१५ आश्विन २०७७ बिहीबार
कला

हजुरबालाई जेल

बालआलेख

खेमराज पोखरेल

 

नानीबाबुहरू,

आज म मेरी ४ वर्षे नातिनी एनिजाले मलाई जेल हालेको कथा सुनाउँछु । दिउँसोको समय थियो । म कम्प्युटरमा आफ्नै काम गरिरहेको थिएँ । कम्प्युटरमा पढिरहेको थिएँ । एकोहोरिएको रहेँछु सायद । नातिनी विभिन्न रङहरू खेलाएर चित्र कोर्दै थिइन् । मलाई आफ्नो पुस्तकका चित्रहरू देखाउँदै अनेकन प्रश्न सोद्धै थिइन् –

– यो के हो हब्बा?

– त्यो के हो हब्बा?

– काग किन कालो रङको हुन्छ हब्बा?

– डायनासोर कत्रो हुन्छ ? हेर्न जाऊँ न ।

आदिआदि ।

म उनको हरेक जिज्ञासा प्रश्नलाई सधैंझैं बेवास्तागर्दै थिएँ । अनि उनले रिसाएर मलाई भनिन् – नटी हब्बा, बदमास हब्बा, बदमासी गर्ने ? मेरो कुरा नसुन्ने ? म अब तपाईलाई जेल हाल्छु ।

उनको कुरा सुनेर म मजाले हाँसेको थिएँ । फेरि आफ्नै काममा एकोहोरिएको थिएँ । उनी छेउमा बसेर चूपचाप सेता सादा पानामा रङ पोत्दै थिइन् । धर्काहरू बनाउँदै थिइन् । थोप्लाहरू बनाउँदै थिइन् । मैले खासै चासो देखाएको थिइनँ । लगभग २०÷२५ सादा पानाम ालतरपतर रङ हालेर खेल्दै थिइन् । एकछिनपछि उनले एउटा पानामा कोरेका धर्सा–आकृतिहरू देखिने अमूर्त चित्र बनाएर मेरा सामुन्नेमा राखिदिइन् । उनी मलाई त्यो चित्रबारे अथ्र्याउँदै थिइन् –

– यो जेल हो

– यो फलामको डण्डीभित्र मैले तपाईलाई जेल हालेकी छु ।  

– बुझ्नु भो, बदमासी गरेपछि जेल जानुपर्छ ।

– भोक लाग्यो भने माग्नु, यही प्वालबाट पिजा दिन्छु । जुस दिन्छु ।

मैले हाँसेर उनले बनाएको चित्रलाई खूब ध्यान दिएर हेरेँ । चित्रमा फलामे रङ चयन गरेर लामालामा धर्काहरू माथिदेखि तलसम्म तानेकी थिइन् । ती फलामका डण्डी हुन् रे ! बलियो फलामे जेल बनाएको रे ! त्योभित्र पहेँला धर्काहरू थिए, मानव आकृतिजस्तो पनि थियो, त्यो अमूर्त मानव आकृति म हो रे !

अनि उनले दुईवटा फलामे कुर्सी भित्तामा लगेर राखिन् । भित्ता र कुर्सीको बीचमा रहेको ठाउँमा त्यो जेलको चित्र लिएर मलाई उभिन लगाइन् । त्यो मलाई जेल हालेको रे ! म हाँस्तै त्यो कुर्सी र भित्ताको चेपमा गएर उभिएँ । अनि मैले उनीसँग आफ्नो कान समाएँ र  माफी मागें । अबदेखि तिमीले भनेको सबै कुरा सुन्छु भनेँ । सबै कुरा मान्छु भनेँ । उनले मेरो अनुहारमा हेरेर औँलो ठडाएर ‘प्रोमिस’भन्न लगाइन् । मैले ‘प्रोमिस’भनेँ । अनि बल्ल उनले कुर्सी पन्छाएर मलाई जेलबाट निकालिन्  र मेरो काखमा आएर बसिन् । उनले मलाई माफ गरिदिएकी थिइन् । अब हाम्रा बिच कुनै कटुता थिएनन् । 

म यतिबेलासम्म हाँसिरहेको थिएँ । त्यसपछि भने गम्भीर भएँ । मेरी नातिनी भरखर ४ पुगेर अघि बढ्दै छिन् । उनको वातावरणले उनलाई सिकाइरहेको छ । उनमा रहेको सिर्जनाशक्ति बिनारोकटोक प्रस्फुटन भइरहेको देख्दैछु । टिभी र ल्यापटपमा हेरेर उनको दिमागमा धेरै कुराको सिर्जना शक्ति आएको छ । बदमासी गर्न हुँदैन, बदमासी गरे जेल जानुपर्छ भन्ने कुरा उनले ल्यापटपबाटै सिकेकी छिन् । जेलमा बसेको मान्छेलाई पनि भोक लाग्छ, खान दिनुपर्छ भन्ने मानवीय चेत आएको छ । मान्छेले क्षमा मागेपछि माफ गर्नुपर्छ भन्ने कुरा पनि उनले थाहा पाएकी छिन् । उनी आफूले गल्ती गरे तुरुन्त ‘सरी’ भन्छिन्  र अबदेखि त्यस्तो गल्ती नगर्ने बाचा गर्छिन् । यो कुरा सिकाउन उनलाई कुनै हप्काइदप्काइ वा केही बल प्रयोग गर्नु पर्दैन । उनले सहज र सरल तरीकाले आफैँ उत्साहित भएर सिक्दैछिन् । उनको सिर्जनात्मक शक्तिमा निकै वृद्धि भएको छ । 

र यसैबेल ाम अलिकति सोचमग्न पनि भएको छु । नेपालका बालबालिकाको सरदर जीवनसँग नातिनीको यो कदमको तुलना गरिरहेको छु । यो तुलना धनी र गरीबको होइन ।  चेतको मात्र हो । परिवेशको मात्र हो । नेपालमा बालबालिकाहरू एक पाना कागज बिगारेको नाउमा कुटाइ खाँदैछन् । कागजमा जे पायो त्यही कोर्यो भनेर कुटाइ खाइरहेका छन् । एउटा पेन्सिल भाँचिएको नाममा कुटाइ खाँदैछन् । बग्रेल्ती बच्चा जन्माएर धडाधड आफ्ना सन्तानमाथि गरिबीको रिस पोख्ने आमाबाबुको पनि कुनै कमी छैन देशमा । बालबालिकालाई कुटेर तह लगाउने मास्टर गतिलो भन्ने संस्कृति पनि नेपालले भोगेको कुरा हो । सभ्रान्तका बालबालिकालाई पनि बाउआमाको डाक्टर इन्जिनियर बनाउने इच्छामा, सपनामा र परिवेशमा चिचिला बालबालिकामाथि पुस्तकको बोझ, पढाइको बोझ र इमोसनको बोझ बोकाइएका छन् ।

 मेरा आँखा अगाडि बाबुआमाले, आफन्तले र परिवेशले बालबालिका कुटिरहेका दृश्यहरू आइरहेका छन् । ठूला मान्छेसँग मुख लाग्ने भन्दै गाली गर्ने, हप्काउने र कुट्ने पनि साधारण सभ्यताभित्रै पर्छ नेपालमा । ठूला मान्छेले गरेको अन्याय सहन बाध्य पारिएका परिवेशहरू आँखामा आइरहेका छन् । यसले बालबालिकामा अन्याय पनि सहने बानीको विकास भइरहेको हुन्छ । बालबालिकाको सिर्जनात्मक पक्ष कमजोर हुँदै जान्छ । यसरी बालबालिकाको सिर्जनात्मक क्षमतालाई कुल्चिने कुटाइ, हप्काइ र कथित सभ्यताका खुट्किलाहरू कतिकति छन् नेपालमा!

त्यसैले आज म मेरी नातिनीको सहज सिर्जना गर्ने अवसरलाई नजिकबाट हेर्दै मेरो देशका बालबालिकालाई सम्झँदै छु । अभिभावक, शिक्षक तथा समग्र परिवेशले यो कुरा कहिले बुझ्ने हो ! चौतारीमा बसेर हेरिरहेको छु । हेरिरहेको छु ।

तिमीहरूलाई माया गर्ने  

अमेरिकाको हजुरबा

प्रकाशित: ३० भाद्र २०७७ १७:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App