coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

महामारीबीच नयाँ पुस्तक पढ्ने अवसर

महामारीका कारण पुस्तक पसल र प्रकाशकहरू मारमा परे पनि पाठकहरूलाई भने राहत मिलेको छ। लकडाउनबीच केही प्रकाशकहरूले बजारमा नयाँ पुस्तक ल्याएका छन्।

अन्य पेसाजस्तै पुस्तकको बिक्री र प्रकाशनमा कोरोना महामारीले असर पारेको छ। तर पनि महामारीको संकटमै पुस्तकप्रेमीहरूले भने केही नयाँ पुस्तक पढ्ने अवसर पनि पाएका छन्।

लकडाउन सुरु हुनुअघि गत चैतमा महिला नेत्री एवं सांसद बिन्दा पाण्डेको ‘समानताका पाइलाहरू’ पुस्तक बजारमा ल्याएको फाइन प्रिन्टले लकडाउन खुलेपछि बीचमा वर्ल्ड बैंकमा लामो समय काम गरेका राजीव उपाध्यायको पुस्तक ‘कबाल्स एन्ड कार्टेल्स’ सार्वजनिक गरेको छ। उपाध्यायको किताबले राम्रो प्रतिक्रिया पाएको र उत्साहजनक अवस्था आएको बताउँदै फाइन प्रिन्टका निरज भारीले भने– ‘सरकारले उपत्यकालगायतका स्थानमा पुनः निषेधाज्ञा गरेपछि फेरि यसको मार पुस्तक व्यवसायलाइलाई परेको छ।’

लकडाउन खुलेपछि किताब सार्वजनिक गर्ने तरखरमा रहेका प्रकाशकहरूले भटाभट किताब बजारमा ल्याएका छन्।

महामारीकै बीचमा पब्लिकेसन नेपालयले सरला गौतमको उपन्यास ‘डुमेरो’ र भुवन ढुंगानाको आख्यान ‘परित्यक्ता’ बजारमा ल्याएको छ । नेपालयका अर्पण शर्माका अनुसार ‘परित्यक्ता’ अघिल्लो चैतमै प्रकाशित भएको थियो तर लकडाउनका कारण पुस्तक सार्वजनिक गर्न सकिएन । भुवन ढुंगानाको यो पुस्तक ‘परित्यक्ता’ मदन पुरस्कार २०७६ को उत्कृष्ट सातको सूचीमा पनि परेको छ ।

लकडाउन हुनुअघि काठमाडौंका नाटकघर, प्रज्ञाप्रतिष्ठानको चौरलगायतका स्थानहरूमा हरेक हप्ता हुने पुस्तकसम्बन्धी कार्यक्रमहरु गत चैतदेखि हुन सकेको छैन भने प्रकाशकहरूले जुम मिटिङबाट नै पुस्तक विमोचन गरिहेका छन्। 

त्यस्तै पब्लिकेसन्स् नेपालयले सुजीव शाक्यको नयाँ पुस्तक ‘अर्थात् परिवर्तन’ लाई आफ्नो पहिलो ‘ईबुक’को रूपमा सार्वजनिक गरेको छ । निबन्ध संगालोको यो पुस्तक शाक्यको अघिल्लो पुस्तक ‘अर्थात् अर्थतन्त्र’ कै परिवेशमा लेखिएको अर्पण शर्माले बताए । ‘यस पुस्तकले नेपाली समाजलाई गरीबीको शिकार बनाई राख्ने रोगहरूको स्वभाव खोतल्दै तिनलाई निदान गर्न केही कदम अगाडि बढ्नु पर्नेतर्फ चर्चा गरेको छ। साथै यस्ता सामाजिक समस्या उन्मूलनका लागि समाधानका नवीन उपायहरू सुझाएको छ । यो पुस्तक शाक्यको चौथो पुस्तक हो तर  नेपाली भाषामा भने उनको यो दोस्रो पुस्तक हो ।’ –शर्माले बताए।

नेपालयले आफ्ना सबै प्रकाशनहरू मुद्रणका माध्यमका साथै अन्य वैकल्पिक माध्यममार्फत् पनि उपलब्ध गराउने जनाएको छ। उसका सबै पुस्तकहरू अमेजन, बार्नस् एण्ड नोबल नेटवर्कमार्फत् विश्वव्यापी रूपमा उपलब्ध गराएको छ ।

लकडाउन हुनुअघि काठमाडौंका नाटकघर, प्रज्ञाप्रतिष्ठानको चौरलगायतका स्थानहरूमा हरेक हप्ता हुने पुस्तकसम्बन्धी कार्यक्रमहरु गत चैतदेखि हुन सकेको छैन भने प्रकाशकहरूले जुम मिटिङबाट नै पुस्तक विमोचन गरिहेका छन्।  

‘केही किताब देश विदेशबाट माग भए पनि पठाउने अवस्था छैन। अवस्था सामान्य लयमा नआउँदासम्म पुस्तक व्यवसाय पुरानो गतिमा पर्कने सम्भावना कम छ।’

हाम्रा केही किताब पाइपलाइनमा छन् तर यस्तो बेला किताब प्रकाशन गर्ने सोच नभएको बताउँदै हिमाल किताबका वसन्त थापाले भने– ‘अहिले प्रकाशक, वितरक, पुस्तक सम्पादक, लेआउट डिजाइनर लगायत सबैलाई समस्या छ। पाठक पनि आवश्यकबाहेक अन्य किताब किन्ने मुडमा छैनन्। उनीहरूमा महामारीका कारण उत्साह छैन।’

बजारबाट किताबको माग आएको छैन भने अफिस भाडा र कर्मचारीलाई तलब खुवाउन समस्या भएको बताउँदै थापाले भने–‘केही किताब देश विदेशबाट माग भए पनि पठाउने अवस्था छैन। अवस्था सामान्य लयमा नआउँदासम्म पुस्तक व्यवसाय पुरानो गतिमा पर्कने सम्भावना कम छ।’

अहिले कोरोना महामारीले आममान्छे त्रासमा छन् । हरेक खालको आर्थिक गतिविधि ठप्प छ। उपत्यका लगायत देशका विभिन्न ठाउँमा निषेधाज्ञा लगाइएको छ भने मनिसहरुरूे चहलपहल गर्न पाएका छैनन्।

नारायण ढकालको कथा संग्रह ‘तमस’ बजारमा ल्याएको बुकहिल पब्लिकेशनले डा. तीर्थबहादुर श्रेष्ठको नखुलेकाका पाटाहरू नयाँ कलेवरमा ल्याएको छ।

त्यस्तै फिनिक्स बुक्सले  राजेन्द्र पराजुलीका ‘कोटेश्वरको केटो’, विना थिङको ‘याम्बुनेर’ बजारमा ल्याएको छ। दशैं अगाडि श्याम साहको कथा ‘नाका वन्दी’, सुन्दर जोशीको अरमानी लगाउने भाइ’ र   प्रगती राईको ‘थांग’ बजारमा ल्याउने फिनिक्स बुक्सका गणेश सुवेदीले बताए।  

दिनहुँ कोरोना संक्रमित र मृतक बढ्दै छ। निषेधाज्ञा जारी र कतिपय स्थान सिल गरिएको कारण पुस्तक पसलहरू खुलेका छैनन्। विदेशबाट आयात हुने अन्य भाषाका किताब आउन पाएका छैनन्। स्वदेशमा प्रकाशन भएको किताब पनि औलामा गन्न सकिने छ।

सांग्रिला बुक्सले लकडाउन महामारीबीच दुई गैरआख्यान र एक उपन्यास बजारमा पठाएको छ । उद्धव प्याकुरेलले सम्पादन गरेको ‘समाजवाद समृद्धि र विकास’,  विनोद न्यौपानको ‘संघीयताको अर्थ–राजनीति’ र शिवा शाहको  ‘कान्छा महारानी’ उपन्यास प्रकाशन गरेको छ।  शिवा शाहले अंग्रेजीमा लेखेको ‘द अदर क्विन’ उपन्यासलाई सगुना शाहले अनुवाद गरेकी हुन् ।

दिनहुँ कोरोना संक्रमित र मृतक बढ्दै छ। निषेधाज्ञा जारी र कतिपय स्थान सिल गरिएको कारण पुस्तक पसलहरू खुलेका छैनन्। विदेशबाट आयात हुने अन्य भाषाका किताब आउन पाएका छैनन्। स्वदेशमा प्रकाशन भएको किताब पनि औलामा गन्न सकिने छ।

अक्षर क्रियसन्सले अर्चना थापाको सम्पादनमा 'स्मृति कथामा सत्त्व' पुस्तक बजारमा ल्याएको छ। समाजमा भोगेका पीडावृत्तान्त भनिएको यो पुस्तकमा २४ जना लेखकको आआफ्नै अनुभूत रहेको छ ।

त्यस्तै लकडाउनबीच लेक्स एण्ड जुरिस पब्लिकेसनले युवराज संग्रौलाको ‘साउथ एसिया चाइना जिओइकोनोमिक्स’ भाग १ र २ को नेपाली संस्करण बजारमा ल्याएको छ।  

लकडाउनकै समयमा बजारमा नयाँ पुस्तकहरू ल्याएका प्रकाशकहरुले दशैंअघि अझै नयाँ पुस्तक बजारमा ल्याउने योजना बनाएका छन्।

अवस्था सामान्य हुँदै गए दशैंअघि ल्याउने पुस्तकको लिस्ट लामै भएको बताउँदै फाइन प्रिन्टका निरज भारीले भने, ‘अर्थशास्त्री विश्वम्भर प्याकु-यालको आत्मसंस्मरण ‘आफैंलाई खोज्दा’ बजारमा ल्याउने तयारी अन्तिम चरणमा छ । एनआरएनएका पूर्वअध्यक्ष एवं उद्यमी जीवा लामिछानेको ‘नियात्रा देश देशावर’, डा. राजु अधिकारीको ‘आखिर रोज्ने के?’, अभिनेत्री मनीषा कोइरालाको संस्मरण ‘जिजीविषा’, कलाकार मनुजबाबु मिश्रको ‘एकलानुभूति’, कवि असीम सागरको कवितासंग्रह ‘क’, पत्रकार ददि सापकोटाको ‘वनको वैभव’ आदि छन् । पत्रकार विजय कुमारको बहुप्रतीक्षित कृति ‘सम्बन्ध’हरू पनि दशैंअघि नै ल्याउने हाम्रो तयारी छ ।’  

यसैगरी मोहन मैनालीको नियात्रा ‘मान्ठ डराएको जुग’को सस्तो संस्करण, अमर न्यौपानेको ‘पानीको घाम’को अद्यावधिक संस्करण, दिनेश काफ्लेले अनुवाद गरेको बेन्यामिनको उपन्यास ‘खबुज’, दिनेश काफ्लेले नै अनुवाद गरेको नयनराज पाण्डेको ‘उलार’को अंग्रेजी संस्करण पनि बजारमा ल्याउने तयारीमा रहेको भारीले बताए।

तुलसी दिवसको ‘नेपाली लोककथा,’ कुमार नगरकोटीको कथासंग्रह ‘कल्पग्रन्थ,’ वासु शशीको कवितासंग्रह ‘पर्खाल लगाए धेरै थोक बाहिर पर्छ,’ गिरीश्रृष मगरको कवितासंग्रह ‘एकलव्यको देब्रे हात,’ मल्ल के. सुन्दरको उपन्यास ‘विमुक्ति’ सुजित मैनालीद्वारा अनुदित इरावती कर्वेको ‘युगान्तः महाभारतको महामृत्यु’, खगेन्द्र संग्रौलाको ‘सत्ता र सत्य’ गनेस पौडेलद्वारा अनुदित जोन स्टेनबेकको ‘अफ माइस एण्ड मेन’को नेपाली अनुवाद’मुसा मानुष’  लगायतका केही पुस्तक दशैंअघि सार्वजनिक गर्ने तयारी रहेको बुकहिलका अध्यक्ष भूपेन्द्र खड्काले बताए ।

‘साहित्यका केही पुस्तक पारखीले किताब खोजे पनि कलेज तथा स्कुलका पुस्तक खोज्ने कोही आएका छैनन्।’

किताबको अर्डर अत्याधिक आएको तर डेलिभरी दिन नसकिएको बताउँदै किताब यात्राका अध्यक्ष ऋषिराम अधिकारीले भने–‘घरमा बसेका मानिसले पढ्न पाएका छैनन् भने हामीले सेवा दिन सकेका छैनौ।’ निषेधाज्ञा जारी गर्नुअघि दैनिक चारपाँच सय अर्डर आएको र आफूहरूले दैनिक २ सय ५० वटा डेलिभरी दिएको बताउँदै अधिकारीले भने– ‘किताबलाई पनि अत्यावश्यक वस्तुमा राखेर सरकारले सेवा सुचारु गर्न दिनुपर्छ’

मञ्जरी पब्लिकेसनले लकडाउनबीचमा दीपक सुवेदीको ‘सजिलो नेपाली वर्णविन्यास’  राहुल साङ्कृत्यायन ‘बौद्ध दर्शन’ र गणेशप्रसाद लाठको अघटित (व्यंग्य उपन्यास) बजारमा ल्याएको छ भने दशैंअघि लक्ष्मण आचार्यको ‘ध्यान र योग’ मदनमणि दीक्षितको ‘मेरो देश मेरो संसार’,  मनुजबाबु मिश्रको  ‘विश्वकलाको इतिहास’  त्रिरत्न मानन्धरको ‘नेपालीको इतिहासमा जंगबहादुर’ आचार्य चतुरसेनको ‘वैशालीकी नगरवधू’(अनुवाद), विनोद दीक्षितको ‘मेरा यात्राका कथा’ (संस्मरण)   हिमाल सुब्बा गुराँसको ‘सिर्जनाका फूल’ (कविता)लगायतका किताब ल्याउने तयारी गरेको मञ्जरी पब्लिकेस कृष्ण अविरलले बताए।  

अहिले पुस्तकको अनलाइन अर्डर राम्रो छ तर सेवा दिन नसकिएको थुप्रै डटकमका दिपेश आचार्यले बताए। दैनिक सयभन्दा बढी अर्डर आएको बताउँदै आचार्यले भने–‘निषेधाज्ञा भएकाले सेवा दिन सकिएको छैन। निषेधाज्ञा अगाडि दैनिक काठमाडौ ६० भन्दा बढी डेलिभरी दिएका थियौ।’

आरआर क्याम्पस अगाडि कालिञ्चोक पुस्तक पसलका सञ्चालक पुस्कर कार्कीले अहिले किताबको बिक्री निकै घटेको बताउँदै उनले भने– ‘साहित्यका केही पुस्तक पारखीले किताब खोजे पनि कलेज तथा स्कुलका पुस्तक खोज्ने कोही आएका छैनन्।’

प्रकाशित: १२ भाद्र २०७७ ०९:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App