coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

हिक्मत सिंह ऐरका दुई कविता

कविता

हिक्मत सिंह ऐर, बरिष्ठ निर्देशक, नेपाल पर्यटन बोर्ड

तृष्णा

मन पराउँदैमा, के माया पाइन्छ र?  

आँखा जुधाउदैमा, कस्ले पो पत्याउँछ र।  

 

मायाप्रीतिको आफ्नै छ अनुभूति  

नबोले पनि हृदयले दिन्छ प्रत्याभूति।  

 

मनका कुरा तनमा नै झल्किन्छन्  

चंचल आँखा नलुकाई भन्छन्।  

 

मायाप्रीति एकछिनमै कहाँ लाग्छ र  

छिनछिनमा लाग्ने मायाप्रीति कहाँ हुन्छ र।  

 

मनका तृष्णाले आकर्षण जन्माउँछ

भौतारिन्छ यो मन, तन त्यतै डोराउँछ।  

 

सोचीसम्झी लगाएको प्रीत

पाउनुभन्दा नि निभाउनु झन गाह्रो।

 

एकअर्काको आकर्षण प्रकृतिको देन हो।

हामीनिहित पात्र भई निभाइरहेछौ।

तृष्णाले छायासरि पछ्याइरहेछ ।  

 

आँखाको कान्ति एक दिन ओर्लिएर जान्छ

तन खुम्चिदा नि, मन कहाँ खुम्चिन चाहन्छ।

 

मनका आफ्नै, तनका आफ्नै छन् भाषा  

बुझ्नु र सम्हालेर चल्नु छ जाति।  

 

मन पराउँदैमा, माया कहाँ पाइन्छ

तृष्णाको भेलमा मन सधैं बगिरहन्छ।  

मनले चाहेको भन्दा भाग्यकै पाइन्छ ।  

 

जीवन त चलिरहन्छ  

जीवन त चलिरहन्छ  

समयले कोल्टो फेरिरहन्छ।  

 

जीवनका छन् अनेकौं रंग  

ऋतुझैं बदलिन्छन् यसका तरंग।  

 

यसको वास्तविकता बुझ्न सारो  

जान्दा सरल, नजान्दा गारो।  

 

मिलन र बिछोड यहाँको नियति  

चाहेर कसैलाई रोक्न, नचाहेर बिर्सन सकिन्न।

 

जीवनमा साथी छुट्छन्, जीवनसाथी छुट्छन्  

खै कुन्नि जिउनु त छुट्दैन नि।

 

यात्रामा गाउँ छुट्छ, परिवार छुट्छ  

समय आएपछि, यो संसार नै छुट्छ।  

 

जीवन बुझ्दाबुझ्दै समय गइहाल्छ  

यहाँ खेल्दाखेल्दै जाने समय भइहाल्छ।  

 

जीवन तैपनि चलिरहन्छ  

समयले काल्टो फेरिरहन्छ।  

 

जीवन त हरपलमा जिउनु पो रहेछ  

ससाना खुसीमा रमाउनु पो रहेछ।  

 

आउँदा र जाँदाको यो खालीपन

जीवनको वास्तविकता नै रहेछ।

 

शून्यमा सुरु भई शून्यतामै  

हराउनु यहाँको नियति रहेछ।

 

यो यात्रा निरन्तर चलिरहन्छ  

समयले कोल्टो फेरिरहन्छ।  

प्रकाशित: १४ भाद्र २०७७ १०:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App