१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

स्मृतिमा छाडेर जानेहरू

नयाँ कृति

नगेन्द्रराज रेग्मी

जयदेव भट्टराईको ‘स्मृतिमा छाडेर जानेहरू’ नामक पुस्तक हात पर्नासाथ मैले यसको कलेवर, आकारप्रकार, साजसज्जा र सुन्दरतालाई निहार्दै निकैबेर सुमसुम्याइरहे, पढ्नुभन्दा पहिले । बीपीले नयाँ पुस्तकको बारेमा गरेको अभिव्यक्तिप्रति म निकै प्रभावित बनिरहेको थिएँ । आफूलाई प्राप्त भएको नयाँ पुस्तक अध्ययन गर्नुभन्दा पहिले उनले यो भावना प्रकट गरेका थिए–‘....नयाँ किताब तरुणी हुन्, तिनमा आफूलाई चुर्लुम्म पार्नुभन्दा पहिले तिनीहरूलाई सुमसुम्याउनुपर्छ, यताउति उल्टाइपल्टाई हेर्नुपर्छ, एउटा आशा र उत्कण्ठाको सरसरी नजर माथिदेखि तलसम्म हाल्नुपर्छ, यसो सुघ्नुपर्छ... (जेल जर्नल पृ.२७÷२८) ।’ गहन बिम्ब र ओज बोकेको यो अभिव्यक्तिले मेरो मन छोइरहेको छ ।

आज प्राप्त जयदेव भट्टराईको चिटिक्क परेको आकर्षक यो कृतिसँगसँगै कृतिकारको पनि केही चर्चा गर्न मन लागेको छ मलाई । स्रष्टा÷सर्जककै जीवनी र व्यक्तित्वमा अहोरात्र खटिरहने व्यक्तिको बारेमा केही बोल्ने यो सुनौलो अवसर हो भन्ने पनि ठानें । आजभन्दा ३२ वर्ष अगाडि यिनै जयदेव भट्टराईसँग हामीले मित्र विष्णु आभूषण सहित एउटा अन्तर्वार्ता लिएका रहेछौ । त्यो नै उनको प्रथम अन्तर्वार्ता हुनुपर्छ, जुन २०४४ साल माघ १७ गते साहित्यिक आइतवारमा प्रकाशित भएको थियो । ‘...म पाटन क्याम्पसमा आइए पढ्दादेखि नै त्यो साहित्यिकार युवा, बूढो अथवा कस्तो होला ? बढी जिज्ञासु हुन्थें । यसले गर्दा कही–कतै साहित्यकारको फोटो छापिएको पाउनासाथ काटेर राख्न थालें, तर कुरा यत्तिकैमा टुंगिएन...।’ हो, उनको कुरा यत्तिकैमा किमार्थ टुंगिदैन । पहिला उनले पत्रिकाबाट सर्जकको फोटो काटेर राख्न थाले, तर त्यत्तिले मात्र चित्त बुझाउन सकेनन् । पछि फोटो नै संकलन गर्न थाले । अब फोटो मात्र होइन, उनले सशरीर उपस्थित भएर व्यक्ति नै जम्मा गर्न पुगे । पुग्दापुग्दै उनी अहिले स्रष्टा सर्जकको इतिहास, इतिवृत्त तयार गर्ने एक कुशल अनुसन्धाता र खोजकर्तामा दरिन पुगे । सायद उनको यस क्षेत्रमा पदार्पण गर्ने प्रारम्भिक पृष्ठभूमि यही हुँदो हो !

एउटा २२ वर्षे ठिटो, जो भर्खर क्याम्पस छिरेको छ पढ्नलाई । आफ्नो घरमा साहित्यिक वातावरण पनि छैन, तर देशविदेश र मोफसलसम्म पुगेर साहित्यकारको विवरण संकलन गर्न घरघर चाहरिरहेको छ । यो देख्दा उनको जोश, जाँगर र हौसलाबाट हामी सुरुदेखिनै प्रभावित भएका थियौ । हामीमा पनि एउटा ऊर्जा र उत्साह थपिएको थियो । त्यहाँबाट सुरु भएको उसको साहित्यिक यात्रा अनवरत र अविचलित रूपमा अहिलेसम्म यथावत रहेको छ ।

के छाडेर जाने स्रष्टा सर्जकहरुको जिम्मा जत्ति जयदेवले बोक्नुपर्ने ? ओझेलमा परेका साहित्यकारलाई के उनैले मात्र बाहिर निकालेर प्रकाशित पार्नुपर्ने ? अन्तर्वार्ता, जीवनी र ब्यक्तित्व के उनैको मात्र ठेक्का हो ? यावत् प्रश्न एकसाथ उब्जन्छन् र केही अपवादलाई छाडेर भन्ने हो भने अहिले यो उनैको मात्र काम हो, उसैको मात्र जिम्मा हो भन्नेजस्तो स्थिति आइरहेको देखिन्छ । अरू स्रष्टा सर्जक मौलिक सिर्जनामा लागेका छन्, जयदेव भट्टराई तिनै मौलिक सिर्जना गर्ने व्यक्तिको कृति र कृतित्वको बारेमा चर्चा गरिरहेको छन् । अनि जयदेवले गरेको कामलाई चाहिँ मौलिक सिर्जना नमान्ने तिनै स्रष्टा उद्घोष गर्दछन् यो कत्रो र कस्तो विडम्बना ? बुझिनसक्नु छ । सायद त्यसैले उनी यही कृतिभित्र भन्छन्, ‘...कथा, कविता, निबन्ध, उपन्यास, नाटक आदि लेखनलाई सिर्जनशील लेखन भनिएजस्तै स्रष्टाहरूबारे लेखिएका शब्दचित्र, कुराकानी, अनुभूति आदि पनि सिर्जनशील लेखन नै हुन् भन्ने मेरो मान्यता रहेको छ । ‘...लेखनको आरम्भदेखि आफ्नो लेखनीलाई लेख्नेहरूमै केन्द्रित गर्दै आएको’ कुरा उनले यसमा स्पष्टसँग बताएका छन् ।

यस कृतिभित्र नेपाली साहित्यका मूर्धन्य व्यक्तित्वहरू समेटिएका छन् । डायमण्डशम्शेर राणा, गोविन्दबहादुर मल्ल गोठाले, फणीन्द्रराज खेताला, पुण्यरश्मि खतिवडा, धर्मराज थापा, कृष्णचन्द्रसिंह प्रधान, माधवलाल कर्माचार्य, इन्द्रबहादुर राई, देवकुमारी थापा, बुलु शर्मा, जगदीशशम्शेर राणा, कमलमणि दीक्षित, भवानी घिमिरे, राजेश्वर देवकोटा, सुन्दरप्रसाद शाह, राधिका राया, नित्यराज पाण्डे, बालकृष्ण पोखरेल, भीम विराग, सोमध्वज विष्ट, कृष्णप्रसाद पराजुली, वासु शशी, हेम हमाल, देवी शर्मा, राममणि रिसाल, वास रिमाल यात्री, डा. राममान तृषित, शिव रेग्मी, कुमारबहादुर जोशी, मनु ब्राजाकी, क्षेत्रप्रताप अधिकारी, जगदीश घिमिरे, प्रेम शाह, दैवज्ञराज न्यौपाने, कृष्णभूषण बल गरी जम्मा ३५ जना व्यक्तित्वसँग साहित्य र साहित्येतर विभिन्न विषयका कुराकानी,  विचार र उहाँहरूका भावना बुझ्ने काम यहाँभित्र गरिएको छ । उहाँहरूले भोगेको जीवन र जगत्का यावत् उहापोहहरूलाई जयदेवको कलमको कुशल शिल्पी टुँडाले मिहीन पाराले कुँदेको छ । दुखसुख, हाँसो र रोदनका खँदिला खुराकहरू यसभित्र समेटिएका छन् । कहिले पुगे होला यत्रा व्यक्तिहरूका घरमा ? कति दुख, हण्डर र ठक्कर खानु पर्यो होला उनले ? प्राप्त भएका कच्चा सामग्रीलाई प्रशोधन गर्न कति दिमाग खियाउनु पर्यो होला ? कागज, मसी, कलम र कम्प्युटर...सम्झदै कहिलेकाही त कहालीलाग्ने ! किन यो दुखेसोमा लागेका होला ? फेरि सम्झें–उनीहरुले यसरी दुखेसो गरिदिएकैले त भोलिका पुस्ताले यस्ता साहित्यकार र नेपाली साहित्यलाई चिनिरहेका छन् नि ? नत्र दुख हुन्छ भनेर उत्तम कुँवर बसेका भए नेपाली साहित्यले स्रष्टा र साहित्यजस्तो गहन कृति पाउँथ्यो ? मेरो काम कथा लेख्ने त हो नि भनेर परशु प्रधान बसेका भए के नेपाली साहित्यले केही क्षण केही अनुहार र केही अनुहार केही क्षण पाउँथ्यो ? शंकर लामिछाने, इन्द्रबहादुर राई हुँदै नारायणबहादुर सिंह, आनन्ददेव भट्ट, किशोर कुँवर, नरेन्द्रराज प्रसाई, श्रीओम श्रेष्ठ रोदन आदिका यस्ता कृतिहरू कत्ति छन् कत्ति । अतः यस्ता पाइनसक्नुका कृतिहरू पाउनका लागि यस्ता शिल्पीहरूले दुख पाउनै पर्छ भन्ने लाग्यो ।

यस कृतिको विषय सूची हेर्नासाथ साहित्यकारको नाम थाहा पाउन नसक्दा निकै झिजो मानेर आफूलाई चाहिएको स्रष्टा खोज्नुपर्ने परिस्थिति पुस्तकभित्र देखिन्छ । यसलाई खोट लगाउन खोजिए पनि कृतिकारले जानाजानी पुस्तक केही मात्रमा भए पनि पाठकले पढेर जानकारी प्राप्त गरेस् भनेर यस्तो चलाखी रचिएको पनि हुन सक्छ, अथवा आआफ्नो लेखकीय परिचय पनि हुन सक्छ भन्ने सोचेर यसमा धेरै खोतलखातल पार्न मन लागेन । अन्तमा यी व्यक्तिहरूले यो संसार छाडेर गए पनि हामी सबैको मन मस्तिष्कमा, स्मृतिमा कहिल्यै छाडेर नजानेहरु भन्ने छाप छाडेका छन् ।

          पुस्तकको नाम – स्मृतिमा छोडेर जानेहरु

        कृतिकार – जयदेव भट्टराई

         प्रकाशक – जनता प्रसारण तथा प्रकाशन लिमिटेड

      संस्करण – २०७६, भदौ

        पृष्ठ – १७६

       आवरण – समन श्रेष्ठ

      मूल्य – २३०।–

प्रकाशित: २७ श्रावण २०७७ ०६:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App