स्मृति बानियाँ
आजकाल म
पटकपटक बाथरुमछेऊ पुग्छु
किनकि
त्यहाँ एउटा सानो ऐना छ।
उसले
मेरो हाँसो देख्छ
आँसु देख्छ
उत्साह देख्छ
अनि उदासीनता पनि।
हो, ऊ एउटा त छ
जसले मेरा हर कुरा
चुपचाप सुनिदिन्छ।
अहँ कहिल्यै भन्दैन–
आज तँलाई
नराम्री देखेँ
वा, राम्री देखे।
म जस्ती छु
चुपचाप हेर्छ
बस् मेरो वास्तविकतालाई आत्मसात् गर्छ
अनि मेरा हर कुरा सुनिदिन्छ
मेरा कुराले
न उसका कान पाक्छन्
न मलाई हेर्दा
उसका आँखा दुख्छन्
कहिल्यै पनि भन्दैन
मलाई तिम्रा कुरा सुन्नु छैन
वा, तिमीलाई हेर्नु छैन।
उही एउटा त छ
जसले मेरा हर कुरा सुनिदिन्छ
जति म फलाक्न सक्छु।
त्यही कारण आजकाल
उसको सामीप्यता
मलाई निकै मीठो लाग्छ
लाग्छ उसले मलाई कति माया गर्छ
मेरा हर कुरा सहन्छ।
अहँ, मैले आजसम्म उसलाई
न मुड अफ भएको देखेकी छु
न त रिसाएको नै
सधैं एकनास छ
सधैँ मुस्कुराएजस्तै।
आजकाल त मलाई लाग्छ
ऊ मलाई पनि पर्खिरहन्छ
मेरो बाटो कुरिरहन्छ
हो, त्यही कारण म
पटकपटक बाथरुम जान्छु
आफ्ना कुरा सुनाउन, देखाउन
अनि यो मन हलुका बनाउन।
प्रकाशित: १३ भाद्र २०७७ ०४:३१ शनिबार