४ माघ २०७७ आइतबार
कला

भाइको अम्लेट जोख्ने तराजु

उषा थपलिया

भाइको आगमन हाम्रो परिवारको बहुतै खुशीको क्षण थियो । तर त्यो खुशी स्थायी बन्ने नबन्ने अन्योल अघिल्ला दुई भाइले झै उसले पनि जन्मँदै लिएर आएको थियो । उस्तै स्वास्थ्य समस्याको कारण उभन्दा अघिका दुई भाइ क्रमशः  ६ दिन र १८ दिनमा परिवारको अथाह खुशीलाई अनन्त शोकमा बदल्दै विदा भए । सेतो कपडाले ढाकिएको तिनीहरूको सुकोमल देह आफ्ना दुवै नाडीमाथि ममतापुर्वक उठाएर कारुणिक चेहरामा बुबाका पाइलाहरू जब अन्त्येष्टिका लागि अघि बढ्यो, त्यो शोकाकुल घडीको धुमिल सम्झनाले अहिलेसम्म पनि रुवाउन छोडेको छैन । १८ दिन बाँचेको भाइलाई उपचारका लागि काठमाडौं समेत ल्याइएको थियो तर उसको लेखान्त त्यती नै रहेछ, हाम्रो साथ त्यागेर उ अर्कै लोकको यात्रामा निस्कियो । अर्कोलाई त त्यति गर्ने मेसो पनि मिलेन ।

ठूली छोरी पछिका दुईवटा छोराहरू लगालग गुमाएको पीडा पनि आमाले भुल्नसक्ने कुरा थिएन । मतलव यसअघि हाम्रा दुई दाइ बितिसकेका थिए । त्यसैले आमा निक्कै भयभित हुनुभयो । जन्मेको दोस्रो दिनमा पनि भाइको दिसापिसाव खुलेन । बुबा किंकतव्यविमूढ । सन्तान सबै सानै । सबैभन्दा ठूली छोरी बल्ल २० पुग्दै । दुईदिने बिरामी छोरालाई काखी च्यापेर उपचारका लागि आमा काठमाडौं हानिने सुरसार कस्न थाल्नुभयो । गाडी चढ्ने ठाउँसम्म पुग्न लगभग बिस किलोमिटर दूरीको बाटो हिड्नुपर्ने । ४५ वर्षको उमेर,  दसौं सन्तान जन्माएपछिको दुइदिने सुत्केरावस्था, एकपछि अर्को गर्दै ४ छोरा गुमेको शोकले आहत मनस्थिति । आमाकै हालत त्यत्ति नाजुक । तर स्ट्रेचर या बोक्ने मान्छेको व्यवस्थाका लागि बुबाको पनि ध्यान पुग्न सकेन । अन्ततोगत्वा  ठूली छोरीको साथ बीस किमी दूरीको बाटो पैदल हिंडेपछि काठमाडौं पुग्ने दृढताकासाथ आमाको पाइला गन्तव्यतर्फ सोझियो ।

लामो पैदल दुरीपछि थोत्रो र भीडमभीड बसयात्रा पार गरेर बिरामी छोरो काठमाडौं पु¥याउनु आमाको आत्मविश्वासको प्रतिफल थियो । भलै, काठमाडौं पुगेपछि हातगोडा, मुख सुन्निने, रगत नै वान्ता हुने लगायतका समस्याले आमाकै हालत चिन्ताजनक भैदियो । त्यो हिडाइकै असर थियो ।  अस्पत्ताल भर्ना भएर दुवैको उपचार सुरु भयो । उपचारका लागि आमालाई माइतीको आडभरोसा थियो । जसकाकारण दुवैको अवस्था सामान्य बन्दै गयो । केही समय अस्पत्ताल भर्ना र त्यसपछि मामाघरमा बसेर भाइको उपचारमा आमा दत्तचित्त हुनुभयो । डाक्टरले आन्द्राको अपरेशन गर्नुपर्छ भनेका रहेछन् तर अपरेशन गरेपछि छोरो मर्छ भन्ने आमाको चिन्ता । त्यसैले घरमा रोपाईँको चटारो छ, अपरेशनका लागि पछि लिएर आउँछु” लगायत अनेक बहाना बनाएर भाइलाई डिस्चार्ज गराउनुभएको रहेछ ।

एकडेढ महिनापछि  भाइलाई लिएर आमा घर फर्कनुभयो । हाम्रो खुशीको सिमै रहेन । उसको हाँहाँहँुहँु, हाँसो, रुवाइ हामी सबका लागि अलौकिक सौगात । मभन्दा पछिकी बहिनी, बहिनीभन्दा मुनिका २ भाइ बितेर ऊ जन्मेको थियो । त्यसैले उसलाई खेलाउन, हेर्न, बोक्न बहिनीभन्दा म सक्ने भइसकेको थिएँ । भाइको स्वास्थ्यस्थितिमा सुधार आए पनि पूरै निमन थिएन । पिसाव नहुने समस्या हटेको थियो तर चारपाँच दिनसम्म दिसा नभएर उसको अवस्था कष्टकर भैरहन्थ्थ्यो । त्यतिबेला जम्मा १२ वर्षीय दाइले डाक्टर, कम्पाउण्डको भूमिका निर्वाह गर्दै भाइको समस्या समाधानमा जुन सफलता हासिल गर्नुहुन्थ्यो, अहिले समेत त्यो अविश्वसनीय लाग्दछ । भाइको ज्यान बचाउन डाक्टरले अस्पत्तालमा जे जति योगदान दिए, समस्या रहेसम्म दाइले देखाउनुभएको सीप, सामथ्र्य, लगाव, योगदान अनि पाउनुभएको सफलता सायदै तुलना हुनसक्ला । भाइको जीवन रक्षामा दाइको भूमिका अवर्णनीय रह्यो ।  

कहिलेकाँही उ अन्य किसिमले पनि बिरामी भैरहन्थ्यो, जसलाई भूत, पिशाच लागेको (लागुभागु) भन्ने चलन थियो गाउँमा । त्यसैले साँझविहान केही नभनी जान्ने (धामी÷ज्योतिष) कहाँ लगिरहनु पर्दथ्यो । जब राति उसलाई लिएर हतास मनस्थितिमा आमाबुबा घर बाहिर निक्लनुहुन्थ्यो, हामी सबैको रुवाबासी चल्दथ्यो । ‘भाइ फर्केर आउला कि नआउला ?’ ज्यादै नाजुक उसको स्थितिले त्यहाँसम्म सोच्दथ्यौं हामी  । उपचारका लागि काठमाडौं पनि लगिरहनु पर्दथ्यो बेलाबेलामा । उसका त्यस्ता समस्या १२ वर्ष हुँदासम्म रह्यो । त्यसपछि जन्मदेखि ल्याएको रोग र लागुभागु सबैबाट उ मुक्त भयो । डाक्टरले भनेबमोजिम अपरेशन नगरी छोरो बचाएर आमाले ठूलो बाजी मार्नुभयो । स्वास्थ्य समस्या भए पनि सानैदेखि उ गठिलो र हृष्टपुष्ट थियो । बल्लबल्ल बाँचेको र परिवारको कान्छो सन्तान भएकाले ऊ सबैको प्यारो थियो । मिठो÷चोखो सबै उसलाई खुवाउन पाए हुन्थ्यो, भुईमा नराखी बोकिरहन पाए हुन्थ्यो, सँधैभरि उसकै नजिक बसिरहन पाए हुन्थ्यो यस्तै लाग्दथ्यो । निदाएको बेला बदलिरहने उसको मुखाकृति नियाल्दै पनि गद्गद् हुन्थ्यौं हामी । सबै सन्तान बुबासंग बोल्न डराउँदै हुर्कियौं । मायालु त उहाँ हदैसम्मको, कुनै सन्तानलाई एक लबटो नहानी हुर्काउनुभयो, बरु आमाको कुटाइ धेरै खाइयो तर मिजास कडा भएकाले बुबासंग हामी त्यसै थर्कमान । हामी मात्र हैन, गाउँलेहरू पनि बुबाको गर्जनसंग उस्तै डराउने । बुबासंग दोहोरो वार्ता गरेको कुनै दिन त ठूलै पौरख गरेको गर्वमा रमाउँथ्यौ हामी तर बोल्न थालेदेखि नै भाइ भने बुबासंग गजबको वार्तालाप गर्दथ्यो, जिस्काउँथ्यो, सताउँथ्यो, पिरोल्थ्यो । बुबालाई देख्नासाथ ‘पापा दिनुस्’ हात तेर्साईहाल्थ्यो । खेतबारीबाट फर्किएको होस् या अन्य कामबाट, बुबा घर छिर्नासाथ उसलाई पापा चाहिहाल्थ्यो । ‘बारीमा काम गरेर आएको मान्छेले कहाँबाट कहाँ पापा ल्याउनु ?’ एकछिन जिस्काउनुहुन्थ्यो अनि मुसमुसु हाँस्दै उसैका लागि जुगाड गरेका चक्लेट निकालेर दिनुहुन्थ्यो ।

सानैदेखि रत्तिने बानीले बुबासंग व्यवहार गर्न उसलाई कहिल्यै गारो भएन । अहिले पनि बुबासंग जिस्किने, ख्यालख्यालको कुस्ताकुस्ती खेल्ने क्रम जारी छ उसको । अहिले त अल्जाईमर्सले गाँजेर उसैलाई समेत चिन्न नसक्ने हुनुभएको छ बुबा । तर स्मरण नगुम्दाको केही वर्ष अघिसम्म साँझ अफिसबाट घर छिर्नासाथ भाइको पहिलो काम बुबालाई बोकेर नचाउने हुन्थ्यो । उहाँलाई पनि त्यही बानी परेर होला भाइ घर फर्कने समय भएपछि बुबा स्वयं भाइको बाटो हेर्दै बेचैन भएर बस्नुहुन्थ्यो अनि जब कान्छा छोराको काँधमाथि उहाँको शरीर नाच्न थाल्यो, आठ दशक कट्नु भएका बुबाको चेहरामा बालसुलभ मुस्कान र रोमाञ्चकताको कुनै सीमै हुन्नथ्यो । यो दृश्यले विगततर्फ हुत्याउँदै मलाई धेरै पटक सुटुक्क रुवाएको छ । मरीमरी बाँचेको कान्छा छोरालाई आफ्नो काँधमाथि उचालेर नचाउँदा त्यति बेलाको बुबाको खुशी र भाइको रोमाञ्चकताको हुबहु प्रतिरूप पाउँछु म । अहिले फरक यत्ति हो कि, उबेला भाइको ठाउँमा अहिले बुबा अनि बुबाको ठाउँमा भाइ । भूमिका मात्र अदलबदल । त्यसै भनिएको होइन रहेछ बुढेसकालमा मान्छेको बाल्यकालीन चरित्र दोहोरिन्छ ।

पैसा बचत गर्न खप्पीस थियो ऊ । आफ्नो भनेर जनिएको पैसाको हरहिसाब आमासंग बेलाबेला मागिरहन्थ्यो । केही कामका लागि पैसा पाए पनि खर्च नगरी बचत गर्दथ्यो । संक्रान्ति, पूर्णिमा आदिमा आमाले छोरीहरूलाई झै उसलाई पनि दक्षिणा दिनुहुन्थ्यो, दशैंमा हामी पनि उसलाई दक्षिणा दिन्थ्यौ । माइली दिदी, (जो, उ पढ्ने स्कुलमा उसैलाई समेत पढाउनु हुन्थ्यो) बचत गरोस् भन्दै उसलाई हरेक महिना निश्चित रकम दिने गर्नुहुन्थ्यो । यसबाट उसको बचतमा उल्लेखनीय वृद्धि हुँदै थियो । जब दिदीको बिहे पक्का भयो, उसको गुनासो थियो ‘ला, अब त मेरो मासिक बचत रोकिने भैहाल्यो नि ।’ संजोग नै मान्नुपर्ला, सानैदेखि बचतमा त्यति लगाव राख्ने मान्छे अहिले वित्तीय संस्थामै क्रियाशील छ ।

कक्षा ८ देखि मेरो पढाइ काठमाडौंमा हुने भयो । त्यतिबेला भाइ ४ वर्षको थियो । काठमाडौं हिड्ने एक साता अघिदेखि मेरा आँखा ओभानो रहेनन् । बुबाआमा र भाइलाई छोडेर कसरी काठमाडौं जानु ? भाइका बालसुलभ हरेक क्रियाकलाप हेर्दाहेर्दै भक्कानो छुट्दथ्यो, आँखाबाट आँसुको भेल बग्दथ्यो, तर त्यो हविगतको मेरो अनुहार हेर्दै समेत ऊ आफ्ना गतिविधि मायालु पाराले जारी राखिरहन्थ्यो । त्यसले मलाई झन्झन् गारो बनाउँथ्यो ।

भाइ र बुबाआमासंग छुट्टिदाको क्षण व्यक्त गर्नै सक्दिन म । काठमाडौं पुगेपछि पनि सोही मनोदशा लामो समयसम्म रहिरह्यो । सिकिस्त बिरामी हुँदा उसलाई लिएर बुबा काठमाडौं आउनुहुन्थ्यो । बिरामी नै सही, केही दिनसंगै भइन्थ्यो । ऊ घर फर्किएपछि केही दिन झनै विरक्तिले सताउँथ्यो । बहिनीले समेत एसएलसी पास गरेर कलेज पढ्न काठमाडौं आएपछि घरमा बुबाआमासंग ऊ एक्लो सन्तान बाँकी रह्यो । त्यतिबेला ऊ पनि माथिल्ला कक्षाहरूमा चढिसकेको थियो ।  

विभिन्न कामले बुबा काठमाडौं आइरहनुहुन्थ्यो । आउँदा भाइको चिठी कहिल्यै छुट्दैनथ्यो । ती चिठीहरूमा उसले कुनै न कुनै सामान पठाइमागेकै हुन्थ्यो । सोहीअनुसार हामी पठाइदिन्थ्यौं । अर्को पटक बुबा आउनुहुँदा पहिला पठाएको सामानप्रति धन्यवाद दिँदै अर्को सामानको फर्माएस गर्न उ कहिल्यै चुक्दैनथ्यो । गाउँमा बसेर पनि यी दुनियाँ सामानबारे कसरी थाहा पाउँछ ? बहिनी र म अचम्म मान्थ्यौं । कमाइ दाइको मात्रै थियो । पढाइ, खानपान, कोठाभाडा, लत्ताकपडा लगायत हामी सबैको खर्च उहाँ एक्लैले धान्दै हुनुहुन्थ्यो । उहाँ स्वयंको पनि पढाइ सकिएको थिएन तर जुन दिनदेखि काम थाल्नुभयो, बुबालाई सबै जिम्मेवारीबाट मुक्त गराउनुभएको थियो । त्यसैले भाइका लागि पठाउनुपर्ने सामाग्री बहिनी र म दैनिक व्यवहार चलाउन दाइले दिनुभएको पैसाले नै व्यवस्थापन गर्दथ्यौं । हामीलाई दाइसंग छुट्टै पैसा माग्न अप्ठरो लाग्दथ्यो । पढाइसंग सम्बन्धित सामान त हामी जसरी पनि पठाइदिन्थ्यौं तर मनोरञ्जन र उसको रुचिसंग सम्बन्धित कम महत्वका सामाग्रीचाहिं कहिलेकाही पठाउन सकिदैनथ्यो । तर त्यसपछि प्राप्त हुने पत्र घुर्की र व्यंगबाणले भरिएर आउँथ्यो । चिठी खोल्न समेत डर लाग्थ्यो हामीलाई । अघिल्लो पटक सामान पठाइएको थियो भने अब अर्को कुन सामानको फर्माएस आयो भन्ने डर अनि पठाउन सकिएको थिएन भने उसको दुखेसो र व्यंगबाणलाई कसरी थेग्ने भन्ने त्रास ? यही मनोदशामा बहिनी र म धेरै पटक पुगेका थियौं । तर, ऊ बाँचेकैले त यस्तो अवसर पाइएको छ भन्ने सोच्नासाथ उप्रति अति नै ममता उर्लेर आउँथ्यो । त्यसैले अरू खर्च कटौती गरेर भए पनि उसलाई खुशी दिलाउन हामी हरप्रयास गर्दथ्यौं ।

सानोदेखि उसंगका सबै घटना उत्तिकै सम्झनायोग्य छन् । तीमध्ये अम्लेटको प्रसंग विशेष लाग्दछ । एक दिउँसो म, बहिनी र भाइ तीन जनालाई एकएकवटा अम्लेट बनाएँ मैले । सबैभन्दा ठूलो र मन परेको अम्लेट रोज्न भाइलाई लगाइयो । उसले धेरैबेर लेखाजोखा ग¥यो, तर कुन ठूलो ठम्याउन सकेन । ऊ पाँच वर्ष जतिको हुँदो हो । धेरैबेरको अन्योलपछि उ खुरुरु दौडेर हाम्रो अर्को घरभित्र पस्यो । बहिनी र म मुखामुख गर्दै अलमलमा प¥यौं । एकछिनपछि हँसिलो अनुहारमा उ सानो तराजु हातमा झुन्डयाउँदै आयो । माइली दिदीले टिचिङ प्राक्टिसका क्रममा तल फलामको पाताको सट्टा कागजको प्लेट  र फलामको साङ्लाको सट्टा धागो प्रयोग गरेर आकर्षक तराजु बनाउनुभएको थियो । अण्डाको छिनोफानो गर्न उसलाई एकाएक त्यही तराजुको याद आएछ । तराजुको दुवै प्लेटमा एकएकवटा अम्लेट राख्यो । तल लच्किएपट्टिको अमलेट तराजुमै राखेर अर्कापट्टिको निकाल्यो । बाहिर रहेको अर्को अम्लेट खाली तराजुपट्टि राख्यो । अन्तिममा जतापट्टिको तल लच्कियो त्यही रोजेर आफ्नो द्विविधालाई कुशलतापुर्वक निप्टारा ग¥यो । उसंगै हामी पनि औधी खुशी भयौं । किनकि रोजेखोजेअनुसारको अम्लेट भाइको भागमा परोस् भन्ने हाम्रो पनि चाहना थियो । अण्डा प्रसंग चल्नासाथ अहिले पनि उक्त घटना आँखैअघि उत्रिन्छ अनि हरेक पटक उसलाई जिस्काउन चुक्दैनौ हामी । ‘बाबु त्यो तराजु कहाँ छ अहिले ?’

हाम्रो हरेक पटकको जिस्काइमा लजाउँदै हाँस्छ अनि जवाफ दिन्छ, ‘हैन, मैले त्यसो गरिन होला ।’ तर ०७२ सालको भूकम्पले थङ्थिलो भएको घरभित्रको त्यो सानो अनि सुन्दर नमुना तराजुको के हालत भयो होला ? त्यो सायद भनिरहनु नपर्ला तर अण्डाको उपयोग भइरहँदासम्म भाइको त्यो रमाइलो अम्लेट प्रसंग अनि पुन्टे तराजु कसरी विस्मृतिमा पर्छ होला र ?  

प्रकाशित: ३० श्रावण २०७७ १३:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App