८ आश्विन २०७७ बिहीबार
कला

खुसीका आँसु

बालकथा

घनबहादुर थापा

 

अनुप र केशब एउटै टोलमा बस्थे । उनीहरू निकै मिल्ने साथी थिए । एक अर्कालाई औधी मन पराउँथे । खेल्न र घुम्न पनि सँगै जान्थे । घरमा मीठो मसिनो पाकेको बेलामा पनि बाँडीचुँडी खान्थे ।

एकदिन अनुपले भन्यो, 'केशब आज बजारतिर घुम्न जाऔं है । लकडाउन भएदेखि सँधै घरमा बस्दा बस्दा कस्तो दिक्क लागी सक्यो ।'

केशबले भन्यो, 'हो नि । सडकमा मोटरगाडीहरू चल्न थालिसके । बजार खुल्यो । हाम्रो स्कुल भने कहिले खुल्ने होला है ! तिमीले ठिक भन्यौ । मन शान्त पार्न पनि घुम्न जानुपर्छ । बजारतिर के कस्तो छ हेर्न पनि पाइन्छ । हुन्छ, जाउँ न त ।'

'कति जाती मेरो साथी,' अँगालो मार्दै अनुपले भन्यो, 'ल हिँडी हालौं है त !'

'हुन्छ,' केशबले भन्यो, 'बरू एकपटक बाबाआमालाई सोधेर आऊँ, अनि जाऔंला नि हुन्न ?'

'पर्दैन, अहिले एकछिनमै फर्कि हाल्ने त हो नि' अनुपले भन्यो, 'सोध्यो भने फेरि जानै दिनुहुन्न । कोरोना भाइरसको संक्रमण हुन्छ बजारमा नजानू भन्नु भो भने कसरी जाने ? अहिले फेरि बाबाले देख्नु भो भने गाली गर्नुहुन्छ, बरू झट्टै हिँडिहालौ ।'

केशबलाई पनि बजार हेर्न मन लागेको थियो । केही बोलेन । दुवै जना कसैले नदेख्ने गरी लुसुक्क घर बाहिर निस्के ।

बाटोमा मान्छेहरूले मास्क लगाएका थिए । यस्तो देखेर केशबले भन्यो, 'ओहो अनुप हेर त अरू मान्छेहरूले मास्क लगाएका छन् । हामीले त लगाउनै विर्सेछौं । म घरमा गएर लिएर आउँछु है ।'

'पर्दैन, पर्दैन' अनुपले भन्यो, 'एक छिनमै फर्कि हाल्ने त हो नि ! किन चाहियो मास्क ? फेरि कोरोना धेरै सानो हुन्छ रे मास्कबाट नि छिरिहाल्छ नि !'

केही पर पुगेपछि केशबले केही सम्झेझैं गरी भन्यो, 'ला अनुप, मैले त पैसा पनि ल्याउन भुलेछु । बाबाआमाको मोबाइल नम्बर पनि थाहा छैन मलाई त । घर बाहिर हिँड्दा के पर्छ कसो पर्छ, एकछिन यही बस है म गएर लिएर आउँछु ।'

'हत्तेरी, के के भन्छ भन्छ यो केटो ?' अनुपले झर्किंदै भन्यो, 'मैले त ल्याको छु र ! अघि घरबाट हतारमा हिँडियो । मसँग पनि केही छैन । पर्दैन, एकछिन मै फर्किहाल्ने त हो नि !'

केशब अवाक् भयो । जे भने पनि मान्दैन । 'कस्तो साथी हो यो ? यसलाई कोरोना सङ्क्रमण भइन्छ कि भन्ने डर पनि छैन । बाआमाको डर नि छैन,' केशबले मनमनै भन्यो, 'जे भने पनि एकछिन मै फर्किहाल्ने त हो नि, भनेर पो टारिदिन्छ ।' ऊ भुतभुतियो । मन अमिलो पार्दै अनुपको पछिपछि लाग्यो ।

केही छिनमा उनीहरू चौडा सडकमा पुगे । भर्खर लकडाउन खुलेको थियो । मान्छेहरू आआफ्नो धुनमा हिँडिरहेका थिए । धेरै मोटरगाडी सररर गुडीरहेका थिए । अनुप र केशब यही रमाइलो हेर्दै हिँड्दै निकै टाढा पुगे । उनीहरू सडक पारी जान चाहे । तर गाडीका ताँतीले जान सकेनन् ।

केशबले भन्यो, 'हेर त अनुप ऊ त्यहाँ पर आकासे पुल रहेछ । सबै मान्छेहरू त्यहींबाट सडक पार गरिरहेका छन् । हामी पनि त्यहीबाट जाऊँ ।'

'हुँदैन' अनुपले जिद्दी गर्दै भन्यो, 'हिँड्दा हिँड्दा म निकै थाकीसकें । त्यहाँसम्म पुग्न अल्छी लागेको छ । यहींबाट फुत्त जाऊँ न । छिटो पनि हुने हिँड्न दु:ख पनि नहुने !'

केशबले सम्झाउँदै भन्यो, 'ऊ त्यहाँ हेर त ट्राफिक प्रहरी । हामी यहाँबाट गयौं भने ट्राफिकले जरिवाना तिराउँछ । कुनै गाडीले झ्याप्पै किच्यो भने ज्यानै पनि जान सक्छ । त्यही भएर अल्छी नगर । बरू छिटो हिँड पुलबाटै जाऊँ ।'

अनुपले टेरेन । त्यहींबाट सडक काट्न खोज्यो । केशब पनि हैरान भयो । अनुप भने नजाऊ भन्दा भन्दै बीच सडकमा पुगिहाल्यो । एउटा गाडीले उसको खुट्टा कुल्चियो ।

'ऐया मरें नि बाबा', अनुप चिच्याउँदै सडकमा लड्यो । सबै गाडीहरू रोकिए । ट्राफिक प्रहरी आएर अनुपलाई अस्पताल लगे । केशब पछिपछि लाग्यो । मास्क नलगाएको भनेर प्रहरीले केशबलाई पनि गाली गरे ।

'घर कहाँ हो ?' प्रहरीले सोधे, 'बाबाआमाको नाम के हो ? फोन नम्बर कति हो ?'

'धापासी', केशबले बिस्तारै भन्यो । तर फोन नम्बर बताउन सकेन । के भन्ने ? ऊ लज्जित भयो र चुप लाग्यो । सम्पर्क नम्बर नभएकोले अस्पतालले उनीहरूका बाबाआमालाई खबर गर्न सकेन । तैपनि डाक्टरले अनुपको खुट्टामा प्लाष्टर गरिदिए । उपचार गरिदिए ।

'धन्न ज्यान चाँही बँच्यो', केशबले भन्यो, 'देख्यौ मैले भनेको नमान्दा कस्तो आपद पर्‍यो ?'

अनुप केही बोलेन । आखाबाट बररर आँसु खसाल्यो । केशबलाई अनुपको निकै माया लाग्यो । आफूहरूलाई परेको दु:ख सम्झेर उनीहरू रोए ।

'हामीले धेरै ठूलो गल्ती गर्‍यौ अनुप' केशबले निराश हुँदै भन्यो, 'घरबाट हिँड्ने बेलामा आमाबाबालाई सोधिएन । एउटा गल्ती भयो । कोरोनाको संक्रमणबाट बच्न मास्क नलगाई हिँड्यौं । अर्को गल्ती भयो । बाबाआमाको सम्पर्क नम्बर नलिई हिड्यौं । झन् ठूलो गल्ती भयो । फेरि बाटो काट्ने बेला आकाशे पुलको प्रयोग गरेनौं । गल्ती माथि गल्ती भयो । अब बाबाआमाले हामीलाई कहाँ खोज्नुहुन्छ, हँ ?'

'मलाई माफ गर साथी । मैले ठूलो गल्ती गरें । मेरो कारण अहिले दुवै जनाले सजाय भोग्दै छौं', अनुपले रूँदै भन्यो, 'अबदेखि यस्तो गल्ती कहिल्यै गर्दिन ।'

'माफी मसँग होइन, घरमा बाबाआमासँग माग्नुपर्छ, केशबले भन्यो, 'तर बाबाआमालाई पो के भन्ने ? घरमा कसरी जाने ?'

'भै गो बाबु, तिमीहरूले माफी माग्नु पर्दैन' केशब र अनुपका बाबाले एकैसाथ भन्नुभयो, 'मान्छेबाट गल्ती हुन्छ । तर गल्ती महसुस गरी सुध्रनु नै ठूलो कुरा हो । तिमीहरू दुर्घटनामा परेको खबर रेडियोबाट थाहा पाएर हामी यहाँ आएका हौं । अब चिन्ता नगर । सबै ठिक हुन्छ ।'

अहिले भने केशब र अनुपका आँखाबाट खुसीका आँसु बगे ।

प्रकाशित: ३१ श्रावण २०७७ १२:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App