१५ आश्विन २०७७ बिहीबार
कला

म र तिमी

दीक्षा दाहाल

म जन्म लिन्छु र त तिम्रो घरमा खुसियाली आउँछ
आमा बाबा सबको मुहारमा खुसीको कान्ति छाउँछ।

हाँस्दै खेल्दै तोते बोली बोल्दै अलि चेत पसेपछि,
सिकाइन्छ छोरी भएर यसो गर्न हुन्छ यसो हुन्न,
पराई घर जाने छोरी घरको काम सिक्नुपर्छ,
भोलि पराई घरमा अर्काको भनाइ खाको राम्रो हुन्न।

म छोरी बनेर सबैलाई माया–ममता अनि खुसी बाँड्छु
कहिले चेली बनेर माइतीलाई असीम प्यार पोखाउँछु
कहिले बुहारी बनेर पराईलाई आफ्नाझैँ सम्मान देखाउँछु,
तर फेरि खोट मेरै माया ममता अनि आचरणमा हुन्छ।

हरेक महिना प्रशव पीडासरह पीडा सहेर म रजस्वला हुन्छु,
र त भोलि तिम्रो घरमा मायाको फुल फुल्ने आस हुन्छ,
त्यही तिम्रा लागि भोलिको सुन्दर संसार सृष्टि गर्ने म,
अनि मेरो पवित्र शरीर अपवित्र अछुतो लास हुन्छ।

सबै नाता सम्बन्ध आफन्त अनि जन्मघर छोडेर,
तिम्रो घरमा अनेक सपना सजएर म भित्रिन्छु,
र त तिम्रो घरमा खुसी अनि आनन्दको दीप जल्छ,
तर तिम्रो यो घरमा पनि मेरो निम्ति निरंकुश शासन चल्छ।

अनेक पीडा बाधा अनि सपना बोकेर जब म आमा बन्छु
असह्य प्रसव पीडा अनि नौ महिनासम्म गर्भमा राखेर
एक शिशु जन्मन्छ, म, म बाट छुट्टिएको एक अंश
कति सजिलै उसमा तिम्रो सम्पूर्ण अधिकार जमाउन दिन्छु।

हरेक कुरामा आफ्नै अधिकार जमाएर एकलौटी पर्ने  
एक निरीहलाई आफ्नो लागि प्रयोग गर्ने स्वर्थी हैन म
तर सधैं तिम्रो शासन सहने लाचार अनि निरीह नि छैन म
तिमीलाई खुसी पर्ने चक्करमा आज आफू आफ्नै पनि भइन म।

तँ त पराई घर जाने चेली पाहुना होस् भन्छन् जन्म घरमा
पराई घरबाट आएकी पराई होस् तँ भन्छन् तिम्रो घरमा
न जन्म घर आफ्नो भयो न त तिम्रो घर आफ्नो
आफ्नो केही नरहे सि आफ्नो भनी रमाउँ म कुन घरमा।

त्यसैले त म मेरो घर अनि मेरो आफ्नो खुसी खोज्दै छु
यो समाजमा एक्लै संघर्ष गरी नयाँ पहिचान सोच्दै छु
म मन तन अनि आफ्नो खुसी बाँड्दै रित्तिसकेको छु
रित्तो मनलाई आफैँ आफ्नो आत्मसम्मानले भर्न खोज्दै छु।

आज हराएको आफ्नो पहिचान खोज्दै छु म
आफू अनि आफ्नो अधिकारको बाटो रोज्दै छु म
तिमीले निर्माण गरेको चालचलनको यो पर्खाल फोडेर
सबै  बाधाहरुको पिँजडा तोडेर खुला आकाशमा उड्न खोज्दै छु म।

भोलि म आफैँलाई धिक्कार्ने छु  यो उचाईबाट झरौँ भने
धेरै गहिरो म र तिमीबीच विभेदको सागर पौडिएर तरौँ भने
संकुचित सोच भेदभाव अनि कुरीतिको पर्खाल भत्काएर
तिम्रो सरह यो समाजमा मेरो नि अस्तित्व स्थापना गरौँ भने।

जति कमजोर अनि निरीह सोच्छौ तिमी नारीलाई
त्यति लाचार अनि निरीह नि छैन म
इतिहास पल्टाएर हेर सब्जी केलाउने हातको गाथा
नारी नै दुर्गा काली बनी राक्षसको वध गरेको कथा।

तिमी निरन्तर अघि बढ आफ्नो लक्ष्य पाउन  
म तिम्रो सफलतासम्म पुग्ने खुड्किलो बनिदिउँला  
मात्रै एक उत्प्रेरणाको हाँसो फ्याँकी देऊ बस मतिर
मेरो सबै सफलताका श्रेय जति तिम्रै भनिदिउँला।

मलाई बस एक हिम्मत एक साहस र जे नि गर्न आँट दिँदै
अप्ठेरोलाई पार गर्न भरपर्दो तिम्रो साथको खाँचो छ
धेरै लडे आफ्ना र समाजसँग आफ्नो अस्तित्वका लागि
थकाई लागे शिर बिसाउने विश्वासिलो काँधको खाँचो छ।

मलाई म तिमी सरह हुँ भनेर तिमी जस्तै हुनु छैन,
मलाई बस समान हक–अधिकारसहित म हुनु छ,
म तिमी समान हुँ भनेर मलाई तिमी बन्नु नि छैन
मलाई तिमीसँगै समानान्तर अघि बढ्ने म हुनु छ।

सृष्टिको सुरुवातमा एकै बिन्दुबाट हिँड्न सुरु गरेका हामी,
सदिऔँ अगाडि कहाँ छुट्टियौँ हामी छुट्यो हाम्रो हात
फेरि एक–अर्काको हात नछाड्ने गरी दरिलो साथ समाएर
एकअर्काको परिपुरक हुँदै अघि बढौँ न  हामी एकै साथ।

प्रकाशित: २९ भाद्र २०७७ १३:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App