६ आश्विन २०७७ मंगलबार
कला

धर्म

कथा

जयन्ती स्पन्दन

 

आज सोमबारे व्रत भएकोले बिहानैदेखि मन्दिर जाने भनेर सरिता बेग्लै किसिमले फरयाकफुरुक गरिरहेकी थिइन् । रातो सारी एवं झपक्कै गरगहना, हरिया चुरा, पोते र श्रृङगार पटार गर्नमानै उनको समय व्यतित भइरहेको थियो ।  

“एकगिलास तातो पानी त दिन भ्याउछ्यौ होला नि?” श्रीमान्ले ओछ्यानबाटै आङ तन्काउदै भने ।

 “उठने बेलामा ढिलो उठने, म त भ्याउन्न है । अहिले मन्दिरको लाइन काँ पुगि सक्छ । गए पनि ।” जबाफ फर्काउदै हस्याङफस्याङ गर्दै उनी निस्किन् । 

“ओहो लाइन त लामै भैइसकेछ त ।, हत्तेरिका कति खेर दर्शन पाइने होला ।” मनमनै सोच्दै उनी लाइनमा बसिन् ।

 आफूसंगै लगेका धुप, वत्ती, फूल, प्रसाद ठिक्क पारिन् । यताउता हेर्दाहेर्दै उनले आफूभन्दा अलि अगाडी छिमेककै अनुलाई लाइनमा उभिइरहेको देखिन् । पल्याकपुलुक हेरेर उनी अनुकै छेउमा पुगिन् ।

“हेर्नु न अबेर उठिएछ, यसो यही”भन्दै त्यहि नेर घुसिन् । एकछिनमा लाइनमा ठेलमठेल भयो । आफ्नो अगाडी घुसेकी सरितालाई अनुले देखिनन् । “ओहो कताजानु भएछ ?” अगाडी पछाडी हेरिन् । विस्तारै लाइन अघि बढ्यो । उनलाई वित्यास परयो । लाइन छोडेर खोजाँै त फेरी बस्न नपाइएला । “दर्शन गर्न ढोकामा पुगुन्जेल त अवस्य आउनु होलानि कतै नैवेध किन्न वा समान मिलाउन जानु भयोहोला ।” मनमनै सोच्दै लाइन संगै अगाडी सर्दै गरिन् । 

पछाडीबाट धाप मार्दै “लौ अझै लाइन मै पो हो ।, मैले त दर्शन गरिसके ।” सरिता विस्तारै फुस्फुसाइन् ।  

“आम्मै कसरी त ...?” 

“यसो आँखा छल्दै अगाडी बढी हाल्नुपर्छ नि !, काँ यसरी बसेर हुन्छ ।” “लौ म त सक्दिन । अझै कम्तिमा एक घण्टा त लाग्ला । वरिपरि घुमेर यतैबाट फर्कु कि झँै भइरहेछ । घरमा कति काम बिति सक्यो ।” 

“ह्या काँ यसरी हुन्छ ! मलाई त ढुक्क भो, भित्रै गएर आनन्दले दर्शन पाएँ । व्रत वसेको धन्य भयो । हस् त मलाई अलि हतारै छ , जान्छु है ।” हतारिएर बोल्दै सरिता निस्किहालिन् ।

अनु दोधारमा परिन् । “लाइनमा बसेर दर्शन गरुँ त काम बित्ने डर, लाइन मिचु त धर्म कमाउन आएको कसरी आँखा छल्नु ।”

प्रकाशित: २६ श्रावण २०७७ १७:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App