८ आश्विन २०७७ बिहीबार
कला

आमाको मुन्द्री

कथा

लोकराज भट्ट

लोकराज भट्ट

गोविन्दे जंगलबाट फर्केपछि पिँढीमा थचक्क बस्यो। घर पारीको पहाड हेर्दै लामो सास फे¥यो। पच्चीस महिनाअघि त्यहीँ बसेर त्यसरी नै लामो सास फेर्थिन् उसकी आमा। उसका आँखाभरि आँगनमा बसिरहेकी आमा घुमिन्।  

आमा बितेपछि तरुल खनेर ल्याएको पहिलो दिन थियो। त्यो दिन आमालाई सम्झिरह्यो। ‘गोविन्देकहाँ भेटाइस् यतिका तरुल? तँलाई त तरुल झिक्कै (धेरै)फाप्छन्। आमाले तरुल खनेर फर्केपछि हरेक पुसमा त्यसै भन्थिन्। आमालाई खुसी बनाउन गोविन्दे तरुल खन्न जान्थ्यो। तरुल ल्याएरै आउँथ्यो। यसपाली तरुल थिए तर तरुल मन पराउने आमा थिइनन्।

बिहे भएको एक महिना बितिसक्दा पनि गोविन्दे जमुनालाई हेरिरहन्थ्यो। जमुनाका पाइतालाका एकएक पदचाप गोविन्देलाई मन पर्थे। जमुना मुस्कुराउँदै गोविन्देको छेउमा बस्थी। गोविन्दे जमुनालाई हेरेर मन बुझाउँथ्यो। विगत सम्झिन्थ्यो।  

गोविन्दे पाँच वर्षको छँदा कुल्लीबाट फर्किरहेका उनका बा बाटामै मरे। आमा र छोराले लास पनि देख्न पाएनन्। सँगैका साथीले उतै दाहसंस्कार गरे। गोविन्देको सम्झनामा बा भन्ने नाम मात्रे रह्यो, चित्र रहेन।  

जिन्दगीभर रेडियोलाई साथी बनाएर रातहरू बित्ने हुन् कि? अनेक कुरा सोच्दासोच्दै सिरानीमा रेडियो एकोहोरो बजिरहन्थो। “गोविन्दे, रेडियो बन्द गरिस्?” सपनामा आएर आमा भन्थिन्। झसंग बिउँझिदा सिरानीमा रेडियो सुसाइरहेको हुन्थ्यो।  

त्यो एक्लोपन जमुनाले पुरा गरेकी थिई। तर पनि कहिलेकाही आँगनमा बसेर मुन्द्री हल्लिरहेको आमाको अनुहार सपनामा झल्याकझुलुक देखिन्थ्यो।

‘गोविन्दे कहिले गर्छस बिहे?’ गोविन्दे दश वर्ष पुगेदेखि आमाले सोध्न थालेकी थिइन्।

‘साना मान्छेले बिहे गर्नु हुन्न आमा ठूलो भएपछि गरौंला’ आमाको चित्त नदुखोस् भनेर गोविन्दे भन्थ्यो।  

दश वर्षे कलिलो बालक आमाका कुरा बुझ्ने भैसकेको थियो। धेरै पटक उसले आमाका आँसु देखेको थियो। आमालाई नरोउसम्म भन्न सक्दैनथ्यो। छोराले नदेखोस् भनेर आमा आँसु लुकाउँथिन्। रोएकी छैन जस्तो गर्थिन्। तर जब झ्यालबाट पारिको पहाड हेर्थिन् तब आँखाबाट आँसु झरेको पत्तै हुन्थेन।  

मान्छेलाई परिपक्व बन्न उमेर पुग्नु पर्दो रहेनछ। भोगाइले नै परिपक्व बनाउँदो रहेछ। गोविन्दे दश वर्षमै परिपक्क बन्यो। यो पुगेन त्यो पुगेन भनेर आमालाई कहिल्यै भनेन। जे थियो त्यसैमा चित्त बुझाउँथ्यो। आमाका कुरा बुझ्थ्यो। आफ्नो परिस्थिति थाहा पाउँथ्यो। आमालाई आफ्ना रहर कहिल्यै सुनाउँदैनथ्यो।  

‘बिहे कहिले गर्छस्’ भनेर आमाले बेला बखतमा सोधिरहिन्। उतारचढावमै जिन्दगी चलिरह्यो। टुहुरो भएर भोग्नुपर्ने भोगाईहरू थाहा पायो। अभाव र आवश्यकता बुझ्यो। एक्काइस वर्ष पुग्दासम्म आमालाई अनेक भनेर टारिरह्यो। बिहे गर्न मन्जुर भएन।

‘बुहारीको हातको पानी नपिएरै मरिने पो होकि।’ एक्काइस वर्ष कटेपछि ठूलो आशा गरेर एक दिन आमाले फेरि भनिन्। गोविन्देले मुन्टो निहुरायो।

गोविन्दे आँगनमा बुरुकबुरुक उफ्रन्थ्यो। खेल्थ्यो। आमालाई अनेक प्रश्न सोध्थ्यो। गोविन्दे आँगनमा खेल्न छोड्यो कि सुन ल्याउन गएका उसका बा पहाडमा उक्लिँदै गरेको सम्झिन्थिन। तिलहरी लगाउँला भनेर पर्खिबसेकी तर खुसी सबै परदेशले खोसिदियो।  

मान्छेलाई एक न एक कुराले पिरोलिरहन्छ। त्यही पिरोलोमा गोविन्द पनि परेको थियो। सम्पत्तिका नाममा सुन भने पनि सम्पत्ति भने पनि त्यही एउटा मुन्द्री थियो। जुन गोविन्देकी आमाको नाकमा हल्लिरहन्थ्यो। खूबै सुहाउँथ्यो।  

बिहे गरेको दोस्रो वर्ष कुल्लीबाट फर्कदा गोविन्देका बाले त्यही एउटा मुन्द्री ल्याइदिएका थिए। गोविन्देकी आमाका लागि किन्न सकेको त्यही एउटा मुन्द्री थियो। कहिलेकाहीं कोठामा झुन्डिएको ऐनामा आफ्नो अनुहारसँगै मुन्द्री हेर्थिन। चाउरिँदै गएको अनुुहार र गोविन्देका बाले छोडी गएको समयको अन्तराल सम्झिन्थिन्। डाँडापारिको क्षितिज हेर्दै आँसु पुछ्थिन्।

गोविन्दे पाँच वर्षको छँदा कुल्लीबाट फर्किरहेका गोविन्देका बा बाटामै मरे। आमा र छोराले लास पनि देख्न पाएनन्। सँगैका साथीले उतै दाहसंस्कार गरे। गोविन्देको सम्झनामा बा भन्ने नाम मात्रे रह्यो चित्र रहेन।  

गोविन्दे आँगनमा खुरुखुरु हिँड्ने हुँदा बाका औंलामा झुन्डिएर गाउँ डुल्न खोज्थ्यो। बाले काँधमा चढाएर गाउँ डुलाउँथे। बाका औंला समाउँदै पछिपछि हिँडेको, काँध चढ्दै गाउँ डुलेको सम्झना गोविन्देसँग छैन।  

‘छोरो ठूलो हुँदैछ हाम्रो अभाव उस्तै छ। तिमीलाई तिलहरी कति राम्रो सुहाउँथ्यो। मेरो रहर छ। सपना छ। तिमीहरूका लागि उमेरमै केही गरिदिन सकूँ। म कमाउन जान्छु, तिमीलाई तिलहरी र गोविन्देलाई रहरहरू किनेर ल्याउँला। त्यसपछि गोविन्देलाई स्कूल पढाउँला।’ एक दिन यही निर्णय गर्दै आमाछोरालाई एक्लै छोडेर गोविन्देका बा फेरि कुल्ली काममा हिँडेका थिए। उनी परदेश जाँदा गोविन्देकी आमाका आखाँभरि आँसु छल्किए। काखमा नाबालक छोरो च्याप्दै आँखाले देखुन्जेलसम्म परदेशी हिँडेको बाटो हेरिरहिन् उनले।

त्यसरी नै हिँडेका हिँड्यै गरेर कहीं पुगेर आराम गरे होलान्। कैयौपटक सोच्थिन् उनी। पहाड उक्लेर परदेश हिँडेका गोविन्देका बा पहाड ओर्लिदै परदेशबाट फर्किएर आइहाल्छन् कि सोच्थिन् उनी। तर घर आउने बाटो भुलेर गोविन्देका बा बीच बाटाबाटै स्वर्ग हिँडेका थिए।  

गोविन्दे आँगनमा बुरुकबुरुक उफ्रन्थ्यो। खेल्थ्यो। आमालाई अनेक प्रश्न सोध्थ्यो। आमासँग उसले सोधेका प्रश्नका केही उत्तर हुन्थे। केही हुँदैनथे। सेतो कपडा लगाएकी आमा उसैलाई हेरेर चित्त बुझाउँथिन्। गोविन्दे आँगनमा खेल्न छोड्यो कि सुन ल्याउन गएका उसका बा पहाडमा उक्लिँदै गरेको सम्झिन्थिन्। तिलहरी लगाउँला भनेर पर्खिबसेकी तर खुसी सबै परदेशले खोसिदियो।  

‘गोविन्दे! यो मुन्द्री बेचेर तेरो बिहे गरिदिन्छु’, पिँढीमा बसेर एकदिन आमाले फेरि भनिन्। ‘सुन भने पनि सम्पत्ति भने पनि बाको चिनो यही एउटा मुन्द्री हो नबेचौ आमा, मुन्द्री नलगाए तिमी बुच्ची देखिन्छौ’, गोविन्देले आमालाई भन्यो।  

गोविन्द अलिअलि बुझ्ने भयो। आमालाई प्रश्न गर्न छोड्यो। आमा अर्काको काममा गएर केही ल्याउन थालिन्। साँझ कट्न थाल्यो।  

+++

बाहिरको चिसो हावा झ्यालबाट हुत्तिएर अगेनामा ठेक्किरहेको थियो। बाँझका दाउरा राफिला बन्दै थिए। गोविन्देले दिउँसो वनबाट ल्याएका तरुल जमुनाले अगेनामा राखी।

सोलारको बत्ती चहकिलो बनेर बलिरहेको थियो। गोविन्दे खाटमा पल्टियो। भित्तामा झुण्डिएको आमाको फोटोले उसलाई हेरिरहेको थियो। ऊ आमाको फोटो भित्र गहिरियो।  

‘गोविन्दे आज तैंले ल्याएका तरुल कति मीठा रैछन् है’ आमाले यस्तै भन्छिन् कि जस्तो भयो। गोविन्देको सम्झनाभरि पुसका पुराना दिन तैरिन थाले।

‘एकादेशमा एउटा गाउँ थियो। गाउँका धेरै मान्छे कुल्ली काम गर्न परदेश जान्थे। जानेबेला बाटोमा आधा महिना बिति जान्थ्यो। कुल्ली जाँदा ठूलाठूला जंगल आउँथे। जंगलमा बाघ, भालु, हात्ती र हिंस्रक जन्तु हुन्थे। तीनले मौका पाउँदा मान्छेलाई आहारा बनाउँथे। जंगलका किरा फट्यांग्रा, भसुना र लामखुट्टेहरू रगत चुसिरहन्थे। परदेश हिँडेकाहरू त्यो सबै सहन्थे। परिवारको खुसी सम्झेर हिँड्थे। त्यत्रो दुःखलाई पन्छाएर परदेश गएका मान्छे कोही फर्कन्थे, कोही कुल्लीमै मर्थे। कोही औलो लागेर बाटामा मर्थे। कोही घर पुगेपछि मर्थे...।’

आमा कथा सुनाइरहन्थिन। गोविन्द निशब्द हुन्थ्यो। गोविन्दे सुतिस, गोविन्दे......। निदाइसक्यो कि भनेर आमाले गोविन्देलाई हल्लाउँथिन्। गोविन्देका आँखाभरि आँसु हुन्थे। आमा त्यो कथा बीचमै रोकेर अर्को कथा सुनाउँथिन्।  

‘तेरो कर्ममा पनि परदेश नै लेखिएको रहेछ। तेरो बिहे गरेर मर्न पाए उहिल्यै छोडेर गएका तेरा बालाई गोविन्देका लागि बुहारी खोजेर आएकी छु, ऊ एक्लै छैन चिन्ता नमान्नु भनौला भनेर हो तर..’, आमाले हिक्कहिक्क गरिन्।

त्यो दिन फोटोमा मौन भएकी आमालाई हेरिरह्यो। उसले फोटो हेरिरहँदा जमुना छेउमा आएर बसी। जमुना बसेको गोविन्देले थाहा पाएन। फोटो हेर्दै विगतभित्र डुबिरह्यो। परेलीका किनारबाट एक धर्को आँसु बगेर गालामा पुग्यो।  

पुसका सबैजसो रातमा आमा कथा सुनाउँथिन्। गोविन्दे कथा सुन्दै दंग पथ्र्यो। कुनै कथाको पात्र आफैं हुँ भन्ने ठान्थ्यो। कुनै कथाकोे पात्र आफ्नी आमालाई सम्झिन्थ्यो। कुनै कथाको पात्र सम्झिदा यादमै नरहेका बालाई सोच्थ्यो। कथा बदलिरहन्थे। कथासँगै कहाँ हो कहाँ ऊ पनि हराउँथ्यो। कथासँगै उसका आँखा रसाउँथे। आमा कथा सुनाइरहन्थिन्।  

‘गोविन्दे यो मुन्द्री बेचेर तेरो बिहे गरिदिन्छु’, पिँढीमा बसेर एकदिन आमाले फेरि भनिन्।

‘सुन भने पनि सम्पत्ति भने पनि बाको चिनो यही एउटा मुन्द्री हो नबेचौ आमा, मुन्द्री नलगाए तिमी बुच्ची देखिन्छौ।’ गोविन्देले आमालाई भनेको थियो। आमाको मुन्द्री उसलाई प्यारो लाग्थ्यो। मुन्द्री बेच्न कत्ति पनि रहर थिएन।  

‘मर्ने बेलामा म किन राम्री देखिन प¥यो तँ बिहे गर’, आमाले गोविन्देलाई कर गरिरहिन्।  

बल्ल गोविन्दे बिहेका लागी मन्जुर भयो। तर मुन्द्री बेच्न मन्जुर भएन। त्यस दिन गोविन्देकी आमा हर्षले थामिन सकिनन्। खुसीको सीमा रहेन। रात ननिदाएरै बित्यो। गोविन्देका बालाई झलझली सम्झिइन्। आँगनमा सानो छोडेर गएदेखि दुःख गरेर गोविन्देलाई हुर्काइन्। बुहारी ल्याउने दिन आउँदासाथमा खुसी बाँड्ने मान्छे नहुँदा एक्लै रोइन्।

दोस्र्रो दिन सबेरै उठेर कपाल मिलाइन। भित्तामा झुन्डिएको ऐनामा आफूलाई हेरिन। एकपटक मुन्द्री मुसारिन्। लौरी टेक्दै बेहुली खोज्न हिँडेकी आमालाई हतपत उठेर आँखा मिच्दै गोविन्देले झ्यालबाट हे¥यो। अलिकति मुस्कुरायो। आमा टकटक लौरी टेक्दै गइन्।

दिनभर गोविन्देका मनमा अनेक कुरा आइरहे। कहिल्यै नदेखेकी दुलहीको कल्पना ग¥यो। साँझ भयो। आमा कतिखेर आउलिन् भनेर बच्चा जस्तै हेरिरह्यो। अबेरसम्म बाटो कु¥यो। दुलही खोज्न हिँडेकी आमा झिसमिसे हुँदा पनि आइनन्।  

साँझ झुम्मिदै गयो। फेरि पनि आमा आइनन्। अँध्यारोले डाँडाकाडा सबै छोप्यो र पनि आमा आइनन्। कुरो मिल्यो र आइनन् होला, गोबिन्देले सोच्यो। कुर्दाकुर्दै धेरैकुरा दिमागभरि आए। आमा त्यतिन्जेलसम्म पनि आइनन्। त्यो साँझ गोविन्दे भोकै निदायो।  

दोस्रो दिन साँझ मात्र आमा आइपुगिन्। त्यो साँझको खाना गोविन्दे आफैंले पकायो। दुवै आमाछोराले खाना खाए। अगेनाको छेउमा बसे।  

‘बुहारी खोज्न गएकी थियौ खोज्यौ?’ गोबिन्देले आमालाई सोध्यो।

‘अँह’, आमाले टाउको हल्लाइन्।

गोविन्दे मौन बस्यो।  

‘धेरैले सम्पत्ति र नोकरीका कुरा गरे, छोरी दिन मन्जुर गरेनन्।’ निभ्न लागेको आगो फुक्दै आमाले भनिन्। एक छिन केही नबोली टोलाएर बसिन उनी। आगो बल्न मानेन। थाकेर आएकी थिइन्। छिनमै निदाइन। सँधै रेडियो बजाएर सुत्ने गोविन्द त्यो दिन नबजाएरै सुत्यो।

‘बेहुली खोज्दा उहिलेका मान्छे सात जोडी जुत्ता फाटिन्छन भन्थे’, आमाले त्यत्तिमै हार मानिन्। केही दिनपछि बुहारी खोज्न फेरि गइन्। जाँदा उत्साहित भएर जान्थिन्, फर्किदा उदास भएर फर्किन्थिन्। केही महिना यसैगरी चलिरह्यो।  

‘बेहुली खोज्न सजिलो छैन गोविन्दे, तेरा बा भए पो कसैले पत्याउँदा हुन म बूढीलाई कस्ले सुन्छ।’  

गोविन्देका आँखाभरि बादल मडारियो। उसले झर्नै लागेका आँसु थाम्यो। घुटुक्क थुक निल्यो। केही क्षण निःशब्द भयो। आमाले मुन्द्री निकालेर गोविन्देका हातमा राखिदिँदै भनिन्– यही बेचेर बाटो खर्च बनाउनु।

गोविन्देले बिहे गर्छु भन्दा उत्साहित बनेकी आमाको उत्साह हराइसकेको थियो।  

‘सकिस् भने आफैं बिहे गरेस्। जिन्दगीमा गरिखाएस्। मैले सकिन। मेरा सबै इच्छा सकिए’, एकदिन आमाले उदास भएर भनिन्।  

‘त्यसो भए म परदेश जान्छु, धन कमाउँछु, तब बिहे गरौंला’, गोविन्देले आमालाई भन्यो। आमाले गोबिन्देको अनुहारमा पुलुक्क हेरिन।

‘तेरो कर्ममा पनि परदेश नै लेखिएको रहेछ। तेरो बिहे गरेर मर्न पाए उहिल्यै छोडेर गएका तेरा बालाई गोविन्देका लागि बुहारी खोजेर आएकी छु, ऊ एक्लै छैन चिन्ता नमान्नु भनौला भनेर हो तर..’, आमाले हिक्कहिक्क गरिन्।  

गोविन्देका आँखाभरि बादल मडारियो। झर्नै लागेका आँसु थाम्यो। घुटुक्क थुक निल्यो। केही क्षण निःशब्द भयो। आमाले मुन्द्री निकालेर गोविन्देका हातमा राखिदिँदै भनिन्, ‘यही बेचेर बाटो खर्च बनाउनु।’

गोविन्दे आमाको मुन्द्री बेचेर परदेश गयो। तर परदेश गएको एक वर्षपछि आमा धर्ती छाडेर स्वर्ग गइन्। केही धन कमाएर गोविन्दे घर पुग्यो। उसले आमाको लास पनि देख्न पाएन।  

जमुनालाई बिहे गरेर मन बुझाउने बाटो गरे पनि हरेक काजबारसँग जनमभरिका याद मिसिएका छन्। जमुना पढेकी छ। उसले गोविन्देलाई आफैं मनपराएर बिहे गरेकी हो। गाउँको सरकारी स्कुलमा पढाउने काम पाइसकी। गोविन्दे पनि पसीना बगाउँछ। कर्म गर्न जानेको छ। चाहिएको किन्न सक्छ। अपुग भन्नु केही छैन तर विगत सम्झिदा गोविन्देका आँखाहरू कर्नाली हुन्छन्।

प्रकाशित: २२ श्रावण २०७७ १६:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App