८ वैशाख २०८१ शनिबार
कला

भाग्यमानी बर

निबन्ध

 

बोधराज पौडेल

                                                     

बरपीपलकोे महत्व सबैभन्दा पहिला कसले बुझ्यो किन बुझ्यो र केका लागि बुझ्यो । त्यसलाई चौतारीमा पहिला सजाउने कुरा कसको मानसपटलमा आयो । र, कसले पहिलो चौतारीको निमार्ण गर्यो । त्यसको उत्तर आजसम्म पाएको छैन । तर बरपीपलकोे छायामा सयौ बिसौनीहरू बिसाइएँ । सुस्ताइएँ । लामो खुइँया काढिए । तर चौतारी त्यहाँ अडिग छ । हजार यात्रीहरूलाई शीतलताप्रदान गर्दै तसर्थ यसैले नै होला अग्रजहरूले  आशीर्वाद दिँदा बरपिपल जस्तो तपेर रहनु भनेको पनि ।

चौतारीको नजिकै पुगेर बिसाउँदा कहिलेकाहीँ मनमा एउटा भाव आउँछ । जहाँ प्यास मेटाउनका लागि कलकल बगिरहेको सानो धारो होस्  । जसले जलेको आत्मालाई केही शीतलता प्रदान गरोस् र मीठो आशिष् देवोस् मैले जस्तै तिमीले पनि हजारौको सेवा गर । तिनीहरूको दुःखलाई आफ्नो संझ तर याद गर तिम्रो मन लोभपापबाट टाढा रहोेस् । मलाई हेर न मेरो शितलतामा रमाउँछन् । कति त बास बस्छन् । मेरै काखमा खाना पकाउँछन् । मलाई उनीहरूको पसीनाको बास्नासँगै तिनीहरूले उमालेको गुन्द्रुकको वास्ना पनि उति नै मन पर्छ, उनीहरू खान्छन म अघाउँछु ।

गोठालाहरूको सुसेली अर्को मीठो स्पन्दन हो मेरो । उनीहरूको बाँसुरीको धुन, बालबालिकाको गट्टाको उफ्राइ र बेलाबेलामा मेरो हाँगाका खेलिने सैैसैला मलाई प्यारो लाग्छ । गोठालाहरूले मेरौ आङमा बसेर बुन्ने डोकोको हरेक आँखाबाट म समाजलाई हेरिरहेको हुन्छु । सिकारुले बनाउने हलोबाट जातिने धर्तीको कल्पना गर्छु र तलतल टारी खेतमा त्यही हलोले जोतेर झुलेका लहलह धानका बालाहरू हेर्छु । कहिलेकाहीँ म यी सबै कुरा नपाउँदा एक्लो महसुस गर्छु । नितान्त एक्लो । त्यसबेला मलाई छोएर जाने हावामा म सुस्केरा छोड्छु, त्यो मेरो वेदनाको पीडा हो ।

तर, आहा ! म त संसारको भाग्यमानी बर । मेरो आङमा ढाँक्रेले छरेको अङ्गार र खरानी, केटाकेटीले त्यागेको विष्टा यसमा मलाई कुनै गुनासो छैन । मलाई थाहा छ उनीहरू यति गर्नकै लागि यहाँ आउँछन् । उनीहरू नआए मेरो आङलाई बनमारा र बद्रीफूलले ढाँक्छ । मेरो मित्रता र वात्सल्यता भने त्यसैत्यसै हराउँछ ।

ऊ भन्दै जान्छ । जीवन सबैको हुन्छ । फलाम त फलाम नै हो, बनाउन जानेमा त्यो धारिलो औजार बन्छ । कामलाई सजिलो बनाउँछ । तर, त्यसलाई हामीले गलत काममा प्रयोग गर्नु हुँदैन । म उसको चिन्तनबाट यति प्रभावित छु जति आजसम्म गुरुबाट समेत भएको छैन ।

मेरै हाँगा र फेदमा वा शितलतामा कतिको प्रेम कहानी रचियो होला । अनि कतै विरहको गीत पनि गुन्जियो होला । अझ  झन् रोचक छ युद्ध र वीरताको गाथा । मैले नसुनेको केही छैन । र कहिलेकाहीँ म कचहरी पनि सुन्छु । मनमनै भन्छु, ‘हे ईश्वर म संसारका सबै कुरा सुन्न सक्छु तर यो कचहरी मेरो आङमा फेरि नहोस् । कति नमिल्दो आरोपहरू ओकल्न सक्छन् मान्छेहरू । मन मिल्दा आन्द्राभुडीँ साटेर हिंड्छन् । नमिल्दा कुरा काटेर हिँड्छन् ।

उसको यो भनाइले मलाई भित्र कताकता थिचेँझैं लाग्छ । अहो ! मानिसको चरित्र कस्तो छ–एकछिन अघिको मित्रता एकैक्षणमा शत्रुमा परिणत भइदिन्छ । म निश्वास बन्छु । आँखालाई यसरी दबाउँछु मानौं कुनै कुरा हेर्नु नपरोस् । तर, यहाँ त आँसुका ढिक्काहरू बरबरी खसे । मैले पखाल्न खोजेको त्यो स्वार्थ त अलिकति पनि बगेको देखिन । राता आँखाले पलाउँदै गरेका नयाँ बरका राता आँकुराहरूलाई हेरेँ । तिनले मलाई कायर भन्दै गिज्याएको जस्तो ठानेँ । जसलाई आज वा भोलि केटाकेटीले खेल्दा चुडालेर फालिदिन्छन् । मैले यतिबेला सानो हावाको प्रवेगता महसुस गरे । जसले मलाई ब्यूँझायो ।

बाटो जताबाट आआोस् । जता जाओस । उसले कहिल्यै भेदभाव गरेन । जुन जाति होस् वा धर्म, उसले त्यसको पनि मतलब राखेन । मेरा पुर्खाको आर्जनदेखि मेरो नातिको पाइनसम्म सबै नापेको छ यो बरले । तर पनि, उसले कहिल्यै घमण्ड देखाएन । उसको यो सद्भाव देखेर कहिलेकाहीँ म किन यस्तो हुन सकिन । मेरो समाज किन यो बर जस्तो ज्ञानी भएन । यो बरले कुन विश्वविद्यालयमा पढ्यो । यति सद्भावको ज्ञान ? मैले उसलाई कयौपटक सोधेको छु । तर, ऊ केही बोल्दैन सायद भन्दो हो तिमीहरू स्वार्थी मनुष्यलाई यो कुराको अर्थ थाहा छैन । तिमीहरू त सधै दमन र विरोध मात्र जान्दछौ । यी सबै कुरा तिमीहरूले मबाट सिक्न पनि सक्दैनौ । किनभने त्यसका लागि त्यागको जरुरी हुन्छ । स्वार्थीहरूमा त्यो तागत कहाँ ? उसको कुराले म लज्जित हुन्छु । मेरो विश्वविद्यालयको सर्टिफिकेट मनमनमा हल्लिरहन्छ ।

म पनि यसै बरपीपलकोे वरिपरि घुम्दा घुम्दै पाकेका बरका दानाहरू छाम्दाछाम्दै र यसको शितलतामा हराउँदाहराउँदै भावुकतामा कतिबेला कवि बने मलाई यो कुराको कुनै संझना छैन । मैले उसका दुःख सुने । गोठालाले टुक्टुक्याएको डोब देखे । भाँचिएका हाँगाहरू हेरे । भत्किएका पर्खालहरू भेटँे । अझ साँचो अर्थमा चारैतिरबाट चिथोरिएको पाएँ । अनि निष्कर्ष निकालें, पीडा भोगाइ र सहनशीलतामा यो चौतारो र मेरो देश बराबर छ ।

हरेक चौतारोको हावा, शीतलतार पीडा बराबर छ । सद्भाव र माया पनि उस्तै । तर पनि  मानिसहरू फलानोले रोपेको यति वर्ष पुरानो यस्तै कुराहरूको चर्चा गर्छन । राख्दैनन् चर्चा र सहानुभूति बरपीपलकोे योगदानको । पानीको झोक्का, हावाको वेग, टाउको थिच्ने भारीको बिसौनी र पसीना ओभाउनमा उसले गरेको योगदानको मूल्य खै ? मेरो मथिङ्गल चर्किने गर्छ यो कुराले कहिलेकाहीँ । यो बेला मलाई सुस्तरी ऊ कानमा भन्छ – म त अरू नै रूखमा रहेर पनि जीवन निर्वाह गर्ने वृक्ष हुँ । मलाई कसैले जमिनमा गाडिदियो र त अहिले म पूरै जमिनमा अडिएको छु भो तिमी व्यर्थको चिन्ता नगर । अरे कति महान छ, यो चौतारो ।

म कवि बन्दै गर्दा बरका हाँगाहरू लहरिएझैं एकपछि अर्को झुण्डिदै आउँछन् कविताहरू । यति मिठासपूर्ण भएर आउँछन्, मानौ वर्षैदेखि तिर्खाएको जमिनमा वर्षात आएको होस् । अनि, पलाउँछन् नयाँ आँकुराहरू कविता, गजल र मुक्तक भएर । कुनै गद्य त कुनै पद्य भएर । यी सबै प्रिय र बराबर लाग्छन् मानौ कुनै औंलाविना मुठी बनाउनु नपरोस् ।

चौतारीको हावाजस्तै कल्पना लगामविना कल्पना भएरै कल्पनामा दौडिन्छ । जराले जमिनमा टेकेजस्तै, लाग्छ उसको लक्ष्य सागर चुम्नु हो । अनि हाँगाबाट देखिने अर्को क्षितिज भेट्न लम्किनु हो । यो यात्रा निरन्तर अगाडि बढ्छ । जसरी ढुङ्गाबाट मूर्ति, र मूर्तिबाट देवता बनेकोहोस् । जहाँ अगाध प्रेम र आस्था रहेको होस् । यस्तो परिवेशमा यसरी पुजिन्छन् शब्दहरू कि ती सबै मूर्तिहरू हुन । जसलाई पूर्ण आस्थाले देवता मानिएको छ । अनि चढाइएको छ चौतारीमा भावपूर्ण पुष्प गुच्छाहरू ।

मलाईँ चौतारोले संझायो । जीवन अलिकता यात्रा, थोरै बाटो र अनगिन्ती मोडहरू भएर अगाडि बढ्छ । अहो, म कल्पना पनि गर्न चाहन्न, त्यो भत्किएको बाटो र छरिएका काँडाहरूको बारेमा । जहाँ त्यो पलको संझनाले मात्र काँडा उम्रिन्छन् आफ्नै शरीरमा । त्यसपछि मात्र हो आभास हुने रक्त र पीडाको । मेरो चौताराको आदिम कथा भन्ने पूरै सुन्ने साहस त म भित्र छैन । र, पनि मनभित्र रहेका अन्तद्र्वन्द्वहरू यत्तिकै आउँछन् । यही परिवेशमा मलाई गिजोल्दै जन्मिन्छ एउटा  भाव, चौताराहरू किन आउँछन् जीवनको अनुभूति र पथ निर्देशन गर्न ? जुन यादगार बनेर रहन्छ, मानव मस्तिष्कको अन्तस्करणमा । चाहेर पनि त्यसलाई मेट्न सकिदैन । सायद त्यो मेटिएको क्षण मानव शरीर कुनै घाटमा जल्दै गरेको हुनेछ । म भन्न सक्छु मैले देखेको जीवनको शाश्वत सत्य यही हो ।

प्रकाशित: २५ श्रावण २०७७ १२:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App