७ वैशाख २०८१ शुक्रबार
कला

उपेक्षित घाम

पाँच कविता

१) आमा, अर्ती र अपेक्षा

 

बाबू, थिचेर रिस पैतालाले

सिक्नुपर्छ हिँड्नु  

नत्र,

परेर विध्वंसी भुङ्ग्रोमा

हेर्दाहेर्दै भइन्छ खरानी ।

कति खेप्नुपर्छ

सुतौं न सपसनाका विपनाहरू।

आखिर,

जल्ले जे भने पनि

घामको काम उज्यालो छर्नु हो  

जूनको काम शीतलता छर्नु हो  

नरमाऊ ईष्र्या खेतीमा  

भन्नु हुन्न

दूधले नुहाएको छु आफैलाई  

बन्नु हुन्न आफैैैैैैैैं मपाई ।  

अटाउनुपर्छ मनका कुराहरू

जति आरोपित भए पनि

छोड्नु हुन्न कर्तव्य ।

जति झूटोको खेती गरे पनि  

जति ईष्र्याको खेती गरे पनि

आखिर,

सत्यको जित हुन्छ

पर्खिनु सक्नु महानता हो।

उहिले जिमिन घुम्छ भन्नेलाई  

निर्मम फाँसी दिए पनि

मरेन उनको सत्य।

त्यसैले बाबू,

कुराको भारी बोक्नेलाई

बोक्न देऊ

कति बोक्छन् बोकून्

तर,

बाँचुञ्जेल नछोड्नू डेग

नखानू हरेस

केही लगिँदैन

त्यसैले छर्नु गुनको किरण ।

 

२) उपेक्षित घाम  

 

हरेक दिन  

उपेक्षित भए पनि  

गोधूलि घाम

उमार्छ बिहानी उत्साह  

र देखाउँदैन पीडाका कथाहरू।

फोर्छन चट्टानी पहाड

ल्याउँछन् समभाव

तर, सदियौंदेखि

बोक्छन् सामन्ती महल

मृत्यु अस्तित्व ।

पूरा गर्छन् काँडालु फूलहरू

फुलाएर पहरामा

कुमारी योजनाहरू ।

भन्छु म अब  

राखेर छातीमा हात  

बिग्रिन्छ खराब नियतले

आत्मीय सम्बन्ध ।

हेर्नुस् त

बिहानी डाकेपछि

त्यही उपेक्षित घामको  

कति हुन्छ जयगान ।  

 

३) नदीझैं जिन्दगी

 

अकरिलो भिरमा  

विवेको डोजरले

खन्दै अघि बढेर  

गन्तव्यमा पुग्नु

साँच्चिकै नदीझै जिन्दगी ।

उघार्नु  

सिर्जनाको नयाँ क्षितिज

र आफैंभित्र खोज्न सिकाउनु जीवन ।

मरेर पनि बाँच्नु  

नदीझैं जिन्दगी।

बाँचीबाँची  

पटकपटक मरेर

पुनः सधैंका लागि मर्नु  

कति निरर्थक जिन्दगी ।  

(नदीझैं जिन्दगी – अक्सिजन कवि बालकृष्ण अधिकारी धनकुटेमा समर्पित !)

४) पानी पोखिएको घर

 

नाम्छी आज पनि

पानी पोखिएको घरमा  

भेटिएनन् तिम्री पिपीलाई।

अब सम्झनामा मात्रै भेटिनु हुन्छ उहाँ

उँधो बगिरहने माया

आकासिने मृत्यु उन्मुख यात्रामा

मनको भित्ताभरि  

आफन्त तस्वीर सजाउँदै  

आशीर्वादको लिम्चुङ फुलाउने

तिम्री हाम्री पिपी,

अहँ भेटिनु हुन्न अब

पानी पोखिएको घरहुदिँ।

पानीजस्तै हो जीवन

पोखिएर गएपछि

सम्झनाबाहेक केही रहँदैन

खोटाङको बर्खेटारमा पनि

पोखिएर भरिलो गाग्रीको पानी

अहिले थिवियामा शोकमा  

हामी पनि रिसिया गाउँदै छौं

त्यसैले त बाँचुञ्जेल

नदीको पुल बन्नु

लटरम्म फल बन्नु

असली कुरा रहेछ

हो नाम्छी,

आज भेटिनु भएन पिपी

पोखिएर गएको पानीको सम्झनामा

म पनि अब  

नदीपारि तार्ने पुल बन्ने

रसिलो मौसमी फल बन्ने  

चोमोलुङमा यात्रामा लाग्ने छु

अनि, बाँच्नेहरूको मनको गिनिज बुकमा

मेरो नाम पनि  

रातो मसीले रंगिने छ ।

 

५) रङग्याऊँ जिन्दगीका पानाहरू

 

बाबू,

कैले आउँछ जिन्दगी फर्केर

कल्ले भनेका छन् म फर्किएँ।

मैले कति छिचोले हुँला चुनौतीका पहाड

कति थेगे हुँला अभावको भारी  

र कति खेपे घामपानी।

किन देख्दिनँ म

तिम्रो अनुहारमा हाँसो

किन पाउँदिनँ म  

हिउँदे नदीको वेग  

किन श्रापित देख्छु तिम्रो जिन्दगी।

तर,

बाबू, मलाई त अझै

माया छ जिन्दगीको

के छैनन् तिमीमा

दुइटै हात, दुइटै खुट्टा

संसार नियाल्ने आँखा

चरीको झैं मौलिक भाका

सबैसबै छ तिमीमा।

लेखिएका अधुरा अक्षरहरू

नर्सरीका नानीले

मेट्दै इरेजरले सच्याएझैं

कहाँ हुन्छ जिन्दगी ?

किन पल्टिरहन्छ गाडी

किन अभाव छ सधैं कुशल डोजरको

त्यसैले दूधको भारा तिर्न

रङ्ग्याऊ जिन्दगीका पानाहरू

उत्साहको इनामेलले ।  

प्रकाशित: २६ भाद्र २०७७ ०८:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App