहिले हातगोडा धुनुपर्छ । खाजा खानुपर्छ अनि होमवर्क गर्नुपर्छ । त्यसपछि हजुरबाआमालाई भेट्ने, कुराकानी गर्ने र खेल्ने गर्नुपर्छ । त्यसैले आजैदेखि तिमीहरू सबैले आफ्नो बाबा, मामु, हजुरबुबाहजुरआमा सबैलाई माया गर्नुपर्छ । उहाँहरूको सम्मान गर्नुपर्छ र सक्दो सहयोग गर्नुपर्छ । हो कि होइन?

सबै – हो मिस..हामीहरू आजैबाट हाम्रो हजुरबुबाहजुरआमालाई माया गर्छौ ।

रमा मिस – पक्का हो ?

सबै–हो मिस...हामी आफ्नो हजुरबाआमालाई अबदेखि सधैैै माया गर्छौ.....प्रमिस..

रमा मिस–स्याबास..सबै जना असल मान्छे बन्नुपर्छ । असल मान्छे तब बनिन्छ जब सबै जनालाई आफूले माया, सम्मान तथा सहयोग गरिन्छ । त्यसैले आफूलाई सबै जनाले माया गरून् भन्नका लागि आफूले पनि सबैलाई माया गर्न सिक्नुपर्छ । अझ विशेष गरी बूढाबूढी भैसकेका हजुरबाआमालाई त झनै माया गर्नुपर्छ । तिमीहरू सबै जना अबदेखि आफ्नो हजुर बाआमालाई जहिले पनि माया गर्छौ हैन ?

सब ै– गर्छौ मिस...।

रमा मिस – आहा कति राम्रा सबै जना । कति चाँडै कुरा बुझेका....स्याबास.... (मिसले थपडी बजाउनुहुन्छ, त्यसपछि सबै जना विद्यार्थीहरूले पनि मिससँगै थपडी बजाउँछन्) ।

प्रकाशित: ३१ भाद्र २०७७ ०७:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App