७ वैशाख २०८१ शुक्रबार
कला

रिकोन

कथा

सन् २०१८, डिसेम्बरको अन्तिम दिन। सडकमा गाडीको चाप अत्यन्त कम थियो। अरू बेला नदीझैँ उर्लिने गाडीहरूको वेगलाई त्यस दिन सडकले त्यति धेरै धान्नुपरेको थिएन। अत्यन्त जरुरी काम परेकाहरू मात्र सायद गाडीमा हिँडेका थिए।  

जापानीहरूको सबैभन्दा ठूलो चाड नै नयाँ वर्ष हो। क्रिसमस त आंशिक हो रे। इसाई धर्मावलम्बी कम छन् रे जापानमा। सँगै काम गर्ने मोरिता सानले हिजो मलाई भनेको सम्झेँ।  

नयाँ वर्षमा बाबु–आमालाई भेट्ने, सँगै बसेर खाना खाने, वर्ष दिनभरिका दुःखसुख बाँड्ने गरिँदो रहेछ। बाबुआमा बितेकाहरू बाबुआमाको अस्तु गाडिएको चिहानस्थल पुगेर प्रार्थना गर्दा रहेछन्। कतिपय भने भने देश–विदेशको यात्रामा निस्कँदा रहेछन्। नयाँ वर्ष सुरु हुनु करिब एक साताअगाडि अर्थात् क्रिसमसबाटै बाटोघाटो शून्य देखिन थाल्छ। नेपालतिर दसैँ आउनुअघि देखिने माहोल होला जस्तो लाग्यो। वर्ष दिनभरि सम्बन्धहरूको रिचार्ज हुने बेला नै यही रहेछ।  

सडकको साइकल लेनमा साइकल कुदाउँदै छु म। साइकल लेनमा हरियो रंगको पिच गरिएको हुन्छ। साइकल यात्रीलाई पनि निकै सम्मान गरिने यो सभ्य मुलुकमा मेरो ध्यान सडक र साइकलमा भए पनि मनभरि अनेक कुरा खेलिरहेका थिए। नयाँ वर्षको दिन प्रायः सबै पसल पनि बन्द हुन्छन्, त्यसैले लगभग एक हप्ताको खाद्यान्न जोहोको कार्यक्रममा म पनि लागेकी थिएँ। अरू बेला महँगो पर्ने खाद्य सामग्री त्यस दिन केही छुटमा पाइएको थियो। पक्कै पनि लामो समय जोगाउन नसकिने भएर होला। अरू बेला एक हजार येन पर्ने रातो अंगुर र स्ट्रबेरी  तीन–चार सय येनमै पाइएको थियो। हरियो तरकारीको मूल्य पनि उत्तिकै कम थियो।  

आफूलाई पुग्नेजति सामान उठाएँ र घरतिर आएँ। नयाँ वर्षका कारण काम गर्ने ठाउँमा पनि बिदा थियो। मालिनीलाई भेट्न जाने योजनामा थिएँ। उनी नेपाली हुन्, म बसेको ठाउँदेखि नजिकै बस्थिन्। त्यहाँसम्म हिँडेरै १० मिनेटमा पुगिन्थ्यो। भर्खर किनेर ल्याएको अंगुरले मुख रसाएको थियो। झोलाबाट अंगुर निकालेर पखालेँ र कपाकप खाएँ। अति नै रसिलो र गुलियो रहेछ। बाँकी सामान फटाफट फ्रिजमा हालेँ र साथीकहाँ जान निस्किएँ।

‘अघि ढोकामा उभिएको पुरुषसँग माखीले हालसालै मात्र डिभोर्स गरेकी हुन्, दिदी। अघि हुलाकबाट जापानी भाषामा आएको चिठी नबुझेर सोध्न आएको रे। साथी त भए क्यारे, लोग्ने–स्वास्नी पो भएनन्। यिनीहरूको बोलचाल देख्दा डिभोर्सी हुन् जस्तो कहाँ लाग्छ र !’  

बादल लागेर धुम्म परेको दिन थियो। उसो त जापानलाई सूर्योदयको देश भनिन्छ। तर, जाडो महिनामा यो भनाइ कतै लागू हुन्न कि जस्तो लाग्यो। सूर्यको मुख झुलुक्क पनि देख्न पाइएको थिएन, चिसो स्याँठ चलिरहेको थियो। आजको तापक्रम कति डिग्री रहेछ भनेर मेरो मोबाइलमा हेरेँ। पाँच डिग्री रहेछ। जाडोको महसुस भने माइनस पाँच डिग्रीको जस्तो थियो। कस्तो अचम्म ! यस्तो चिसो हावा चल्ने ठाउँमा पनि जापानीहरू नांगो टाउको लिएर हिँडेका हुन्छन्। हम्मेसी टोपी नै लगाउँदैनन् उनीहरू। बरु, हावा नपसोस् भनेर कानमा इयरफोन जस्तो देखिने इयरमफ्स लगाउँछन्। तर, अहँ हतपत टोपी लगाउने मान्छे फेला पार्न मुस्किल हुन्छ। मनभरि यिनै कुरा खेलिरहे। म साथीको कोठाअगाडि पुगेर ढोका ढकढकाएँ।

‘दिदी ढोका खुलै छ भित्रै आउनू,’ भित्रबाट आवाज आयो। म ढोका घ¥याक्क पार्दै भित्र पसेँ। अपरिचित दुई अनुहार पनि उनको कोठामा थिए। गलत समयमा आइछु कि भनेर साथीको अनुहारमा प्रश्नसूचक दृष्टिले हेरेँ। कति छिटो मालिनीले मेरो मनोविज्ञान बुझेर र भनिन्, ‘असजिलो मान्नुपर्दैन दिदी, हाम्री जापनिज साथी हुन्। परिचय गरौँ बरु ?’

मतिर फर्र्किएर मालिनीले मेरो अनुमति मागिन्।  

‘ए भइहाल्छ नि। यो त मेरा लागि झन् खुसीको कुरा हो,’ मैले मालिनीतिर फर्किएर प्रशन्नता व्यक्त गरेँ।  

‘उनी माखी सान। हामी २०२ नम्बर कोठामा बस्ने, उनी २०३ नम्बर कोठामा। अगाडिको ढोका हो दिदी,’ हातको इसाराले २०३ नम्बर लेखेको ढोका देखाउँदै उनी बोलिन्।  

‘ए हो,’ मैले माखी सानलाई टाउको झुकाएर ‘हाजिमेमासिते, वातासिवा प्रभा देस्, दोउजो योरोसिकु ओनेगाइसिमास्’ (हेलो म प्रभा हो, तपाईंलाई भेट्दा खुसी लाग्यो) भनेँ। उनले पनि उसैगरी अभिवादन फर्काइन्। उनको नाम माखी सान। उनको नाम सुन्दा मलाई थोरै आश्चर्य किन लाग्यो भने नेपालमा झिँगालाई माखा पनि भनिन्छ, अब उनको नाम सम्झन माखा सम्झिए भयो।  

अस्ति भर्खर पनि स्याल्ली सान भन्नेसँग परिचय भएको थियो। उनलाई सम्झन पनि स्याल सम्झिए हुने रहेछ भनेर म मनमनै मुस्कुराएकी थिएँ। फेरि त्यही कुरा सम्झेर फिस्स हाँसेँ।  

माखी सानको काखमा एउटा चुलबुले हँसिलो छोरो थियो। उसलाई माखी सानले ‘हिकारी’ भनेर बोलाइरहेकी थिइन्। मैले हिकारी बुलेट ट्रेन त चढेकी थिएँ, तर हिकारीको अर्थ थाहा थिएन। यतिबेला माखी सानलाई त्यसको अर्थ के हो भनेर सोधिहाल्न पनि सकिनँ। हामी हलल्ल हाँसेको देखेर हिकारी पनि लहलहैमा हाँसेको थियो।  

‘दिदी किन हाँस्नुभयो ?’ मालिनीले मलाई पक्रिइन्। माखी सान र स्याल्ली सानका बारेमा उनलाई भनेपछि उनी पनि हाँसिन्। हामी हाँसेको कारण थाहा नपाएर सुरुमा माखी सान भने अलमल परिन् र ट्वाल्ल परेर हामीतिर हेरिरहिन्। हामी हाँस्नुको कारण मालिनीले खुलाइदिएपछि माखी सान पनि दिल खोलेर हाँसिन्। सानै कुरामा पनि हामी उन्मुक्त बनेर हाँस्न सकेकाले एकछिन भए पनि रमाइलो वातावरण बन्यो। लाग्यो, खुसी हुन ठूलो कुरा नचाहिने रहेछ।

माखी सानको काखमा एउटा चुलबुले हँसिलो छोरो थियो। उसलाई माखी सानले ‘हिकारी’ भनेर बोलाइरहेकी थिइन्। मैले हिकारी बुलेट ट्रेन त चढेकी थिएँ, तर हिकारीको अर्थ थाहा थिएन। यतिबेला माखी सानलाई त्यसको अर्थ के हो भनेर सोधिहाल्न पनि सकिनँ। हामी हलल्ल हाँसेको देखेर हिकारी पनि लहलहैमा हाँसेको थियो।  

मैले माखी सानलाई उनको छोरा देखाउँदै जापानी भाषामा सोधेँ, कति वर्षको भयो ?’

‘इची साई देस् (एक वर्षको भयो),’ उनले एउटा औँलो समेत देखाएर वर्षको संकेत गरिन्।  

‘ओहो ! सांकेतिक भाषा त नेपाल र जापानको एउटै रहेछ है ?’ मैले मनमनै सोचेँ। सांकेतिक भाषा थप जाँच्नका लागि मैले दुवै पाखुरा फैलाएँ, हिकारी मेरो काखमा आऊ भन्ने इसारा गर्दै। तर भर्खरै भेटेको नयाँ मान्छेसँग ऊ किन आउँथ्यो र ! आमाको काखमै लुटुपुटु ग¥यो। भर्खर पलाउन थालेका थोते दाँत ङिच्च पार्दै आमाको काखमा लुपुक्क लागेको हिकारीलाई मैले अपलक हेरिरहेँ।  

थाइकट कपाल, गोरो अनुहार, मिलेको आँखी भौँसँगै कानमा रातो रङको अत्यन्त सुन्दर टप लगाएकी थिइन्, माखी सानले। प्रायः जापनिज महिलाले कानमा टप, झुम्का केही लगाउँदैनन्। म, मालिनी लगायत थुप्रै नेपालीले छेडेका नाक–कान पनि बुच्चै राखेका थियौँ। नाक–कानमा गहना लगाएर काम गर्न नपाइने भएपछि हामी बाध्यताले बुच्चै बनेका थियौँ। माखी सानको कानमा टल्किएको सुन्दर टप देखेरे मैले मन थाम्न सकिनँ र कानतिर देखाउँदै जापनिज भाषामा भनेँ, ‘सुन्दर है !’  

माखी सान मुसुक्क हाँसिन् र भनिन्, ‘आरिगातो’, अर्थात् धन्यवाद। मालिनीले कति छिटो दूध राखेर कफी बनाइसकिछन्। हरर बासना छुटाउँदै मलाई र माखी सानलाई दिइन्।  

जाडोको मौसममा तातो कफीले मनै हर्षित बनायो। कफीको चुस्कीसँगै हामीले हाम्रो वार्तालाप अगाडि बढाउँदै थियौँ। एकाएक कसैले ढोका हान्यो। ढोकामा को आयो भनेर हामी सबैलाई उत्सुक बनायो। हामी सबैका आँखा ढोकातिर सोझिए। भित्रबाट चुकुल नलागेको ढोका आफैँ खुल्यो। लाग्यो, जापानीहरू मालिनीसँग निकै नजिक रहेछन्। निकै आवातजावत रहेछ यिनीहरूको।  

एउटा पुरुष आवाज सुनियो ‘माखी सान, माखी सान !’

माखी सान आवाज दिँदै आतुरतापूर्वक जुरुक्क उठिन्। लाग्थ्यो, त्यो आवाज वर्षौं पुरानो थियो र उनी त्यो आवाज सुन्न व्यग्र भएर बसेकी थिइन्। पुरुषले जापानी भाषामा आफूलाई नगरपालिकाबाट पठाइएको चिठीको आसय नबुझेको कुरा ग¥यो। माखीले सरर पढिन् र त्यसको आसय राम्ररी बताइदिइन्।  

कुरा बुझेपछि ढोकामा आउने पुरुषको अनुहार हँसिलो देखियो। सरसर्ती एक नजर हामीतिर डुलाउँदै ऊ माखी सानसँग ‘आरिगातो’ भन्दै झुकेर बिदा भएर फर्कियो। यतिन्जेल मलाई किन ध्यान दिइन भनेर गुनासो गरेझैँ भावमा उसको छोरो आफ्नी आमातिर फर्किएर रुन रुन थालेको थियो। माखी सानभित्र आइन् र छोरोलाई च्वाप्प म्वाई खाँदै काखमा च्यापिन्। र, बेतको मोडा सार्दै, मालिनीतिर फर्किएर भनिन्, ‘हिरोजे सान।’

‘ए !’ मालिनीले माखी सानतिर हेरेर मुन्टो हल्लाइन् र मतिर फर्किएर ‘उसको पूर्व पति’ भनिन्। पूर्वपति भन्नाले ! मैले मालिनीतिर हेरेर अनभिज्ञता प्रकट गरेँ। नेपालमा पूर्वपति भनेपछि सामान्यतः मुखै नहेर्ने चलन छ। ठूलै ठाकठुक नपरी ‘रिकोन (सम्बन्ध विच्छेद)’ पनि गर्दैनन्। ठाकठुकले सबै सम्बन्ध बिगार्छ र पहिला हामी दुःख–सुखका साथी थियौँ भन्ने नै बिर्साउँछ। सायद यही परम्परामा म हुर्किएकीले होला, म घरी मालिनीको मुखमा र घरी माखी सानको मुखमा पालैपालो हेरिरहेँ। माखी सान छोरालाई काखबाट झारेर कोठाको कार्पेटमाथि खेल्नका लागि इसारा गरिरहेकी थिइन्।

त्यसको एकछिनमै माखी सानले हामीसँग बिदा मागिन्। उनलाई हामीले बेलाबेला नेपाली भाषामा कुरा गरेको सुनेर असजिलो लागेछ कि !  

‘मेरो छोरालाई खानेकुरा खुवाउने बेला भयो, अहिले म आफ्नो कोठामा जान्छु,’ उनले जापानी भाषामा भनिन्। आफ्नी आमाले, ‘घर जाने बाबु !’ भनेर बोलाउनेबित्तिकै खेलिरहेको छोरो आमाको काखमा लुपुक्क टाँसियो र हामीलाई ‘बाई’ भन्दै बिदा भयो।  

‘दिदी, माखी सानको कथा अनौठो छ नि ! हुन त माखी सानको मात्र के भन्नु र ! प्रायः जापानी डिभोर्सी महिलाको कथा यस्तै हुन्छ।’

‘हैन के छ त्यस्तो ? भन्नु न मलाई।’  

मेरा आँखाका परेलाहरू उत्सुकताले उचालिए।  

माखी सानले हामीबाट बिदा लिएपछि हामीलाई उनको कुरा अघि बढाउन कुनै आइतबार कुर्नुपरेन।  

अर्काको निजी जीवनको बारेमा बुझ्न मानिसलाई कति हतार हुन्छ। त्यही हतारो ममा पनि देखियो। झन् फरक भूगोल र फरक संस्कृतिका बारेमा गहिरिएर चासो राख्ने मजस्तीलाई जिज्ञासा नलाग्ने कुरै भएन।  

हामीसँग कुरा गर्दागर्दै मालिनीले प्रेसर कुकरमा आलु उसिन्न बसालेकी रहिछन्।  सिठी लाग्यो। उनले सिठी उचालेर बाफ फालिन्। ताता बाफिला आलु थालमा लिएर आइन् र तिनै आलु छोडाउँदै उनी मसँग कुरा गर्न कस्सिइन्।

‘अघि ढोकामा उभिएको पुरुषसँग माखीले हालसालै मात्र डिभोर्स गरेकी हुन्, दिदी। अघि हुलाकबाट जापानी भाषामा आएको चिठी नबुझेर सोध्न आएको रे, उसको पूर्वपति।’  

‘है।’ आलुको गेडो हातमा खेलाउँदै मैले भनेँ।  

‘अनि बोलचाल त फेरि राम्रै रै छ त ?’  

‘लौ साथी त भए क्यारे नि, लोग्ने–स्वास्नी पो भएनन्। यिनीहरूको बोलचाल देख्दा त डिभोर्सी हुन् भन्ने कहाँ लाग्छ र !’

‘अनि केटो त जापानी जस्तो थिएन त ?’ मैले भनेँ।  

‘थाइल्यान्डको केटो हो त्यो। उतैको मसाज गुरु रे। मसाज गर्दागर्दै माखी सान उसको प्रेमजालमा परिछन्।’

‘भेट कहाँ भएको रहेछ ?’ मैले सोधेँ।

‘माखी सान थाइल्यान्ड घुम्न गएका बखत उसको मसाज सेन्टरमा गइछन्। त्यहीँबाट परिचय भएर बिहेसम्म पुगेछ। र, पछि जापान नै आए दुवैजना।’ मालिनीले बेलीविस्तार लगाउँदै थिइन्। मलाई पनि निकै उत्सुकता जागिरहेको थियो, यो कुराले।  

‘जापानमा आएर दुई–चार वर्ष त उनीहरूको प्रेम–सम्बन्ध राम्रै अघि बढ्यो, तर केटा खराब रहेछ। नयाँ–नयाँ केटीसँग सम्पर्क बढाउने बानीबाट माखी सान आजित भइछिन् र डिर्भोस मागिछन्।’  

‘अनि छोरा...।’

‘लौ यहाँ त छोराछोरी १८ वर्षको नभइन्जेल बाबुले पाल्ने र पढाउने खर्च दिनुपर्छ। छोराको पालनपोषणमा तिर्नुपर्ने महिनाको निश्चित रकम कबुलेर उनीहरू अहिले यही अपार्टमेन्टको माथिल्लो र तल्लो तलामा आ–आफ्नै निजी जीवन बिताउँछन्।  छोरालाई भेट्न मन लागे बाबु माखी सानको अपार्टमेन्टमा आउँछ, छोरो खेलाउँछ। माखी सान साथीको रूपमा उनलाई व्यवहार गर्छिन्, तर पत्नीको दर्जाबाट उनी आफूलाई प्रस्तुत गर्दिनन्। यहाँका महिलाको सामाजिक सुरक्षा पूरै सरकारले लिन्छ।  

कुमारी आमाले बच्चा पाए पनि सरकार नै जवाफदेही बन्छ। सिंगल मदर भनेपछि सरकारबाट झन् धेरै भत्ता पाउँछन्। अपार्टमेन्टको भाडा, तलबको दश प्रतिशत मात्र तिरे पुग्छ। तँ त श्रीमान्बाट अलग्गिएकी भनेर समाजमा कसैले खिसीटिउरी गर्दैन। सभ्य समाजको काइदा यस्तो पो हुँदो रहेछ दिदी।’  

जब मेरो देशका दिदीबहिनीको कथा आँखाभरि नाच्न थाल्छ, तब मेरो मुहार लट्टेको साग जसरी लल्याकलुलुक ओइलाउँछ। बिहानै मात्र अनलाइन अखबारमा पढेकी थिएँ– सम्बन्धविच्छेद गरेपछि पनि अरूको स्वास्नी हुन दिन्नँ भन्दै पूर्वपतिले मानसिक यातना दिएको।

मालिनी एक सुरले आफ्ना माखी सानको कथा र जापानको व्यवस्थाबारे सुनाउँदै थिइन्। हुन पनि उनी जापान बसेको सात वर्ष नाघिसकेको थियो। धेरै अनुभव सँगालेकी थिइन्, जापानी जीवनशैलीको।  

‘हो है ?’ म सोचमग्न भएँ। मैले देखेको नेपाली समाजमा मेरा दिदी–बहिनीले छोडपत्र गर्दा भोग्ने जीवनका रङहरू कति कहालीलाग्दा छन्। तर, यही क्षण माखी सानको जीवनमा कति सामान्य छ, स्वाभाविक छ। उनलाई एक्लै बस्नुपर्दा पनि कुनै खेद छैन। अनुहारमा उस्तै चमक छ। तर, हाम्रा लागि यो कुरा एकादेशको दन्त्यकथा भन्दा कम छ र !

एसिया महादेशमा पर्ने पूर्वीय मुलुक भए पनि जापान पाश्चात्य मुलुकको जस्तै विकास र सभ्यताले अगाडि बढिरहेको सुन्न र पढ्न पाएकी थिएँ। माखी सानको मात्र के कुरा, सँगै काम गर्ने मायुमी सानसँग पनि अस्ति केही अन्तरंग कुराकानी भएको थियो। उनले डिभोर्स गरेको २० वर्ष भयो रे। छोराछोरीले बच्चा जन्माएर उनी हजुरआमा बनिसकिन् रे।  

‘आध्यात्मिक बाटोमा लागेपछि, फेरि दोस्रो बिहेको चाहना भएन,’ उनी भन्थिन्। मेरा आँखामा यस्ता अरू थुप्रै पात्र नाचे, जो प्रायः एकल जीवनमै आनन्दको अनुभूति गरिरहेका थिए। स्वतन्त्रताको सुखानुभूतिमा जीवनको असीम सार्थकता भेटिरहेका थिए। आ–आफ्नो जीवन, आफ्नै तरिकाले बाँच्न पाउनुपर्छ भन्ने सिद्धान्तलाई लागू गरिरहेका थिए।  

तर, जब मेरो देशका दिदीबहिनीको कथा आँखाभरि नाच्न थाल्छ, तब मेरो मुहार लट्टेको साग जसरी लल्याकलुलुक ओइलाउँछ। बिहानै मात्र अनलाइन अखबारमा पढेकी थिएँ– सम्बन्धविच्छेद गरेपछि पनि अरूको स्वास्नी हुन दिन्नँ भन्दै पूर्वपतिले मानसिक यातना दिएको, श्रीमान्ले परस्त्रीगमन गरेर हत्तुहैरान परेपछि सम्बन्ध–विच्छेद गर्न गएकी महिलालाई एक रुपैयाँ पनि नलिने सर्तमा मात्र सम्बन्ध–विच्छेद गराइएको। अनि, सम्बन्धविच्छेद गरेका महिलाले समाजबाट अनेक लाञ्छना र असहयोग खेप्नुपरेको।  

विकसित र अविकसित देशमा महिलाले भोग्ने विभेदको लामै सूचीले मलाई अत्यन्तै बेचैन गरायो।  

एसिया महादेशकै अर्को एउटा भूगोलमा रहेको जापानले यति धेरै चेतना कसरी पायो होला र समृद्धिको भ¥याङ कसरी चढ्यो होला ? हामी किन एक सय ८० डिग्री पर छौँ ? यो प्रश्नको उत्तर एकै वाक्यमा आउने त पक्कै थिएन। यसका पछाडि जापानीको थुप्रै त्याग र संघर्षका कथा बुझ्नुपथ्र्याे। धेरैबेरदेखि मेरो मथिंगल यिनै कुरामा रुमलिएछ।  

‘दिदी, तात्तातो पुरी र तरकारी खानुस्,’ मालिनीले खाजाको प्लेट अघि सार्दा पो म झल्याँस्स भएँ।

‘आहा ! गाजल लगाएको बोडीमा, तामा हालेको तरकारी ?’  

बोडीलाई गाजल लगाएको भनेर मालिनी खित्का छाडेर हाँसिन्। धादिङेचेली उनी, उनकै गाउँकोे कोसेली रहेछ यो। तातो झोलमा डोबेर मैले तातै पुरी कपाकप खाएँ र शरीर तातो बनाएँ।  

००० 

प्रकाशित: ३१ श्रावण २०७७ ०३:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App