४ माघ २०७७ आइतबार
कला

त्यसपछि म गइहाल्छु...

कविता

 

चन्द्र रानाहँछा 

सुन मेरो एउटा गीत 

त्यसपछि म गइहाल्छु

यो आवाज राख

जतनसाथ राख ओठमा

तर रुनलाई होइन

बोल्नलाई राख

यो यात्रा राख

अठोटसाथ राख

पाइतलामा

तर हिंड्नलाई होइन 

पुग्नलाई राख

उभ तिमी छोएर आकाश 

म तिम्रो पाइतला छोएर गइहाल्छु

आउँदिन म गएपछि 

यी औंलाहरू प्रेमले 

सुस्तरी समाऊ 

हुँदैन फेरि भेट अब उसो

कहिल्यै 

यी आँखाहरूमा आज

निर्वस्त्र नुहाऊ

मेरो छायाँ राख

जतनसाथ राख

आफैसंग

तर कुल्चिनलाई होइन

संगै उभिनलाई राख

मेरा यादहरू राख 

खापैखाप राख हृदयमा

तर बिर्सनलाई होइन

सम्झिरहनलाई राख

बिउँझ ति मी गहिरो निन्द्राबाट

केही भनेर म गइहाल्छु ।

बिउँझिनुअघि

तिमीले सपनामा भेटेको

तिमीजस्तै साहसी घाम

उदाउँछ तिम्रो प्रभाती निधारमा

मायाले सार

सुस्तरी सार आँखामा

घामलाई उसको उज्यालो

टाँग्न मेरो आँखा चाहिन्छ ।

बहदै आउँछ बटुवा बतास

अल्मलिदिन्छ तिम्रो केशरासीभित्र

जसलाई अनन्तसम्म बाँचिदिन 

तिम्रो 

श्वासप्रश्वास चाहिन्छ ।

टुक्राटुक्रा छरपस्ट

प्रत्येक क्षणहरू बटुलेर

सग्लै उभ्याउ युगको 

ओजस्वी ऎना

पुछेर एक एक दागहरू 

हेर आफूलाई त्यहाँ 

ऎनालाई पूर्ण देखिन

तिम्रो सौर्न्दर्य चाहिन्छ ।

जस्तो  यति सुशोभित छु 

म तिम्रो नजरमा 

यतिखेर

शुभ्र , शुकोमल , पारदर्शी ।।।

निस्संदेह  तिमीले याद नगरेको 

अर्को सत्य छ म भित्र 

तिमीले कल्पनै नगरेको भयानक रूप छ मेरो

हेर अन्तिमचोटि मेरो अनुहारमा निर्निमेष

त्यसपछि म गइहाल्छु ।

प्रकाशित: २४ श्रावण २०७७ १५:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App