१० आश्विन २०७७ शनिबार
कला

बालबालिकालाई देवीदेवता र भूतप्रेतको अन्धविश्वासबाट मुक्त गर्नुपर्छ

कुराकानी

 

 

 

  प्रिय भाइबहिनीहरू,  यसपटक ‘जुनकिरी’ बालपृष्ठको कुराकानीमा बालसाहित्यकार त्रिलोचन ढकाल हुनुहुन्छ । उहाँले बालसाहित्य  र प्रौढसाहित्य दुवैमा कलम चलाउनुभएको छ । उहाँ कुशल राजनीतिज्ञ पनि हुनुहुन्छ । अन्धविश्वास र भेदभावबाट परै रहनुपर्ने उहाँको सुझाव छ । यहाँ उहाँसित गरिएको  बालसाहित्य सम्बन्धी कुराकानीलाई प्रस्तुत गरिएको छ  

१) बालसाहित्य किन लेख्नुहुन्छ ?  

म बालसाहित्यको विशेषज्ञ होइन । पाठक र अलिअलि सिर्जना गर्ने व्यक्ति हुँ । मैले एउटा बालगजलसङ्ग्रह, दुईओटा बालकवितासङ्ग्रह र पाँचओटा बालउपन्यास सार्वजनिक गरेको छु । मैले बालबालिकालाई आधुनिक, सभ्य तथा सुसंस्कृत हुन र विज्ञान सम्मत ज्ञान दिलाउनका निम्ति लेख्दछु । यस्तो ज्ञान मनोरञ्जनात्मक तथा बालबालिकाले सजिलै बुझ्न सक्ने शैलीमा दिनुपर्छ । भाषा, मस्तिष्कको विकासअनुसार सरल हुनुपर्छ भन्ने ठान्दछु ।  

हाम्रो समाजमा अधिकांश अभिभावकले बालबालिकालाई अन्धविश्वासका कुरा प्रस्तुत गरेर ज्ञान दिन सुरु गरेको भेटिन्छ । मैले त्यसका विपक्षमा शिक्षित गराउने गरी लेख्ने प्रयत्न गर्दछु । बालिकाहरूलाई त लैङ्गिक विभेदका विरोधमा आवश्यक परे प्रतिकार गर्न समेत प्रोत्साहित हुने शिक्षा दिनुपर्छ भन्ने ठान्दछु ।  

 

२) बालसाहित्य कस्तो हुनुपर्छ ?

बालसाहित्यले अन्धविश्वासलाई तिरस्कार गर्न पहिलो प्रयत्न गर्न सक्नुपर्छ । अन्धविश्वासले बालबालिकालाई परनिर्भर बनाउँछ । मन्दिरमा पूजा गरेपछि वा देवीदेवताको भाकल गरेपछि भनेकै श्रेणीमा परीक्षा उत्तीर्ण गर्न सकिन्छ जस्ता विश्वासले बालबालिकालाई परिश्रमका साथ पढ्न दिँदैन । यसले गर्दा उनीहरूको मस्तिष्कको क्षमता विकासमा ह«ास आउँछ । ‘भूत’, ‘प्रेत’, ‘पिशाच’, ‘बोक्सी’, ‘देवता’ आदिको वरदान वा भय प्रकट गर्ने बालसाहित्यले पनि बालबालिकाको मस्तिष्क विकासमा अवरोध खडा गर्दछ । बालसाहित्य, बालबालिकालाई आफ्नै शक्तिमाथि विश्वास हुने गरी ज्ञान प्रदान गर्ने र विज्ञानसम्मत हुनुपर्छ । यसले बालबालिकालाई आधुनिक, सभ्य र सुसंस्कृत हुन मार्ग दर्शन गर्नुपर्छ । बालसाहित्य सिर्जना गर्दा बालबालिकाको मनोविज्ञान र रुचिलाई ध्यान दिनुपर्छ ।

बालसाहित्यले एक आपसमा सम्मान गर्न सिकाउनुपर्छ । सामाजिक विभेद हुनै नदिने वातारण बनाउन भूमिका खेल्नुपर्छ । घरघरै भइरहेको बालबालिका बीचको सामाजिक विभेदको अन्त्य गर्न प्रोत्साहित गर्नुपर्छ । बालिकाले लैङ्गिक हिंसाका विरोधमा जरुरत परे प्रतिकार गर्न हिम्मत गर्ने शिक्षा दिनुपर्छ । देशप्रेम र मातापिताको सम्मानलाई केन्द्रमा राख्नुपर्छ । ज्ञान दिने शैली मनोञ्जनात्मक हुनुपर्छ । भाषा, उमेरअनुसार सरल र शब्दहरूको ज्ञान बढाउने खालको होस भनेर ध्यान दिनुपर्छ ।

 

३) बालसाहित्यको अवस्था कस्तो छ ?

नेपालमा बालसाहित्य प्रगतिको दिशातिर हिँडिरहेको देखिन्छ । यो शहर केन्द्रित छ । गाउँमा नगण्य छ यसको प्रचार । शहरमा सर्जकहरूको संख्या पनि निकै वृद्घि भएको भेटिन्छ । गुणस्तर पनि बढिरहेको पाइन्छ । श्यामदास, प्रमोद प्रधान आदि ठूलो सङ्ख्यामा, विद्वानहरू बालसाहित्यको सिर्जना र विकासमा समर्पित हुनुहुन्छ । सिर्जनाकारको जीविका भने यसबाट चलेको देखिदैन ।

बालसाहित्य लेख्ने, छाप्ने, पुस्तक किन्ने र पढ्ने प्रवृत्तिको विकासको गति सन्तोषजनक छ । विषयवस्तुको छनोटमा भने केही समस्या देखिएका छन् । बालबालिकाको मस्तिष्क विकासमा अवरोध गरिरहेको अन्धविश्वासबाट मुक्ति दिलाउने सामग्री भने थोरै मात्र भेटिने गरेको छ ।

 

४) बालसाहित्यले नानीहरूमा के कस्तो भूमिका निर्वाह गर्छ ?

बालबालिकालाई कच्चा माटो भन्ने परम्परा रहेर आएको छ । यो सही प्रमाणित भएको विषय हो । बालबालिकालाई अभिभावक र गुरुले जस्ता बनाउन सुरु ग¥यो त्यस्तै बन्न सक्छन् । बालसाहित्यले यिनीहरूलाई आधुनिक, सभ्य, सुसंस्कृत र वैज्ञानिक बनाउन महत्वपूर्ण भूमिका खेल्दछ । यसले बालबालिकाको भौतिक तथा आत्मिक विकासमा निकै सकारात्मक प्रभाव पारेको छ । त्यसकारण बालसाहित्यको विकास गरिनुलाई अनिवार्य काम मान्नुपर्छ । बालसाहित्य, वर्तमान साहित्यिक जगतको मुटु भएर स्थापित भएको छ ।

प्रकाशित: २९ श्रावण २०७७ १५:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App