coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

‘तीनपाते’ अर्थात् युवालाई स्वदेशमै बस्न उत्प्रेरित गर्ने ‘म्युजिकल फिल्म’

गीतकार हर्क साउदले लेखेको ‘के माया लाग्छ र...?’ बोलको गीतले धेरैको मन जितिरहेको छ। युट्युबमा करोडभन्दा बढी भ्युज बटुलिसकेको छ। निशान भट्टराई र एलिना चौहानले गाएको गीतको भिडियो नवीन चौहानले निर्देशन गरेका हुन्। जुन गीत मन पराएर सामाजिक सञ्जालमा फोटो क्याप्सन तथा टिकटकमा भिडियो बनाउने क्रम अझै घटेकाे छैन।

फेरि नवीन र हर्कको सहकार्यमा अर्काे गीत सार्वजनिक भएको छ– ‘तीनपाते’ । केही दिनअघि सार्वजनिक यो गीत सुजन चापागाईं र विद्या तिवारीले गाएका हुन् । सार्वजनिक हुनेबित्तिकै यो गीतले पनि चर्चा पाइरहेको छ। यसको टिकटक भिडियो बनाउनेको संख्या बढिरहेको छ। युट्युबमा पनि भ्युज पाइरहेको छ।  

‘म्युजिकल फिल्म’ भनिएको गीतको भिडियोमा अंग्रेजी  सबटाइटलसमेत राखिएको छ। करिब १० मिनेटको म्युजिक भिडियो छोटो फिल्म हेरेजस्तै लाग्छ।  

देखेर तिमीलाई  

हेरेर तिमीलाई तिमीलाई

भेटेर तिमीलाई सम्झेर तिमीलाई

मनै मनमा माया तीनपाते भइदियो..

उक्त म्युजिक भिडियोमा पूर्व पाँचथरको छुर्पी व्यापारीको कथा छ। पूर्वी समाजको दृश्य देख्न सकिन्छ। अनि त्यहाँको भाषा–संस्कृति र लवजलाई गीतमा ‘क्याप्चर’ गर्न खोजिएको छ।  

गायिका विद्या र गायक सुजनका अनुसार ‘तीनपाते’ एउटा कथा बोकेको ‘म्मुजिकल फिल्म’ हो।  

छुर्पी व्यवसायमा संलग्न पात्रले सानै उमेरदेखि सुखी जीवनको कल्पना गर्छ। त्यही कथालाई गीतकार हर्क साउद र भिडियो निर्देशक नविन चौहानले म्युजिक भिडियोमा उतारेको उनीहरू बताउँछन् ।  

‘सानैदेखि छुर्पी व्यवसायबाट भविष्य सुन्दर बनाउने र छुर्पी उत्पादनलाई व्यावसायिक स्वरूप दिने योजना बनाएका हुन्छन्,’ सुजन भन्छन्, ‘पछिल्लो समय रोजगारीका लागि बिदेसिने युवाको कथा देखाइएको छ।’

‘पूर्वको कथालाई गीतमा उर्तान खोजिएको छ। पूर्वीय ‘प्याटर्न’ मा गीत बनाइएको छ। त्यहाँको कल्चरलाई पनि गीतले छोएको छ,’ विद्या सुनाउँछिन्। यो गीतबाट जीवनमा ठूलो सन्तुष्टि मिलेको उनी बताउँछिन्।  

यस्तै खुसी र आनन्द सुजनले पनि अनुभूति गरिरहेका छन्। गीतको  ‘कम्पोज’ उनी आफैँले गरेका हुन्। यो पाटोलाई मिहिनेत गरिएको उनी सुनाउँछन्।  

संगीत सिक्दै गरेकाले उनलाई गीतको कथालाई न्याय गर्न सक्छु कि सक्दिनँ भन्ने लागिरहेको थियो । उनलाई  नवीनले गीतको ‘कन्सेप्ट’ सुनाए। उनको आत्मबल बढ्यो।  

नवीनको स्क्रिप्टअनुसारै उनले कम्पोज गरे। अहिले गीतलाई स्रोता/दर्शकले मन पराइदिएका छन्। सुजनले ढुक्कको सास फेरेका छन्। नवीनले आफूलाई ठूलो गुन लगाको सुजन बताउँछन्। किनकि नवीनले आग्रह नगरेका भए उनले यति राम्रो गीत गाउन पाउने थिएनन्।  

‘नवीन दाइले ‘प्रप्रोज’ गर्नुभयो। फरक खालको ‘कन्सेप्ट’मा काम गरौं भन्नुभयो, तर मनमा डर लागिरहेको थियो,’ उनी भन्छन्, ‘तर अहिले गीत रिलिज भयो। सबैले मन पराइदिनुभएको छ। ढुक्कले निद्रा लागेको छ।’

विद्या भन्छिन्, ‘हरेक युवाले विदेश जाने सपना साँचेका हुन्छन्। त्यही कथालाई १० मिनेटभित्र गीतमा समेटिएको छ। यसकारण पनि म्युजिकल फिल्म भन्न मिल्छ।’  

गीत मीठो हुनलाई गायिकी पनि उतिकै महत्वपूर्ण हुन्छ। संगीत र अवाजको पनि उत्तिकै तारतम्य मिल्नुपर्छ। अनि मात्रै गीत मीठो हुन्छ। यही कुरालाई ध्यानमा राखेर निकै मिहिनेत गरिएको सुजन र विद्या बताउँछन्।  

‘गीतको कथा सुन्नेबित्तिकै मनपर्याे’ विद्या भन्छिन्, ‘हामी भौगोलिक हिसाबले हेटाैँडा र चितवनको संस्कृतिमा हुर्किएका। पूर्वको संस्कृतिसँग नजिक थिएनौं। पूर्वको प्याटनलाई गाउन आफैंमा चुनौती थियो। तर आज सबैको मिहिनेतले गीत रुचाइएको छ।’  

म्युजिकल फिल्म हो। नेपालीपन देखाइएको छ। नेपाली माटोलाई नै चित्रण गरिएको छ। यसकारण पनि गीतलाई रुचाइएको विद्या बताउँछिन्।  

यो सामूहिक काम भएकाले यसमा सबैको उत्तिकै मिहिनेत भएको विद्या सुनाउँछिन्। आवाजले मात्रै पनि हुँदैन। समूहकै मिहिनेत गएको हुन्छ।  

विद्या भन्छिन्, ‘गीतले विदेशको सपना बोकेका युवालाई नेपालमै रहेर काम गर्न उत्प्रेरित गर्छ । नेपालमा पनि थुपै्र सम्भावना छन् भन्ने सन्देश दिन्छ।’

‘गीत राम्रो हुनुमा अभिनयको पनि उत्तिकै भूमिका छ। भिडियो बनाउन ६ महिना लागेको हो। गीत छायांकनको भूगोल पनि काठमाडौंबाट निकै टाढा थियो। काम आफैंमा चुनौतीपूर्ण थियो। यसकारण सबैको कडा मिहिनेतले नै गीत राम्रो भएको हो,’ सुजनले थपे। 

सुजनका लागि यो पहिलो गीत हो। उनले यसअघि नै केही गीत रेकर्ड त गराइसकेका छन्, तर रिलिज हुन बाँकी छन्। सुजन भन्छन्, ‘पहिलो गीतले यतिको माया र साथ पाउनु मेरा लागि सौभाग्य नै हो। अर्काे गीतका लागि प्रेरणा मिलेको छ।’  

चितवनमा जन्मिएका हुन्, सुजन। बाल्यकाल उतै बित्यो। उनलाई पनि सानै उमेरदेखि गीत गाउन मनपथ्र्याे। स्कुले जीवनमा पनि धेरै गीत गाए। थुप्रै पुरस्कार पनि पाए।

सबैका बुबाआमाको मनमा आफ्ना सन्तानले राम्रो गरुन् भन्ने हुन्छ । सुजनका बुबाआमाको इच्छा पनि त्यस्तै थियो।

सुजन उच्च शिक्षाका लागि काठमाडौं आए। अहिले उनी शास्त्रीय संगीत सिक्दैछन्। उनी चण्डीप्रसाद काफ्लेका विद्यार्थी हुन्।  

‘घरमा आमाले पनि गीत गाउनुहुन्थ्यो। रेडियो/टेलिभिजनमा लोकगीत बज्थे। सुनेर आफैं पनि गुनगुनाउँथें । त्यही हुटहुटीले पनि संगीततिर डोर्यायो,’ उनले अनुभव सुनाए।  

विद्या पनि गीत/संगीत क्षेत्रमा नयाँ नाम होइन। उनले यसअघि पिच रोड, घाममा सुकाइदेऊ, झुम्का, तिम्लाई म के भनूँजस्ता चर्चित गीत गाइसकेकी छन्।  

उनको बाल्यकाल हेटौंडामा बित्यो। स्कुल पढ्दादेखि नै गीत गाउँथिन्। सबैले गीत गाउन हौस्याउँथे। घरपरिवारले पनि संगीत क्षेत्रमा लाग्नुपर्छ भन्ने सल्लाह दिन्थे। बुबा पनि गीत गाउँथे। घरमा सांगीतिक माहोल नै थियो। यसै क्रममा उनी चर्चित रियालिटी सो ‘नेपाल आइडल’ र ‘भ्वाइस अफ नेपाल’ मा सहभागी भइन्। त्यसपछि एकाएक उनको चर्चा चुलियो।

‘रियालिटी सो एउटा प्लेटफर्म हो। यसले कन्फिडेन्ट बढाउँछ। विजेता नै हुनुपर्छ भन्ने छैन । यसले धेरै कुरा सिकाएको छ मलाई,’ उनले सुनाइन्।  

विद्या र सुजन नेपाली गीत/संगीत क्षेत्रका उदाउँदा तारा हुन्। यही क्षेत्रमा केही गर्ने अठोट उनीहरूको छ। पहिलो गाँसमै मीठो भेटेका सुजन संगीतको समुद्रमा पौडिन निकै बाँकी रहेको बताउँछन्।  

सुजन भन्छन्, ‘सांगीतिक यात्रा भर्खर सुरुवात भएको छ। पहिलो गीतले मलाई ऊर्जा मिलेको छ। अझ आफूलाई राम्रो बनाउने कोसिस गर्छु।’  

विद्या भन्छिन्, ‘संगीत जगतमा नयाँ स्वाद दिन मन छ। ठूलो भीडमा आफूलाई फरक देखाउन चाहन्छु। म आफूलाई संगीतको विद्यार्थी नै ठान्छु। सिक्दैछु । अबका दिनमा अझ राम्रो गर्ने कोसिस गर्छु।’  

प्रकाशित: १ भाद्र २०७७ ०९:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App