८ आश्विन २०७७ बिहीबार
कला

आयानको अठोट

बालकथा

ललिता ‘दोषी’

मधुमाया आग्रोभन्दा गाग्रो सुन्थिन् । त्यसैले उनलाई गुल्मीको थामडाँडामा सबैले ‘गाग्री बजै’ भन्थे । उनको नाम मधुमाया भनेर धेरैलाई पत्व नै थिएन । एकदुईपल्ट जम्काभेट भएर कुरा गरेका मान्छेहरू उनलाई देखेपछि टाढैबाट बाटो मोड्थे । मान्छेहरूले उनलाई वास्ता नगरे पनि काले कुुकुर, भैंसी, दुईचार बाख्रा र तिनका पाठापाठी सधैं उनका अगिपछि हुन्थे । उनी तिनीहरूसँगै सुखदुःखका कुरा गर्थिन् । उनीहरूले जीउमा कन्याउन मुन्टो हल्लाए पनि उनकै कुरा सुनेर सही थापेझैं लाग्थ्यो उनलाई । त्यसैमा उनी खुसी हुन्थिन् ।

साँझपख बाख्रा चराएर मधुमाया घर फर्किंदै थिइन् । मास्क लगाएका थुप्रै मान्छे देखेर छक्क परिन् । उनी दगुरेर गई ठूलो स्वरमा भनिन्, ‘ए बाबुनानी पख त कठारो–सठारो भुइँचालो आएको त होइन ? के जमाना आयो गाँठे ! गोरुले लगाउने मालो सबैले मुखमा लगाएका छौ । अनार पनि चिनिन्न । सबै आए भने त मेरा ठूलेहरू पनि आउँथे कि ? उनीहरूको बाटो हेर्दाहेर्दै अब त आँखा पनि थाकिसके । आँसु झार्दाझार्दै आँसु पनि निख्रिसके ।’

अरू मान्छेहरू ंउनका कुरा नबुझेर अगाडि लागे । देवरको छोरा मदनले ठूलो स्वरमा भने, ‘नमस्कार, ठूली आमा, काठमाडौं–साठमाडौं भनेको कठारोसठारो भन्नुहुन्छ । अनुहार भनेको अनार भन्नुहुन्छ । यो मालो होइन माक्स हो । भुइँचालोभन्दा पनि ठूलो कोरोेना आएको छ क्या ! कोरोना... अरू पनि धेरै आउँदै छन् । तपाईंको ठूले पनि आउँछन् नै होला ।’

मास्क लगाएकाले मधुमायाले न कसैको अनुहार चिनिन् न केही बुझिन् नै । करुणा  आएको छ भन्ने मात्र बुझिन् । उनले भनिन्, ‘अहो, नेताले चुनावमा गाउँमा सबैलाई फर्काउँछौं भनेका थिए । साँच्चै भनेका पो रहेछन् गाँठे ! त्यो गाउँ फर्काउने करुणाको जयजय होस् ।’

मधुमायाको कुराले मदन हाँस्दै बाटो लागे । उनी बाटोभरि आँखा छर्दै घर आइन् । खुसीले उनको भोक पनि कता हरायो कता ! काले कुकुरका लागि बिहानको आटो थियो । त्यसैमा तातो दूध हालिदिइन् । आपूmले पनि एक गिलास दूध खाइन् । रातभरि मीठो कल्पना गर्दै बिहानीपख मात्र निदाइन् ।

उठेपछि पनि उनको ध्यान छोराहरूमै गयो । आँखामा सानोमा छोरा र केही वर्षअगाडि नातिनातिनी खेलेको याद आइरह्यो । यताउता काम गर्दागर्दै कति बेला घाम अस्तायो पत्तै पाइनन् उनले ।

त्यसको केही दिनपछि झमक्क साँझ पर्दा उनलाई घरमा एकैपल्ट चन्द्रसूर्य उदाएजस्तै लाग्यो । उनी हतारिंदै नातिलाई अँगालो मार्न पुगिन् । सात वर्षका नातिले पन्छिँदै स्यानिटाइजर दिँदै भने, ‘हजुरआमा, यो हातमा दलेपछि मात्र छुनुहोला ।’

मधुमायाले कुरा सुनिनन् । हाँस्दै स्यानिटाइजर मुखमा हाल्दै टाउकोमा छरिन् र ‘हरहर गंगे’ भनिन् ।

सबै हाँसे, मधुमायाले मुख बिगार्दै भनिन्, ‘आच्या, जल पनि कस्तो गनाएको गाँठे !’

सबैले हातमा स्यानिटाइजर दलेर बल्ल ढोगे । उनले सबैलाई ‘भाग्यमानी हुनू’ भनेर आशिष् दिइन् ।  

पिँढीमा गुन्द्रीमाथि राडी ओछ्याएको थियो । सबै थचक्क बसे । मधुमाया हतारहतार मकैभटमासको डाली र तातो दूध लिएर आइन् । भुइँचालोका बेला आउँदा नातिनातिनीले मकैभटमास कुटुकुटु खाएको भुलेकी थिइनन् उनले । खाजा खाएपछि छोराबुहारी, नातिनी ‘केही बेर काकाकोमा गएर आउँछौं’ भनी हिँडे । मधुमाया ‘हुन्छ, म भात पकाउँछु’ भनेर भान्सातिर लागिन् ।

आयानले हजुरआमालाई सानोमा देखे पनि याद भने थिएन । उनलाई हजुरआमाको असाध्यै माया लाग्यो । साबुनपानीले हात धोएर नयाँ कपडा फेरेर उनी पनि हजुरआमासँगै भान्सामा गए । मधुमायाले आँसु झार्दै भनिन्, ‘बाबु, तिमी पनि उतै गएको भए हुन्थ्यो नि ! म कान सुन्दिनँ । एउटा कुरा बाबु ! किन सबैले मुखमा मालो  लगाएका हँ ? म त चख्खै परे गाँठे !’

आयानले हजुरआमा नजिकै बसेर ठूलो स्वरमा भने, ‘हजुरआमा चख्खै होइन छक्क भन्नुहोला ।  त्यसलाई मालो होइन ‘मास्क’ भन्छन् । कान सुन्नुभयो ?’

नातिका मीठो बोली सुनेर मधुमायाको आँखाबाट बरर आँसु झरे । उनले खुसी हुँदै भनिन्, ‘अहो, कस्तो अमृतजस्तो बोली मेरो बाबाको ! नजिकबाट बोल्दा सुन्ने पो रहेछु । चख्ख होइन छक्क ‘मालो’ होइन ‘मास्क’ पो रहेछ अनि अरू ?’

हजुरआमाको आँखामा हर्षको आँसु देखेर आयानलाई पनि खुसी लाग्यो । उनले अझ ठूलो स्वरमा भने, ‘आमा ‘कोभिड–१९’ कोरोना भाइरस भन्ने रोग अहिले संसारभरि नै पैmलिएको छ । त्यसैलाई छेक्न मास्क लगाएको हो क्या ! हजुरलाई अगिन दिएको झोललाई चाहिँ ‘स्यानिटाइजर’ भन्छन् । त्यो जल होइन नि ! कीटाणु मार्ने औषधि हो । त्यसैले बेलाबेलामा हातमा दल्नुपर्छ । साबुनपानीले हात धुनुपर्छ । यो रोग रोगी मानिससँग बोल्दा, हाच्छ्यूँ गर्दा, हात मिलाउँदा सर्छ । बाहिरबाट आएका मान्छेमा रोग रहेछ भने सबैलाई सर्न सक्छ ।’

आयानले हजुरआमालाई रोगका लक्षणहरू मात्रै बताएनन्, अरू मानिसको नजिक जानु नहुने जानकारी पनि दिए । उनले अहिले संसारभरिका मानिसबाहिर ननिस्केर घरमै बसिरहेको कुरा पनि बताए ।

नातिको कुरा सुन्दा मधुमायालाई भाउन्न होलाजस्तै भयो । बरु कान नसुनेको भए हुन्थ्योजस्तो पनि लाग्यो । धोतीको सप्कोले आँसु पुछ्दै भनिन्, ‘मेरो पीर नगर, मेरो नजिक मान्छे त्यत्ति आउँदैनन् बाबु ! पहिलेपहिले पनि अनेक थरिका रोग आउँथे । तिम्रो हजुरबालाई हैजाले लग्यो । त्यसबेला पनि हात धुनू, पानी तताएर खानू भन्थे ।’

आयानले चुलोमा दाउरा घचेट्दै भने, ‘यो हैजाभन्दा पनि धेरै कडा रोग हो । कोरोनाले छोएपछि एकअर्कालाई नछुने गरी क्वारेन्टिनमा बस्नुपर्छ । ‘क्वारेन्टिन’ भनेकोचाहिँ छुट्टै बस्नु हो क्या हजुरआमा । यो रोग लागेका जिउँदो मान्छेलाई मात्र होइन मरेका मान्छेलाई पनि छुनु हुन्न रे । यस्तो बेलामा तातो पानी, तातो कागती–पानी, ज्वानो, अदुवा, मरीच, बेसार, पानी खानुपर्छ । माछा, मासु, राम्रोसँग पकाएर मात्र खानुपर्छ । घिउ पनि खान हुन्छ रे क्या हजुरआमा !’

नातिको कुरा सुन्दा मधुमायालाई सपनाजस्तै लाग्यो । नातिले आपूm नजिकै बसेर यति धेरै कुरा गरेकोमा उनको मन भरिएर आयो । सधैँ एक्लै बस्दाको अत्यास धेरैपछि आज मेटिएको थियो । त्यसैले आँखा रसाइरह्यो उनको ।  

आयानलाई मनमा भने रोगको कुरा सुनेर हजुरआमाले धेरै पीर गर्नुभयो जस्तो लाग्यो । त्यसैले कुरा मोड्दै  भने, ‘पीर गर्नु पर्दैन हजुरआमा ! राम्रोसँग नियम पालना ग¥यौँ भने रोगले केही पनि गर्न सक्दैन क्या ! बरु एउटा कथा भनिदिनुहस् । मपछि स्कुलमा गएर साथीहरूलाई सुनाउँछु नि !’

मधुमायाले एकोहोरो नातिको अनुहार हेरिरहिन् । आयानलाई अँगालोमा बाँधेर रोइरहिन् । मायालु आयानले सजिलै अनुमान गरे ।  हजुरआमासँग आफूले नै भोगेका थुप्रै दुःखका कथाहरू छन् । ती कथाहरू केही क्षणमा भन्न सकिँदैन ।  

मधुमाया बोल्न नै सकिनन् । आयानको कमलो मनले भने अठोट गरिसकेको थियो । यसपालि काठमाडौँ फर्कंदा हजुरआमालाई जसरी पनि लग्छु, लग्छु । हो जसरी ...।’

प्रकाशित: ३० श्रावण २०७७ १५:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App