७ वैशाख २०८१ शुक्रबार
कला

लस भेगसको रातले बल्झाएको रोमाञ्चक याद

नियात्रा

खेमराज पोखरल  

काठमाडौँका मेरा मर्निङ वाकका एकजना मित्रलाई सम्झेको छु यो बेला । दुईचार वर्ष पहिलेको कुरा हो । साथी धेरै मजाकिया थिए । र भन्ने गर्थे, ‘संसारको एक ठाउँमा जान मन छ सर ।’

म सोध्थेँ – ‘कहाँ ?’

उनी जवाफ दिन्थे – ‘लस भेगस ।’ 

म सोध्थेँ – किन लस भेगस नै ।

उनी जवाफ दिन्थे – ‘वाह उन्मुक्त हुन पाइन्छ रे । सुरा, सुन्दरी र जुवा । जीवनमा एकवार । हे प्रभु ।’

अनि हामी ननभेज कुरा पनि मिसाएर खूब हाँस्थ्यौँ । रमाइलो के थियो भने चक्रपथ नजिकैको सालीको चिया दोकानको फुटफाथमा बसेर उनका मीठामीठा धेरै भेज थोरै ननभेज कुरा सुन्न र रामदेव स्टाइलमा हाँस्न मर्निङ वाकका अरू पनि आइपुग्थे र एउटा मजाकिलो महफिल जम्थ्यो । वातावरण उन्मुक्त हुन्थ्यो ।

अनि त्यो बेला म साथीलाई जिस्क्याउथेँ –  ‘यो जुनीमा लस भेगस त त्यत्तिकै होला यार,‘ लास भगाइस्’ चाहिँ हुन्छ होला हौ।’

चियाको चुस्कीसँगै हामी मरीमरी हाँस्थ्यौँ । यो एउटा विशुद्ध चिया–गफ थियो ।सायद त्यो बेला लस भेगस हाम्रा लागि पहुँचबाहिरको थियो होला । न हाम्रो कर्म त्यसतर्फ थियो न हैसियत । तर समयान्तरमा मलाई संयोगले लस भेगस जुरेको छ । सन् २०१८ को अक्टोवरमा नै म माइली छोरी मनू पढ्दै गरेको अमेरिकाको युटाह राज्यको साल्टलेक सिटीमा एकाध महिना टन्डेली मार्न आइपुगेको छु । मैले साथीसँग गरिएको कुराकानीलाई सम्झेर पनि लस भेगस जाने मेसो मिलाएको छु ।  

पत्ता लगाएँ, साल्टलेक सिटीबाट ५÷६ घण्टाको गुडाइ दूरीमा रहेछ लस भेगस । अमेरिकाको नेभादा राज्यमा पर्दो रहेछ लस भेगस । तर, लस अमेरिकाको मात्र नभएर संसारकै एउटा प्रशसद्ध शहर हो यो लस भेगस । अनियोजनाअनुसार म, मेरी श्रीमती सुशा, छोरी मनू र ज्वाइँ जय चार जना गुडेका छौँ चिल्ला बाटामा सललल । दिन नोवेम्बर १७, २०१८ को हो । सामान्य अडबाङ्गे उपत्यका बनाउँदै बनेको भुइँ र त्यसमाथि थुप्रिएका हिउँका रास हेर्दै बाटो काटिँदै छ । बाटामा हरियाली बिलकुलै छैन । किनकि यो मरुभूमि क्षेत्र हो । त्यसैले प्रकृति उजाड छ । धरती सेताम्य र फुस्राम्य छ । नेपालका हरिया वनपाखा देखेका मेरा आँखा यो उजाड  मरुभूमिजस्तै ठाउँ देख्दा नेपाल नै खोज्दै छ । परपर धेरै फराकिला तर फुस्रा पाखा–मैदान देखिँदै छन् । जहाँ लेकाली भेडाका बथानहरू चरिरहेका थिए । त्यस्तै फाँटहरूमा कफी कलरका एक रङ्गा गाईहरू पनि चरिरहेका देखिन्थे । घाँसलाई सुकाएर मेसिनले पेलेर माम्रीजस्तो बनाएर बनाइएका ठूल्ठूला बण्डल सुकेका घाँसहरू फाँटमा देखिन्छन् । यो कुरा भने हाम्रो नेपालको परालको मचान लाउने प्रयोजन सन्दर्भसँग मिल्थ्यो । बाटोभरि माइलका माइल बस्ती र घर देखिन्नन् । कतैकतै टिनका गोठ–घर छाप्रा देखिँदै छन् । नेपालमा देखेको भन्दा नितान्त फरक थियो त्यो फाँट तर गाडीभित्र भने हाम्रो नेपाली साम्राज्य थियो । गाडीभित्रको स्टेरियोले नेपाली लोकगीत घन्काइरहेको थियो ।नेपाली वनपाखा सम्झाइरहेको थियो । कुमार बस्नेत, राम थापा, मिरा राणा जस्ता लोकगायक हस्ती बजिरहेथे । मैले अमेरिकामा जति नेपाली गीत सुनेँ, त्यति त नेपालमा सुनेकै थिइनँ । झन् गायकको त नाम पनि थाहा थिएन । तर यो यात्रा अमेरिकाको भए पनि गाडीभित्र नेपाल थियो । नेपाली गीत थियो । नेपाली गायक थिए । नेपाली हुनुको मजा त्यतिबेला धेरै नै बोध भएको थियो । म नेपालमा बस्ता भावनात्मक रूपले जति नेपाली थिएँ, त्योभन्दा कैयौँ गुणा बढी नेपाली भएको छु । किनभने मबाट भौतिक रूपमा नेपाल खोसिएको छ । मसँग जे छैन त्यसको माया र सम्झना झन् मजबुत हुँदोरहेछ । यसलाई तपाईँहरू ‘स्वाङ पार्यो बूढाले’ नभनी दिनुहोला । यो बोधले नेपाली हुनुको गौरव अनुभूत गरेको छु । 

एकदुई घण्टाको यात्रापछि युटाह राज्य सकिएर नेभादा राज्य सुरु भएको छ । एउटा मजाको कुरा– युटाह राज्यमा इसाइकै एक कट्टरपन्थी सम्प्रदाय मर्मनहरूको शासन भएकाले अल्कोहल आदिमा निकै लिमिटेसन गरिएको रहेछ । तर युटाह राज्य छिचोलेर नेभादा राज्य छुनेबित्तिकै त्यहाँको बजार अति सस्तो सायद अमेरिकाकै सबैभन्दा सस्तो अल्कोहलका लागि निकै प्रसिद्ध रहेछ । युटाह, एरिजोना र नेभादा राज्यका हजारौँ मान्छे अल्कोहल किन्न मात्र पनि त्यो फुच्चे शहरको यात्रा गर्दारहेछन् । हामी लस भेगस पुग्दा दिउँसो ३ बजेको थियो।

पुग्नुभन्दा पहिले नै मैले लस भेगसका बारेमा हल्का जानकारी लिएको छु । किनकि कुनै ठाउँको यात्रा गर्दा त्यो ठाउँको भौगोलिक, सामाजिक, सांस्कृतिक वा पर्यटकीय जानकारी लियो भने यात्राको प्रयोजन पूर्ण हुने हुन्छ । यसअनुसार जनसङ्ख्याका हिसाबमा लस भेगस अमेरिकाको २८ औँ ठूलो सहर हो रहेछ। यो अमेरिकाको नेभादा राज्यमा पर्दोरहेछ । गजबको कुरा त के भने यो लस भेगस सहर पूरापूर ‘मोजाभा’नामको मरुभूमिमा निर्माण भएको रहेछ ।सन १९०५ भन्दा पहिले यो ठाउँ विशुद्ध मरुभूमि नै रहेछ । अमेरिकीहरूले यो मरुभूमिलाई सहरको रूपमा विकास गर्ने सोच गरेर सहर निर्माण कार्य सुरुगरेका रहेछन् । मान्छेको बसाइँसराइ भने सन १९११ बाट हुनु थालेछ । र त्यसको सय वर्षभित्र त यो सहर अमेरिकाको मात्र नभएर संसारकै एक गिनेचुनेको ड्रिम–सहरमा रूपान्तरण भइसकेको छ । यसको कारण भने यो सहरलाई रिजोर्ट, होटल, म्यारिज सेरेमोनी, र रात्री जीवनका लागि निर्माण गरिनु रहेछ ।सन १९३१ मा नेभादा राज्यले यो सहरलाई जुवा, रात्रीजीवन र अल्कोहलयुक्त बनाएपछि त यो सहरको विकास ज्यामितीय गतिमा विकास भएछ । अहिले आइपुग्दा त यो सहर अन्तर्राष्ट्रिय रूपमै रिजोर्ट, ग्याम्बलिङ तथा रात्रि जीवनका लागि प्रशिद्ध भएको छ । यसोभएकालेयो सहरलाई “इण्टरटेन्मेण्ट क्यापिटल अफ द वल्र्ड” भनिँदो रहेछ ।यहाँ अमेरिकाको व्यापारिक, प्राज्ञिक तथा अन्य सभा सेमिनार हुने सहरमा तेस्रो पर्दो रहेछ । संसारभरबाट सभा सेमिनार गर्न मान्छेहरू यो सहरमा आउने गर्दा रहेछन् । किनभने ट्रिपल ‘ए’ फाइभ डायमण्ड होटलहरू यहाँ छन् । हवाइ फेयर सस्तो छ । होटल पनि तुलनात्मक रूपमा निकै सस्ता छन् । यो सहर संसारको नै एउटा ठूलो पर्यटन केन्द्र रहेछ । संसारभरका मान्छेहरू एकपल्ट लस भेगस पुग्ने सपना बोकेर बसेकै हुने रहेछन् । किनकि यो सहरमा एडल्ट एक्टिभिटिज हुने भएकाले यसलाई ‘सिन सिटी’को संज्ञा पनि दिइएको रहेछ ।

यति जानकारी पाएपछि झन सारो मलाई लसभेगसको आकर्षणले तानेको तानै छ । लसभेगसको मजा भनेकै रात्रिकालीन जीवन हो । दिउँसो त यो सहर फुङ्ङ हुने रहेछ । यसै बिच ज्वाइँले भन्नुभयो – अहिले ३ बजे नै होटल पसेर के गर्नु ! बरु हुभर ड्याम हेर्न जाऔँ ।

अनि म आफ्नो मोबाइल निकालेर हुभर ड्यामको के आकर्षण हो भनी हेर्न थालेको छु । बिचबिचमा छोरी र ज्वाइँले अथ्र्याउँदै छन्। हुभर ड्यामको महत्ता बताउँदै छन् ।हामी लस भेगसकै पल्लो छेउमा रहेको हुभर ड्याममा पुगेका छौँ ।

अमेरिकाको नेभादा र एरिजोना राज्यको सिमानामा रहेको कोलोराडो रिभरको ब्ल्याक क्यानिअनमा निर्मित भएको अभूतपूर्व बाँध रहेछ हुभर ड्याम । यो बाँधका बारेमा सन् १९०० देखिनै फिजिबिलिटी अध्ययन थालिएको रहेछ । यो बाँधका मुख्य उद्देश्य र आवश्यकता जनतालाई बाढीबाट जोगाउनु,  सिँचाइ गर्नु र विद्युत उत्पादन गर्नु रहेछ । अध्ययनको प्रकृया, कानुनी र प्राविधिक प्रकृया गर्दागर्दा यो बाँध बन्न सन् १९३१ देखि १९३६ सम्म लागेको रहेछ । यो बाँध अचम्मको छ । यस्तो बाँध अमेरिकामा योभन्दा पहिले थिएन । यो अमेरिकाको सिक्स कम्पनीले बनाएको हो रहेछ । सन् १९३५ को सेप्टेम्बरको ३० तारीखका दिन राष्ट्रपति फ्र्याङ्कलिन डी रुजवेल्टले ग्रेट डिप्रेसन मुडमा यो बाघलाई उद्घाटन गरेका थिए रे । किनभने यो बाँध बनाउन हजारौँ कामदारले योगदान दिएका थिए भने एक सय जना कामदार यसै बाँध बनाउँदा बनाउँदै मरेका थिए रे । 

सन् १९३१ मा यसको नाम बुल्डर ड्याम थियो । पछि सन् १९४७ मा राष्ट्रपति हर्वर्ट हुभरको नाममा अमेरिकी काङ्ग्रेसले यसको नाम हुभर ड्याम राखेछ । यो बेला मेरा मनमा नेपाल आइपुगेको छ । नेपालमा पनि पुराना ऐतिहासिक नाम हटाएर नयाँ नाम राख्न होड नै चलेको छ । अमेरिकामा पनि तिनताका यो ‘नाम फेर’ मनोविज्ञान रहेछ । जे होस् यो बाँध पनि पूरै संसारको पर्यटनको एउटा केन्द्र हो रहेछ ।खासगरी सिभिल र आर्किटेक्ट इन्जिनियरहरूका लागि यो एउटा अभूतपूर्व र अचम्मको जिज्ञासाको गन्तव्य रहेछ ।हाम्रा सामान्य दिमागले यो बाँधको वर्णन पनि गर्न नसक्ने रहेछ । कस्तो उदेक लाग्दो कस्तो अचम्म , अहा कसरी पो बनाए होला यस्तो बाँध । हुन त नपुगेका मान्छेले सहजै भनिदिन्छन् , जाबो एउटा बाँधको यस्तो चर्चा  तर सत्ते यो बाँध अहिलेसम्म पनि इन्जिनियरहरूलाई चुनौती हो रहेछ । हरेक वर्ष मिलियनौँ पर्यटकहरूले यो बाँधको भ्रमण गर्दा रहेछन् । अमेरिकी हाइवे ९३ यसै ड्यामको माथिबाट गएको रहेछ । तर सन् २००१ को अमेरिकामा आतङ्कवादी हमलापछि भने यो रुटमा चेकजाँच गरेर मात्र गाडी लैजान पाइने व्यवस्था गरिएको छ । पृथ्वीको गर्भदेखि तल्लैतल्ला भएको यो ड्याममा म्युजियम, होटल, रिजोर्ट लगायतका धेरै दोकानहरू छन् । ड्याम पारि पुगेर एरिजोना राज्यमा गाडी पार्किङको व्यवस्था गरिएको रहेछ ।

हुभर ड्याम हेर्दाहेर्दै साँझ परिसकेको छ । हामी फर्किएर फेरि लसभेगस आएका छ । होटल पेरिसमा हाम्रो कोठा बुक छ । होटलको एउटा निकै तले बिल्डिङका सबै तला नै गाडी पार्किङ रहेछ । खै कतियौँ तल्लामा हो हामीले गाडी पार्क गरेका छौँ । र होटलको कोठा खोज्दै छौँ । हामी बसेको कोठाको स्तर बर्गण्डी रुम रहेछ । यो ननस्मोकिङ रुम रहेछ।होटलका कोठालाई पनि स्मोकिङ र ननस्मोकिङ भनेर छुट्याइएको हुने रहेछ । यो होटल ४ तारे हो रहेछ । सिजर्स इन्टरटेनमेन्ट कोर्पोरेसन भन्ने कम्पनीको स्वामित्वमा रहेछ यो पेरिस होटल । यो होटल एकदम केन्द्र भागमा रहेछ । जम्माक्यासिनोमा ९५२६३ स्क्वायर फुटमा रहेको होटल हो रहेछ जसमा १७०० स्लोट मेसिन याने कि जुवा खेल्ने मेसिन जडान भएका रहेछन् ।पेरिस होटलको ठिक अगाडिपटिट फ्रान्सको इफेल टावरको ५४० फिट अग्लो रिप्लिका उभिएको छ । त्यो रिप्लिका हेर्दा पेरिस पुगेको भान भएको छ। यो होटल ७६० मिलियन डलरको खर्चमा बनेको रहेछ ।सन १९९९ मा बनाउन सुरु गरेको यो होटलमा अहिले ३३ तला रहेछन् ।होटल साँच्चीकै भीमकाय रहेछ ।

होटलमा पुगेर थकाइ मारेर बस्दा निकै आराम भएको छ । हामी होटलको २६ औँ तलामा छौँ । होटल–कोठाका झ्यालबाट लसभेगस सहर हेर्दा फुच्चे देखिएको छ । तर अरू अग्लाअग्ला होटलहरू भने यस्तै अग्ला देखिएका छन् । लस भेगस आइपुगेपछि हेर्ने मुख्य कुरा नै रात्री–जीवन हो । हामी रात्रि जीवन हेर्न सडकमा झरेका छौँ । यो सडकबाट हेर्दा पुरै लसभेगस सहर बिजुलीका चहकमा चम्केको छ । लाग्दै छ, मानौ यो स्वर्ग हो । अन्तरिक्षबाट हेर्दा पृथ्वीमा देखिने बस्तुमा लसभेगसको लाइट सबैभन्दा टडकारो हो रे ।यो बेला एउटा कुरा भनिहाल्न जरुरी भएको छ । मैले लसभेगसको कुरा नेपालमा सुन्दा पुरै लसभेगस सहर नै रात्रिकालीन जिन्दगीको लागि हो भन्ने बुझेको थिएँ । तर यो कुरा भने होइन रहेछ । लस भेगस सहर अमेरिकाका अन्य सहरजस्तै सामान्य जीवन यापन गर्दो रहेछ । यहाँसम्म कि डाउन टाउन पनि रात्रिकालीन जीवनबाट टाढा रहेछ । रात्रिकालीन जीवन, क्यासिनो, खुला अल्कोहल आदि हुने ठाउँ भनेकोे साउथ लस भेगस बुलेवार्डमा मात्र रहेछ । यसलाई ‘द स्ट्रिप’ भनी पुकारिँदो रहेछ । यो रात्रिकालीन जीवन भएको ‘द स्ट्रिप’ सडक जम्मा ४.२ माइल (६.८ किमी) मात्र रहेछ । यो सडक साँझको करिब ७ बजेदेखि बिहानको ४ बजेसम्म जाग्दो रहेछ । यसै सडकमा होटल र क्यासिनोहरू रहेछन् । र मान्छे यसै सडकमा खुला रूपमा रक्सीका ग्लास लिएर आफ्नी÷आफ्ना सँग अँगालिएर, च्यापिएर, चुम्मिएर हिँड्दा रहेछन् । सडकमा ओहोर दोहोर गरिने रहेछ । यो सडक रात्रिकालमा मात्र जाग्दो रहेछ । दिउँसो त यो ठाउँ चुपचाप सुत्दो रहेछ । यो सडकमा, होटलमा ठूलाठूला सोरुम, सपिङ मल, जताततै थिएटर र रात्रिकालीन क्लबहरू रहेछन् । यो हेर्दा लाग्दथ्यो साँच्ची संसार निकै स्वतन्त्र छ ।

हामी बसेको होटलमा निकै ठूलो छतलाई आकाश बनाइएको रहेछ । दुरुस्त आकाश देखिने त्यो ग्याम्लिङ हलले खुला चौर र निलो आकाशमा चम्केका ताराहरूको आभास दिलाएर भ्रममा पार्दोरहेछ । क्यासिनो भएकै ठाउँमा थिएटर पनि छ । थिएटरमा करिब करिब ९५ प्रतिशत नग्न भन्न मिल्ने नर्तकीहरू अङ्ग्रेजी गीतका, स्प्यानिस गीतका लयमा नाचिरहेको हेर्न पाइएको छ। यस्ता थिएटरहरू सडकतिर जताततै छन् । यो सडक र होटलमा आफ्नो प्रस्तुति दिन संसारभरबाट कलाकारहरू आएका हुन्छन् रे । यहाँ आएर गाउन पाउनु कलाकारको पनि इज्जतको सवाल हो रे ।

मान्छे त कुँडुलो परेर आइरहेथे । गइरहेथे । होटलका भित्तामा, सडकमा धेरै ठाउँमा जिगोलो, तेस्रो लिङ्गी, वा कुनै महिला चाहिएमा सम्पर्क गर्ने फोन नं। तथा इमेलहरू दिइएका थिए । बाटोमा झन्डै पूरापूर नग्न महिला उभिएका थिए । मान्छेहरू ५ डलर तिर्दै ती महिलासँग टाँसिएर फोटो खिच्दथे । जाडो महिना थियो । तर पनि सडकका पेटीमा तल प्यान्ट लगाएका र माथि शरीर नाङ्गै भएका छाती चौडा र सेक्सी देखिने पुरुषहरू उभिएका थिए । तिनीहरू जिगोलो थिए सायद । महिलाहरू ती पुरुषसँग कुरा गरिरहेका देखिएका छन् ।

मलाई भने यो बेला यो ठाउँ परिवारसँग आउने होइन रहेछ भन्ने लागेको छ । एकै तुरिया साथीसँग आउन पाएको भए कति रमाइलो हुँदो होला भन्ने लागिरहेको छ । त्यसैले यो लस भेगस तुरियासँग आउने ठाउँ रहेछ । मान्छेहरू सडकमै रक्सीका ग्लासहरू, बोतलहरू लिएर पिइरहेथे । हिँडिरहेथे । अझै मजाको कुरा लसभेगसले ककटेलको लागि आफ्नै ब्राण्डको लामो ग्लास बनाएको रहेछ र यो ग्लासमा ककटेल खानुको मजा नै बेग्लै ठानिदो रहेछ । यो मातेको हुल पनि कति सभ्य छ भने कसैले कसैलाई डिस्टर्भ गर्दैन । भीडमा पनि अर्कालाई छुँदैन । यो भने मेरा लागि अचम्म नै हो । किनकि मैले नेपालका मेलाहरूमा रातहरू बिताएको छु । त्यहाँ पनि यौन क्रियाकलाप भएको थाहा पाएको छु । तर नेपाली मातेपछि उपद्रो गरेर थेग्नै नसकिने परिवेश पनि देखेको छु । मान्छेबाट मान्छेलाई जोगाउन गारो भएको परिवेश पनि देखेको छु । खुकुरी हानाहान गरेर रगतपच्छे भएको परिवेश पनि देखेको छु । तर यहाँ त यस्तो हुल र भीडमा पनि मान्छे शान्त छ । स्थीर छ । सभ्य छ । त्यही पनि बेलाबेलामा पुलिसले साइरन बजाएर कुदिरहेको छ । 

हामी पनि एउटा रेस्टुरेण्टमा पसेर केही खानेकुरा खान थाल्यौँ । लस भेगस आएर पनि अलिकति अल्कोहल नखानु त जुलुम नै हुने कुरा हो रहेछ । त्यसो भएकाले हामीले अलिअलि वाइन, स्कच खाएका छौँ । 

 हामीले पनि अलिअलि मातिएरै सडक नाप्यौँ । यो सडकमा कृत्रिम रूपमा बनाइएका ज्वालामुखी अग्नि ज्वाला पनि रहेछ । तर त्यो दिन त्यो ज्वाला भने हेर्न पाइएन । बन्द छ । यो अग्नि ज्वालालाई ‘द माइरेज’ भनिँदो रहेछ । यसैगरी सडकसँग जोडिएको एउटा ठूलो पोखरी रहेछ । त्यो पोखरी हाम्रो जनकपुरको धनुषसागर जत्रो त होइन तर पनि ठूलो नै थियो । यो पोखरीको पानीबाट कृत्रिम पानीको फोहोरा बनाइएको रहेछ । यो पानीको फोहोरालाई ‘बेलाजियो फाउन्टेन’ भनिदो रहेछ । संगीतको तालमा केही मिनट बिराएर यो पानीको फोहोरा निस्कँदो रहेछ र केही सयौँ फिट माथिमाथि जाँदो रहेछ । केही मिनेटपछि त्यो फोहोरा शान्त बन्दोरहेछ । यो फोहोरा यति आकर्षक र सुन्दर लागिरहेको छ कि हजारौँ मातिएका मान्छे पोखरीको फलामे बारको छेउमा उभिएर यो दृश्य हेरिरहेका छन् ।

यस्तै थियो लस भेगस । रातको भलन्डै १बजेको छ । हामी हिँड्दाहिँड्दा यति थाकेका छौँ कि अघि पिएको स्कच बेकम्मा भएको छ ।  एकदम थाकेर हामी होटल छिरेका छौँ । लिफ्टले हामीलाई कोठामा पुर्याएको छ । हामी ओछ्यान भेट्नेबित्तिकै भुसुक्क निदाएछौँ सायद ।

भोलिपल्ट अबेरसम्म सुतिएछ । १२ बजेभन्दा पहिले होटल छोड्नु छ । अनि हामी हतारहतार तयार भएर १२ बजेको मुहुर्त जित्न खोज्दै छौँ । होटल बाहिर निस्केर आफ्नो गाडी समाएका छौँ । बाटोमा खाजा खाने हाम्रो योजना छ  र यसरी हामी फेरि छोरीको मुकाम युटाह फर्किएका छौँ । तर म यो बेला मान्छेको सक्कली रूप खोज्दै छु । बिनाखोलको मान्छे हेर्दैछु । आखिर मान्छे पद, प्रतिष्ठा, नियम समाज, चलन आदिले खासमा बाँधिएको हुने रहेछ । खास मान्छे त स्वतन्त्रता खोज्दो रहेछ । त्यो स्ट्रिपमा रक्सीका ग्लास लिएर खाँदै हिँड्न र उन्मुक्त हुन संसारभरिबाट हरेक दिन लाखौँ मान्छे आउनुले यही कुरा बुझाएको छ कि त्यसैले त मान्छेहरू लस भेगसमा रमाइलो गर्थे र जान्थे । आखिर मान्छे खासमा त उन्मुक्त हुन खोज्दो रहेछ भन्ने सन्देश दिएको छ लस भेगसले । धन्य छ लस भेगस । धन्य छ मान्छेको उन्मुक्तिको चेत ।  

प्रकाशित: ३१ श्रावण २०७७ ०७:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App