coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

शैलुको जोवन

कथा

लोकराज भट्ट

लोकराज भट्ट

कहिलेकाहीँ एक्लै पनि डुलिरहन मन लाग्छ। धर्तीका रमाइला फाँटहरूमा विचरण गर्न सके हृदयले शान्ति पाउँछ। तब त एक्लै पनि कैयौं दिन गायब भैदिन्छु। मान्छेको कचिंगलभन्दा प्रकृतिको रमणीय काख प्यारो लाग्छ। पहाडले लोभ्याइरहन्छ।

एउटा स्लिपिङ व्याग झोलामाथि बाँधेको छु। जंगलको यात्रामा मोवायल फोन  चाँडै निभ्छ, तब एउटा पावर ब्यांक पनि साथमै राखेको छु। केही खानेकुरासँगै एउटा केतली पनि मैले बोक्नै पर्छ। अग्ला चुचुरामा बताससँगै आगो ताप्दै चिया पिउन पाइएन भनें यात्रा खल्लो भैदिन्छ। तब आफ्नो सरजाम बनाएर हिँड्छु। मेरा लागि मेरो भारी ठिक्क छ।

आँखा अगाडि खप्तड पारिका हिमाल छर्लङ्ग छन्। गर्मी मौसममा जाडो हुने लेकमा प्रकृतिले जादु गर्छ। हिउँदभरि घामको न्यानोले मनोरम आनन्द दिलाउँछ। यी दृश्यहरू मलाई ओखतीजस्तै लाग्छन्।

आँखा अगाडि खप्तड पारिका हिमाल छर्लङ्ग छन्। गर्मी मौसममा जाडो हुने लेकमा प्रकृतिले जादु गर्छ। हिउँदभरि घामको न्यानोले मनोरम आनन्द दिलाउँछ। यी दृश्यहरू मलाई ओखतीजस्तै लाग्छन्।

लौरी टेक्दै एकसुरमा हिँड्नु पर्छ। उकालो चढ्दा सास बढ्छ। सुस्केरा हाल्छु। बाँझ र गुराँसका बनभित्र चरा बोल्दैछन्। धेरै टाढा घँसारीले डेउडा गाएको सुनिदैछ। जतिमाथि उक्लिदै गयो उतिधेरै लटरम्म घँगारु फलेका छन्। बोटै रहरलाग्दा भएका छन्।  

महाभारत लेकमा अनेक जीवको लीला चलिरहेको छ। मान्छेको संसार छोडेर एकदुई दिन प्रकृतिको संसारमा रमाउनुमा बेसुर आनन्द आउँछ। टाढैबाट हलेसा र तित्रा बोलेको आवाज आइरहेको छ। झ्याउँकीरीले कानमै ठोक्किएझै गरी तित्राको भाका बिथोल्दै छन्। वन रन्किने गरी झ्याउँझ्याउँ गरिरहेका छन्।

समय बर्खाको संघारमा छ। अग्ला डाँडामा कुहिरो डुल्दै नाच्छ। वनभित्र लुकामारी खेल्छ। यही बेला एउटा राँगो मेरो नजिकै आइपुगेको छ। दम्सिलो उकालोमा छु। वनमा त बच्नु पनि पर्छ। अजिव जीवनले कान ठड्याइरहेको छ।

जति डर मलाई राँगोसँग छ, त्यति नै डर उसलाई पनि रहेछ। म रूखको हाँगामा उक्लिएँ, राँगो झाडीभित्र पस्यो। यात्रा निरन्तर चलिरहेको छ। गोठाला बस्ने लेक पुग्न अब धेरै समय लाग्ने छैन। एउटा हटेरु जालेडोको बोकेर तल ओर्लिरहेछ। मैले उसलाई हेरिरहेको छु।

“कति बज्यो हजुर?” नजिकै आइपुगेर उसले सोध्यो।  

“साढे तीन” मैले घडी हेरेर भनें।  

उमेरले ५० पार गरेजस्तो लाग्दैछ। उसँगै रूखको फेदमा बसिजान मन भएको छ। मेरो निधारमा दुईचार थोपा पसीना उम्रिएका छन्। ऊ त ओरालो ओर्लिने मान्छे, हलुको छ। मलाई बेरसम्म हेरेर बाटोमै रोकियो। आफ्नै मान्छे जस्तो गरेर हे¥यो।

“यौटा फोटो खिचौं हजुर?” मैले हटेरुलाई सोधें।  

“लौत हजुर हुन्छ,” ऊ खिस्स हाँस्दै फोटो खिच्न तयार भयो।  

फोटो खिचेर ऊ ओरालो लाग्यो। म उक्लिएँ। केहीबेर हिँडेपछि लेकका गड्यान (खेत) आँखामा सजिए। चराहरू छन्। मृगहरू छन्। लेकमा मान्छे छैनन्। जमिन पूरै बाँझो छ। गड्यानहरू जंगल बनेका छन्। थक्काइले उम्रिएका छन्। ऐसेलु र घँगारु झांगिएका छन्। पुराना खर्कका अवशेष मात्रै देख्छु। मान्छेले बाँच्न हारेर छोडेका खर्कका अवशेषसँग कुनै प्राण छैन्।

भगवानको धाम पनि यस्तै हुन्छ होला? स्वर्गमुनिको डिलमा बसेर स्वर्गीय आभासको परिकल्पना गर्ने सौभाग्य दुईचार पाइला नहिँडी कहाँ पाइन्छ? यति एकान्त शान्ति यही जगत भित्र पनि व्याप्त छ।  

विरक्त लाग्यो। बाँझो लेक छोडेर म फेरि उक्लिएँ। रहरलाग्दो अल्लो वनभरि छ। बर्खे घाँसका डालि बतासले हल्लिरहेका छन्। हरियो झ्याउ उम्रिएका ढुंगा कलकलाउदो जवानी बोकेर मुस्कुराइरहेका छन्। सिरु र गाजो उम्रिएका ससाना भिरमा मृगका गोरेटा प्रस्ट देखिन्छन्।  

साँनो तर बूढो बाँझको रूखभरि हाँगामा ध्वजा फरफराइरहेका छन्। राता, सेता ध्वजाले टाकुराको सुन्दरता विचित्रको छ। टाकुरा वरिपरिको डिलमा काफल, गुराँस र लेकाली रूख छन्। बिस्तारै कानमा चिसो छोएर एकनासको बतास चल्दैछ। धेरै टाढा पहाडपारि पहाडहरू देखिँदैछन्।

टाकुरामै बसेर तीनवटा ढुंगा एक ठाउँमा राखेर सुकेका झिजा बटुलेर आगो सल्काएँ। बोतलबाट एक कप चियाका लागि केतलीमा पानी राखें। चिया पिउँदै आधा घण्टा बसेपछि ज्यान हलुको बन्छ। मन चन्चल हुन्छ।

साँझको मधुरो घाँमले बेग्लै आनन्द दिलाइरहेको छ। मान्छेको दुनियाँभन्दा पर शान्तिको एकाग्र दुनिया छ। दुव्र्यसनीको रिंगटाले घुमाइरहेका मान्छेहरू प्रकृतिको अमृतपान गर्न कहाँ सक्छन् र? खै किन हो मान्छेले वन मन पराउन छोडिसके।  

उसको नजिक पुगेको छु। ऊ अझै बसिरहेकी छे। केही सोध्नका लागि शब्दहरू रित्तिएजस्तो भएको छु। हँसिलो अनुहारले मलाई उसैतिर तानिरहेको छ। हिमालजस्ता दाँत देखाएर शैलु मलाई हेरिहेकी छ। म गराको भित्तामा अडेस लगाएर उभिएको छु।

चियाको चुस्की सकिएको छ। अब त हिँड्नै पर्छ। नहिँडे टाकुरामै साँझ पर्नेछ। हुन त देउताको थानमा छु। फरफराइरहेका ध्वजा हेर्दा लाग्छ, यहीँ बसे पनि रक्षा गर्ने देउता छन् तर म त उक्लिनै पर्छ।  

वन प्राणीको माझबाट हिँडिरहेको छु। स¥याकसुरुक आवाज आइरहेको छ। मान्छे सँग किन डराउँदा हुन पंक्षी र मृग। बाटामा चरिरहेका वन कुखुरा कुलेलम ठोक्छन्। रूखमा पुच्छर लतारेर बसेका गुना एक रूखबाट अर्को रूखमा हामफाल्दै भाग्छन्।  

लगभग बाइसपच्चिस सय मिटरको उचाइमा पुग्दैछु। बर्षौपछि कानले त्यही आवाज सुन्न थालेको छ। बाटो छेउछाउमा निगालाका झाडी छन्। केही पर डिङडिङ भैंसीको घाँडो बोलिरहेको छ। बास पनि मान्छेकै छेउछाउमा बस्नुपर्छ। मनले त्यतैतिर सोझ्यायो।  

एउटा बाँझो फाँटमा थौंलामा फर्किरहेका भैंसी चरिरहेका छन्। सातआठ वटा भैंसीको बथान हेरिरहूँ जस्तो छ। बाँझोको बीचबीचमा साना बुट्यान छन्। भैंसीको नजिकै पुग्छु। डिङडिङ बजिरहेको घाँडो तारे भैंसीलाई लगाइएको छ। मोवायल निकालेर फोटो खिच्न थाल्छु। भैंसी तर्किएर भाग्छ। वन छेउमै काठको र चरा बोलिरहन्छ।  

साँझको घाममा चरिरहेका भैंसीलाई किन बिथोल्नु। गराको छेउमा गएर बस्छु। भैंसी आफ्नै सुरमा चर्न थालेका छन्। लगभग पाँचसय मिटर पर एउटा गड्यान छ। मकै रमिता हेरौं जस्ता मौलाएका छन् र त्यहीँ एउटा खर्क पनि छ।  

बाटामा आउँदै गर्दा जीव नै नभएका खर्कले जुन विरक्तता मनमा ल्याइपु¥याएका थिए, त्यो विरक्तपन अब हराइगएको छ। खर्कबाट एकनासले धूवाँ आकाशपट्टी उडिरहेको छ। उज्यालो डाँडाबाट चारैतिरको संसार झलमल्ल देखिन्छ।  

भगवानको धाम पनि यस्तै हुन्छ होला? स्वर्गमुनिको डिलमा बसेर स्वर्गीय आभाषको परिकल्पना गर्ने सौभाग्य दुईचार पाइला नहिँडी कहाँ पाइन्छ? यति एकान्त शान्ति यही जगतभित्र पनि व्याप्त रहेछ।  

यस्तै सोच्दै थिएँ। मभन्दा माथिल्लो गराको डिलमा बसेर एउटा केटी मलाई हेर्दै पो रहिछे। उसले लगाएको गुलावी कुर्ती उनिउँको बोट छेउबाट देखिदै छ। उनिउँको बोटमै लतारिएको सेतो दोपट्टाको फेर हावाले बिस्तारै हल्लाइरहेको छ।  

यो लेकमा बस्ने मान्छेहरू बर्षौ अघिदेखि चिनेजस्तो गरेर किन हेर्छन्? उसले त मलाई मन्द मुस्कुराएर हेरिरहेकी छ। ऊ कुनै सामान्य गोठाली छैन्। कहाँबाट आइपुगेकी हो कुिन्न? आँखा झिमिक्क नगरी एकोहोरो हेरिरहेको छु। उसैगरी ऊ पनि हेरिरहेकी छे। न म बोल्न सक्छु, न ऊ बोल्न सक्छे। भैंसी चरिरहेका छन्। घाँडो बजिरहेको छ। घाम हिमालतिर सर्दैछ। उसलाई समग्र देख्न मेरा आँखा लालायित बनेका छन्।

“शैलु भैंसी ल्याएर आहोई,” खर्कबाट कसैले बोलायो। मलाई हेरिरहेकी केटी केही चलमलाई।

“हुन्छ हुन्छ,” यत्ति भनी।

नसोधेरै नाम थाह भयो। उसको डाँको बेरसम्म प्रतिध्वनित भयो। म आफू बसेको ठाउँबाट उठें। खर्कबाट बोलाई सक्दा पनि ऊ अझै बसेको ठाउँबाट उठेकी छैन्। मलाई भने उसको नजिकै गएर बसौंजस्तो भएको छ।  

“सबै भैंसी तिम्रै हुन् ?” सुरुमै मैले तिमी भनेर बोलिदिएँ।  

“हाम्रै हुन्” उसले भनी।  

“कसरी पाल्न सकेको यति धेरै भैंसी?” मैले सोधें।  

“भैंसीले बरु हामीलाई पाल्छन” उसले हाँसेर भनी।

शैलु मलाई हेरिहेकी छ। उसका भैंसी खर्कतर्फ गइसके। उसका नजरले प्रेमको वर्षा फ्याँकिरहेछनजस्तो आभास भैरहेको छ।  

उसको नजिक पुगेको छु। ऊ अझै बसिरहेकी छे। केही सोध्नका लागि शब्दहरू रित्तिएजस्तो भएको छु। हँसिलो अनुहारले मलाई उसैतिर तानिरहेको छ। हिमाल जस्ता दाँत देखाएर शैलु मलाई हेरिहेकी छ। म गराको भित्तामा अडेस लगाएर उभिएको छु।

“तम्रो घर काँ हो ?” उसले सोधी।

“उजेली गाउँ” मैले भनें।

“ञ किन आएको हौ?” उसले सोधी।

“त्यसै डुल्न,” मैले भने।  

भैंसी चर्दैचर्दै पर पुगे। ऊ बसेको ठाउँबाट उठी। उठ्दा खल्तीबाट मोवायल खस्यो। निहुरिएर मोवाइल समाती। दोपट्टा मिलाई। उमेर बाइसचौबिसको छ। के यो गोठाली मात्रै हो? सोध्न नसके पनि मनले सोच्दै छु। ऊ हिँडी। म पनि उसकै पछि हिँडे।  

“मेरो पछि किन आएका हौ?” उसले भनी।  

“रात पर्न थाल्यो, खर्कमा बास पाइएला भनेर?” मैले भने।

“खर्कमा त ठाउँ छैन्,” उसले भनी।  

“बरु म बाहिरै सुतौंला,” मैले भने।  

ऊ मेरो कुराले हाँसी। भैसी चरिरहेका छन्। पर पुगेर फेरि अर्को गराको डिलमा बसी। कानमा यार्लिङ पनि रहेछन्। बतासको गतिमा हल्लिरहेका। ओठमा लगाएको मन्द लाली पाकेका घँगारुजस्तो देखिएको छ।  

“यति टाढा डुल्न आउने रैछौ ?” उसले भनी।  

“वनमा डुल्न रमाइलो लाग्छ,”  मैले भनें।  

“जोगी बन्ने मन छ कि क्या हो ?” जिस्काएजस्तो गरी।  

“हैन बरु गोठालो बन्न मन छ,” मैले भनें।  

“तमी गोठालो बन्ने मान्छे जसा छैनौ,” उसले भनी।  

“त्यसो भए जोगी बन्ने मान्छे जसो छुँ र?” मैले सोधें।  

ऊ फेरि पनि हाँसि मात्र। घाम अस्तायो। झ्याउँकीरीको आवाज झन्झन जोरले फैलिन थाल्यो। खर्कमा बास नपाइए पनि छेउछाउमै बस्ने मनस्थिति मैले बनाई सकेको छु। शैलुको जोवनले जति लोभ्याएको छ, अझै बढी उसको बोलीले हुरुक्कै भएको छु। आज घाम नअस्ताएको भए पनि हुने तर अस्ताइहाल्यो।  

यो त लेक हो। जस्तोसुकै गर्मी मौसम पनि यहाँ जाडोकै शरणमा विलय हुन्छ। मैले झोलाबाट बाहुला भएको कपडा निकालेर लगाएँ। शैलु मलाई हेरिहेकी छ। उसका भैंसी खर्कतर्फ गईसके। उसका नजरले प्रेमको बर्षा फ्याँकिरहेछन् जस्तो आभाष भैरहेको छ।  

“तम्रो नाम क्या हो ?” उसले मेरो नाम जान्न खोजी।  

“आनन्दकुमार” मैले भने।  

“मान्छे पनि आनन्दका रैछौ, यति टाढा डुल्न आउना?” उसले फेरि जिस्काएजस्तो गरी।

शैलुका कुराले मलाई हाँस्न मन लागेको छ। तर उसका भैंसी गैसके। मलाई एकपटक खर्कको आँगनसम्म पुग्ने रहर लागिरहेको छ। अलिपर ऊ छ, अलि वर म। ऊ उठ्ने तरखरमा छे। भैंसी आफ्नै अभ्यस्ततामा चर्दा हुन सायद। आकाशबाट सूर्य अस्ताएपछि रोकिएनन्।  

“तिमीले खर्कमा बास दिन्नौ भने म त आजको रात यही बाँझोमा बस्छु।” मैले भने।  

“बसे बस्नु,” यत्ति भनेर ऊ हिँडी।  

“हैन हैन म पनि तिमीसँगै जान्छु,” मैले भने। ऊ हतार थिई। मेरो कुरा नसुनेरै दौडी।

एउटा पाको मान्छे मकैका घोगा बोकेर खर्कभित्र पसे। शैलु केही चलमलाई। उसले मोवायल खल्तीमा राखी। टाँडबाट हातको इसाराले बोलाई। मलाई भ्रम भयो कि सम्झें। फेरि पनि बोलाई।

उसको पछाडि जानै सकिन। ऊ गएको मैले हेरिरहे। उसलाई हेर्दा लाग्छ ऊ यही लेकमा बसेर सँधैभरि भैसी चराउने गोठाली होइन। मैले उसलाई धेरै जान्नु थियो तर छोटो समयमा सबै कुरा कहाँ सकिन्थे।  

मौन भएर बाँझोमा बसिरहेको छु। साँझको बतास चिसो भएर चल्दैछ। यो पहाडको टाकुरामा उत्तरका सम्पूर्ण हिमालले मलाई हेरिहेका छन्। दिउँसोको थकानले बसेको ठाउँबाट नउठौ भएको छ। बर्खा सकिएको छैन। दिनको मौसम सफा भए पनि रातभर झरी पर्न बेर हुन्न।  

बाँझो गरामा अलपत्र छाडेर गएकी शैलु खर्कको आँगनबाट मलाई हेरिहेकी छ। म उसलाई हेरिरहेको छु। ऊ टाँडमा उक्ली। म आफ्नै झोला सिरानी लगाएर खर्कतर्फ फर्किएर गराको भित्तामा अडेस लगाएर बसेको छु।  

उसले कपाल मिलाइसकेर खल्तीबाट मोवायल निकाली। एकछिन मोवाइलमा हेरी। म उसकै जोवन सम्झिरहेको छु। कलकलाउँदो जवानी। परिचितको जस्तो अपनत्व। हिमालजस्ता दाँत। गुलावी कुर्ती। मेरा लागि चुम्बक बनेका छन्। निश्चिन्त उसलाई हेरिरहनुमा आनन्द छ।  

एउटा पाको मान्छे मकैका घोगा बोकेर खर्कभित्र पसे। शैलु केही चलमलाई। उसले मोवायल खल्तीमा राखी। टाँडबाट हातको इसाराले बोलाई। मलाई भ्रम भयो कि सम्झें। फेरि पनि बोलाई। अब त मलाई के नै चाहिएको छ र ऊ कस्ती गोठाली हो मलाई जान्नु छ। एकरात भए पनि खर्कको जीवन बाँच्ने अवसर मिलेको छ। बतास बनेर खर्कतर्फ गैरहेको छु। आजको रात स्वर्गको डिलमुनि कुनै अप्सराको आश्रम अर्थात् खर्कमा पाहुना बन्दैछु।

प्रकाशित: १९ भाद्र २०७७ ०९:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App