१० आश्विन २०७७ शनिबार
कला

जलरङले डाेर्‍याएकाे जीवन

जलरङ क्यानभास शून्य थियो । एनबी गुरुङलाई भने जलरङमा विभिन्न आकृति उतार्नु थियो । रङ र कुची जीवनमा नदेखेको मान्छेले क्यानभास सजाउनु पहाड चढ्नुजत्तिकै कठिन थियो ।  

अहिले उनी दिनरात रङ र कुचीसँगै विभिन्न आकृतिका चित्र उतार्न तल्लीन छन् । जलरङमा क्यानभासमा नयाँपन दिँदै प्रकृति सम्पदाको सौन्दर्य पस्किन व्यस्त छन् । 

 

जीवनमा केही गर्ने र आफ्नो कर्ममार्फत चिनिने अभिलाषा सबैमा हुन्छ । तर त्यसका लागि निरन्तर साधानको जरुरी हुन्छ ।  यस्तै मेहनती र संघर्षशील कलाकार हुन्, एनबी गुरुङ । उनी २ दशकदेखि चित्रकारितामा सक्रिय छन् ।  

पोखरा लेखनाथ नगरपालिका सैनिक वस्तीमा हुर्किएका गुरुङका स्कुले साथीमध्ये कोही ब्रिटिस लाहुरे भए, कोही बिदेसिए । पैसा कमाउन थाले । यसको दबाब पनि पर्यो, एनबीलाई । गाँउका सबै ब्रिटिस लाहुरेमा भर्ती हुन जान्थे । उनलाई पनि जानुपर्छ भन्ने दबाब आउँथ्यो । छिमेकका सबै भर्ती भए ।  

‘गाउँमा सबै लाहुरे भएकाले मलाई पनि बुबाले लाहुरे बन्नुपर्छ भन्नु हुन्थ्यो, तर मलाई न लाहुरे हुन मन लाग्यो, न विदेश जान नै, किताबको चित्र हेरेर कोर्न थालेछु’, गुरुङ विगत सम्झिन्छन् ।

गुरुङको जलरङ पेन्टिङ विदेशीमाझ नेपालका सम्पदा चिनाउने माध्यम बनेको छ ।  

कलाकारितमा भविष्य खोज्दै उनी २०५८ सालमा काठमाडौं आएका हुन् । पोखरेली ठिटोलाई काठमाडौं निकै चुनौतीपूर्ण थियो । तर उनले आफ्नो पेन्टिङ बेचेरै दैनिक खर्च जुटाउन थाले । ‘कलाको कुनै सीमा नहुँदो रहेछ, नेपालको सुन्दरता पस्कने प्रयत्न गरिरहेको छु, नेपालको दूतजस्तै बनेर विदेशमा नेपाली कला फैलाउन पुगेको हुन्छु,’ गुरुङ भन्छन् ।  

उनी विदेश जाँदा नेपालका कला र संस्कृति पनि सँगै जान्छन् । त्यहाँका दर्शक र कलाकारसँग साक्षात्कार गर्नु पाउनु अवसर पनि हो ।  

‘दिउँसो कलेज जान्थें, बिहान–बेलुका पेन्टिङ गर्थें, त्यही बेचेर खर्च धानिन्थ्यो,’ गुरुङ आफ्नो सुरुवाती दिन सुनाउँछन् । उनी २ वर्षसम्म पेन्टिङ सिक्न भौतारिए । तर कतै मेसो पाएनन् । पछि उनको चित्रकार आलोक गुरुङसँग भेट भयो । आलोकले उनलाई चित्र कोर्ने बाटोमा डोर्याइदिए । त्यसपछि गुरुङ विभिन्न आकृतिका चित्र सिर्जना गर्न थाले ।  

आफ्नो कामप्रति गर्व लाग्ने उनी बताउँछन् । पेन्टिङ सजावट मात्रै होइन, समाजको ऐना पनि हो । जीवनमा धैर्यता चाहिन्छ । धैर्यता भएन भने जीवनमा सफलता हासिल गर्न सकिँदैन भन्ने उनको बुझाइ छ ।

स्कुल पढ्दा किताबका पानामा धेरै चित्र देख्थे । ‘किताबका जस्तै चित्र कोर्न रमाउँथें, एक जना छिमेकी दाइ साइनबोर्ड डिजाइन गर्थे, त्योसँगै उनी पेन्टिङ पनि गर्थे, त्यही देखेर म पनि चित्रप्रति आकर्षित भएको हुँ,’ गुरुङले विगत सुनाए ।

जलरङसँग खेल्न थालेको २ दशक नाघ्यो । जीवनमा अनेक उकाली–ओराली र घुम्ती आए, तर चित्र कोर्न छाडेनन् । भर्खर चित्र सिक्दै गर्दा पत्रिकामा नाम आउँदा मन फुरुङ्ग हुन्थ्यो । कलाकारिताको भविष्य अन्योल थियो । आफूले खोजेजति सबै नपाए पनि केही सपना पूरा भएको उनी बताउँछन ।

बुद्धि गुरुङ, यादवचन्द्र भुर्तेल, दुर्गा बरालजस्ता कलाकारको नाम, स्कुल पढ्दा सुनेका थिए, उनले । पेन्टिङकै कारण उनीहरू नाम र दाम दुवै कमाउन सफल भएका थिए । उनलाई पनि त्यस्तै बन्ने रहर जाग्यो । तर सफलता पाउन सोचेजस्तो सजिलो कहाँ हुन्थ्यो र !

उनै आलोकले उनमा कलाको बीउ रोपिदिए।

‘आलोक गुरुङ मेरा गुरु हुन्, उहाँ नभएको भए म यो ठाउँमा हुन्नथें,’ गुरुङ भन्छन्, ‘हिजोसम्म चित्रकारिता कसैले सम्भावना नदेखेको विधा थियो, तर आज यसैमा भविष्य बनाउँछु भन्नेहरू धेरै छन् ।’  

घरको आर्थिक अवस्था कमजोर थियो । परिवारलाई कलासँग मतलब थिएन, पैसासँग थियो । ‘मैले पैसा कमाउन सक्ने अवस्था थिएन,’ उनी सुनाउँछन्, ‘अभावसँगैको संघर्ष थियो त्यो जीवन, तर कलाकारितको भोकले जर्बजस्त लागिरहें ।’  

चित्रलाई राम्रोसँग बुझ्दै थिए । उनले पोखरामै ब्याचलर सके । काठमाडौंमा नयाँ जोश र सपना लिएर आए । तर काठमाडौं सोचेजस्तो सजिलो भएन ।  

कोठामै पेन्टिङ गर्न थाले । पेन्टिङ गर्दै उनले एमए उत्तीर्ण गरे । तर नियमित पैसा आउने वातावरण बनेन ।  

‘जीवन धान्न मुस्किल भयो, त्यसैले आर्ट ग्यालरीमा ‘क्युरेटर’ का रूपमा जागिरे भएँ, केही पैसा आउँथ्यो तर पुगेन, त्यो जागिर छाडेर ललितकला क्याम्पसमा अंग्रेजी विषय पढाउन थालें,’ उनले सुनाए ।

कजेल पढाउन लागेको २ वर्ष भएको थियो । कलेज पढाउँदा उनलाई त्यति मजा आएन । अनि फेरि पेन्टिङमै जम्न थाले ।

गुरुङ त्यस्ता व्यक्ति हुन्, जसले कुनै पनि पेन्टिङको औपचारिक ‘क्लास’ लिएका छैनन् ।  उनले कहिल्यै ‘अन्डर’मा बसेर काम गर्नुपरेन ।

छोटो समयमै उनी आफ्ना सिर्जना देश/विदेशमा फैलाउन सफल भएका छन् । अहिले उनी विदेशका विभिन्न ठाउँमा चित्रकला प्रदर्शन गर्न र सिकाउन व्यस्त छन् ।

‘पेन्टिङ आफैंले रोजेका विधा हो, मैले अझै सिक्दै सिकाउँदै जानुपर्छ,’ उनले भने ।

गुरुङ इन्टरनेसनल वाटरकलर सोसाइटी अफ नेपालको अध्यक्ष हुन् । उनी विभिन्न देशमा यससम्बन्धी कार्यक्रममा सहभागी हुन्छन् ।

गुरुङले भारत, बंगलादेश, इन्डोनेसिया, कोरिया, थाइल्यान्ड, स्विजरल्यान्ड, चेक रिपब्लिकलगायत २ दर्जनभन्दा बढी देशमा आफ्नो कला प्रदर्शन गरिसकेका छन् । उनले थुप्रै सम्मान÷पुरस्कार पनि पाइसकेका छन् ।

जलरङ के हो ?

साधारण भाषामा जलरङ माध्यम हो । जसरी साहित्यमा विविध विधा हुन्छन्, त्यसैगरी जलरङ पनि चित्रकारिताको एउटा विधा हो । चित्रको पनि अभिव्यक्ति गर्ने आफ्नै शैली हुन्छ ।

उनको विधा पनि जलरङ नै हो । उनको बुझाइमा जलरङमा बेग्लै विषेशता हुन्छ । चित्रकारितमा सबैभन्दा अप्ठ्यारो विधा जलरङलाई मानिन्छ । जलरङ पेन्टिङले एकदम ताजापन दिलाउँछ । त्यसैले हत्तपत्त कोही यो विधामा नलाग्ने उनको बुझाइ छ ।  

‘पेन्टिङ गर्नुले मात्रै समाजमा महत्व राख्दैन, समाजको संवेदना उतार्न सक्नुपर्छ, जलरङ पेन्टिङ ‘अन्कन्सियस’ रूपमा उत्पन्न हुने कुरा हो,’ उनी भन्छन्, ‘मान्छेको दिमागमा भएको संवेदना चित्रमा उतार्न सक्नुपर्छ ।’  

क्यानभासमा विभिन्न चित्र उतार्न माहिर गुरुङ पछिल्लो समय सिर्जनामा मानिसको संवेदना खोजिरहेका छन् । उनी घुम्दा डुल्दा देखिने मानिसका पीडा र खुसीलाई बढी समेट्छन् ।

नेपाली दर्शकले पछिल्लो समय पेन्टिङ बुझ्न थालेको गुरुङ बताउँछन् ।

राम्रो पेन्टिङ गर्न सक्यो भने बिक्री गर्न कुनै गाह्रो छैन । ‘पेन्टिङले कस्तो प्रस्तुति दिन्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ, बजार हेर्नुभन्दा पनि आफूले चित्रमा के उतार्न सकिन्छ भन्ने कुरामा बढी ध्यान दिनुपर्छ,’ त्यस्तो पेन्टिङ आफैं बिक्री हुन्छ,’ उनी भन्छन् ।  

उनको पेन्टिङ मन पराउने दर्शक विदेशी मात्रै छैनन्, नेपाली पनि धेरै छन् । नेपालमा आर्टप्रेमी बढेका छन् । दुई वर्षअघि उनको जलरङ पेन्टिङ ३ लाख रुपैयाँसम्ममा बिक्री भयो ।

उनका पेन्टिङ नेपालमा मात्र होइन, भारत र बेलायतमा पनि एकल प्रर्दशन भएका छन् । ‘सौन्दर्य पस्कनु मात्रैले कलाकार बनिँदैन, पेन्टिङले समाजको कथा बोल्नुपर्छ,’ उनी भन्छन् ।  

‘अहिले कलाकारहरूको जीवनशैली परिवर्तन भएको छ । आफ्ना सिर्जना देखाउने ठाउँ पाइरहेका छैनन्,’ गुरुङ भन्छन्, ‘कोरोना महामारीले कला क्षेत्र नै थलिएको छ । आर्ट हाउसमा ताला झुण्डिएका छन् । कलाकाहरूले सिर्जना गरे पनि प्रर्दशन गर्न पाएका छैनन् ।’ 

गुरुङले काेराेना महामारीका कारण लकडाउन भएपछि हालै भर्चुअलमार्फत चित्र प्रदर्शनी गरे। जसमा ६५ कलाकारका एक–एकवटा चित्र प्रदर्शनमा राखिएका थिए। कार्यक्रम निकै फलदायी भएको गुरुङ सुनाउँछन्।  अनलाइनमार्फत विभिन्न देशका कलाकारले बन्दाबन्दीमा गरेका सिर्जनालाई एकमुस्ट देखाउने मौका मिलेकाे र  नेपाली कला पनि अन्तर्राष्ट्रियस्तसम्म पुग्न पाएकाे उनकाे भनाइ छ। 

‘अहिले कलाकारहरुको जीवन शैली परिवर्तन भएको छ। आफ्नो सिर्जना देखाउने ठाउँ पाइरहेका छैनन्। अहिलेको अवस्थामा अनलाइन नै उपयुक्त माध्यम बनेको छ। यसले कलाकारलाई पनि थप ऊर्जा मिल्छ’, उनले भने।

प्रकाशित: २८ श्रावण २०७७ १७:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App