६ वैशाख २०८१ बिहीबार
कला

गङ्गा कर्माचार्य पौडेलका पाँच लघुकथा

गङ्गा कर्माचार्य पौडेल

 

 

                 मौन प्रश्न

 

एउटा साहित्यिक प्रतिष्ठानका अध्यक्ष आएर वरिष्ठ साहित्यकार क प्रसादलाई भने– ‘यसपालिको पुरस्कार वितरण एकदमै निष्पक्ष हुनुपर्छ । हामीलाई यस्तो व्यक्ति चाहिएको छ, जसले साहित्यमा मरिहत्ते गरी लागिपरेको होस् । थुप्रै गहकिला कृतिहरू प्रकाशित गरिसकेको होस् तर उसलाई कसैले चिन्न नसकेको होस् । त्यस्ता ओझेलमा परेका स्रष्टालाई पुरस्कृत गर्न पाउँदा मलाई सबैभन्दा पहिला सगरमाथा चढेको जस्तो गौरव महसुस हुने छ । गर्वले छाती फुल्ने छ । सही पात्र छनौट गर्न सकेकामा शिर उँचो हुने छ । त्यस्तो योग्य व्यक्ति छनौट गर्ने खूबी मैले तपाईंबाहेक अरू कसैमा देखिनँ । त्यसकारण निर्णायकको भूमिका यहाँलाई नै सुम्पने विचार गरेँ । कृपया नाइँ नभन्नुहोला ।” 

उसका कुरा सुनिसकेपछि क प्रसादले भने, ‘तपाईं व्यक्ति हेरेर पुरस्कार दिनुहुन्छ कि उसको साहित्यिक योगदान, कृतिको मूल्याङ्कन गरेर पुरस्कार दिनुहुन्छ ।’

‘निश्चय नै साहित्यिक योगदान, कृतिको मूल्याङ्कन गरिन्छ । त्यसमा थप उसले अरू क्षेत्रमा के कस्तो योगदान पु¥याएको छ, प्लस प्वाइन्ट त्यो पनि गणना हुन्छ ।’प्रतिष्ठानका अध्यक्षले जवाफ दिए ।

‘हुन्छ, त्यो काम म एक्लैले भन्दा मलाई सहयोग गर्ने एक जना साथी भए सजिलो हुन्थ्यो किनभने मेरो एकल निर्णयले तपाईंले भने जस्तो नहुन पनि सक्छ, हैन त ।’ 

‘ए भइहाल्छ नि, तपाईंले आफूले विश्वास गर्नलायक जसलाई साथ लिएर काम गरे पनि मेरो मन्जुरी छ ।’

अध्यक्षको स्वीकृति पाएपछि क प्रसादले आफूसित विचार मिल्ने एक जना मित्रसँग मिलेर बडो मिहिनेत गरी उपयुक्त व्यक्तिको खोजी गरे । त्यसपछि उनलाई विभिन्न कोणबाट जाँच गरी पुरस्कार दिन लायक ठहर भएपछि नाम सिफारिस गरियो ।

पुरस्कार वितरणका दिन आफ्ना सहयोगी मित्रसहित क प्रसाद निर्धारित समयमैै  कार्यक्रमस्थल  पुगेर बडो उत्सुकतापूर्वक मञ्चतिर हेरिरहे । उद्घोषकले पुरस्कृत व्यक्तिको नाम उच्चारण गरेपछि भने उनी खङ्ग्रङ्गै भए । अझ उसले हातमा पुरस्कार थापेको देखेर त क प्रसादको आँखै तिर्मिरायो किनभने त्यो व्यक्ति उनले सिफारिस गरेको नभई चाकडी गर्न सिपालु, सहयोगको नाममा रकम बाँडी भनसुनको आधारमा थुप्रै सङ्घ–संस्थाहरूबाट पुरस्कार हात पारिसकेको परिचित अनुहार थियो । यो पुरस्कारका लागि पनि उसले आफ्नो घरैमा आएर अनुनयविनय गरेको सम्झिए क प्रसादले । अनि खिन्न हुँदै सँगै बसिरहेका मित्रलाई पुलुक्क हेरे । मित्रले नि उनैलाई हेरिरहेका थिए । कार्यक्रम समापनपछि क प्रसाद र उनका मित्रले ती अध्यक्षलाई भेटेर मुखले केही भनेनन्, तर उसका दुईजोर आँखाहरूले एकसाथ मौन प्रश्न गरिरहेका थिए ।

 

राहत वितरण 

 

गत वर्ष केही मानिसहरू हाम्रो घरमा आएर भने– “हामी पहिरो पीडितका लागि राहत सङ्कलन गर्न आएका हौँं । थोपाथोपा पानीले समुद्र बन्दछ । त्यस्तै तपाईंको सानो सहयोगले पहिरो पीडितका लागि ठूलो मद्दत पुग्न सक्तछ । रुपैयाँ, पैसा, अन्न, वस्त्र जे छ, त्यही दिँदा हुन्छ ।”

उनीहरूको कुरा सुनेर मलाई औधी खुसी लाग्यो किनभने पत्रपत्रिका पढ्दा, टिभी हेर्दा ती पहिरो पीडितका अवस्थादेखि मेरो आँखाबाट तरक्क आँसु झरेको थियो । सहयोग गर्न मन थियो तर कसरी गर्ने मेसो पाइरहेकी थिइन । त्यस्तो बेलामा घरैमा राहत सङ्कलन गर्ने मानिस आउँदा दङ्ग परेँ । त्यसपछि खुत्रुकेमा जम्मा पारेका पैसा, महिनाभरलाई भनी किनी राखेको खाजा चाउचाउ बिस्कुट, चिउरा श्रीमान्, छोरा, छोरी र आफ्नो पनि नयाँ अदाना लुगा, जुत्ता बोराभरि खाँदेर दिई पठाएँ । त्यस दिन आत्मसन्तुष्टिले मेरो मन सिमलको भुवासरि हलुङ्गो भएको थियो ।  

हिजो फेरि उनै मानिसहरू घरमा आएर भने– “नमस्ते हजुर ! तपाईंले पोहरसाल पहिरो पीडितका लागि ठूलो सहयोग गर्नुभएको थियो । यसपालि हामी बाढी पीडितका लागि राहत सङ्कलन गर्न आएका हौँ । सकेको दान गरी पुण्य आर्जन गर्नुहोस् ।” ती मानिसहरूले त्यसो भनिरहँदा उनीहरूले शरीरमा लगाएका लुगा र जुत्ताले मलाई चिनेर मुसुमुसु हाँसिरहे जस्तो लाग्यो ।

 

                               सिमाना 

 

भूगोल विषयका शिक्षकले नेपालको नक्सा फिजाउँदै विद्यार्थीहरूलाई भने, ‘हेर नेपाल पूर्वमा मेची, पश्चिममा कालीसम्म लम्बिएको छ । उत्तरमा हिमाल, दक्षिणमा तराईसम्म पैmलिएको छ । पूर्व, पश्चिमको सिमाना नदीले छुट्याउँछ भने उत्तरतिरको सिमाना हिमालले छुट्याउँछ । त्यसै गरी दक्षिणको सिमाना ठाउँठाउँमा सीमा स्तम्भ खडा गरी नेपालको भूभागलाई छुट्याइएको छ ।

नेपाल अग्लो, होचो, समथरजस्ता विविध भौगोलिक भू–बनोट भएको देश भएकाले यहाँको हावापानी पनि बेग्लाबेग्लै छन् । त्यसैले नेपालमा धेरै थरीका वन्यजन्तु र वनस्पतिहरू पाइन्छन् । जलस्रोत र जडीबुटीमा नेपाल विश्वकै धनी देशमा पर्दछ ।’

कक्षाको एकजना विद्यार्थीले नक्सातिर हातले देखाएर प्रश्न गरयो, ‘सर, कालापानी र सुस्ता पनि नेपालको नक्साभित्रै देखिन्छ नि ।’

शिक्षकले बडो गर्वका साथ जबाफ दिए, ‘हो, ती दुवै भूभाग नेपालकै हुन् ।’

अर्का विद्यार्थीले पनि सोधे, ‘सर, कालापानी र सुस्तामा छिमेकीले भोगचलन गरिरहेका छन् । यदि अरूले भोगचलन गरेको जग्गा नक्सामा राखिरहने हो भने टिष्टा, किल्लाकाँगडा पनि नेपालको नक्सामा थपे कसो होला सर ।’

विद्यार्थीको प्रश्नले शिक्षकको मुटु चसक्क चस्कियो । यसको जवाफ भोलि दिउँला है भनेर उनी हत्तनपत्त कक्षाकोठाबाट बाहिर गए ।

 

 

           पसिनाको स्वाद

 

ए ! सोनिया मलाई अचेल पटक्कै खाना रुच्दैन । त्यो ठूलेले कति मजासित कप्ल्याक्–कप्ल्याक् ढिँडोको डल्ला निल्छ । भातभन्दा ढिँडै मीठो होला जस्तो छ । मलाई पनि त्यस्तै ढिँडो पकाइदेऊ न ।” –लल्लुराम जमिनदारले पत्नीलाई भन्यो ।  

पतिको इच्छाबमोजिम सोनियाले ढिँडो पकाएर दिइन् । भान्छामा ओछ्याइराखेको पिर्कामाथि बसेर लल्लुरामले ढिँडोको डल्ला क्वाप्प मुखमा राख्यो । त्यसपछि निल्न खोज्यो अहँ सकेन । अनि जिब्रोले दाँतमा लगेर क्याच्या... क्याच्या चपायो तर स्वाद लागेन । उसलाई त्यो ढिँडो निल्नु न ओकल्नुभयो । “आ थुकिदिन्छु” भन्दै जुरुक्क उठ्यो । थुक्न पनि सकेन किनभने खानेकुरा फाल्नुहुन्न भनेर छोराछोरीलाई, काम गर्ने मान्छेलाई गाली गर्ने गरेको झट्ट सम्झ्यो उसले ।  

ऊ फेरि पिर्कामाथि थ्याच्च बस्यो । उसले पत्नीलाई झपार्दै भन्यो– “तैँले मलाई किन नमीठो खान दिइस् हँ ? लौ भन् छिटो ।”

“तपाईंले ठुलेले खाएको ढिडो जस्तो खान्छु भनेको भएर त्यस्तै पकाएर दिएकी हुँ ।” –सोनियाले भनिन् ।  

“कहाँ हुन्छ ? त्यस्तै भए मैले पनि उसले जस्तै मीठो गरी खाने थिएँ नि । तैँले मलाई झुक्याइस् ।” भन्दै रिसाए लल्लु ।  

सोनियाले पनि जबाफ दिइन्– “ठूले दिनभरि खेतमा काम गरेर परिश्रमको पसिना बगाउँछ अनि भोक लाग्छ । उसले खाने हरेक गाँसमा पसिनाको स्वाद मिसिएको हुन्छ, त्यसैले उसलाई मीठो लाग्छ । भोजन मीठो होइन, भोक मीठो हो । तपाईं केही काम गर्नुहुन्न । बिहान उठेर हिँड्ने, ब्यायाम गर्ने केही पनि गर्नुहुन्न । त्यस कारण तपाईंलाई जति थरी परिकार बनाएर खान दिए पनि मीठोे लाग्दैन, म के गरुँ !”  

“खाना मीठो छैन त म कसरी खाउँ ?” –लल्लुराम कराए ।  

“यस्तै हो भने तपाईंलाई खाना मीठो लाग्ने होइन, चिनी रोग, प्रेसर रोगचाहिँ लाग्न सक्छ” –रोगको नाम सुन्नासाथ लल्लुराम नराम्ररी झस्किए अनि गए खेतमा कोदाली बोकेर । 

 

 

 

 

                                         फर्मुला चाचाचु

‘सरु, अफिसमा आज मेरो धेरै काम छ । साँझ फर्कन अबेर हुन्छ । त्यसैले खाना खान नपर्खनू ।’शिवराजले अफिस जाने बेलामा पत्नीलाई भने ।

सरुले उनको कमिजको कलर मिलाइदिँदै भनिन्, ‘तपाईं त जहिल्यै त्यसो भन्नुहुन्छ । हैन, त्यो अफिसमा तपाईं मात्रै हुनुहुन्छ कि क्या हो  । एकैपटक लोकसेवा पास गरेका डोलराज घरी वीरगन्ज, घरी नेपालगन्ज भन्सार सरुवा भइरन्छन् । अब विमानस्थल भन्सार सरुवा भएर काठमाडौँ आउने रे । उनले लाजिम्पाटमा बडो घर बनाइसके । छोराछोरी दुवै बोडर्स छन् । स्वास्नी मोटर गुडाएर दिनहुँ पार्लर धाउँछे । तपाईं भने जहाँको तहीँ । यस्तो महँगीमा घर खर्च धान्नै मुस्किल छ । धन्न भाग्यले मजस्ती पत्नी पाउनुभा’छ । नत्र अरू भए तपाईंको तलबले साडी किन्न पुग्दैन, बुझ्नुभो । यसो डोलराजसँग कसरी पैसा कमाउन सकिन्छ  भनेर सोध्दा पनि हुन्थ्यो नि ।’

‘अहिले मलाई अफिस जान ढिला हुन्छ । गएँ है’ भनेर शिवराज बाटो लागे । आँखाले देखिइन्जेल हेरिरहिन् सरुले ।

केही दिनपछि डोलराज काठमाडौँ आए । उनलाई भेट्न सरु घरमै गइन् । ‘ओहो भाउजू आउनुभएछ’ भन्दै डोलराजका लोग्नेस्वास्नी दुवैले उनलाई बडो खातिरदारी गरे । सरुले कुराको सिलसिलामा भनिन्, ‘ हैन हो बाबु, तपाईंले पैसा कमाएको देख्दा त ईरष्या लागेर आउँछ । हेर्नुस् न, हामी भने उँभो लाग्नै सकेनौँ । उहाँलाई पनि पैसा कमाउने तरिका सिकाइदिनुप¥यो बाबु ।’

सरुका कुरा सुनेर लोकराज हाहाहा गरी हाँस्दै भने, ‘त्यो त चाचाचु फर्मुलाको कमाल हो भाउजू ।’

“त्यो भनेको के हो बाबु रु

चा–चाकडी, चा–चाप्लुसी, चु–चुक्ली । त्यसमाथि भ थप्यो भने त छिट्टै मालामाल भइन्छ ।” 

“भ भन्या के बाबु रु” –सरुले जान्न चाहिन् । 

“भ– भ्रष्टाचार हो भाउजू । यी चारओटा फर्मुला प्रयोग गर्न जान्यो भने रातारात करोडपति भइन्छ ।” 

उसका कुरा सुनेर सरु खङ्ग्रङ्गै भएर बसेको ठाउँबाट जुरुक्कै उठिन् । त्यही बेला प्रहरीहरू आएर डोलराजलाई हत्कडी लाउँदै “लौ हिँड् भ्रष्टाचारी” भनेर घिच्च्याउँदै, मुन्ट्याउँदै भ्यानमा कोचेर लगे ।

 

 

 

                                                                      सापटी

 

एकदिन छिमेकी बहिनीले हाम्रो घरमा आएर भनिन्– “दिदी ! पच्चीस हजार रुपियाँ सापटी दिनु न ।” 

मैले अलि आश्चर्य मान्दै भनेँ– “तपाईंको श्रीमान् त मालपोतको हाकिम हुनुहुन्छ । तपाईं जस्तोले मजस्ती एउटी मामुली सिलाइ पसलको काम गर्नेसँग पैसा सापटी माग्नु सुहाएन है ।” 

“कुरै नगर्नुस् दिदी, उहाँले दिएको पैसा त साथीहरूसँग तास खेल्दा, पार्टी गर्दा, ब्युटी पार्लर जाँदै सकिन्छ । यतिखेर पैसा नभएर दालचामल पनि उधारोमा ल्याएकी छु । चार दिनपछि नन्दकी नन्दको बिहेको निम्तो छ । एक पटक लाइसकेको पुरानो साडी दोहो¥याएर के लाउनु भनेर नयाँ साडी किन्न तपाईंसँग सापटी मागेकी । श्रीमान्ले यो महिनाको तलब घर ल्याउनासाथ म तपाईंको पैसा फर्काइहाल्छु ।” उनले केही सम्झेझैँ गरी फेरि भनिन्– “ए ! साँच्चि मेरा गहना धेरै ठाउँका पार्टीहरूमा लाएर गइसक्या छु । कति त्यै लाइरहनु ! तपाईंको नेकलेस सेट पनि पाऊँ न ।” 

“छिमेकीलाई परेको बेला मद्दत गर्नु कर्तव्य धर्म दुबै हो । फेरि उनीहरू हामीभन्दा धेरै सम्पन्न छन् । त्यसैले नदेलान् नफर्काउलान् भन्नेमा कुनै शङ्का छैन । गहना, पैसा भन्ने कुरा त एकअर्कामा काम चलाउनकै लागि त हो नि” –मनमनै भनेँ मैले । त्यसपछि छोराछोरीको स्कूल फी तिर्न राखेको पैसा, माइतीले बिहेमा दिएको सुनका गहनाको सेट दिएर पठाएँ ।  

दिन बित्यो, महिना बित्यो, छिमेकीले न गहना न त पैसा नै फिर्ता गरिन् । एकदिन उनलाई भेटेको बेलामा भनेँ– “बहिनी त्यो सापट लगेको पैसा र गहना फिर्ता पाउन पाए हुन्थ्यो ।” 

उनी मेरो मुखमा हेरेर फिस्स हाँसिन् मात्र । तिनको व्यवहार देखेर म छक्क परेँ । फेरि सोचेँ– “एकपटक भनेपछि फर्काउलिन् नि त ।” दुईचार महिना थप बित्यो । बाटोमा भेट्दा फेरि भने सुन्या नसुन्यै गरिन् । त्यति मात्र कहाँ हो र अब त उनी कतै बाटोमा जम्का भेट हुँदा पनि नबोल्ने भइन् । सहनुको पनि हद हुन्छ, एकदिन उनको घरैमा गएर भनेँ– “खै तपाईंले मेरो गहना, पैसा फर्काउनु नै भएन ।”

उनले झर्किंदै भनिन्– “कति कराइरा ? अस्ति नै तास खेल्दा हारेर त हो नि । नत्र फर्काइदिहाल्थेँ नि ।”  

तिनको जबाफ सुनेर म भीरबाट पछारिएको गोरुझैँ भएँ ।

प्रकाशित: २४ श्रावण २०७७ ०५:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App